कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आपराधिक घटनामा बाहिरका सक्रिय

चितवन — कल बाइपास, सुन चोरी, मिर्गौला तस्करीजस्ता आपराधिक गतिविधिमा बाहिरी जिल्लाका व्यक्तिकै संलग्नता बढी भएको चितवन प्रहरीले जनाएको छ ।

आपराधिक घटनामा बाहिरका सक्रिय

सीमावर्ती भारतीयले पनि चितवन आएर चोरीको सञ्जाल बनाउने गरेको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरीमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले यसबारे जानकारी गराएका हुन् ।


जिल्लामा हुने चोरीका घटना प्रहरीका लागि टाउको दुखाइ बनेको छ । वैशाख ५ देखि साउन १३ सम्म ११ सहकारीमा लाखौं रकम चोरी भए । चोर पक्रन भन्दै सहकारी सञ्चालकले दबाबमूलक अभियान चलाएका छन् । प्रहरीले अपराधी नियन्त्रणमा लिन सकेको छैन । सहकारी चोरीमा गिरोह नै सक्रिय रहेको राठौर सुनाउँछन् ।


‘मान्छे नसमाउँदै धेरै कुरा गर्न त भएन तर यो सानो गिरोह होइन । देशभर सक्रियको एउटा हिस्सा हो,’ उनले भने, ‘जिल्ला बाहिरका मान्छेले नै सहकारीमा चोरी गरेको शंका छ ।’ चोरीका अन्य ठूला घटना र अपराधमा पक्राउ परेका पनि जिल्ला बाहिरकै बढी छन् । साउन ११ गते प्रहरीले ३२ वर्षीया सरिता विकलाई नियन्त्रणमा लियो । मकवानपुर घर भएकी उनी काठमाडौं थानकोटमा पनि बस्थिन् । उनीमाथि ३५ लाख बराबरको सुन र चाँदीका गहना चोरेको आरोप छ ।


यस्तै असार ९ मा नारायणगढको घडी र मोबाइल पसलबाट ३० लाख ८० हजार बराबरको चोरी भयो । यसमा प्रहरीले भारत पुगेर मोतीहारी पूर्वी चम्पारण जिल्ला झरखोर थाना घोडासनका मुन्ना साहलाई समायो । प्रहरीको अनुसन्धानले मुन्नाले घोडासनका ५० युवालाई चोरीका लागि नेपाल र भारतकै विभिन्न सहरमा पठाएको तथ्य खुल्यो ।


दुर्गम क्षेत्रकालाई प्रलोभनमा पारेर मिर्गौला तस्कर गर्न लागेको आरोपमा प्रहरीले साउनमा नुवाकोट, रौतहट, मकवानपुर, मोरङ र रसुवाका ५ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?