शिक्षकलाई ११ वर्ष कैद- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षकलाई ११ वर्ष कैद

कान्तिपुर संवाददाता

बैतडी — आफ्नै विद्यालयमा अध्ययनरत सुस्त मन:स्थितिकी छात्रालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले एक शिक्षकलाई ११ वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश ध्रुवकुमार शाहको इजलासले दशरथचन्द ९ डुंगरास्थित दानेश्वर प्राविका शिक्षक दुर्गादत्त भट्टलाई ११ वर्ष कैद सजाय तोकेको हो । उक्त विद्यालयमा ४ कक्षा पढ्ने १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक भट्टविरुद्ध मुद्दा दायर भएको थियो ।
गत मंसिर ६ देखि १० गतेसम्म ती किशोरीमाथि विद्यालयबाट घर फर्कने क्रममा पटक–पटक बलात्कार गरेको भन्दै मुद्दा परेको थियो । जबर्जस्ती करणी मुद्दामा ६ वर्ष र अपांगता भएकी किशोरी भएकाले थप ५ वर्षसहित ११ वर्ष कैद फैसला भएको हो ।
ती किशोरीका अभिभावकले शिक्षक भट्टविरुद्ध चैत ६ मा प्रहरीमा किटानी जाहेरी दिएका थिए । बलात्कारपछि ती किशोरी गर्भवती भएकी थिइन् । फागुनमा गर्भपतन भएपछि मात्रै किशोरीका आफन्तले घटनाबारे थाहा पाएपछि मुद्दा दर्ता गरेका थिए । घटनापछि डराएर ती छात्राले विद्यालय जान छाडेकी छन् ।

 

प्रकाशित : असार १४, २०७३ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

कर्णेल लामाविरुद्ध १५ उजुरी

बसन्तप्रताप सिंह

बझाङ — मानवअधिकार उल्लंघनको आरोपमा बेलायतको अदालतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्नेल कुमार लामाविरुद्ध बझाङमा १५ भन्दा बढी उजुरी परेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालमा भएका घटनाका पीडितलाई उजुरी दिन तोकेको समय घर्किन १५ दिन बाँकी रहँदा उनको नाममा उजुरी दिनेको संख्या बढ्दै गएको स्थानीय शान्ति समिति स्रोतले जनाएको छ ।

‘सबैभन्दा बढी उजुरी लामाकै नाममा आएका छन्,’ समितिका एक कर्मचारीले भने, ‘कतिपय खामबन्दी र कतिपय गोप्य रूपमा आएका छन्, सबै गरेर १५ भन्दा बढी नै होलान् ।’ उनको नाममा अझै केहीले उजुरी दिने तयारी गरिरहेको जानकारी आएको उनले बताए ।

२०५९ देखि २०६१ सम्म बझाङस्थित कालिजंग गुल्मको सेनानी हँुदा लामाले हत्या, शारीरिक तथा मानसिक यातना, शरीर बन्धक बनाएको, गैर कानुनी थुनामा राखेको, विस्थापित हुन बाध्य पारेको जस्ता आरोप पीडितले उजुरीमा लगाएका छन् । ती घटनामा उनको संलग्नता दाबी गर्दै पीडितहरूले उजुरी दिइरहेका हुन् ।

लामामाथि सबैभन्दा बढी उजुरी हत्या आरोपकै रहेको शान्ति समिति स्रोतले बताएको छ । ब्यारेकमा लगेर शारीरिक यातना दिएको भनेर लामाको नाममा तत्कालीन छात्राहरूले पनि उजुरी दिएका छन् । माओवादी युद्धमा लागेको आरोपमा आफ्ना परिवारलाई यातना दिएको विषयमा पनि उनको नाममा केही उजुरी परेका छन् । उजुरी दिनेहरूमा माओवादीका तर्फबाट द्वन्द्वमा संलग्न भएका नेता, कार्यकर्ताहरू बढी छन् । तत्कालीन स्कुले छात्रा, शिक्षक र सर्वसाधारणले पनि उनलाई कारबाहीको माग गर्दै उजुरी दिएको बताए । लामा सेनानी भएको समयमा जिल्लामा माओवादी पक्षका १० जना भन्दा बढीले ज्यान गुमाएका थिए भने थुप्रै धरपकड र यातनाका घटना भएका थिए ।

यस्तै उजुरी दिने म्याद सकिन लाग्दा आयोगमा उजुरी दिनेको संख्या पनि बढी रहेको शान्ति समितिका कार्यालय सचिव तपराज ओझाले बताए । हालसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा ३ सय ११ उजुरी दर्ता भएका छन् । १६ वटा उजुरी बेपत्ता छानबिन आयोगमा परेका छन् । अझै धेरै व्यक्तिले फारम लिएकाले उजुरीको संख्या ४ सयभन्दा बढी पुग्न सक्ने सचिव ओझाले बताए । ‘दैनिक ५/७ जना उजुरी दिने र सोही संख्यामा फारम लिनेहरू आइरहेका छन्,’ उनले भने, ‘अन्तिमसम्म सत्य निरुपणतर्फ उजुरीको संख्या ४ सय नाघ्न सक्छ ।’ दुवै आयोगमा उजुरी दिने म्याद असार मसान्तसम्म तोकिएको छ ।

प्रकाशित : असार १४, २०७३ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×