काठमाडौँ — यस वर्षको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।
उनका अनुसार क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ । बिहीबार पनि देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ । बिहीबार साँझ र रातितिर काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रुपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन ।
महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार सबैभन्दा बढी डडेल्धुरामा १८, दाङमा १२, विराटनगरमा ११ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंको भने वर्षा रेकर्ड गरिएको छैन । बिहीबार काठमाडौंको अधिकतम् तापक्रम ३० र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । प्रकाशित : असार १४, २०७५ १५:१४
विराटनगर — नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार अपरान्ह सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।
नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २ सय ४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताए ।
कांग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताए ।
उनले वर्तमान सरकारले जनताको सुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताए ।
निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उनको भनाइ थियो ।
एक फरक प्रसंगमा उनले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गरे ।