स्वराज भ्रमण – जसले ६ दशकअघिको बिहे सम्झायो

बालकृष्ण बस्नेत

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार शीतलनिवासमा २५ मिनेट भेटवार्ता भयो । स्वराज नेतृत्वको टोली मध्याह्न १२ बजे शीतलनिवास पुगेको थियो । त्यस क्रममा ६ दशकअघि शीतलनिवासमै भएको भारतीय जोडीको विवाह चर्चाले वार्तामा रौनक थप्यो । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार शीतलनिवासमा भेट्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज, विदेशसचिव विजयकेशव गोखलेलगायत भारतीय अधिकारी ।


परिचयकै क्रममा स्वराजले टोलीमा सहभागी भारतीय विदेशसचिव विजयकेशव गोखलेका बाबुआमाको विवाह शीतलनिवासमै भएको प्रसंग उठाइन् । ‘महामहिमज्यू, हाम्रा परराष्ट्र सचिवका पितामाताको विवाह पनि यही भवनमा भएको थियो,’ गोखलेसँग परिचय गराउँदै स्वराजले यसो भन्दा राष्ट्रपति भण्डारी प्रसन्न मुद्रामा देखिइन् । गोखलेका हजुरबुबा नेपालका लागि राजदूत छँदा उनले छोराको विवाह शीतलनिवासमा गराएका थिए । ‘मातापिताको विवाह भएको घर । मलाई कति चाँडो शीतलनिवास पुगौं जस्तो भएको थियो,’ भावविहल हुँदै गोखलेले भने । ‘मलाई झन् खुसी लाग्यो । यहाँ हुँदा तपाईंका मातापिताको विवाह नभएको भए ?,’ राष्ट्रपतिले पनि रमाइलो ढंगलेप्रत्युत्तर दिइन् ।

भण्डारीले स्वागत गरेपछि स्वराजले आफू यसपटक कुनै एजेन्डाबिनै आएको बताएकी थिइन् । ‘छिमेकमा आउँदा र मित्र भेटघाट गर्दा सधैं एजेन्डा हुनुपर्छ भन्ने छैन । औपचारिकता नै हुनुपर्छ भन्ने नि छैन,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै टोलीका एक सहभागीले भने ।

विदेशमन्त्री स्वराजसँगै सचिव गोखले, भारतीय राजदूत मञ्जिवसिंह पुरीसहितका अधिकारी शीतलनिवास पुगेका थिए । स्वराजले नेपालसँग भारतको पुरानो र ऐतिहासिक सम्बन्ध रहेको औंल्याउँदै त्यसलाई सधैंबलियो बनाउनुपर्ने बताएकी थिइन् । राष्ट्रपति भण्डारीले पनि दुई देशबीचको सम्बन्ध युगौंदेखिको भन्दै ‘हजारौं जिब्रो भएका शेषनागले समेत वर्णन गर्न नसक्ने’ खालको गहिरो र गाढा रहेको टिप्पणी गरिन् ।

भेटमा स्वराजले ठूलो राजनीतिक परिवर्तनपछि जारी संविधानप्रति भारत खुसी रहेको जनाउँदै त्यसलाई कार्यान्वयन गर्ने क्रममा हालै सम्पन्न चुनावले नेपाललाई समृद्धितिर लाने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । ‘राष्ट्रपतिज्यूले अब बन्ने सरकारले पनि दुई देशबीच सम्बन्ध बलियो बनाउनेतर्फ कदम चाल्ने आफ्नो विश्वास रहेको धारणा राख्नुभयो,’ उनले भने ।

स्वराजले राष्ट्रपति भण्डारीको पछिल्लो भारत भ्रमण पूर्ण सफल भएको प्रतिक्रिया दिएकी थिइन् । भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसहितका नेतालाई सम्झेकी थिइन् । उनले स्वराजसँग मुखर्जीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दै पूर्ण स्वस्थ भएपछि उनी नेपाल भ्रमणमा आउने अपेक्षा व्यक्त गरिन् ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका हुन नसकेका जानकी र मुक्तिनाथ मन्दिर भ्रमणबारे पनि चर्चा भयो । ‘ती तीर्थस्थलसहित घुम्ने गरी मोदीजीको नेपाल भ्रमण हुनुपर्छ,’ राष्ट्रपतिले भनिन् । शीतलनिवासको ‘सगरमाथा बैठक’ कक्षमा भेटघाटपछि बिदाइका क्रममा स्वराजले राष्ट्रपति भण्डारीलाई अंकमाल गरेकी थिइन् ।

प्रकाशित : माघ २०, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

“अर्केस्ट्रा” मा बेचिँदै चेली

कान्तिपुर संवाददाता

पर्सा — रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (दुवै नाम परिवर्तन) लाई प्रहरीले वीरगन्जस्थित नेपाल–भारत सीमामा फेला पार्‍यो ।

रविनालाई अर्जुन कलवारले घरायसी काममा लगाइदिन्छु भन्दै वीरगन्ज बोलाएका थिए । रविना १४ वर्षीया अर्की साथीका साथ सीमान्त सहर आइपुगेकी थिइन् ।

तीनैजना युवतीलाई वीरगन्ज नाकाबाट केही पर गाउँको बाटो हुँदै भारत लगियो । त्यहाँको अज्ञात गाउँमा लगेर स्थानीय पारस बैठाले सञ्चालन गरेको अर्केस्ट्रा (पेसेवर नृत्य समूह) मा जोडियो । पहिलो साता राम्रै व्यवहार भयो । पछि उनीहरूलाई कुटपिट गर्दै नृत्यको तालिम दिन थालियो । बैठाको समूहले युवतीलाई जबर्जस्ती वैवाहिक तथा अन्य समारोहमा नाच्न लगाउँथे । छोटा कपडा लगाएर नृत्य गर्नुपथ्र्यो । एक दिनको भारु १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ भनेर प्रलोभन देखाए पनि पारिश्रमिक भने पाएनन् । ज्यादती बढेपछि युवतीले स्वदेश फर्कन खोजे ।

तीनैजनाले पारिश्रमिक माग्दा पाएनन् । खेतको बीचमा झुप्रो बनाएर राखिएको थियो । राति अपरिचित युवा आएर दुव्र्यवहार गर्थे । भाग्न खोज्दा कुटपिट गर्थे । एक रात भाँडा माझ्ने बहानामा रविना र राधा भागेर नेपाली सीमासम्म आइपुगे । रविनासँगै आएकी किशोरी अहिले पनि सीमापारि अर्केस्ट्रा समूहकै चंगुलमा छिन् । रविना र राधालाई भने माइती नेपाल वीरगन्ज शाखाले अभिभावक बोलाएर जिम्मा लगाएको छ । उनीहरूले अब कहिल्यै कामको लोभमा भारत नजाने बताए ।

स्याङ्जा वालिङ घर भएकी नाम मात्र लेख्न सक्ने सोनी मगर (नाम परिवर्तन) को कथा(व्यथा पनि उस्तै छ । गाउँकै तारा भनिने एक महिलाले मैनबत्ती उद्योगमा काम पाइन्छ भनेर उनलाई भारत विहारको बगाहा पुर्‍याइदिइन् । तर मैनबत्ती उद्योगमा नभई अर्केस्ट्रामा काम गर्नुपर्‍यो, उनले । त्यहाँ नारकीय यातना भोगिन् । माइती नेपालले भारतीय प्रहरीसँग समन्वय गरी बगाहा पुगेरै उनलाई उद्धार गरेर स्वदेश ल्यायो ।

यी प्रतिनिधि घटना मात्र हुन् । यसले अर्केस्ट्राका नाममा चेलीबेटी बिक्री हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भागेर आउने आँट नभएका र माइती नेपाल तथा भारतीय प्रहरीको नजरमा नपरेका थुप्रै नेपाली चेली अहिले सीमावर्ती भारतीय बजारमा फस्टाएको अर्केस्ट्रा व्यवसायमा काम गर्न बाध्य छन् । माइती नेपालकी वीरगन्ज शाखा प्रमुख संगीता पुरी ३/४ वर्षयता नेपाली चेली जानेर वा नजानेर ठूलो संख्यामा यसरी अर्केस्ट्रा समूहमा जोडिन पुगेको बताउँछिन् । ‘धेरैलाई त अन्य र आकर्षक कामको लोभ दिएर भारत लगिएको हुन्छ, केहीलाई भने अर्केस्ट्रा नै भनेर पनि लगिएको हुन्छ,’ उनले भनिन्, ‘तर त्यहाँ पुगेर कामबाट सन्तुष्ट हुने कुरा त परै जाओस्, शारीरिक र मानसिक यातनाले विक्षिप्त हुन पुग्छन् ।’

शाखाले सन् २०१७ मा भारतबाट २० चेलीबेटीको उद्धार गरी ल्याएकोमा तीमध्ये अधिकांश नाबालिका थिए । आधा दर्जनलाई भारतको मोतिहारी र बगहास्थित अर्केस्ट्रा समूहबाट उद्धार गरी ल्याइएको थियो । एक चेलीलाई नयाँदिल्लीको वेश्यालयबाट तथा अन्य केहीलाई भारतकै विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी ल्याइएको थियो । उनीहरूलाई कतिपय भारतीय पुरुषले प्रेम र विवाहको बहाना तथा आकर्षक रोजगारी दिने प्रलोभनमा भारत पुर्‍याएका थिए ।

पछिल्लो समय भारतीय अर्केस्ट्रा समूह चेलीबेटी बेचबिखनको नयाँ गन्तव्य बन्दै गएको छ । युवतीहरूलाई अश्लील शैली र भावभंगीमा नृत्य गराइने भएकाले यस्तो समूहको माग पनि बढ्दो छ । पुरुषहरूले आफ्नो आनन्दका लागि रुचिपूर्वक यस्तो नृत्य हेर्छन् । तर अर्केस्ट्रामा नृत्य गर्ने युवती स्वेच्छाले नभई करकाप र जबर्जस्तीमा परेर यस्तो काम गर्न बाध्य छन् ।

विगतमा भारतका महानगरमा नेपाली चेलीबेटीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गिरोह सक्रिय रहेकोमा पछिल्ला केही वर्षयता यो नयाँ शैलीमा बेचबिखनको गिरोह सक्रिय रहेको माइती नेपालकी शाखा प्रमुख पुरीको अनुभव छ । ‘वेश्यालयमा बिक्री गर्नु मात्र बेचबिखन होइन, अर्केस्ट्रामा चेलीबेटीलाई उनीहरूको इच्छाबेगर काममा लगाउनु र त्यसबापत पारिश्रमिकसमेत नदिनु पनि बिक्री गर्नुसरह हो,’ उनले भनिन् ।

प्रकाशित : माघ २०, २०७४ ०६:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT