ओली–दाहाल छलफल : आपसी समझदारीमै घोषणापत्रअनुरूप बजेट ल्याइने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धतालाई समेटेर दुवै दलको आपसी छलफलमा बजेटलाई अन्तिम रूप दिने समझदारी गरेका छन् । 

बजेट निर्माण प्रक्रियामा माओवादी पक्षबाट असन्तुष्टि आइरहेका बेला बुधबार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल भएको हो । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा बजेट र नीति तथा कार्यक्रमका सिद्धान्तहरू पेस गर्नुअघि नै ओली–दाहाल भेट भएको थियो । यसअघि माओवादीले बजेट निर्माण प्रक्रियामा सहभागी नगराएको र एमालेमात्र हावी भएको आरोप लगाएको थियो ।


मंगलबारको संसदीय दलको बैठकमा माओवादी सांसदहरूले यस विषयमा कुरा गर्नुपर्ने भन्दै अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए । त्यसपछि ओली र दाहालबीच कुरा भएको हो ।


भेटमा प्रधानमन्त्री ओलीले पार्टी नै एक हुने प्रक्रियामा रहेकाले बजेटका विषयमा सबैका भावना समेटिने भन्दै दाहाललाई आश्वस्त पारेको स्रोतले जनायो । संघीयता कार्यान्वयन गर्ने पहिलो बजेट भएकाले यसमा पर्याप्त छलफल आवश्यक रहेको भन्दै दाहालले ओलीको ध्यानाकर्षण गराएका थिए ।


बजेट निर्माण प्रक्रिया, कार्यक्रम छनोट, रकम विनियोजन लगायतमा सबै मन्त्रीहरूसँग सल्लाह गरेर अघि बढ्नुपर्ने माओवादीको जोड थियो । माओवादी मन्त्रीहरूले धेरै निर्णयमा प्रधानमन्त्री हावी हुँदै गएको र आफूहरूसँग कर्मचारी सरुवा गर्दासमेत जानकारी नदिएको भन्दै पार्टीमा यसअघि नै जानकारी गराएका थिए । त्यसपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई भेटेका थिए । पुन: बजेट निर्माण गर्ने क्रममा पनि त्यस्तै शैली दोहोरिन लागेको भन्दै माओवादी मन्त्रीहरूले पार्टीमा रिपोर्टिङ गरेका थिए ।


पार्टी एक नहुँदासम्म गठबन्धनकै संस्कृतिअनुसार छलफलबाट अघि बढ्नुपर्ने धारणा माओवादीले राखेको छ । प्रधानमन्त्री ओलीले बजेटलाई सकेसम्म जनमुखी बनाउने प्रयास भइरहेको र त्यसमा सबैका सुझाव समेटिने आश्वासन दिएका थिए ।


बालुवाटारको बैठकमा दुई दलबीच रोकिएको पार्टी एकताका विषयमा समेत कुराकानी भएको थियो । तर उक्त छलफलले एकतामा परिरहेको अल्झन खुलाउन सकेन । छिट्टै वाम एकता संयोजन समितिको बैठकबाट एकता प्रक्रियाका बाँकी विषय अघि बढाउन उनीहरू सहमत भएका छन् । तर बैठक कहिले बोलाउने भन्ने तय भएको छैन ।


दुई दलबीच एकतापछि पार्टीमा कुन पक्षको कति हिस्सेदारी हुने भन्नेमा मुख्य विवाद छ । एमालेले विगतको सहमतिअनुसार गर्नुपर्ने अडान राखेको छ । माओवादीले बराबरी हैसियतमा गर्नुपर्ने धारणा राखेको छ । दुई धारबीचको एकता भएकाले समान हैसियत स्थापित हुनुपर्ने अडान माओवादीको छ । महाधिवेशनपछिको नेतृत्व र सरकार हस्तान्तरण गर्ने कि नगर्ने भन्ने कुरा पनि एकता प्रक्रियाभित्र जोडिएको छ । यो विषयमा सहमति भएपछि मात्र पार्टी एकताको औपचारिक टुंगो लाग्नेछ ।

प्रकाशित : वैशाख २६, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

श्रीनिवासको अर्को नाटक: हिरासतमै अनशन

देवनारायण साह

मोरङ — हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर आन्दोलन गराउन असफल भएका आचार्य श्रीनिवासले हिरासतमा अर्को नाटक सुरु गरेका छन् । आचार्यले हिरासतमा निराहार रहेर अनसनको नाटक सुरु गरेका हुन् ।


निराहार रहेको सन्देश फैलाएर अझ पनि उनले आफ्ना अनुयायीहरुलाई आन्दोलन चर्काउन खोजेका छन् । सोमबारदेखि आचार्य निराहार बसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुणकुमार बिसीले आचार्यलाई पक्राउ गरेर ल्याएदेखि केही नखाएर निराहार बसेको बताए । ‘उनलाई जिल्ला प्रहरी कार्यालयमा नै सलाईन पानी चढाएर राखेका छौँ,’ उनले भने, ‘उनको गोली लागेको घाउ पनि पूर्ण रुपमा निको नभइसकेको अवस्था छ । ’

समाजसेवी तथा समालोचक दधिराज सुवेदीले धार्मिक सदभाव बिथोलेर आफ्ना स्वार्थपूर्ति गर्नेहरुको यो खेल र षडयन्त्रले मुलुक ठूलो दुर्घटना हुनबाट जोगिएको बताए । ‘आचार्य श्रीनिवासले आफ्नो स्वार्थपूर्तिका लागि धमिलो पानीमा माछा मार्न खोजेका थिऐ,’ उनले भने, ‘अब आचार्यले निराहारलगायत जस्तोसुकै नाटक गरे पनि नेपाली समाजमा कुनै असर पर्दैन ।’

आचार्यप्रति आदर भाव राख्दै आएका विराटनगरका कविराज न्यौपानेले उनले गरेको कुकृत्यबाट सम्पूर्ण हिन्द धर्मावलम्बीहरुको शीर निहुरिएको बताए । ‘आचार्यले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि गोली प्रहार गर्न लगाएर जुन हिंसा भडकाउन खोजेका थिए ,’ उनले भने, ‘आचार्यको अनशनबाट मृत्यु भएपनि अब नेपाली समाजमा त्यसको कुनै असर पर्दैन । ’

सनातन हिन्दु राष्ट्र जागरण अभियान मोरङका अध्यक्ष तिलक रिजालले आचार्यलाई गोली लागेपछि विभिन्न माग राखेर र्‍याली प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको तर घटनाले अर्कै मोड लिदा अत्यन्तै असहज महशुस भइरहेको बताए । ‘यस्ता घटनाहरु सिनेमामा हेर्ने गरेका थियौ तर आचार्यले हामीलाई सामाजिक जीवनमा नै देखाई दिए,’ उनले भने, ‘यो अत्यन्तै संवेदनशील विषय हो र यो मुर्खतापूर्ण कार्य हो ।’

राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्वीटरमा आचार्य श्रीनिवासले गरेको कार्य अत्यन्तै निन्दनीय र भत्र्सना योग्य भएको बताएका छन् ।

प्रकाशित : वैशाख २६, २०७५ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×