कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिक्षणको अनुमति नपाउँदा डा. केसीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरु अन्योलमा

अतुल मिश्र

काठमाडौँ — प्रा.डा. गोविन्द केसीको आमरण अनशन शनिबार २२ औं दिन पुग्दा उनको स्वास्थ्य स्थिति यकिन हुन सकेको छैन । केसीले स्वास्थ्य परीक्षण नगराउने अडान लिएका छन् । उनको स्वास्थ्य स्थिति दिनहुँ थप जटिल बनिरहेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।

परिक्षणको अनुमति नपाउँदा डा. केसीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरु अन्योलमा
‘उहाँले उपचार, कुनै परिक्षण गराउन मान्नुभएको छैन,’ विगतदेखि नै केसीको उपचारमा संलग्न रहँदै आएकी त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. दिव्या सिंह शाहले भनिन्, ‘रक्तचापसम्म पनि नाप्न दिनुभएन ।’

शाहका अनुसार रगतलगायत परीक्षण गराउन नमान्दा केसीको शरीरमा सेतो रक्तकणिका, क्याल्सियम, पोटेसियमलगायतको अवस्था थाहा पाउन सकिएको छैन । ‘यी सबै घटेकै होलान् । तर, थाहा पाए पनि के गर्ने, उहाँ औषधि लिन मान्नुहुन्न,’ उनले भनिन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा गरिएको रगत परिक्षण प्रतिवेदन हेर्दा भने केसीको स्थिति ठिकै देखिने शाहले बताइन् ।

‘अहिले कस्तो छ, यकिन भन्न सकिन्न,’ उनले भनिन्, ‘तर स्थिर देखिन्छ ।’ केसीलाई छाती दुखाइ, पेट दुखाइ, रिंगटा, मांशपेशी बाउँडिनेजस्ता समस्या पनि देखिएका छन् । सँगै रहेका केही चिकित्सकले उनको स्वास्थ्यस्थिति थप जटिल भइरहेको बताए ।

जुम्लामा सरकारले आमनागरिक तथा स्वास्थ्यकर्मीमाथि दमन गरेको र आफूलाई अपहरणशैलीमा राजधानी ल्याएको भन्दै केसीले विरोधस्वरुप कुनै पनि परीक्षण नगराउने अडान लिएका हुन् । उनले जुम्ला प्रकरण छानबिन गरी दोषीमाथि कारबाही माग गरेका छन् ।

मन्त्रीसँग अनौपचारिक छलफल
प्रधानमन्त्री केपी ओलीले खटाएका एक मन्त्रीले डा. केसीका प्रतिनिधिसित शनिबार करिब दुई घन्टा अनौपचारिक छलफल गरेका छन् । छलफलमा केसीका प्रतिनिधि डा. अभिषेकराज सिंह र डा. जीवन क्षेत्री सहभागी थिए ।

छलफलमा ती मन्त्रीले केसीको मागमा दुरगामी निकास खोज्नुपर्ने धारणा राखेका थिए । केसीका प्रतिनिधिले ती मन्त्रीको नाम भने उल्लेख गर्न चाहेनन् । ती मन्त्रीले छलफलको निचोडबारे प्रधानमन्त्रीसँग ब्रिफ गरेर निकास निकाल्न पहल गर्ने आश्वासन दिएको उनीहरुले बताए । सरकारी टोली र केसीका प्रतिनिधिबीच औपचारिक वार्ता भने हुन सकेको छैन ।

यसैबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले शनिवार डा. केसीसँग भेटी उनको सत्याग्रहमा ऐक्यवद्घता प्रकट गरेका छन् । उनले केसीको स्वास्थ्यस्थितिबारे समेत चासो राखेका थिए ।

सामुहिक सत्याग्रह
केसीको समर्थनमा आइतबारदेखि वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह हुने भएको छ । सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।


प्रकाशित : श्रावण ५, २०७५ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?