कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कुल बसबाटै असुरक्षित

वर्षदिनमा ३ बालबालिकाको मृत्यु
प्रकाश अधिकारी

सुर्खेत — पढाइ सकेर घर पुग्नै लाग्दा वीरेन्द्रनगर ११ का १० वर्षीय प्रदीप अधिकारीको साउन २१ गते सुप्रिम एकेडेमीको स्कुल बसले ठक्कर दिंदा ज्यान गयो । सुर्खेत एजुकेसनल डेभलपमेन्ट एकेडेमी (सेडा) मा ५ कक्षामा अध्ययनरत उनी बाटो काट्दै गर्दा भे१क ४७३ नम्बरको सुप्रिमको बसले ठक्कर दिएको थियो ।

स्कुल बसबाटै असुरक्षित

सेडाको बसले गलत दिशामा ओराल्नु र सुप्रिमको बस तीव्र गतिले हाँक्दाको परिणाम प्रदीपको ज्यान गुम्यो ।

निजी स्कुलहरूको चरम लापरबाहीले प्रदीपझैं अकालमा ज्यान गुमाउने अरू बालबालिका पनि छन् । आव ०७४/७५ मा दुई बालबालिका स्कुल बसकै सिकार बने । गत वर्ष असोजमा वीरेन्द्रनगरकी ९ वर्षीया स्वस्तिका परियार र कात्तिकमा वीरेन्द्रनगर ७ का ६ वर्षीय सोभित सिंहको स्कुल बसकै ठक्करले ज्यान गयो । ‘स्कुलहरूले बसकै लागि महँगो शुल्क लिन्छन्, सेवा पटक्कै सन्तोषजनक छैन, वीरेन्द्रनगर ९ लाटिकोइलीका शंकर सिंहले भने, ‘बालबच्चा स्कुलबाट नफर्कुन्जेल चिन्ताले सताइरहन्छ ।’ निजी स्कुलहरूले बालबालिकाको सुरक्षामा ध्यान नदिँदा अभिभावकमा अनावश्यक त्रास बढेको उनको भनाइ छ ।

प्रहरीका अनुसार बस तीव्र गतिले हाँक्नु, बालबालिकालाई गलत दिशामा ओरोल्नु, सहचालकलाई चलाउन दिनु, सिटबिनै बोक्नुजस्ता कारण दुर्घटना निम्तिएको हो । साउन २१ को घटनामा सुप्रिम एकेडेमीद्वारा सञ्चालित बस चालकसँग लाइसेन्स नभएको खुल्न आयो ।


स्कुल सञ्चालकले न्यून तलब दिएर लाइसेन्स नभएका तथा ड्राइभिङमा निपुण नभएकालाई चालकको जिम्मेवारी दिने गरेको पाइएको छ । ‘उनीहरूलाई नियुक्त गर्दा कम पारिश्रमिक दिए पुग्ने हुँदा स्कुल सञ्चालकले यसमा बदमासी गर्न खोज्दारहेछन्, प्रदीपका बुवा निर्मलले भने, ‘सम्बन्धित निकायले नियमन गर्न नसक्दा बारम्बार दुर्घटना दोहोरिरहेका छन् ।’ न्यूनतम मापदण्डबिनै बस सेवा सञ्चालन गरेका त्यस्ता विद्यालयमाथि कारबाही गर्नुपर्ने उनको माग छ ।

विवरण बुझाउन आनाकानी
साउन २१ को घटनापछि वीरेन्द्रनगर नगरपालिकाले संस्थागत (निजी) विद्यालयमाथि निगरानी बढायो । उक्त घटनामा दुइटै स्कुलको उत्तिकै लापरबाही देखिएपछि नगरपालिकाले साउन २४ गते वीरेन्द्रनगरका सबै निजी स्कुललाई पत्राचार गर्दै सवारीसाधन र चालकको विवरण माग्यो । भदौ १ गतेभित्र विवरण पठाउन भनिए पनि अधिकांश स्कुलले विवरण पठाएनन् ।

नगरपालिकाका शिक्षा शाखा अधिकृत गजेन्द्र जीसीले सवारीसाधन, ब्लु बुक, चालक/सहचालकको नियुक्तिपत्र, नागरिकता प्रमाणपत्रको विवरण मागेको जानकारी दिए । ‘धेरै स्कुलको विवरण आउन बाँकी छ, हामीले ताकेता गर्दै आएका छौं,’ उनले भने, ‘विवरण प्राप्त भइसकेपछि ट्राफिक प्रहरीको सहयोग लिएर स्कुलका सञ्चालक, चालक र सहचालकलाई सँगै राखेर अभिमुखीकरण गर्नेछौं ।’

शिक्षा अधिकृत जीसीले विद्यालय शिक्षा सञ्चालन, अनुगमन र नियमनको अधिकार नगरपालिकासँग भएकाले संस्थागत विद्यालयको बदमासी रोकिने दाबी गरे । वीरेन्द्रनगरमा प्रि–प्राइमरीदेखि प्लस टुसम्म पढाइ हुने १ सय ५७ निजी स्कुल छन् । तीमध्ये अधिकांशका सवारीसाधन छन् । जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरले निजी विद्यालयद्वारा सञ्चालित बसको लापरबाहीबारे धेरै गुनासो आएको बताए । ‘स्कुल बसमा ट्राफिक चेकिङ बढाउँछौं, निर्देशन दिइसकेको छु,’ उनले भने ।

प्रकाशित : भाद्र ३१, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?