१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘शब्दबिम्बमा सत्यमोहन’ कृति सार्वजनिक

काठमाडौँ — शताब्दी पुरुष सत्यमोहन जोशीबारे ‘शब्दबिम्बमा सत्यमोहन’ कृति सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार भैरव रिसाल, जोशीपुत्र अनुराग जोशीलगायतले शनिबार आयोजित समारोहमा उक्त कृति लोकार्पण गरेका हुन् । 

‘शब्दबिम्बमा सत्यमोहन’ कृति सार्वजनिक

संस्कृतिविद् जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशीको निधनपछि उनको योगदानलाई लिएर विभिन्न लेखकले लेखेका तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा अप्रकाशित लेख, समाचार, सम्पादकीय, कविता, परिशिष्टांक, जोशी जीवित छँदै लिइएको केही अन्तर्वार्ता, जोशीको केही मुख्य कृति, तस्बिर समेटिएका छन् । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कृति पत्रकार तथा साहित्यकार गोपीकृष्ण ढुंगानाले उक्त कृतिको सम्पादन गरेका हुन् ।

‘सत्यमोहन दाइले नेपालभाषा एकेडेमी संस्था गठनमात्र गर्नुभएन, जग्गासमेत जोहो गरेर कीर्तिपुरमा एकेडेमीको घर बनाउनुभयो,’ उमेरले ९५ वर्षीय पत्रकार रिसालले लेखनमा छुटेका विषय सम्झिँदै भने, ‘उहाँले नेपालभाषा एकेडेमी संस्थाको घर बनाउन नेपाल वातावरण पत्रकार समूहसँग सहयोग माग्नु भयो । पैसा नहुने संस्थासँग अनुरोध गर्नुभयो र हामीले एफएम रेडियो एसोसिएसनलाई अनुरोध गरेर डेढ लाख सहयोग गर्‍यौं । तर उहाँले पैसावालसँग सहयोग माग्नु भएन ।’

संस्कृतिविद् जोशीको पहिचान साधारण कपडाको टोपीमा झल्किएको र उक्त टोपी आफ्नी आमाको बरखीमा लगाएकै ढाँचामा सिलाएर आजीवन प्रयोग गरेको रिसालले बताए । ‘सत्यमोहन मलाई माया गर्नुहुन्थ्यो, आफ्नै दाइजस्तै गरी,’ सत्यमोहनबारे जति बोले पनि नसकिने उल्लेख गर्दै रिसालले भने, ‘सत्यमोहन ठूलो मान्छे हुनुहुन्थ्यो । ठूलो मान्छे बन्न जिउ ठूलो, मोटोघाटो हुनुपर्दैन । खाली सत्कर्म गरे हुने रहेछ । यत्ति हो कि उहाँले आजीवन श्रीमतीको सेवा पाउनुभयो ।’

जोशी १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका थिए । नेपालभाषा (नेवारी) र नेपाली भाषामा उनले कलम चलाएका थिए । उनको लोकसाहित्यका दर्जन कृति प्रकाशित छन् । तीमध्ये ‘हाम्रो लोक संस्कृति’ ‘नेपाली राष्ट्रिय मुद्रा’ र ‘कर्णाली लोक संस्कृति’ कृतिका निम्ति तीनपटक मदन पुरस्कार प्राप्त गरेका थिए । यसैगरी आधा दर्जन काव्य, तीन निबन्धसंग्रह, दर्जन नाटक, कलाकार अरनिकोलगायत तीन जीवनीकृति, आधा दर्जन बालकृति, नेपालभाषा र नेपाली भाषाको व्याकरण कृति प्रकाशित छन् ।

भुडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुलीले शताब्दी पुरुष जोशीबारे छरिएर रहेका सामग्रीलाई एउटै पुस्तकमा समेटिएको बताए ।

संस्कृतिविद् जोशीको योगदानबारे प्राध्यापाक लेखप्रसाद निरौला, समालोचक ज्ञानु पाण्डे, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, सम्पादक ढुंगानालगायतले चर्चा गरेका थिए ।

प्रकाशित : जेष्ठ २७, २०८० १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?