सार्कका लागि परिस्थिति अनुकूल छैन : भारत

चन्द्रशेखर अधिकारी, सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई अगाडि बढाउन तत्काल परिस्थिति प्रतिकूल रहेको बताएको छ ।

तस्बिर स्रोत – भारतीय विदेश मन्त्रालय

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्तामा भारतीय समकक्षी नरेन्द्र मोदीले सार्कको अध्यक्ष राष्ट्र नेपाललाई यस्तो जानकारी गराएका हुन् ।

भारतीय विदेश सचिव विजयकेशव गोखलेले भेटका क्रममा प्रधानमन्त्री ओलीले बिमस्टेक, बीबीआईएन र सार्कजस्ता क्षेत्रीय संगठनको महत्त्व र भूमिकाबारे चर्चा गरेका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले ‘सीमापार आतंकवादको अवस्था विद्यमान रहेकाले सार्कलाई तत्काल अगाडि बढाउन सहज नभएको’ बताएको भेटपछि विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गोखलेले जानकारी दिए ।

उनले दुई प्रधानमन्त्रीबीच मित्रवत छिमेकका आपसी विषयमा छलफल भए पनि चीन र उससँग जोडिएका बूढीगण्डकी, बीआरआई लगायतका विषयमा चर्चा नै नभएको दाबी गरे ।

दुई प्रधानमन्त्रीबीच चीनसँग सम्बन्धित कुनै पनि विषयमा छलफल नभएको पनि विदेश सचिव गोखलेले जानकारी दिए । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने जिम्मा फेरि चीनलाई नै दिने प्रक्रिया अघि बढेको हो ? भन्ने जिज्ञासामा उनले यसबारे दुई प्रधानमन्त्रीबीच कुनै छलफल नभएको बताए । लागूऔषध ओसारपसार, मानव तस्करी लगायतका सीमा सुरक्षासँग जोडिएका विषयमा सहकार्य गर्न दुवै पक्ष सहमत भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भारत सरकारका तर्फबाट दिइएको सम्मान गारद ग्रहण गर्दै ओली।

भेटवार्तामा नेपालको बढदो व्यापार घाटासम्बन्धी विषय उठे पनि त्यसबारे आगामी वाणिज्य मन्त्रीस्तरीय बैठकमा थप छलफल हुने समझदारी बनेको जानकारी उनले दिए । गोखलेका अनुसार भारतको सहयोगमा सञ्चालनमा रहेका पूर्वाधारका आयोजनालाई गति दिन दुवै पक्ष सहमत भएका छन् ।

भारतले बनाएको विद्युत् खरिदसम्बन्धी निर्देशिकाका व्यवस्थाप्रति नेपाली मात्र होइन, नेपालमा लगानी गर्न चाहने विदेशी प्रवद्र्धकसमेत सशंकित छन् । भारत सरकार र भारतीय निजी क्षेत्रको ५१ प्रतिशत या त्योभन्दा बढी लगानी भएका प्रवद्र्धकले नेपाल या अन्य छिमेकी मुलुकमा बनाउने विद्युत् आयोजनाबाट मात्र विद्युत् खरिद गर्ने व्यवस्था निर्देशिकामा छ । त्यसबारे उठेको प्रश्नको जवाफमा सचिव गोखलले ‘निर्देशिकाका सम्बन्धमा नेपाल लगायतका छिमेकीबाट विभिन्न सुझाव आएको र त्यसलाई मध्यनजर गर्दै पारदर्शी संरचना बनाइने बताए । हैदरावाद हाउसमा भएको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले आफ्ना भनाइ राखे पनि पत्रकारलाई जिज्ञासा राख्न दिइएको थिएन ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

भारतसँग नमुना सम्बन्ध : ओली

कान्तिपुर संवाददाता

नयाँदिल्ली — प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउनुपर्ने बताएका छन् । दुवै मुलुकको समृद्धिमा एकअर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध बनोस् भन्ने आफूहरूको चाहना रहेको स्पष्ट पार्दै ओलीले भने, ‘सम्झौता र सहमतिभन्दा माथि मित्रता हुन्छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदी मोतिहारीदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइनको नयाँदिल्लीमा स्विच थिचेर शिलान्यास गर्दै । फाइल तस्बिर : एपी/रासस

हामी त्यसैमा अडेर अघि बढ्न सक्नुपर्छ । मेरो लक्ष्य नै नेपाली जनताको समृद्धि र खुसी हो ।’ यो भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने काम भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले तीन तहको निर्वाचनपछि राजनीतिक स्थायित्वसँगै नेपाल सामाजिक, आर्थिक विकासमा अघि बढेको समेत बताए । उनले यसमा भारतको सहयोग र सहकार्यको अपेक्षा रहेको पनि बताए ।

प्रधानमन्त्रीका रूपमा दोस्रो भारत भ्रमणलाई आफूले उच्चस्तरको राजनीतिक छलफलको अवसरका रूपमा लिएको बताउँदै प्रधानमन्त्री ओलीले राजनीतिक तहमा सम्बन्ध नवीकरण गरिरहन आवश्यक रहेको बताए । उनले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत गरे । नेपाल अस्थिरता र जटिल संक्रमणकालबाट आर्थिक विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै ओलीले यस अवस्थामा भारतको सहयोग र सहकार्यको अपेक्षा गरे । ‘अब धेरै काम गर्नुपर्ने हुनाले लगानी आवश्यक छ । भारतको सरकारी वा सार्वजनिक र निजी क्षेत्रबाट पनि हामीले यसतर्फ अपेक्षा राखेका छौं ।’ अन्तरदेशीय प्रसारण लाइन र इनर्जी बैंक निर्माणका लागि दुवै देश सहमत भएकोमा ओलीले खुसी व्यक्त गरे ।

भारतले केही दशकयता तीव्र विकास गरेकोमा खुसी व्यक्त गर्दै ओलीले थप प्रगतिको कामना गरे । उनले प्रधानमन्त्री मोदीलाई आफ्नो लक्ष्यमा अघि बढ्न सकेकोमा बधाई दिँदै भने, ‘यो विकासलाई नेपालले अवसरका रूपमा लिएको छ ।’

संयुक्त वक्तव्यका मुख्य बुँदा
-दुई मुलुकबीचका बहुआयामिक सम्बन्धहरूमाथि बृहत् समीक्षा । दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत । समानता, आपसी विश्वास, सम्मान र लाभका आधारमा दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मिलेर काम गर्न सहमत ।

-प्रधानमन्त्री ओलीद्वारा भारतको प्रगति र समृद्धिबाट लाभ लिन सक्ने गरी दुईपक्षीय सम्बन्धलाई विकास गर्ने चाहना व्यक्त । नेपाल सरकारको प्राथमिकताका आधारमा साझेदारी गर्दै सम्बन्धलाई बलियो बनाउन भारतका तर्फबाट प्रधानमन्त्री मोदीद्वारा प्रतिबद्धता ।

-दुवै प्रधानमन्त्रीद्वारा आफूहरूले लिएको मूल लक्ष्य ‘सबका साथ सबका विकास’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ बीच समानता रहेको उल्लेख । प्रधानमन्त्री मोदीद्वारा स्थानीय तह, प्रदेश र संघीय संसदको सफलतापूर्वक चुनाव गरेकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाईका साथै स्थायित्व र विकासको लक्ष्य लिएकोमा प्रशंसा ।

-वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को दुवै प्रधानमन्त्रीद्वारा उद्घाटन ।

-दुवै प्रधानमन्त्रीद्वारा बटन थिचेर मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको शिलान्यास ।

-नेपालमा रहेका दुईपक्षीय नयाँ तथा पुराना परियोजना कार्यान्वयनलाई तीव्रता दिन र विविध क्षेत्रमा साझा एजेन्डाहरू प्रवद्र्धन गर्न दुईपक्षीय संयन्त्रहरू सक्रिय बनाउन जोड ।

-तीन क्षेत्रमा आपसी सहकार्य गर्ने– कृषिमा नयाँ साझेदारी, रक्सौलदेखि काठमाडौं रेलमार्ग विस्तार, नेपाल–भारतबीच जलमार्ग ।

-भ्रमणबाट दुई मुलुकबीचको बहुआयामिक साझेदारी नयाँ चरणको प्रवेश ।

-ओलीद्वारा मोदीलाईनेपाल भ्रमणको निम्तो । न्यानो आतिथ्यका लागि धन्यवाद ।

-मोदीद्वारा निमन्त्रणा स्वीकार । भ्रमणको मिति कूटनीतिक माध्यमबाट टुंगो लगाइने ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्