कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बूढीगण्डकीको ठेक्का प्रक्रिया सुरु गर्ने तयारीमा छौं : उर्जामन्त्री

रासस

काठमाडौँ — सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु गर्दै आगामी आर्थिक वर्ष २०७५/७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ ।

बूढीगण्डकीको ठेक्का प्रक्रिया सुरु गर्ने तयारीमा छौं : उर्जामन्त्री

लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको बेला सरकारले ठेकेदार छनोट गर्ने तयारी गरेको हो ।


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने, 'आगामी आवमा नै आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने गरी आवश्यक तयारी गरिएको छ ।' कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना पूर्ववर्ती सरकारले नेपाली लगानीमा नै निर्माण गर्ने निर्णय गरेको थियो ।


आयोजनालाई लगानीयोग्य बनाउन करिब रु एक खर्ब अनुदान दिने निर्णयसमेत पूर्ववर्ती सरकारले गरेको थियो । आयोजनाका लागि चालू आवमा रु १० अर्ब बजेट विनियोजन गरिएकामा त्यसबाट स्थानीय प्रभावितलाई मुआब्जा वितरणलगायतको काम जारी रहेको छ । यस्तै नेपाल आयल निगमले आयोजनाका लागि भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करबाट हालसम्म र १८ अर्ब रकम जम्मा भइसकेको छ ।


आयोजनाको कूल लागत रु दुई खर्ब ७३ अर्ब रहेको छ । पत्रकार सम्मेलनमा मन्त्री पुनले आयोजना अरु कुनै विदेशी कम्पनी वा निकायलाई दिनेबारे आफूले कुनै निर्णय नगर्ने बताए ।


आयोजनाबाट धादिङ र गोरखाका साविकका २७ गाविस प्रभावित हुनेछन् । धेरैजसो प्रभावित क्षेत्रको मुआब्जाका बारेमा निर्णय भए पनि धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको भने हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन । ती स्थानको शीघ्र मुआब्जा निर्धारण तथा अन्य क्षेत्रको मुआब्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गर्दै स्थानीयवासीले आग्रह गर्दै आएका छन् ।


मुआब्जा पनि नपाउने र भूकम्पका कारण भत्किएका भवन तथा आवाससमेत निर्माण गर्न नपाउने दोहोरो चपेटामा आयोजना प्रभावित रहेका छन् । सरकारले आगामी आवका लागि सो आयोजनामा रु १८ अर्ब बजेट उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ । मन्त्री पुनले आयोजना तयारी अवस्थामा रहेकाले निर्माण सुरु गरिने विश्वास दिलाए ।


विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको आयोजना भएकाले पनि निर्माण सुरु गरिहाल्न कुनै समस्या नभएको मन्त्रालयले जनाएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको परियोजनामा राखेको छ ।

प्रकाशित : वैशाख २५, २०७५ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?