१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

काठमाडौं कलिङ साहित्य उत्सवमा देखिएको कर्णाली

कलेन्द्र सेजुवाल

काठमाडौँ — काठमाडौं कलिङ साहित्य उत्सवमा सेसनको शीर्षक थियो– ‘नदेखिएको कर्णाली, नलेखिएको कर्णाली’ । तर उक्त सेसनमा मात्र होइन, तीन दिनसम्म चलेको उत्सवमा कर्णालीको प्रतिनिधित्व बाक्लै देखियो । कर्णालीबाट आएका अध्येता, लेखक, साहित्यकार र सर्जकले कर्णालीलाई चिनाए ।

काठमाडौं कलिङ साहित्य उत्सवमा देखिएको कर्णाली

कर्णाली कस्तो छ ? हटारुका लेखकसमेत रहेका सहजकर्ता ओम रिजालको प्रश्नमा प्राज्ञ मधुसुदन गिरीको जवाफ थियो– ‘हात्ती’ । कर्णाली हात्ती हो । खुट्टा छाम्नेले खाँबोजस्तो भन्छन् । कान छाम्नेले सुपो (नाङलो) जस्तो भन्छन्,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि सिंगो हात्ती छाम्न सकेको छैन ।’ उनले कर्णालीमाथि अध्ययन–अनुसन्धान गर्नेमध्ये केहीले गहिराइमा पुग्ने गरेका भए पनि कतिपयले निहित स्वार्थ राखेर सतही अध्ययन गरेको उनले बताए । नेपाली भाषाको माउ भाषा मानिने खस भाषालाई अहिले भाषिकाको रुपमा राखिने दुःखद भएको उनको भनाइ छ ।

रिजालको सोही प्रश्नमा ‘उज्यालो कर्णाली’ का लेखक प्रतिक ढकालले ‘मोसो लागेको लालटिन’ को सिसाको संज्ञा दिए । ‘कर्णालीले मुलुकलाई भाषा दियो, सभ्यता दियो अनि प्रजातन्त्रको परिभाषा दियो,’ ढकालले प्रष्ट्याउँदै भने, ‘कर्णालीमा सबै चिज तयार छ, कपडाले मोसो पुछ्यो भने झलमल्ल हुन्छ ।’

‘उङ्कुस्यामा हात्ती बस्या, पाउटी बस्या बाज, मान्ठ बस्या मर्यादामा चल्छ राजकाज ।’ कर्णालीमा चर्चित प्राचीन गीति उखानले प्रजातन्त्रको परिभाषा सिकाएको उनले बताए । हात्ती र बाज आफ्नो बस्ने ठाउँमा बसझैं मान्छे पनि आफ्नो मर्यादामा बसेमा राजकाज राम्रोसँग चल्ने कर्णालीको बुझाइ रहेको उनले बताए । ‘भाषाको बकपत्र’ का लेखकसमेत रहेका मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार महेन्द्रकुमार मल्लले विश्वविद्यालयीय शिक्षामा कर्णालीलाई लेख्ने र देखाउने काम भएको बताए । कर्णालीको भाषा, संस्कृति र सभ्यतालाई विश्वव्यापी रुपमा प्रचार–प्रसार गर्न स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान विषयको अध्यापन थालिएको उनको भनाइ थियो ।

‘कर्णालीको जलस्रोतको अपार भण्डारलाई उच्च शिक्षामा उध्ययन–अनुसन्धानको क्षेत्र बनाउन नेपालमै पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङ पढाइ सुरुवात गर्‍यौं,’ उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयले पनि कर्णालीलाई देखाउने र चिनाउने काम गरिरहेको छ ।’

सामाजिक अभियन्ता राधिका बुड्थापाले सन् ७४२ भन्दा अगाडि कर्णालीमा मातृसत्ता रहेको उल्लेख गर्दै कर्णालीको गर्विलो लैंगिक इतिहास सुनाइन् । ‘कर्णाली कहिले छाउपडीमा दुख्छ त कहिले छोइछिटोमा पोखिन्छ,’ उनले भनिन्, ‘तर खासमा प्राचीन कालदेखि कर्णाली सभ्य, सुन्दर र समृद्ध छ ।’

‘नदेखिएको कर्णाली, नलेखिएको कर्णाली’ सेसनका अतिरिक्त उत्सवमा कर्णालीबाट उदाएका करिब एक दर्जन स्रष्टा सहभागी भए । ‘औषधी र सिर्जना’ सेसनमा ‘शून्यको मूल्य’ का लेखक डा. नवराज केसीले हरेक व्यक्ति अस्पतालमा रोगमात्र नभई जीवन बोकेर जाने भएकाले चिकित्सक र स्वास्थ्यर्की सबैभन्दा बढी भावनात्मक हुनुपर्ने बताए । उत्सवमा कर्णालीका साहित्यकारहरु पहल असिम, महेश के. भट्टराई, हेमन्त हेमलक, धिरेन अनुपमलगायतले गजल, कविता सेसनमा सहभागिता जनाएका थिए ।

प्रकाशित : भाद्र १७, २०८० १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?