३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘टेम्के–तुवाचुङ पुरस्कार’ बानियाँ र राईलाई

डम्बरसिं राई

खोटाङ — टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘टेम्के–तुवाचुङ पुरस्कार’ कवि बम बानियाँ र चित्रकार सन्तोष राईलाई प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँ र १४ बुइपाका चित्रकार राईलाई पुरस्कृत गरेको हो ।

‘टेम्के–तुवाचुङ पुरस्कार’ बानियाँ र राईलाई

साहित्यका माध्यमबाट जिल्लालाई पुर्‍याएको योगदानको कदर गर्दै कवि बानियाँलाई र ललितकलामा उच्च शिक्षा हासिल गर्दै खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए ।

प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा दिक्तेलस्थित मुडेमा सञ्चालित मुन्धुम रिसोर्टमा शनिबार औपचारिक कार्यक्रम गर्दै दुई प्रतिभालाई जनही ११ हजार १११ राशीको पुरस्कार प्रदान गरेको हो । यसमध्ये बानियाँलाई २०७७/०७८ र राईलाई २०७९/०८० को ‘टेम्के–तुवाचुङ पुरस्कार’ दिइएको एक्लेले बताए ।

पुरस्कृत बानियाँका २०६८ सालमा ‘जागै छन् शब्दहरु’ र २०७३ सालमा ‘मान्छे जोत्ने शहर’ कविता सङ्ग्रह प्रकाशित छन् । बानियाँ राष्ट्रिय बालअधिकार परिषद् नेपालका उपाध्यक्ष हुन् । पुरस्कृत चित्रकार राई ललितकलामा एमफिल गरिरहेका छन् भने निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेशनमा कला प्रशिक्षकका रुपमा कार्यरत छन् ।

पुरस्कृत प्रतिभालाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गरेका हुन् । साहित्यिक पदयात्राका क्रममा खोटाङ आएका श्रष्टाहरुले आपसमा सिर्जना सुन्ने र सुनाउने कार्यक्रमसमेत गरिएको कार्यक्रममा साइलो कला कन्द्रका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसागीत, खेलकुदलगायतका क्षेत्रमा विशेष योगदान पुर्‍याउने उत्कृष्ट एक प्रतिभालाई छनोट गरेर हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको छ । यसअघि २०७२ मा कवि चन्ऽ रानोहाछा, २०७३ मा सितोरियो कराँते खेलाडी सञ्जयकुमार राई, २०७४ मा गायिका राधा राई र २०७५ मा मुर्तीकार रोजन राईलाई पुरस्कृत गरेको थियो ।

खोटाङमा जन्मिएर हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारहरुको पहलमा २०७० सालमा स्थापना गरिएको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विद्याका प्रतिभालाई वार्षिकरुपमा पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानको अक्षय कोषमा आठ लाख जम्मा भइसकेको अध्यक्ष एक्लेले बताए ।

प्रकाशित : चैत्र १०, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?