कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘लिम्बू नामकोश’ सार्वजनिक

ललितपुर — डीबी आङबुङ र विष्णुदत्त आङबुहाङद्वारा लिखित ‘लिम्बू नामकोश’ सार्वजनिक भएको छ । 

‘लिम्बू नामकोश’ सार्वजनिक

मुन्धुमविद् बैरागी काइँला, इतिहासविद् भगिराज इङनाम, साहित्यकार यहाङ लावती, खगेन्द्र माखिमले संयुक्त रूपमा शनिबार ‘लिम्बू नामकोश’ सार्वजनिक गरेका हुन् । मुन्धुम एकाडेमी ललितपुरले प्रकाशन गरेको यो चौथो कृति हो ।

यस याक्थुङ नामकोश लिम्बू–नेपाली–अंग्रेजी गरी तीन भाषामा रहेको छ । सिरिजङ्गा लिपि, देवनागरी र आईपीए (इन्टरनेसनल फोनेटिक अल्फाबेट) प्रयोग गरिएको छ । जसले गर्दा लिम्बूइतर भाषीले समेत ती शब्द उच्चारण तथा अर्थ बुझ्न सक्ने छन् । लिम्बू जाति, भाषा, इतिहास, संस्कृति, पर्यावरणजस्ता विषयका नामपद समेटिएका छन् । नामकोशमा लिम्बू नाम र नामकरणको मौलिक विवेचना, नेपाली र अंग्रेजीमा समेत लिम्बू नामका मौलिक र मुन्धुमी अर्थसमेत दिइएका छन् ।

लेखकद्वयले सामाजिक तथा राजनीतिक इतिहाससमेत केलाएर लिम्बू नामकोशको महत्वबारे उल्लेख गरेका छन् । याक्थुङ लिम्बू नाम र नामकरणअन्तर्गत ‘याक्थुङ’ जातिलाई जनाउने ‘लिम्बू’ नाम अस्तित्वमा आएको कारण केलाएका छन् । मुन्धुम र इतिहासमा माङ्–हाङको मौलिक नाम, विकृत नाम त्याग्दै मौलिक नाम राख्ने अभियान, लम्बू नाम राख्ने शैली र परम्परा, मौलिक नाम र पहिचान पक्ष केलाएका छन् ।

यसैगरी मुन्धुमी माङ र ऐतिहासिक हाङका नाम, मुन्धुमी पेगि फाङहाङ/पेलि फाङ्सामका नाम, मुन्धुमी सावा येत्हाङका नाम दिइएका छन् । यसैगरी तत्कालीन फेदाप राज्यका आठ आपुङ्गी राजाका नाम, ऐतिहासिक थिबोःङ याक्थुङ/दशलिम्बू (सर्दार)का नाम, ऐतिहासिक थिबोःङ याक्थुङ लाजे (दश लिम्बुवान)का हाङका नाम दिइएका छन् ।

यस्तै, केही मुन्धुमी पात्रका पछि परिवर्तित नामहरू, बार, महिना, ऋतु, गन्ती फ्रस्तु गरिएको छ । साथै, कोव्रो उठाउनी र नामकरण संस्कार, याङ्दाङपछि पनि मौलिक नाम राख्ने वा फेर्ने मुन्धुम दिइएको छ । पुस्तकबारे काइाला, इतिहासविद इङनाम, प्राज्ञ अमर तुम्याहाङ, समीक्षक भिमा खजुमलगायतले बोलेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०८१ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?