कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्यान्न ठेक्कामा अनियमतिता 

भीमबहादुर सिंह

जाजरकोट — नेपाल खाद्य संस्थान जाजरकोट शाखामा आर्थिक वर्ष २०७५/०७६ को चामल ढुवानी ठेक्कामा अनियमितता भएको खुलेको छ । 

खाद्यान्न ठेक्कामा अनियमतिता 

संस्थानको घाट डिपो र चौखा डिपोको चामल ढुवानी ठेक्कामा शाखाका कर्मचारी र व्यवसायीको मिलामतोमा अनियमितता भएको हो । कार्यालयले घाट डिपोको लागि ३९ लाख र चौखा डिपोको लागि १७ लाख रुपैयाँ लागतको चामल ढुवानी ठेक्का आह्वान गरेको थियो ।


सम्बन्धित पक्षको मिलोमतोमा उक्त ढुवानी लागि शाखामा साउन २ गते १२ बजेसम्म दर्ता भएका १६ फर्मलाई अयोग्य बनाउन बिडबण्ड लगायत कागजात गायब गर्ने र दररेट सच्याउने लगायत अनियमित कार्य भएको छ ।


रकम लेनदेनको प्रलोभनमा तोकेको मितिभित्र दर्ता भएका फर्ममध्ये कुनै एकलाई योग्य बनाउन अन्य फर्मका कागजात गायब गरिएको हो । त्यस्तै कतिपय फर्मले निर्धारित समयभित्र पनि दर्ता गर्न पाएनन् । व्यवसायीले ठेक्का मिलाउने निहुँमा लेनदेन गरेर यस्तो अनियमतिता गरेका हुन् ।


संस्थानले गत असार १ देखि साउन १ गतेसम्म चामल ढुवानीको दरभाउ पत्र खरिद् र साउन २ गते १२ बजेसम्म उक्त दरभाउ पत्र दर्ता गर्न पाउने समय तोकेको थियो । निर्धारित समयभित्र शाखाको कार्यालय हाताभित्र पुग्दा समेत दरभाउ पत्र दर्ता गर्न नपाएको निसान निर्माण सेवाका लोकबहादुर सिंहले बताए ।


कर्मचारी र व्यवसायीको मिलोमतोमा दररेट सच्याउने र कागजात झिक्ने तथा रितपुर्वक आएका फर्मलाई दर्ता नगर्ने कार्य भएको सिंहले बताए । कतिपय फर्मले कृषि विकासलगायत बैंकबाट जारी भएका विडवण्ड समेत मिलामतो गरेर चामल ढुवानी ठेक्काको कार्यालयमा दर्ता भएका दरभाउपत्र फर्मबाट निकालेर लिएको उनले बताए ।


व्यवसायीले खाद्य संस्थानको कार्यालयमा निर्धारित समय अगावै पेश भएका दरभाउपत्र कर्मचारीकै उपस्थितिमा कागजात गायब गरेको उनले बताए । संस्थानको सुचना अनुसार साउन २ गते १२ बजेसम्म दर्ता र २ बजे भित्र दरभाउपत्र खोलेर मुचल्का बनाउनु पर्नेमा मिलोमतोमा बेलुकी ५ बजेसम्म कागजात परिवर्तन गरेको सिंहले बताए ।


आर्थिक प्रलोभनमा परेर योग्य फर्मलाई अयोग्य बनाउने काम भएको उनले बताए । दरभाउ पत्र दर्तादेखि नै अनियमियत कार्य हुँदा डिपोमा कोटा अनुसारको चामल ढुवानी नभई स्थानीय बासिन्दा खाद्य अभाव झेल्न बाध्य छन् । मिलोमतो भएपछि दरभाउ पत्र खोल्न र मुचुल्का गर्न सम्बन्धित कार्यालयका प्रतिनिधि नै २ बजे आएका थिए । तर कार्यालयको कागजमा निर्धारित समय उल्लेख भएको छ ।


चामल ढुवानी ठेक्कापट्टामा अनियमितता नभएको शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताए । व्यवसायीबाट दरभाउपत्र स्वीकृतिका लागि पेश भएका कागजात फेरबदल नभएको बस्नेतले बताए । दरभाउ पत्र कुन फर्मको स्वीकृत हुन्छ भन्ने पनि थाहा नभएको उनले बताए ।


संस्थानमा दरभाउपत्र स्वीकृतिका लागि दर्ता भएका एम बी विल्डर्स, सुदर्शन निर्माण सेवा एण्ड सप्लायर्स, केबी निर्माण सेवा एण्ड सप्लायर्स, आशिका सप्लायर्स, मधुकर निर्माण सेवा एण्ड सप्लायर्स, सेतो गुराँस निर्माण सेवा लगायत फर्मको कागजात फेरबदल गरिएको हो । प्राय खाद्य अभाव हुने बारेकोट र चौखा डिपो क्षेत्रमा संस्थानको चामल ढुवानीमा अनियमितता हुने गरेको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?