कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षा ११ को नतिजा - प्रयोगात्मकमा ए प्लस, सैद्धान्तिकमा डी

‘बाह्य निरीक्षकले विद्यार्थीले के सिक्यो भन्ने हेर्दैनन्, विद्यालयले तयार गरेको नम्बरको फरम्याटमा हस्ताक्षर गरेर भत्ता बुझ्ने मात्रै गरिन्छ’

काठमाडौँ — विद्यालयहरूले प्रयोगात्मकमा विद्यार्थीको सिकाई क्षमताभन्दा बढी अंक दिने गरेको पाइएको छ । सैद्धान्तिकमा विषयमा न्यून ग्रेड ल्याउने विद्यार्थीले समेत प्रयोगात्मकमा उच्च ग्रेड दिने गरेको पाइएको छ । यस्तो अवस्था निजी र सामुदायिक दुवै विद्यालयमा देखिएको हो । राष्ट्रिय परीक्षा बोर्डले केही दिन अघि सार्वजनिक गरेको कक्षा ११ को नतिजामा सैद्धान्तिकमा न्यून ग्रेड ल्याउने विद्यार्थीलाई विद्यालयले प्रयोगात्मकमा उच्च ग्रेड दिने गरेको पाइएको हो । प्रयोगात्मक नम्बर विद्यालयबाट नै पठाउने गरिन्छ । 

कक्षा ११ को नतिजा - प्रयोगात्मकमा ए प्लस, सैद्धान्तिकमा डी

राजधानीको नाम चलेको कलेजका एक विद्यार्थीको कक्षा ११ मा बायलोजीको प्रयोगात्मकमा ए प्लस थियो भने सैद्धान्तिकमा डी प्लस थियो । उनी आफ्नो पुनर्योग गराउन भन्दै राष्ट्रिय परिक्षा बोर्ड पुगेका थिए । प्रयोगात्मक विषय भएको अरू विषयको हालत पनि उस्तै थियो । राजधानीकै अर्का एक विद्यालयका विद्यार्थीको जनसंख्या शिक्षाको सैद्धान्तिकमा डी र प्रयोगात्मकमा ए प्लस थियो । त्यस्तै समाजशास्त्रको सैद्धान्तिकमा डी प्लस र प्रयोगात्मकमा ए प्लस थियो ।


यी दुई विद्यार्थीको मात्रै होइन । विद्यालयले प्रयोगात्मकको नम्बर सबैलाई ए प्लस तथा ए दिने गरेको पाइएको छ, जबकि विद्यार्थीले सैद्धान्तिकमा न्यून अंक मात्रै ल्याएका छन् । यस्तो समस्या अझ प्राविधिक धारमा बढी देखिएको छ । जिओ टेक इन्जिनियरिङमा ५ सय ८९ विद्यार्थीमध्ये प्रयोगात्मकमा २ सय ८५ विद्यार्थीको ए प्लस, १ सय ५८ को ए, ५३ जनाको बी प्लस र ५० जनाको बी प्लस छ । तर, सैद्धान्तिकमा ए प्लस र ए ल्याउने शून्य छन् । बी प्लस ल्याउने ५ जना मात्रै छन् । अधिकांश विद्यार्थीको सी, डी प्लस र डी मात्रै छ ।


जनसंख्या शिक्षाको परीक्षा दिने ९० हजार ३ सय ६४ विद्यार्थीमा सैद्धान्तिकमा ए प्लस ग्रेड ल्याउने एक जना मात्रै छन् तर, प्रयोगात्मकमा ४० हजार ५ सय ७१ जनाले ए प्लस ल्याएका छन् । प्रयोगात्मकमा डी प्लस र डी ल्याउने शून्य छन् । तर, सैद्धान्तिकमा डी प्लस ल्याउने १९ हजार र डी ग्रेड ल्याउने १० हजार विद्यार्थी छन् । यस्तै अवस्था स्वास्थ्य शारीरिक शिक्षामा पनि छ । एक लाख ४ हजारले परीक्षा दिएको यो विषयमा सैद्धान्तिकमा ए प्लस ल्याउने शुन्य छ । तर, प्रयोगात्मकमा ३१ हजार छन् । ए ग्रेड ल्याउने सैद्धान्तिकमा ३३ जना छन् भने प्रयोगात्मकमा ५० हजार छन् । यस्तो अवस्था प्रयोगात्मक भएका सबै विषयमा छ । सैद्धान्तिकमा डी र इ ल्याउने विद्यार्थीको प्रयोगात्मकमा ए प्लस, ए छ । राष्ट्रिय परीक्षा बोर्डले यस्तो प्रवृत्तिलाई विकृतिका रूपमा लिएको जनाएको छ । विद्यार्थीले सिकेको ज्ञानका आधारमा

नम्बर दिनुपर्नेमा विद्यालयले जथाभावी नम्बर दिने गरेको यो नतिजाबाट देखिन्छ ।


विद्यालय सञ्चालक र प्रधानाध्यापकले भने अधिकांश विद्यार्थीले प्रयोगात्मकमा राम्रो गर्न सक्ने भएकाले सत प्रतिशत नम्बर दिने गरेको दाबी गर्छन् । विद्यालय नियमित आउने, गृहकार्य पुरा गर्ने, विद्यालयले लिने परीक्षा सहभागि हुने, प्रयोगात्मक गर्ने विद्यार्थीलाई सत प्रतिशत नम्बर दिने गरेको प्रिन्सिपलहरू बताउछन् । प्रयोगात्मक बिषयको नम्बर शिक्षकले मात्रै दिएर हुँदैन । राष्ट्रिय परीक्षा बोर्डबाट खटिने बाह्य परीक्षकले समेत स्वीकृत गरेका हुन्छन् । विद्यालयले बाह्य परीक्षकलाई भत्ता दिएर प्रयोगात्मक परीक्षा र कक्षामा सहभागी नभएका विद्यार्थीलाई पनि जथाभावी नम्बर दिदा यस्तो अवस्था आएको बोर्डका एक कर्मचारीले बताए । ‘जबसम्म बाह्य निरीक्षक विद्यालयले दिने भत्तामा बिक्छ, तबसम्म यस्ता विकृति हटाउन सकिँदैन,’उनी भन्छन्, ‘बाह्य निरीक्षकले विद्यार्थीले के सिक्यो भन्ने हेर्दैनन्, विद्यालयले तयार गरेको नम्बरको फरम्याटमा हस्ताक्षर गरेर भत्ता बुझ्ने मात्रै गरिन्छ ।’


राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले विद्यालयले जतिसुकै नम्बर पठाएपनि विद्यार्थीले सैद्धान्तिकमा ल्याएकै ग्रेडको एभरेजमा प्रयोगात्मकमा नम्बर दिने व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए । ‘सैद्धान्तिकमा कमजोर र प्रयोगात्मकमा बढी ग्रेड ल्याउने गरेको अवस्था देखियो, यो विषयमा ठोस निर्णय लिनुपर्ने देखियो,’ उनले भने ।

प्रकाशित : माघ २१, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?