२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

बुद्धका पाइला पछ्याउँदै

सिद्धार्थ गौतमको प्रथम पाइला परेको भूमिमा उभिएका बोधिवृक्ष हेरी मैले केहीबेर आँखा चिम्लिएँ र आफूलाई घचेटेर २५ सय वर्षअघिको समयमा पसेर उनको मानसदर्शन गरें
अति त्याग मुक्ति–मार्ग होइन, न अति भोग नै मुक्ति–मार्ग हो । अतिले पार लगाउँदैन, सधैँ खति गर्छ ।
घनश्याम खड्का

मलाई असाध्यै मनपरेको एउटा पुस्तक छ– ‘जहाँ जहाँ चरण परे गौतमके’ । विख्यात बौद्ध भिक्षु थिक न्यात हन्हको त्यस पुस्तकमा बुद्ध कहाँ कहाँ गए र क–कसलाई देशना दिए भन्ने सुस्वादु वर्णन छ । 

बुद्धका पाइला पछ्याउँदै

पुस्तक पढेपछि मलाई धेरैअघिदेखि एउटा इच्छाले सताइरहेको थियो– बुद्धको पाइला पछ्याउँदै उनी हिँडेका ठाउँहरू चाहर्ने । बुद्धका देशनालाई हृदयभरि रङबङ्गिन दिने । अनि, २५ सय वर्षअघि उनको पुष्पवत् उपस्थितिको सुगन्धलाई मानस दर्शनका साथ महसुस गर्ने । लुम्बिनीमा जन्मेका र कपिलवस्तुमा हुर्केका बुद्धले बोधगयामा ज्ञान पाएपछि सारनाथ पुगी पहिलो धर्मदेशना गरे । त्यसपछि, उनको जीवनका ४५ वर्ष राजगृह, श्रावस्ती, जेतवन, वैशाली र कुशी नगरमा बित्यो ।

एकपटक बुद्धका पाइला पछ्याउँदै यी ठाउँहरू पुग्न चाहन्थें । काम र परिस्थितिको अविश्राम उपस्थितिले हामीलाई कहीं जाने अवकास हम्मेसी दिँदैनन् । ‘अब त जानैपर्छ’ को बोध भएपछि यसपालि हिउँदमा सबै काम तपसिलमा राखें र अपर्झटसँग निक्लें बुद्ध हिँडेको बाटो पछ्याउँदै ।

मलाई बुद्धसँग गहिरो लगाव छ । उनका देशना जति पढे पनि अघाउन्न । सपनामा दौडिन नसक्दा हत्तु भएजस्तो, अथाह श्रद्धासाथ जान चाहेको ठाउँमा पुग्न नपाउनुको वेदनाले म सायद थाकिसकेको थिएँ, अचानक सब छाडेर म निक्लें घरबाट ।

संसारभरि नै बुद्धका पाइला पछ्याउँदै मानिसहरू लुम्बिनीदेखि बोधगया र त्यस आसपासका स्थलमा ओइरिन्छन् । म भने ‘नजिकको तीर्थ हेलाँ’ भनेजस्तो यत्तिका वर्ष बितिसक्दा पनि जान कसैको कागजी अनुमति नचाहिने सुविधाको समेत लाभ लिन नसकिइरहेकोमा एक किसिमको लघुताभाषले व्यथित थिएँ, जसलाई जेतवनमा पुगेर बुद्धले नुहाउने तलाउको किनारमा शान्तसँग उभिएको क्षणमा मिलेको आनन्दले फेरि फर्किन नसक्ने गरी लखेट्यो ।

लुम्बिनीदेखि बोधगयासम्म देखिएको भीड र चहलपहलले के प्रस्ट भयो भने नेपाल र भारतको सीमावर्ती राज्यहरूमा फैलिएको बुद्ध–पथले पृथ्वीका हरेक कुनाका मुमुच्छुहरूलाई बेहद आकर्षित गर्दोरहेछ । बुद्ध जन्मेको ठाउँ लुम्बिनी र उनले ज्ञान पाएको ठाउँ बोधगयालाई पवित्रस्थल मानेर अन्तरमनका हजारौं यात्री यहाँ प्रणिधान गर्न आउँछन् । कुशल चित्तावस्थामा गरिने गहिरो अभिसंकल्प जति सबै प्रणिधान हो । र, कम्पासको सुईले सधैं उत्तरतिरै देखाएजस्तो कुशल चित्तले जहिले पनि आफ्नो र सत्त्व सबैको दुःख मोचनकै मार्ग पहिल्याउँछ । हाम्रा जति पनि दुःखहरू छन्, ती अविद्याको फन्दामा बाटो नचिन्नाले मिल्न गएको विपरिणाम नतिजाका कारण छन् । आफ्नै कर्म र क्लेसको कारण पासोमा परेको मृगसमान दुःखहरूले सत्त्वहरू सब तड्पिरहेका छन् । पासोमा परेको जीवले जुन सघनताका साथ छुट्ने कामना गर्छ, त्यही गहिराइका साथ दुःखबाट सदाका लागि छुट्कारा मिलोस् भन्ने अभिसंकल्पले चित्तमा कुशल कर्मबिज रोप्ने अभ्यर्थना नै प्रणिधान हो, जसलाई तिब्बतीहरू ‘मोन्लाम’ भन्छन् । यस्तो प्रणिधान गर्न बुद्धचरणको स्पर्श भएका ठाउँहरूमा विशेषतः हिउँदमा संसारैभरबाट अन्तरपथगामीहरू ओइरिन्छन् । चित्त कुशल कर्ममा रत होस् भन्ने अभिसंकल्प जगाउँदै म पनि त्यो विशाल सरोबरमा मिसिन पुगें जनवरीको मध्यतिर ।

निःसन्देह, बुद्ध–पथको सुरुवात बिन्दु लुम्बिनी थियो । सिद्धार्थ गौतमको प्रथम पाइला परेको भूमिमा उभिएका बोधिवृक्ष र त्यसमा चलेको सिरसिर हावाको मौन आनन्दमा मैले केहीबेर आँखा चिम्लिएँ अनि आफूलाई घचेटेर २५ सय वर्षअघिको समयमा उभ्याउँदै बालक सिद्धार्थको मानस दर्शन गरें । तत्कालै, कपिलवस्तु दरबारबाट माइती देवदह हिँडेकी मायादेवी लुम्बिनीको जंगलमा आइपुगिन् । यहीं उनलाई प्रसव वेदनाले छोयो । तलाउ र वटवृक्षहरूले सुभोषित त्यस उद्यानको एक वृक्षको सहारा लिएर उनी उभिँदा–उभिँदै बालक सिद्धार्थ जन्मिए । त्यस मानस यात्रामा मैले के देखें भने, ज्योतिषीहरूको भविष्यवाणीबाट अताल्लिएका राजा शुद्धोधनले परम विलासमा राजकुमारलाई हुर्काए । र, त्यसैबाट वाक्क भएर राजकुमार सिद्धार्थले एक शान्त रात दरबार छोडे । परम रूपवती उनकी पत्नी यशोधरा बालक छोरालाई अँगालेर निदाइरहेकी थिइन् । सिद्धार्थले निक्लनुअघि आमा–छोराको अनुहार पुलुक्क हेरे र बिरालाको चालले दरबार छाडे । उनको तेज घोडा छन्दक र सारथि छन्न दुवै चकित थिए । दरबारभन्दा धेरै पर, कपिलवस्तुको सीमावर्ती जंगलमा पुगेर राजकुमार घोडाबाट ओर्ले । छन्नले ‘यति सुवर्ण जीवन त्यागेर कहाँ जान लाग्नुभयो राजकुमार ?’ भनेर हात जोडेर फर्काउन खोज्यो । सिद्धार्थको प्रेमले व्याकुल ऊ रुन थाल्यो । तर, हाम्रा राजकुमार गहिरो अभिसंकल्पले मोक्षको खोजमा निक्लेका थिए । पूर्णिमाको रात, पर जंगलबाट पनि कपिलवस्तु दरबार ताराझैं जगमग र चम्किलो थियो । छन्नले ‘यस्तो ऐश्वर्य किन छाड्नु हुन्छ राजकुमार ?’ भनेर रुँदै पाउ समात्यो सिद्धार्थको ।

‘तिमी जहाँ परम सुख छ भन्छौ छन्न, म त त्यहाँ आगो नै आगोको भयंकर तेज लप्का मात्रै देख्छु’ राजकुमारले भने र छन्नलाई बेहद प्रेमका साथ अंकमाल गर्दै आफ्ना जुहारतहरू दिएर फर्काए । भारी मनले छन्न फर्कियो, हलुका मनले सिद्धार्थ जंगलहरूमा अघि बढे । त्यसपछि, जंगलहरूमा उनी हराए र म यता मानिसहरूको कल्याङबल्याङले २५ सय वर्ष वर घिसारिएँ । अनि मायादेवी मन्दिर अघिल्तिरको उद्यानमा मेरो आँखा खुल्यो । म मानौं सिद्धार्थलाई भेट्न आतुर थिएँ । तत्काल लुम्बिनीलाई छाडेर उनी गएतिरै दौडिएँ ।

भैरहवाबाट कार भाडामा लिएर गोरखपुरसम्म पुग्दा पनि बुद्ध हिँडेको जंगल भेटिएन, त्यहाँ त घरैघर, खेतैखेत र बाटैबाटो मात्र थियो । संयोग के भने, २२ जनवरीमा अयोध्यामा राम मन्दिर उद्घाटन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आयोजनामा पूरा भारतमा सनसनी मच्चिएको समय परेछ त्यो । राममूर्ति अनावरण हुने केही दिनअघि म भारत प्रवेश गर्दै रहेछु । उत्तर प्रदेशमा बाटैभरि तिरंगावाला बिजुली र झिलिमिली बत्तीको लावालस्कर थियो । म झल्यास्स भएँ– अहो, कहाँ गए मेरा सिद्धार्थ ? गोरखपुर ट्रेनस्टेसनमा चौरीचौराह एक्सप्रेस कुर्दै मध्यरातसम्म म मानिसैमानिसले सिलिङबिलिङ प्लेटफर्ममा घण्टौं भौंतारिइरहें । ज्ञान पाएपछि बुद्ध भएका उनै सिद्धार्थकै अनुभवसिद्ध वाणी थियो– सर्वम अनित्यम । माने, सबै अनित्य छ, यहाँ चीर सत्ता केहीको पनि छैन, सबै परिवर्तनशील छन् । वज्जीय गणराज्यभित्र पर्ने त्यत्रो घना जंगल अहिले खोइ ? खोइ त्यसबेलाको समाज ? खोइ कपिलवस्तु दरबार ? खोइ बुद्ध हिँडेको बाटो ? म व्याकुल हृदय लिएर यी सब खोजिरहेको थिएँ, एक मौन पुकारका साथ । गोरखपुरको हलचल, रेलवे स्टेसनको कोलाहल र ढिलो आएको रेलले यस्ता विचारहरू गर्न प्रशस्त समय दिएको थियो ।

रातको दुई बजेको हुँदो हो, छुकछुक गर्दै रेल आयो । आ–आफ्ना रेलमा हजारौं यात्री चढ्ने र उत्रने क्रम जारी थियो । त्यसमा म पनि मिस्सिएँ । भित्र बसेपछि लाग्यो, अचेल हुन्थ्यो भने सिद्धार्थ राजकुमारको वेश बदलेर यसैगरी मध्यरातमा रेल चढेर भाग्थे कि ? यो रोमाञ्चक कल्पना गर्दै रेलभित्र आफ्नो डब्बामा पुगेपछि यसो ढल्केको आँखा लागेछ, खुल्दा बिहान भइसकेको थियो र रेल वाराणसी पुगिसकेको थियो । झटपट ओर्लेर म केहीबेर त्यहाँको होहल्लामा हराएँ । शीतलहरको कहरले कैयौं दिनदेखि घाम निक्लन पाएको रहेनछ । अलिक पर सारनाथ छ, जहाँ म पहिले पनि पुगिसकेको थिएँ । बुद्धले दिएको पहिलो धर्मदेशनास्थल सारनाथमा पुग्दा मैले आफैंलाई फेरि २५ सय वर्षको अन्तरालबाट मुक्त पारें ।

घरबाट निराश अनुहारले हिँडेका सिद्धार्थ बुद्ध भएपछि धपक्क बलेको अनुहार लिएर पानीमाथि तैरिएको हाँसजस्तो हलुका चालमा बिहार गर्दै सारनाथ आइपुगे । कुनै समय सिद्धार्थसँगै ज्ञानको खोजीमा भेट हुन पुगेका कोडण्य, भद्दीय, बप्प, महानम र असज्जी बुद्धको महाप्रकाशित मुहार देखेर चकित र आनन्दित भए । बुद्धले तिनलाई आफ्नो वरिपरि राखे । अनि भने, ‘भिक्षु हो, संसारमा दुःख छ । यो दुःख सत्य हो । दुःखको कारण छ, यो समुदय सत्य हो । यसलाई हटाउने उपायहरू छन्, यो निरोध सत्य हो । दुःखभन्दा परको अवस्था छ, यो मार्ग सत्य हो ।’

बुद्धले भने– यो चार आर्यसत्य हो । यसभन्दा पर जीवनको सत्य छैन । यसको व्याख्या सुन्दासुन्दै, बुद्ध वाणीको ओज, उनको उपस्थितिको मधुर र प्रसादपूर्ण अनुभूतिले पाँचै जना बुद्धको शरणमा गए, धर्मको शरणमा गए र संघको स्थापना गरे । त्यसै क्षण, पाँचै जनाको सघन जागृति कारण चित्तको सबै दुःख नास भयो र उनीहरू परम निर्वाणपदमा प्राप्त भए । त्यसपछि, बुद्ध निरन्तर मानिसहरूलाई जगाउने काममा लागिरहे । उनका पाँच शिष्यले प्रथम धर्मचक्र प्रवर्तनमा तथागतको ज्ञानलाई चारै दिशातिर फैलाउने काम गर्न थाले । हेर्दाहेर्दै पूरै भारत बुद्धको अनुयायी बन्यो र हजारौं मानिसले उनको उपस्थितिमै मोक्ष प्राप्त गरे । अहो ! यस्तो आनन्दपूर्ण दृश्यबाट वरपरको होहल्लाले मलाई फेरि पच्चीस सय वर्ष वर ल्याएर पछारिदियो ।

म बुद्धका पाइलाहरू पछ्याउँदै वाराणसीबाट अर्को रेल पक्रेर पुगें गया र त्यहाँबाट ट्याक्सी पक्रेर सिधै ओर्लिएँ बोध गया । रातको अन्धकारबाट फुत्त प्रकट भएको चम्किलो घामजस्तो बोधगयाको कालातित आकर्षणले हृदयमा एउटा अवर्णनीय कम्पन ल्यायो । मैले एक लामो सास लिएँ, बुद्धले फेरेका सासको सुदूर स्पन्दन यी हावाका कणहरूमा कतै गुप्त रूपले छिपेको छ कि भनेर त्यसलाई केही क्षण फोक्सोमै थुनिराखें । बिहारै बिहार, मान्छे नै मान्छे र व्यापारै व्यापारले बोधगयालाई घेरेको रहेछ । अलिक पर निरञ्जना नदीको शान्त प्रवाह अहिले पनि सुरक्षितै देख्नेबित्तिकै मेरो मानस दर्शनमा समय–यात्रा सुरु भयो र म फेरि बुद्धकै समयमा फर्किएँ ।

निरञ्जना नदीको मध्यधारमा पुग्दा घनघोर तपले गलेको सिद्धार्थको शरीर ढल्न पुग्यो । उनी यति शान्त नदी पनि पार गर्न नसक्ने गरी कमजोर कसरी हुन पुगे ? यसबारे तत्काल उनमा विमर्श चल्यो । कसैगरी घिस्रेर उनी किनारमा आइपुगे । तर, किनारमा पुग्दा नपुग्दै कमजोरीले अचेत हुन भई ढले । त्यसैबेला, अचेल बोधगया भनिने उरुबेला गाउँकी किशोरी सुजाता आमाले अह्राएअनुसार वनदेवतालाई खीर चढाउन आइपुगिन् । हो न हो, यी अचेत सिद्धार्थ नै वनदेवता हुन् भन्ने लाग्यो १३ वर्षकी सुजातालाई । उनले सिद्धार्थको मुखमा अलिकति खीर हालिदिइन् । तातो खीरको स्वादले कैंयौं दिनको उपवासले सुक्खा हुन पुगेको सिद्धार्थको मुख रसायो । अनि उनको होस फिर्ता आयो । बाँकी खीर उनले कपाकप खाए । वनदेवता जागेको देखेर सुजाता हुनुसम्म प्रसन्न हुन पुगी । त्यसै क्षण सिद्धार्थमा एक मधुर ज्ञानको उदय भयो– अति त्याग मुक्तिको मार्ग होइन, न अति भोग नै मुक्तिको मार्ग हो । अतिले पार लाउँदैन, सधैं खति नै गर्छ ।

आफ्नै अनुभवमा उत्रिएको यो समझदारीका साथ सिद्धार्थले तपका नाममा शरीरलाई सुकाउने, गलाउने र दुःख दिने काम त्यस दिनबाट बन्द गरे । दिनमा एक पटक भिक्षाटन गरेर भोजन गर्ने, निरन्जना नदीमा नुहाउने र बोधी वृक्षमुनि बाँकी समय ध्यान गर्ने उनको नित्य चर्या सुरु भयो । उनका पाँच साथीहरू– भद्दीय र असज्जीहरूले उनले खाएको देखेपछि ‘सिद्धार्थ भ्रष्ट भयो’ भनेर निन्दा गरे र उनलाई छाडेर हिँडे । उरुबेलाको भैंसी गोठालो बालक स्वस्तीले सिद्धार्थलाई ध्यान गर्न सजिलो होस भनेर कुशको मुठो ओछ्याउन दियो बरु । एक दिन बोधी वृक्षमुनि त्यही कुशको आसनमा बसेर सिद्धार्थ आरामले चिन्तन, ध्यान र अन्तर खोज गर्न थाले । पद्मासन कस्नुअघि उनले महाअभिसंकल्प गरे– चाहे मेरो प्राण यहीं जाओस्, चाहे मेरो रगत सुकेर हड्डी मात्र बाँकी रहोस् र चाहे म यहींको माटोमा बिलाऊँ, बुद्धत्व प्राप्त नगरी यहाँबाट उठ्ने छैन, आँखा खोल्ने छैन ।

गहिरो समाधिमा सिद्धार्थको जागरण एकदम भरपूर भएर आयो । सृष्टिको रहस्य अचानक उनको अघिल्तिर प्रकट भयो । रात्रिको अन्तिम प्रहरसम्म उनले प्रस्टसँग देखे– संसार दुःखैदुःखले भरिएको छ र यसको एकमात्र कारण अविद्या हो । हजारौं ताराहरू जन्मेको र निभेको, कल्पकल्पसम्म प्राणीहरू एक जीवनबाट अर्को जीवनमा सर्दै आनन्द दुःखभोगमा परेको र आफ्नै अविद्याका कारण तृष्णा र त्यसले जन्माउने अनेकन क्लेसको फन्दामा सत्त्वहरू तड्पिन पुगेको उनले प्रस्ट देखे । दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका (पेसा), अभ्यास, स्मृति र समाधिमा सम्यकता ल्याउन सके यो दुःखबाट पार पाउन सकिन्छ भन्ने पनि उनले प्रस्टै

देखे । हजारौं वर्षको जेलबाट आफू मुक्त भएको आनन्दपूर्ण अनुभव भएपछि उनले आँखा खोले । निरन्जना नदी तरे र आफूसँगै ज्ञानका लागि तपस्यारत भद्दीय र असज्जीहरूलाई खोज्दै सारनाथ पुगे ।

बोधीवृक्ष वरपर अनेकन नरनारीको कण्ठबाट आइरहेको ‘ओम मणि पद्यमे हुँ’ को आवाजले मेरो समय यात्रा टुट्यो । निरञ्जना पारि बुद्धले ज्ञान पाएपछि सात दिनसम्म मौन बसेको स्थलमा विशाल विहार उभिएको छ । महाविहार भनेर चिनिने त्यस ठाउँमा संसारभरका मानिस ओइरिन्छन् र रात दिनै पद्मासन कसेर प्रणिधान गरिरहन्छन् । त्यस महाविहारको वरिपरि मैले सुस्तरी पाइलाहरू चालें । बुद्धलाई मौन तपस्यामा बसेको क्षणको कल्पना गरें र आँखा चिम्लिएँ । जीवनका ससाना छुद्रता, आक्रोश र वासनाहरूले फनफनी रिंगिरहेको समयभन्दा पर बुद्धका पाइला पछ्याउँदै समय–यात्राको मानस दर्शनका क्रममा मलाई एक भावातीत रोमाञ्चकताले लपेटिरह्यो । भोलिपल्ट बोधगयादेखि सय किलोमिटर पर श्रावस्ती, राजगिर, नालन्दा, गृद्धकुट पर्वत र जेतवनमा मैले बुद्धका पाइलाको पच्चीस सय वर्ष पुरानो डोबलाई हेर्न खोजें । आफ्नो जीवनकालको सर्वाधिक लामो समय २५ वर्षावास बुद्धले जेतवन विहारमा बिताए । अनेक जातका फूल, वृक्ष, लता र लहराको सौन्दर्यले धपक्क बलेको एक उद्यान रहेछ जेतवन, जसको माझमा ठूलो तलाउ थियो । त्यहाँ बुद्ध दिनहुँ नुहाउँथे रे । श्रावस्ती नगरको महाधनी सुदत्त गरिब गुरुवालाई खुवाउन प्रख्यात हुनाले उसको नाम अनाथपिण्डक हुन गएको थियो । बुद्ध कोशल राज्यको राजधानी श्रावस्ती आएपछि उनलाई राख्ने बिहार बनाउने उपयुक्त ठाउँ उपहार दिने संकल्प अनाथपिण्डकले गर्‍यो । राजकुमार जेतको विशाल उद्यान थियो । अनाथपिण्डक सिधा राजकुमारकोमा गएर त्यो किन्ने प्रस्ताव राख्यो ।

राजकुमारले अनौठो मोल तोके– जति जमिनमा सुनको असर्फीले ढाक्न सक्छौ त्यति मात्रै किन्न पाउँछौ । चल्तीको भन्दा हजारौं गुना दाम थियो त्यो । र पनि, अनाथपिण्डकले तत्काल आफूसँग भएको सुनको असर्फीले जेतवनलाई ढाक्न थाले । यो खबर आगोझैं फैलियो र राजा बिम्बिसार स्वयं त्यो हेर्न आए । यति धेरै चासो प्रकट भएपछि असर्फीले ढाक्न बाँकी केही जमिन राजकुमार जेतले बुद्धको नाममा आफ्ना तर्फबाट चढाए । बेचेकोमा र अन्तमा केही जमिन दान पनि दिएकामा अनाथपिण्डक खुसी भए, उनले त्यहाँ भव्य विहार बनाए र त्यसको नाम नै राजकुमार जेतसँग जोडेर राखिदिए– जेतवन । जीवनका २५ वर्ष बुद्धले यहीं बसेर बिहार, उत्तरप्रदेश र आसपासका ठाउँमा देशना दिए । बौद्ध साहित्यमा अनाथपिण्डकको यो दानको गौरवपूर्ण स्थान छ । सधैं सुन्दै र पढ्दै आएको यस्तो महत्त्वपूर्ण उद्यानको सौन्दर्य नियाल्न पाएको क्षण मलाई बुद्ध त्यहीं कतै छन् जस्तो ताजा सुगन्धको अनुभूति भयो ।

बुद्धको पाइला पछ्याउँदै जाँदा समयको सीमा मेटिएको र त्यस ठाउँको ऊर्जाले सहजसँग अतिक्रमणको स्थितिमा लगेको अनुभव ज्यादै पारलौकिक थियो ।

बुद्ध–पथमा आइपुग्ने हजारौं यात्री जेतवन, श्रावस्ती, बोधगया, सारनाथ र लुम्बिनीजस्ता ठाउँमा पुगेपछि मौन समाधिको एक साझा परिधिमा समेटिन आइपुग्दारहेछन्, जहाँ भाषा, संस्कृति, देश र पहिचानका सबै विभाजनकारी रेखा मेटिन्छन् र मानिसहरू शुद्ध चेतनाको एउटै तहमा भेटिन पुग्छन् ।

प्रकाशित : चैत्र २४, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?