कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैदी मृत्यु प्रकरणः छानबिन गर्ने जिम्मा सीआईबीलाई दिन सुझाव

काठमाडौँ — नख्खु जेलका कैदी भक्तबहादुर सुनुवारको शंकास्पद मृत्युबारे छानबिन गर्न गठित समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

कैदी मृत्यु प्रकरणः छानबिन गर्ने जिम्मा सीआईबीलाई दिन सुझाव

स्रोतका अनुसार समितिले कैदीबन्दीको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिन सुझाव दिएको छ ।


जेलभित्र अचानक बिरामी परेका भक्तबहादुरको उपचारक्रममा वैशाख २१ मा मृत्यु भएपछि र उनको साथबाट जेलभित्र शोषणको शृंखला रहेको आशयको पत्र फेला परेपछि गृहमन्त्रीले छानबिन समिति बनाएका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले पोस्टमार्टममा मृत्युको कारण पत्ता लाग्न नसकेको रिपोर्ट दिएपछि सुनवारको मृत्यु थप रहस्यमय बनेको थियो । कान्तिपुरसँग कुरा गर्दै समितिका एक सदस्यले नख्खु जेलभित्र कैदीबीच शक्तिसंघर्ष रहे पनि भक्तबहादुरको मृत्युको कारण शक्तिसंघर्ष नभएको बताए ।


समितिले भक्तको मृत्युका पछाडि जेलभित्रकै केही कैदीको भूमिका रहेको औंल्याउँदै त्यसबारे थप छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनुपर्ने सुझाएको छ । समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाइसकेको छ ।


कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, महानगरीय अपराध महाशाखाका डीएसपी सोमेन्द्रसिंह राठौर, गृहका शाखा अधिकृत घनश्याम घिमिरे र कृष्णप्रसाद सापकोटा थिए । नख्खु कारगारभित्र आर्थिक चलखेल र शक्तिसंघर्षका निम्ति अनेकन नाइकेहरू खडा गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।


जेलभित्र गैरकानुनी रूपमा पानी नाइके, टेलिफोन नाइके, बिजुली नाइकेजस्ता अनेकन पद खडा गरिएको र यस्तो अभ्यास कारागार ऐन, २०१९ विपरीत भएको समितिको ठहर छ ।

प्रकाशित : जेष्ठ १६, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?