कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफन्तबीचमै प्रतिस्पर्धा

सल्यान/रुकुम — शारदा नगरपालिका–३ गन्धर्भ बस्तीकी भूमि गन्धर्भ कसलाई मतदान गर्ने भनेर रनभुल्लमा छिन् । कारण हो, ‘आफ्नै सासू, देउरानी र फुपूसासूको एउटै पदमा उम्मेदवारी ।’

दलित सदस्यमा एमालेबाट सासू पार्वती, माओवादीबाट देउरानी पद्मा र राप्रपाबाट फुपूसासू जानकी उम्मेदवार भएका छन् ।

उनीहरूलाई उम्मेदवार बनाएपछि भूमि मात्र होइन्, १९ घरधुरी रहेको गन्धर्भ बस्तीका सबैलाई समस्या भएको छ । एउटाको प्रचारमा गए अर्को रिसाउने भन्दै अधिकांशले सक्रियता देखाएका छैनन् । सानो बस्तीबाट पनि तीन जना फरक–फरक पार्टीबाट उम्मेदवार हुँदा समस्या परेको अनिता गन्धर्भले बताइन् । उनका अनुसार १९ घरधुरीमा १ सय २० जनाको बसोबास छ । ती मध्ये ३० जनामात्र मतदाता छन् ।

गाउँबाट तीन जना दलित सदस्य उठाउँदा बस्तीका सबै मतदाता समस्यामा परेको मर्दी गन्धर्भले बताइन् । तीनमध्ये एकले जिते गाउँको विकासमा सहयोग पुग्ने भए पनि भोट कसलाई दिने भन्ने बारेमा एकमत हुन नसकेको अर्का स्थानीय विश्वराम गन्धर्भले बताए ।

दौडमा नन्द–भाउजू
रुकुमको मुसिकोट नगरपालिका–१ छिङकी सरिता मल्ल र पविता मल्ल शाही सहोदर नन्द–भाउजू हुन् । अब उनीहरू नन्द–भाउजू मात्रै रहेनन् । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा एक–अर्काका प्रतिस्पर्धीसमेत भएका छन् ।

मुसिकोट वडा नम्बर १ को महिला सदस्यमा दुवै जनाको उम्मेदवारी परेको छ । सरिताले कांग्रेसका तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी छन् । पविताको उम्मेदवारी पनि सोही वडाको सोही पदमा परेको छ । जित आफ्नो पक्षमा बनाउन नन्द–भाउजू प्रचारमा व्यस्त छन् । मुसिकोट नगरपालिकाकै–७ नम्बर वडाध्यक्षका उम्मेदवार पनि नजिकका जेठान–ज्वाइँ छन् । कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार लालबहादुर महत जेठान हुन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका हिमबहादुर पाण्डे बहिनीज्वाइँ हुन् । उनीहरूले घरदैलो र प्रचारप्रसार कार्यक्रम पनि जारी राखेको बताए ।

सानीभेरी गाउँपालिका–९ को वडाध्यक्षमा नाताले नजिकका काका–भतिजा चुनावी मैदानमा छन् । कांग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका शेरबहादुर खडका काका पर्छन् । शेरबहादुर खड्काले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । दुवैजना आफूलाई जिताउन आग्रह गर्दै घरदैलोलगायतका चुनावी कार्यक्रममा व्यस्त छन् ।

राजनीतिक दल नै फरक–फरक भएपछि आफन्त नै उम्मेदवार बन्नु अस्वाभाविक नभएको उनीहरू बताउँछन् । मुसिकोट नगरपालिका–१ को वडा सदस्यकी उम्मेदवार पविता मल्ल शाहीले भाउजूसँग प्रतिस्पर्धा हुनुलाई स्वाभाविक मानेको बताइन् । ‘बाहिरबाट हेर्दा अलि अस्वाभाविक लागे पनि यसलाई मैले धेरै अÏठ्यारो विषय मानेकी छैन,’ उनले भनिन्, ‘उहाँको र मेरो पार्टी फरक परेपछि प्रतिस्पर्धा त हुने नै भयो नि ।’ स्थानीय तहको निर्वाचन भएकाले पनि एउटा पार्टीका उम्मेदवारको अर्को पार्टीका उम्मेदरवासँग कुनै न कुनै नाता जोडिएकै हुन्छ । पहिलो चरणमा निर्वाचन हुन लागेका ३ नगर र ३ गाउँपालिकाका अधिकांश वडा स्तरमा आफन्तबीच नै प्रतिस्पर्धा हुँदैछ ।

वडाध्यक्षमा बाबुछोरा
डोल्पा– ठूलीभेरी नगरपालिका–२ को वडाध्यक्ष पदका लागि बाबुछोरा नै प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेबाट देवी रोकाया र माओवादी केन्द्रका तर्फबाट उनका जेठा छोरा मानबहादुर आफ्ना पक्षमा भोट माग्न व्यस्त छन् ।उक्त वडामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । दुवै उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एकै घरका बाबुछोरा उम्मेदवार भएपछि आफन्त र छरछिमेकीलाई कसलाई भोट दिने भन्नेमा अन्योल छ ।

प्रकाशित : वैशाख २८, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?