कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोन गर्न डेढ घण्टा उकालो

कान्तिपुर संवाददाता

जाजरकोट — कुशे गाउँपालिका ८, जिन्तालाकी जयकुँवारा सिंहले टेलिफोनमा कुरा गर्न नपाएको एक महिना बित्यो । उनको मोबाइलमा घण्टी बज्न छाडेको त महिनौं भइसक्यो । सिंहले सल्यानमा बस्ने छोरा रमेशसँग पनि फोन सम्पर्क नभएपछि डेढ घण्टा उकालो चढेर भाटकोट डाँडामा पुग्नु पर्ने बाध्यता छ ।

फोन गर्न डेढ घण्टा उकालो

कुशे ८, लाताचुलीको टावर बिग्रिएको महिनौं बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको हो ।


विगत १ वर्षदेखि बारेकोटको रतनकोट लेकको टावर मर्मत नहुँदा सर्वसाधारण सञ्चारविहीन भएका हुन् । यहाँका ७ स्थानीय तहमा बसोबास गर्नेमध्ये ७५ प्रतिशत सर्वसाधारण फोन सेवाको पहुँच बाहिर रहेको कुशे गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेत बताउँछन् ।


कुशे र बारेकोट गाउँपालिकाको फाटफुट अग्लो ठाउँबाहेक अन्यमा मोबाइल सेवाको पहुँच नभएको उनले बताए । दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । फोन नहुँदा स्थानीय बासिन्दालाई मात्र समस्या छैन, गाउँपालिका र नगरपालिकाले तोकेको केन्द्रबाट सरकारी सेवा प्रवाह गर्न पाएका छैनन् ।


जिल्लाका अधिकांश स्थानीय तहले टेलिफोन, इन्टरनेट, बैंक, विद्युतलगायत सुविधा नभएको भन्दै सदरमुकामबाटै सेवा सञ्चालन गर्दै आएका छन् । जसका कारण दुर्गमका सेवाग्राहीले सेवा लिन सास्ती बेहोर्नु परेको छ ।


सदरमुकाम खलंगा बजारभित्रै टेलिफोन तथा मोबाइल सेवाको पहुँच गतिलो नभएको भेरी नगरपालिका ३, का वडाध्यक्ष लीलाबहादुर शाह बताउँछन् । ‘दुर्गम गाउँका के कुरा गर्नु,’ उनले भने, ‘खलंगाभित्रै गहिरो ठाउँमा मोबाइलको टावर देखिँदैन ।’ नेपाल टेलिकमको लापरबाहीकै कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको अध्यक्ष शाहको भनाइ छ । उनका अनुसार टेलिकमले नियमित रूपमा टावर र बीटीएसहरूको मर्मत, सम्भार, नयाँ बनाउने, क्षमता विस्तार, पावर अपडेट गर्ने, लाइन सुधारलगायत काम नगर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।


नलगाड नगरपालिका २ को गडी, बारेकोट गाउँपालिका ५, को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २, स्थित भैरीलेकको नमस्ते मोबाइल टावर नबन्दा समस्या भएको छ ।


उक्त टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापरबाहीले टावर निर्माण अलपत्र परेका हुन् । टावर निर्माणका लागि आवश्यक सामग्री सुर्खेतमा पुर्‍याएको कम्पनीका प्रोजेक्ट म्यानेजर महेशचन्द्र पुजारीले बताए । बर्खालगत्तै टावर निर्माण गरिने उनले बताए ।


प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?