कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दौडधुपमा भलिबल सुन्दरी पनि

दीपक परियार, बिना थापा

लेखनाथ — ‘भलिबल सुन्दरी’ को उपमा पाएकी सिपोरा गुरुङलाई पनि यति बेला राजनीति लागेको छ । ‘घलेक : दी साइन अफ लभ’, ‘याम्फावती’ र ‘भुइँमान्छे’ जस्ता फिल्मकी नायिका समेत रहेकी सिपोरा चुनावी सभातिर बढी देखिन्छिन् । आफ्ना आफन्त सरस्वती गुरुङ नेपाली कांग्रेसबाट पोखराको उपमेयरमा उठेपछि उनलाई पनि राजनीतिक कार्यक्रमले तानेको हो ।

दौडधुपमा भलिबल सुन्दरी पनि

राजनीतिक आस्थाको आधारमा भने प्रचारमा नहिँडेको उनले बताइन् । ‘पार्टीभन्दा पनि राम्रो मान्छेलाई जिताउनुपर्छ भनेर लागेकी हुँ,’ उनले भनिन् । पार्टीविशेषभन्दा पनि आफू ‘युवा पुस्ता पनि राजनीतिमा सहभागी हुनुपर्छ’ भनेर हिँडेको उनले सुनाइन् । ‘फेसबुकमा स्टाटस लेखेर नेतालाई गाली गर्दैमा चेन्ज आउनेवाला छैन,’ उनी भन्छिन्, ‘चेन्ज ल्याउन युवा फिल्डमै उत्रिनुपर्छ ।’

राजनीतिमा पनि ‘इन्ट्ेरस्ट’ रहेको बताउने सिपोरालाई भविष्यमा नेता बन्ने मन छ । ‘पछि के हुन्छ थाहा छैन, तर इन्ट्रेस्ट छ,’ चुनाव प्रचारमा हिँड्नुको गुह्य उनले खोलिन् । राजनीतिमा रुचि राख्ने यी सुन्दरी आफैं किन उम्मेदवार हुन चाहिनन् होला ? ‘अहिले बेस बनाउँदै छु,’ अहिले नै नहोमिनुको कारण खोलिन् उनले, ‘बहकाउमा लागेर भएन । आफैंले आफैंलाई चिन्नुपर्छ । मेरो विचारमा मैले राजनीति गर्ने बेला भइसकेको छैन ।’

पोखरालाई आवश्यक विकास, पूर्वाधारका बारेमा पनि उनी ज्ञान राख्छिन् । उनको विचारमा पोखराको नेतृत्व गर्नेले पर्यटनलाई मुख्य ध्यान दिनुपर्छ । ‘पर्यटनलाई ध्यान दिए अर्थतन्त्र आफैं उकासिन्छ,’ उनले भनिन्, ‘पोखरामा बाह्रै महिना पर्यटक आउने वातावरण बनाउनुपर्छ ।’ त्यसका लागि विज्ञापनमार्फत अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रचारप्रसार गर्नुपर्ने धारणा उनको छ ।

१३ वर्षको उमेरमै अन्तर्राष्ट्रिय भलिबल खेलेर नेपाललाई पदक दिलाउन सफल यी खेलाडीले खेल क्षेत्रका बारेमा बोल्न कहाँ छुटाउँथिन् र ? अबका मेयर र उपमेयरले खेललाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने उनले सुझाइन् । भनिन्, ‘पोखरा रंगशालाको उचित व्यवस्थापन र खेलकुद प्रतिष्ठान बनाएर खेलाडी उत्पादन गर्ने कार्य गरिनुपर्छ ।’

खेलपछि तेस्रो प्राथमिकता सार्वजनिक यातायात हुनुपर्ने उनी बताउँछिन् । अस्तव्यस्त भएकै कारण विद्यालय जीवनपछि सार्वजनिक यातायातमा नचढेको उनले खुलाइन् । ‘युवाले पनि सार्वजनिक यातायात चढ्ने वातावरण बनाउनुपर्छ,’ उनले भनिन्, ‘१५ रुपैयाँ तिरे पुग्ने ठाउँमा ट्याक्सीलाई ४ सय रुपैयाँ बुझाउन कसलाई रहर हुन्छ र ?’


प्रकाशित : वैशाख २५, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?