नेकपाका प्रवक्ता विश्वकर्माका छोराले दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् ।

विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । नरेन्द्रले विश्वकर्मासहित नेकपाका नेताहरु हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको दाबी गरेका हुन् । मनबहादुर खड्ग बहादुरका सवारीचालक हुन् ।

प्रहरीले आफ्ना बाबुलाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हातमा हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा गृहमन्त्रीको आदेशमा आफ्ना बाबुलाई पक्राउ गरिएको निवेदकको दाबबी छ ।

प्रकाशित : श्रावण २७, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्चद्वारा ढकाललाई सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले भदौ ७ सम्म ढकाललाई नियुक्त गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

गत साउन १० मा मन्त्रिपरिषद्ले पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गरेको थियो।

यसअघि नै प्रतिस्पर्धाबाट सूचीकृत व्यक्तिभन्दा बाहिरबाट नियुक्त गरिएको भन्दै अधिवक्ता शिव अर्यालले सर्वोच्चमा रिट दिएका थिए।

प्रकाशित : श्रावण २७, २०७५ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्