कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल नयाँ युगमा : मोदी

‘नेपाल ल्यान्ड लक होइन, ल्यान्ड लिंक मुलुक हो । यसलाई थप सुदृढ गर्न सीमाबाट काठमाडौंसम्म रेलले जोड्न भारतले सहयोग गर्नेछ ।’

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन तहको सफल लोकतान्त्रिक निर्वाचनसँगै नेपाल राजनीतिक इतिहासको एउटा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले एक छिमेकी र विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकका लागि यो सबैभन्दा हर्षको विषय भएको भन्दै नेपालको राजनीतिक प्रगतिको प्रशंसा गरे ।

नेपाल नयाँ युगमा : मोदी

मोदीले नेपालमा अब राजनीतिक स्थिरता कायम हुने र विकास अघि बढ्ने आफूले विश्वास लिएको बताए । त्यसका लागि जस्तोसुकै सहयोग गर्न आफ्नो सरकार तयार रहेको उनले बताए ।

तीनदिने राजकीय भ्रमणका क्रममा दिल्ली आएका प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीसँग दुई चरणमा भएको लामो दुईपक्षीय छलफलपछि शनिबार आयोजित अन्तक्र्रियामा उनले नेपालको राजनीतिक प्रगतिको प्रशंसा गरेका हुन् । ओली र मोदीबीच शनिबार बेलुका एक घण्टा एक्लाएक्लै भेटघाट भएको थियो भने आइतबार दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरमा दुई तहमा छलफल भएको थियो । आरम्भमा प्रधानमन्त्री र अन्य ६–६ जनाको बैठक बसेको थियो । उक्त बैठकलगत्तै प्रधानमन्त्री र १३–१३ जनाको दुईपक्षीय बैठक बसेको थियो ।

दुवै बैठकमा नेपाल र भारतका समग्र दुईपक्षीय मुद्दाहरूबारे छलफल भएको नेपाली अधिकारीले जानकारी दिए । उक्त बैठक सकिएलगत्तै दुवै मुलुकका प्रधानमन्त्रीले मोतिहारीदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइनको स्विच थिचेर शिलान्यास गरेका थिए । त्यो पाइपलाइन ओछ्याउने काम यसअघि नै सुरु भइसकेको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा दुईपक्षीय सहमति नभएपछि अन्तिम समयमा भारतबाट स्विच थिचेर शिलान्यास गर्ने पूर्वघोषित कार्यक्रम रोकिएको थियो ।

भारतीय सहयोगमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकीको संयुक्त उद्घाटन पनि स्विच थिचेर नै गरिएको थियो । यसलगत्तै मोदीले उक्त भन्सार औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाए । प्रधानमन्त्री मोदीले उक्त कार्यक्रम सम्पन्न गरेलगत्तै सञ्चारकर्मीतर्फ हेर्दै नेपालीमा स्वागत गरे । नेपाली भाषामा केहीबेर बोलेपछि उनी हिन्दी भाषामा प्रस्तुत भएका थिए ।

‘नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ हाम्रा लागि हर्षको विषय हो,’ यस प्रकारको विकास र स्थायित्वको मुक्तकण्ठले स्वागत गर्ने उल्लेख गर्दै मोदीले भने, ‘शुक्रबार र शनिबार प्रधानमन्त्री ओलीसँग भएको छलफलमा उहाँले नेपालको तीव्र आर्थिक विकास एवं समावेशी समाजको निर्माणका लागि प्रस्तुत गर्नुभएको दृढ दृष्टिकोणले म उत्साहित छु । हामीले सबै विषयमा चर्चा गर्दै ओलीजीको दृष्टिकोणलाई साकार पार्न भारतले कुन प्रकारले सहयोग वा भागिदार बन्न सक्छ, गर्नेछौं ।’

भारत ‘सबका साथ सबका विकास’ भन्ने मूलमन्त्रमा हिँडेको उल्लेख गर्दै मोदीले भने, ‘नेपालका प्रधानमन्त्रीले अघि बढाएको ‘समृद्ध नेपाल खुसी नेपाली’ अभियानमा साथ दिनमा हामी एकअर्कोका पूरक हुन सक्छौं । यसका लागि हामी दुवै पूर्णत: सहमत छौं ।’

मोदीले भारत नेपालको विकासका लागि इतिहासदेखिकै भागिदार रहेको बताए । ‘प्रधानमन्त्री ओलीजीलाई मैले भरोसा दिलाएको छु । नेपालको आर्थिक विकास र समृद्धि प्रयासमा भारतले आउँदा दिनहरूमा पनि पूरै सहयोग गरिरहन्छ,’ प्रधानमन्त्री मोदीले भने, ‘हामी यो सहयोग भविष्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकताहरू र आवश्यकतामा आधारित रहेर लगातार गर्नेछांै ।’

मोदीले सहयोगको दायरा फराकिलो पारिएको उल्लेख गर्दै अब जलमार्गबाट पनि नेपाललाई सहजै जोडिने जनाए । नेपाललाई रेलमार्ग पनि आवश्यक भएकाले यसलाई अघि बढाउने उनले बताए । नेपाल ल्यान्ड लक्ड नभई अब समुद्रसँग जोडिने उल्लेख गर्दै मोदीले भने, ‘हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी उपलब्ध हुनेछ । यसले सगरमाथाको देश सागरसँग सीधा पहुँच राखेर विश्वमा अघि बढ्नेछ ।’ जलमार्गलाई उनले एउटा ऐतिहासिक सुरुवातका रूपमा व्याख्या गरे । ‘नेपाल ल्यान्ड लक होइन, यो ल्यान्ड लिंक मुलुक हो । यसलाई थप सुदृढ गर्न सीमाबाट राजधानी काठमाडौंसम्म रेलले जोड्न भारतले सहयोग गर्नेछ ।’

निकै प्रसन्न देखिएका ओली–मोदी दुवैले एकअर्कालाई हेर्दै आफ्ना अभिव्यक्ति दिएका थिए । मोदीले नेपालीमा भनेका थिए, ‘यहाँहरू सबैलाई नयाँदिल्लीमा स्वागत छ ।’ नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाकै पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको भारत भ्रमण भइरहेको उनले बताए । ‘गतवर्ष नेपालका जनताले लोकतन्त्र एवं संघीय व्यवस्थामा विश्वास जनाए । यसबाट हामी हर्षित छांै,’ उनले भने ।

‘स्थानीय निकाय, प्रान्त र संघीय संसदको चुनावको सफल आयोजन नेपालको सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो । र, सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुवैलाई हृदयदेखि नै अभिनन्दन गर्छ‘ । र, धेरै–धेरै बधाई दिन्छु,’ उनले भने ।

उनले वीरगन्जको जाँच चौकी व्यापारमा सहजीकरणको एक आयाम भएको बताए । ‘व्यापार र मानिसहरूको आवागमन भौतिक पूर्वाधारसँग जोडिएको हुन्छ । भारत र नेपालको सदीयौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेमा उनले दृढता व्यक्त गरे । ‘कनेक्टिभिटीका सबै परियोजनाको प्रगति समीक्षा गर्‍यौं,’ उनले भने । तेल पाइपलाइन, एकीकृत चेकपोस्ट, हुलाकी सडक र अन्य धेरै परियोजनामा सक्दो गति दिन आफूहरू सहमत भएको उनले बताए । उनले नेपाल र भारत दुवै कृषिप्रधान मुलुक भएको बताउँदै यसमा सहकार्य अपरिहार्य रहेको बताए । कृषि क्षेत्रमा एक नयाँ भागिदारीको सुरुवात गरेको पनि उनले बताए । अर्गानिक फार्मिङ, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान एवं कृषि शिक्षाजस्ता विषयहरूमा सहयोग बढाउने उनले बताए । प्रधानमन्त्री ओलीसित मिलेर जल संसाधन र ऊर्जासम्बन्धी परियोजनाका विषयमा पनि समीक्षा गरेको उनले बताए । अरुण तेस्रो, पञ्चेश्वरलगायत परियोजनाका काममा गति बढाउन दुवै पक्ष सहमत भएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री मोदीले सुरक्षाको विषयमा पनि गम्भीरता देखाएका छन् । ‘भारत र नेपालका बीच रक्षा र सुरक्षाका विषयमा धेरै गहन सम्बन्ध छ,’ मोदीले भने, ‘हामी दुवैले आफ्ना खुला सीमाको दुरुपयोग रोक्दै साझा सुरक्षाका हितहरूलाई अगाडि बढाउन सक्नुपर्छ ।’ यो ऐतिहासिक छलफलले दुई मुलुकबीचको सहकार्यलाई थप बलियो बनाउने र पुराना तीतामीठा बिर्साएर अघि बढाउने उनले विश्वास व्यक्त गरे ।

राजकीय सम्मान गारद
यसअघि प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राजकीय सम्मान गारद दिइएको थियो । त्यहाँ ओलीलाई समकक्षी मोदीले स्वागत गरेका थिए । उक्त अवसरमा मोदीका साथै उच्च नेता र अधिकारीहरू सहभागी थिए । सम्मान गारद कार्यक्रममा पनि ओलीले भरतसँग नेपालको सम्बन्ध निकै सुमधुर र नयाँ चरणमा प्रवेश गरेको बताए । उनले केहीबेर सञ्चारमाध्यमसँग बोल्दै नेपाल–भारत सम्बन्ध मित्रतामा अडेको बताए । ‘मित्रता सम्झौता सहकार्यभन्दा माथि हुन्छ,’ उनले भने । ओलीले राष्ट्रपतिलाई भेटेलगत्तै उनलाई भेट्न विदेशमन्त्री सुष्मा स्वराज राष्ट्रपति भवन पुगेकी थिइन् । विदेशमन्त्री स्वराजले पनि नेपाल र भारतबीचका पुराना समझदारीहरूलाई समग्रमा समीक्षा गर्दै छिटो अघि बढाउनुपर्नेमा आफ्नो पनि जोड रहेको बताएको छलफलमा सहभागीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति बैंकया नयाडुसित पनि शिष्टाचार भेट गरे । ओलीलाई भेट्न गृहमन्त्री राजनाथ सिंहलगायत अन्य नेता तथा उच्च अधिकारीहरू निवासमा पुगेका थिए । ओलीले शनिबार नै नीति फाउन्डेसनले गर्ने नागरिक अभिनन्दनमा नेपालको पछिल्लो अवस्थाबारे जानकारी दिए । उनी राजगाढस्थित महात्मा गान्धिको समाधी स्थलसमेत पुगेका थिए ।

विकासमा सघाउँछौं

– राष्ट्रपति कोविन्द
राष्ट्रपति रामनाथ कोविन्दले नेपाल भारतको ऐतिहासिक मात्र नभई सुखदु:खको मित्र पनि रहेको धारणा व्यक्त गरेका छन् । उनले नेपालको विकासमा भारतले सधैं साथ र सहयोग दिने बताए । ‘नेपालमा असहज हुँदा भारतलाई समेत समस्या पर्ने र भारतमा असहज हुँदा नेपाललाई पनि त्यस्तै आइलाग्ने हुनाले यसबाट पनि हाम्रो सहकार्य र सम्बन्ध झल्कन्छ,’ उनले भने ।

उनले भारतीय राजनीतिमा नेपाली नेताको योगदानको समेत स्मरण गरे । प्रधानमन्त्री केपी ओलीसितको भेटमा उनले भने, ‘भारतले नेपाललाई सधैं सकारात्मक र खुला रूपमा हेर्दै आएको छ । कुनै समस्या भए छलफल गरेर समाधान गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।’

प्रकाशित : चैत्र २५, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?