नेपाल–भारत मन्त्रीस्तरीय बैठक : ग्यासपाइप लाइन विस्तारलगायत आधादर्जन एजेण्डा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–भारत मन्त्रीस्तरीय बैठक : ग्यासपाइप लाइन विस्तारलगायत आधादर्जन एजेण्डा

सुरेशराज न्यौपाने

नयाँदिल्ली — ग्यास पाइपलाइन निर्माणलगायतका आधादर्जन एजेण्डामा छलफल गर्न नेपाल–भारत वाणिज्य मन्त्रीस्तरीय बैठक नयाँदिल्लीमा सुरु भएको छ ।

मंगलबार बिहान दश बजेदेखि भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयमा जारी वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भारतीय प्रतिनिधि मण्डलको नेतृत्व पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले गरिरहेका छन् ।


आजको वार्तामा निर्माणाधीन मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनसँगै ग्यास पाइपलाइन बिछ्याउन सम्भाव्यता अध्ययन गर्ने विषयमा छलफल हुने स्रोतले बताएको छ । हाल हल्दिया, पानीपत र पारादीपमा रहेका रिफाइनरीबाट बुलेटमार्फत नेपालमा एलपीजी ग्यास आपूर्ति हुँदै आएको छ । ग्यास पाइपलाइन निर्माण भएको खण्डमा बुलेट ढुवानीमा भइरहेको खर्च जोगिनुका साथै आपूर्ति व्यवस्थामा बेलाबखत देखिने अवरोध र झन्झट पनि हट्ने नेपालीको पक्षको दावी छ ।


नेपालमा मासिक २५ हजार टन ग्यास खपत हुने गरेको छ । नेपाल आयल निगमले करीब दुई वर्षअघि ग्यास पाइप निर्माणका लागि इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई औपचारिक रुपमा आग्रह गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैत अन्तिम साता भएको भारत भ्रमणका बेला मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको औपचारिक रुपमा शिल्यान्यास गरिएको थियो । ६९ किलोमिटर लामो उक्त पाइपलाइनबाट वार्षिक २० लाख टन पेट्रोलियम पदार्थको आपूर्ति हुने छ । पाइपलाइन निर्माण गर्न करीब २ अर्ब लाग्ने अनुमान छ ।


साथै, बैठकमा बिमानहरुको बढ्दो चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका ‘रिफ्यूलर’ को संख्या अपुग भएकाले भारतसरकारमार्फत् आइओसीबाट थप रिफ्यूलर उपलब्ध गराउने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।


त्यसैगरी वर्षेनी हुने मल अभावको दीर्घकालीन समाधानका लागि नेपालमै मल कारखाना खोल्नका लागि प्राकृतिक ग्यास आपूर्ति सम्बन्धमा पनि छलफल हुने भएको छ । मल कारखानाका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने प्राकृतिक ग्यासको पाइपलाइन हाल भारतको गोरखपुरसम्म पुगिसकेको हुँदा त्यसलाई सुनवलसम्म विस्तार गर्ने विषयमा पनि ठोस निर्णय हुनसक्ने स्रोतले दावी छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बैशाखमा नेपाल भ्रमणमा गएका बेला एनजिपी पाइपलाइनलाई नेपालको सिमासम्म विस्तार गरिदिन नेपाली पक्षले आग्रह गरेको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

सपनाको बात

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्रीको सपना हो– सुखी नेपाली, समृद्ध नेपाल । यो सपना अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको हो भन्नेहरूको लर्को छ । तर यो सपना उनको मात्र होइन, यो आम नेपालीले वर्षौंदेखि देखेका तर पूरा हुन नसकेका सपना हुन् । वर्षौंदेखि देख्दै आएको त्यो सपनालाई विपनामा बदल्न भनेर कैयौं नेपालीले जीवनको बलिदानी दिएका छन् ।

आम नेपालीले देखेको सपना विपनामा बदल्छु भनेर हिंँडेकाहरूले सत्ता प्राप्तिसंँगै आफूमात्र बदलिन खोज्दा ७ दशकदेखि देख्दै र देखाउँदै आएको सपना अझै विपनामा बदलिने छाँटकाँट छैन । प्रधानमन्त्रीले देखाएको रेल र पानीजहाजको सपनालाई राजधानी र अन्तर्राष्ट्रिय नाका जोड्ने सडकको दुरावस्थाको वास्तविकताले गिज्याइरहेको छ । विभिन्न व्यक्तिले पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशक पाएकै छन् । तर भूकम्प पीडितले राहत पाउनसकेका छैनन् । महँंगी, कालाबजारी, तस्करी, बलात्कार, असुरक्षा, भ्रष्टाचार, चर्को बैंक ब्याज, अनावश्यक कर, प्रशासनिक ढिलासुस्ती, न्यायिक विचलन, कानुनी राज्यको उपहास, प्रेसमाथि अंकुश, बेरोजगारी, युवा पलायन र व्यापारी पोस्ने शिक्षा विधेयक आजको तितो यथार्थ हो । हामी कतै आधार शिविर नै नपुगी सगरमाथाको चुचुरो पुग्ने दिवा सपना त देखिरहेका छैनौं ?
– कपिल केसी
विदुर–८, नुवाकोट

प्रकाशित : भाद्र १२, २०७५ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×