पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलित

कान्तिपुर संवाददाता

दोलखा — भूकम्पपीडितको घर बनाउन प्राविधिक सहयोग गर्न खटाइएका प्राविधिकहरु ‘काम र दाम’ दुवै नपाएपछि आन्दोलित भएकाछन् ।

गाविस सचिवहरु गाउँमा नभेटिदाँ प्राविधिकहरु झन्डै दुई महिनादेखि बेकामी छन् । खटिएका करिब १ सय ७१ जना प्राविधिकले व्यर्थमा समय गुजार्नु परेको आक्रोश जिल्लास्थित निकायहरुमा पोखे । उनीहरुले चरिकोटस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयमा माग पत्रसमेत पेश गरे ।

आर्थिक बर्षको हिसाव मिलान गर्नलगायत विभिन्न काममा सचिवहरु सदरमुकाममा व्यस्त भएको आरोप प्राविधिकहरुले लगाए । काम नपाएर गाउँ चाहर्दै समय व्यथित गदागर्दा दिक्क भएर सदरमुकाम आएका प्राविधिकहरुको टोलीले प्राधिकरण, जिल्ला विकास समिति, भवन निर्माण तथा सहरी विकास कार्यालयमा ‘काम पनि दिनुहोस, सुविधा पनि दिनुहोस’ भन्दै डेलिगेशन गए ।

गाविस सचिवमा निर्भर हुनुपर्ने प्राविधिकहरुले गाउँमा काम लगाउने र कार्यालयसमेत नभएको दु:खेसो गरे । बेकामी भएका ८९ जना इन्जिनियर, ३७ जना सबइन्जिनियर र ४५ जना असिस्टेन्ट सव इन्जिनियर छन् । गाविस र नगरपालिकाहरुमा भूकम्पपीडितसँग आवास सम्झौता प्रभावकारी ढंगले सञ्चालन हुन नसक्दा प्राविधिकहरु काम विहिन भएका हुन् । ‘पीडितले घर बनाउन सुरसार गरेपछि हाम्रो काम आउछ, गाउँमा भने त्यो माहोल नै छैन,’ श्यामा गाविस खटिएका प्राविधि दिनेश उप्रेतीले दसैअघि पुनर्निर्माणको काम हुने छाटकाट नदेखिएकाले सरकारले प्राविधिक खटाउन चाडो भएको बताए । उनले दुर्गम र सुगम दुवैतिर खटाइएका प्राविधिकहरुलाई समान सुविधा दिएर राज्यले भेदभाव गरेको गुनासो गरे ।

दोलखाका ४८ गाविस र २ नगरपालिकामा खटिएका प्रायजसो: प्राविधिकहरुले आफु बसेर काम गर्ने ठाउँसमेत नभेटिकनै २ महिना विताएका छन् । दुर्गम विगु गाविस खटिएका इन्जिनियर राजन अधिकारीले भने, ‘पुर्निर्माण कार्यमा खटाइएका प्राविधिकहरुलाई सुरक्षा, विमा, भत्ताको व्यवस्था नदिएर अवहेलाना गरेको छ । सबैभन्दा महत्वपूर्ण कुरा हाजिर हुने कार्यस्थलसमेत नहुनु थप दु:खदायी कुरा भएको छ ।’

इन्जिनियरहरुले राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणको उपक्षेत्रिय कार्यालयमा पेश गरेको ९ बुँदे मागपत्रमा गाविस सचिवहरुले गाउँ वसरे काम लगाए तीव्र गतिमा पुनर्निर्माणको काम हुने उल्लेख छ । मगपत्रमा प्राविधिकहरुलाई स्रोतसाधन विनै गाउँ पठाएकोले तत्काल काममा आवश्यक पर्ने साधन उपलव्ध गराईदिन आग्रह गरिएको छ । प्राविधिक हरिराम सुनारका अनुसार गाउँमा संयन्त्रको अभावले कतिले अनुदान सम्झौता गरे, कतिले रकम बुझे र कतिले घर बनाउँन तयार छन भन्ने जानकारी प्राविधिकलाई दिइएको छैन् ।

सचिव नबसेपछि सरकारको सबै संयन्त्र कामविहिन हुने नीतिले भूकम्पीडितहरु ढिलासुस्तीको मारमा परेको प्राविधिकहरुको निष्कर्ष छ । ‘करार अवधि सकिएको छ तर कस्ले म्याद थप्ने हो थहा छैन, परिचयको समेत व्यवस्था नभएपछि कतिपय गाउँमा बस्दा शंकाको दृष्टिबाट समेत हेरिन्छ,’ प्राविधिकहरुले दु:खेसो गरे ।  

प्राविधिकहरुको मागका विषयमा प्राधिकरणण सकारात्मक रहेको चरिकोटस्थित उपक्षेत्रिय कार्यालयका निमित्त प्रमुख हरी शर्माले वताए । दोलखामा काम अघि बढ्न नसकेकोले नै प्राविधिकहरु वेवारिसे जस्तै देखिएको उनले बताए । काम अघि बढेपछि प्राविधिकहरुले काम पनि पाउने र सेवा सुविधा पनि पाउने उनले बताए ।

प्रकाशित : श्रावण १०, २०७३ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

मेरो बुझाइमा 'निर्वाण'

कमलप्रसाद न्यौपाने

काठमाडौं — निर्वाण प्रकाशित भएको खबर सुनेपछि पढ्ने चाहना उत्कर्षमा पुग्यो । आद्योपान्त पढेँ । बुद्धदर्शनको भावभूमिमा उपन्यासका माध्यमबाट निर्वाणको प्रस्तुति रोचक लाग्यो । यो मनोरञ्नन मात्र नभएर मनोभञ्जन समेत रहेछ । साथीहरूलाई पनि पढ्ने सल्लाह दिएँ । अधिकांशले नामै बुझेनन् ‘के निर्माण ?’ भनेर सोधे ।

मैले होइन ‘निर् वाण’ भन्दा रामवाण, कामवाण, धनुर्वाण सुनिएको थियो यो ए.के.४७ को जमानामा कुन वाण को कुरा गर्छौ ? भन्ने प्रश्न पो आयो । मैले संक्षेपमा उत्तर दिएँ । केही जानकार गुरुज्यूहरूलाई पनि पढ्न आग्रह गरेँ । उहाँहरूले भन्नु भयो, ‘अहिले त छोरा छोरीको बिहे गरिदिनु छ तिनको बिहेवारी होस् अनि पढौँला, बुझौँला निर्वाण ।’)

कस्तो विचित्रविडम्बना ! नबुझ्नेको प्रश्न स्वाभाविक नै थियो, तर बुझेर बुझ पचाउनेहरूलाई कसरी बुझाउनु ?  पश्चिमाहरू ‘निर्वाण’लाई निर्वाना भन्दा रहेछन् । पश्चिममा सबैभन्दा सोधिएको, रोजिएको र खोजिएको शब्द रहेछ यो ।

अनि सम्झें रत्नाकर डाकुलाई जसले ‘राम’ उच्चारण गर्न नसकेर मरा–मरा को उल्टो आवृत्ति गर्दागर्दै ‘राम’भनेर महर्षि बाल्मीकि भएको थियो । हाम्रो कस्तो मानसिकता ? पूर्वीय मनीषिले राम १ हरे १ कृष्ण भन्दा शङ्का गर्ने, तर पश्चिमाले ‘हरे रामा १ हरे कृष्णा’ भन्दै नाच्न थालेपछि चाहिँ पत्याउने !

लाजमर्दो कुरा त हज्जारौँ वर्ष अघि हाम्रो ऋषि महर्षिले यही पावन भूमिमा कठोर साधना गरी प्रतिपादन गरेको योगलाई उनीहरूले योगा भन्दै साधना गर्न प्रारम्भ गरे । संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवस घोषणा गरे पछि बल्ल धेरैका कानमा बतास पस्यो । हुन त पूर्वीय संस्कृति र सनातन परम्पराका पक्षधरहरूले गुफा, कन्दरामा साधना गरेर योगलाई जीवितै राखेका थिए । नेपालका सर्वप्रथम डा.काशीराज उपाध्यायले पुरानो पुस्तामा रहेको योगलाई आधुनिक पुस्तामा जोड्ने सम्बन्ध सेतुको काम गरे । डा.हरिप्रसादपोख्रेलले २०३६ सालदेखि नै पाल्पाको सुन्दर गाउँमा माघ १ गतेलाई विश्व योग दिवसका रुपमा मनाउने ऐतिहासिक कार्य गरे र त्यसलाई निरन्तरता पनि दिए । तर नेपाल सरकारले गत वर्षदेखि बल्ल माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्‍यो । पश्चिमाले स्वीकार गरेपछि मात्र सक्रियता देखाउने यो कस्तो मनोवृत्ति हो ?

धन्य ! स्रष्टा घनश्याम खड्काले बुद्ध जन्मिएको देशमा बुद्धदर्शनको भावभूमिमा निर्वाण लेखे । अब कुनै नेपालीले रामा, कृष्णा, योगा भनेर चिनेझैँ निवार्णलाई ‘निर्वाणा’ भनेर चिन्नु पर्ने छैन सायद ।  त्यसका लागि पुन:अहोभाव ।
    
पढेपछि लाग्यो, नीलगगनको शुभ्र शान्त मेघ, भगवान बुद्धको ध्यान र वेदको ज्ञान बोकेर ‘घन–श्याम’ (कालो बादल) बनेर सनातनधर्मको आकाश हुँदै विश्वमै साहित्यका माध्यमबाट अध्यात्मको वर्षा गर्न सफल हुनेछ निर्वाण ।

निर्वाण गहिरा सुक्तीजस्ता वाक्यहरुले भरिएको छ । ‘साँझ हुन्छ, विहान हुन्छ, यसरी नै जीवनचिहान हुन्छ’ एउटा उदाहरण मात्रै हो ।

शङ्कराचार्यको चर्पटमञ्जरिका स्त्रोत्रको सार मुखरित भएको छ यहाँ । ‘कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन’ भन्ने गीतादर्शनको भाव उपन्यासकी मूल पात्र श्वेताको जीवनमा देखिन्छ । ग्रामबाालाका रुपमा प्रवेश गरेकी ऊ चित्रकलाका कारण निकै सम्पन्न पनि भई । विश्व भ्रमणमा निक्लँदा पानीजहाज दुर्घटनामा परी । कर्म गरी उपभोग गर्नबाट वञ्चित भई । यही हो नियतिकृत नियम रहित भनेको । विपश्यनाभित्रको पश्यना पनि छ निर्वाणमा ।

‘मन एवं मनुष्याणां कारण बन्धमोक्षयो’ अर्थात् बन्धनमा पर्नु र मुक्त हुनु दुबैको कारण मन हो भन्ने भावलाई सरल शब्दमा ‘दु:खी ठाने दु:खी हुन्छौं सुखी ठाने सुखी’ भनिदिएको छ निर्वाणले ।

सबभन्दा महत्त्वपूर्ण कुरा त के भने शाकाहारी बन्न प्रेरित गरेको छ यसले जुन अध्यात्मको प्राण हो । मदिरा पान गर्ने मोनिका शाकाहारी हुनु र अन्त्यमा मदिरा पनि त्याग्नु यसको प्रमाण हो । समुद्रमा म पात्रलाई माछाले खाएन । भन्छ, ‘माछाले मलाई खाएन किनभने म पनि माछा खान्न ।’

व्यक्तिलाई शाकाहारी बनाउने साँचो देख्छु म यो अभिव्यक्तिमा । हुन पनि विश्वका अधिकांश दार्शनिक र वैज्ञानिकहरू शाकाहारी भएको प्रमाण छ हामी सामु ।

लहडी छोरालाई आदर्श पिताका प्रवचन उपनिषद्का सूक्तिभन्दा कम छैनन् । यिनै पूर्वीय दर्शनका आदर्श नयाँ पुस्तालाई बुझाउन खोजेको छ निर्वाणले । यिनै भ्रम चिर्ने जमर्काे गरेको छ निर्वाणले । मोक्षको यात्रा बुढो भएपछि होइन युवावस्थामै गर्नुपर्छ भनेको छ यसले । वर्तमानमा नर–नारी बीचको प्रकृतिप्रदत्त आकर्षणलाई चेतन मनले जति दबाए पनि अवचेतन हावी भएपछि मानिस उम्कन नसक्ने यथार्थ रहस्यमय तरिकाले भेट भएकी श्वेतासँग भएको प्रणय सम्बन्धले पुष्टि गरेको छ ।

‘तेन त्यक्तेन भुञ्जिता’ भन्छ उपनिषद् । माने भोगपछि मात्र त्याग्न सकिन्छ । निर्वाणले यसलाई पनि गहिरो अर्थमा बुझाएको छ पाठनकलाई । तत्त्वबोध भएपछि युवतीका भावभङ्गीमाले बोधीको मन विचलित नहुनु यसको प्रमाण हो ।

सुरा, सुन्दरी, सिनो र कसिनो (जुवाघर) को मृगतृष्णालाई मात्र साहित्य मान्ने कथित आधुनिक विकृत संस्कृतिलाई पार गर्ने माध्यम हो निर्वाण १  बगर, बस्ती, वन र वाटिकामा व्यभिचारको खेती गर्न मात्र सिकाउने साहित्यबाट माथि उठेको छ निर्वाण । वेदान्त दर्शनको ब्रह्मसत्यं जगत्मिथ्याको सरल सटिक प्रस्तुति यसमा छ । उपनिषदको रसो वैस: पनि यसैमा छ । भगवान बुद्धको ‘अप्प दीपो भव’ यसको मूल मन्त्र हो ।

नाभिबाट निस्केको चाँदी जस्तो प्रकाशपुञ्जको माध्यमबाट मणिपुर चक्रको रहस्यलाई संकेत गरेका छन् लेखकले । आशा गरौं मूलाधार, स्वाधिष्ठान, अनाहत, विशुद्धि आज्ञा र सहस्रार चक्रको रहस्य पनि खुलोस् साहित्यमा । अब उत्तर आधुनिकतावाद मात्र होइन अध्यात्मवादले समेत यसै गरी स्थान पाउनेछ साहित्यमा । निर्वाणले झैं अब साहित्यले काम वाणबाट आहत युवा मनका लागि ध्यान, ज्ञान र साधनाको मार्ग चित्र कोर्ने रामवाणको काम गरोस्, त्यो पनि अमोघ । उपदेशका तीन शैलीमा सबैभन्दा लोकप्रिय कान्ता सम्मित उपदेश हो जो निर्वाणको आवरण तस्वीरले नै बोलिरहेछ ।

प्रकाशित : श्रावण १०, २०७३ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×