कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

क्रान्तिले भुलेको पाठशाला

कवि अभय क्रान्तिले भुलेको पाठशालाका एक जेहेन्दार विद्यार्थी हुन्, तर क्रान्तिका नायक नै अहिले नैतिक पतनको संघारमा छन् 
रोशन शेरचन

कवि दुई प्रकारका हुन्छन्– कविताको मर्म अनि कविको जीवनशैलीबीच साम्यता हुनुपर्छ भन्ने आग्रह राख्ने र साम्यताको धारणा खारेज गरी सिर्जनालाई मात्रै महत्त्व दिने ! अभय श्रेष्ठ पहिलो पंक्तिका कवि हुन्, जो आफू र आफ्ना कविता छुट्याएर नहेरिदिन आग्रह गर्छन् । भूमिकामा लेखेका छन्, ‘म जे हुँ, मेरो कविताज्ञ त्यही हो । म, मेरो विचार, जीवनशैली र मेरा कविता पृथक् होइनन् ।’ 

क्रान्तिले भुलेको पाठशाला

कविता लेख्नु मात्रै पर्याप्त छैन, त्यसमा निहित विचार वहन गर्नु पनि कविको दायित्व हो भन्ने विचार मलाई पनि सही लाग्छ । अभय कविताको वैचारिकीलाई जीवनशैली बनाउन प्रयासरत कवि हुन् । करिब १८ वर्षदेखि कवि अभयलाई कहिले नजिकबाट र कहिले परबाट हेरेको छु मैले । कवि कर्मलाई सामाजिक दायित्वसहितको कर्म मान्ने उनी काँठमा बस्ने सरल कवि हुन् । झन्डै साढे दुई दशकदेखि सक्रिय छन् । उनको रचनाधर्मिता र जीवनलाई धेरथोर नियाल्दा म पाउँछु– हाँसो, ठट्टा मन पराउने उनी बागी कवि पनि हुन् । त्यसैले उनी पद र सम्मानप्रति निरपेक्ष बस्छन्, स्वाभिमान र विद्रोहचेतका कारण । जबकि पत्रकारिता र साहित्यमा उनीभन्दा पछि प्रवेश गरेका धेरैले प्रशस्त मानसम्मान र पुरस्कार पाइसके ।

भर्खरै प्रकाशित अभयको कविता–किताब ‘लहना र तीर’ का कविताको प्रमुख विशेषताहरू पाउँछु– सीमान्तकृत वर्गसमुदायप्रति पक्षधरता, विद्यमान सामाजिक–सांस्कृतिक संरचनाप्रति विद्रोहभाव र समतामूलक समाज निर्माणप्रति आशावादिता ।

दलित विषयमा धेरै रचना छन् उनका । छुवाछूतजस्तो सामाजिक कलंक उन्मूलन गर्न उनी आह्वान गर्छन् । जातव्यवस्था उन्मूलन र महिला उत्पीडनविरुद्ध आयोजित धर्ना–जुलुसमा प्लेकार्ड बोकेर उभिन्छन् र ऐक्यबद्धता जनाउँछन् । समताको जगमा समाज निर्माण हुने आशावादिताले उनको विचारलाई सिँचेको छ । ‘दलन’ कवितामा त्यो आशावादिता अग्लो चेतनासहित देखिन्छ–

के ठान्यौ तिमीले हामीलाई ?

सायद अछुत प्रेमी ठान्यौ

र, जिउँदै पुरिदियौ

हामी बीउ थियौ

र, उम्रियौ ।

‘नोरालाई’, ‘पण्डित र नगरवधु’, ‘साढे तीन हजार वर्ष पुरानो आक्रोश’ जस्ता कविता हजारौं वर्षदेखि विभेद र अन्यायमा परेका महिला र सीमान्तकृत वर्गलाई संगठित हुन गरिएका काव्यात्मक आह्वान हुन् । चार खण्डमा विभक्त संग्रहमा अजिङ्गरले जस्तो मुख बाएको पुँजीवादी बजार व्यवस्थासँग हामीलाई उनी सतर्क गराउँछन् ।

कविको भाषा र शिल्प माझिएको छ, दम्भ कतै छैन । आडम्बरबाट कोसौं टाढा छन् कविका शब्द । बोसो (अलंकार र विशेषण) रहित भाषाको प्रयोगले कविता काँचो र खस्रो बनेको छ । बोसो निकालिएकाले अर्थहरू चिप्ला बन्नबाट जोगिएर इमानदार आत्मस्वीकृति बनेका छन् ।

संग्रहमा कमजोरी नभएका होइनन्, तर सबलताको तुलनामा नगण्य छन् । ‘सन्देह’ कवि अभयको बहुचर्चित कविता हो । तर्कपद्धतिमा विश्वास नगर्ने अन्धभक्तको जगजगी भएको समयमा सन्देह त्यस्तो एन्टिडोट हो, जसको सेवनले नयाँ सोचाइ र व्यवस्थाको सुरुवात हुन सक्छ । नेपाली समाजमा सन्देहको महत्त्व कम बुझिएकाले क्षय र दुर्गतिको शृंखला बढिरहेको सत्य हो । नीतिगत भ्रष्टाचार, कुशासन र दण्डहीनताले आम जनतालाई थिलोथिलो बनाएको छ । सन्देह प्रवृत्तिले मान्छेलाई सचेततातर्फ लैजान्छ र विवेकी बन्न सघाउँछ भन्ने निष्कर्ष वैज्ञानिक अनुसन्धानको छ । त्यस अर्थमा ‘सन्देह’ जस्ता कविताको सान्दर्भिकता बढ्दो छ । तर, कहाँ सन्देह गर्ने, कहाँ नगर्ने ? कवि अलमलमा छन् । अवधारणागत पक्ष, दर्शनचिन्तन, वैचारिकी, धर्मसंस्कृति, कर्मकाण्ड र राजनीतिक समाचारमा सन्देह अपरिहार्य भए पनि प्रकृतिप्रदत्त सौन्दर्यमाथि सन्देह गर्नु कति उचित ? पठन–दौरान प्रश्न जन्मिरह्यो । कविको आग्रह छ– बादलले कोरेका सुन्दर कोलाज वा हिउँको सौन्दर्यमाथि सन्देह गर । म सोच्छु, सौन्दर्य त अनुभूत गर्ने पो । सन्देह गर्ने हो र ?

‘प्रायोजित प्रशंसा र निन्दा दुवै कविताका वैरी हुन् । आलोचकहरू स्रष्टाका सच्चा मित्र हुन् । तिनले झूटो प्रशंसा गर्दैनन् र छाला काट्दैनन् । तिनले तपाईंका बन्द आँखा खोलिदिन्छन्,’ कविको भूमिकामा भेटिएको यही विचारले सन्देह कवितामाथि यति लेख्न बल दियो । अभयको कविताको आकाश धेरै फराकिलो छ । त्यसैले केही कमीकमजोरी भेटिनु स्वाभाविक हो ।

हाम्रो समयको पक्षधर र प्रभावशाली कविको हारमा उभिएका थोरैमध्येका एक कवि हुन्– अभय । हाम्रा कतिपय कवि पक्षधरतामा स्पष्ट छन्, कवितामा सरदर । कारण कविताको शिल्पपक्ष स्थूल र कमजोर छ । पक्षधरता (विचार स्पष्टता र निर्भीकता) र शिल्पको सुन्दर संयोजनले कवि प्रभावशाली हुने हो । अभयभित्रको कवि निक्कै परिपक्व लाग्छ । उनी क्रान्तिले भुलेको पाठशालाका जेहेन्दार विद्यार्थी हुन् । तर, विडम्बना क्रान्तिका नायकहरू अहिले नैतिक पतनको संघारमा छन् ।

कविताले समयको दिशा पक्डेको छ । नत्र त आजभोलि अधिकांश कवितामा गाभीरता कम, चर्कोपना बढी भेटिन्छ । हल्ला वा चर्को ध्वनि नै कविताको सत्त्व बनेको भान हुन्छ । कविता जति सूक्ष्म हुन्छ, त्यति प्रभावकारी हुन्छ । त्यसको मारक क्षमता उति बढ्छ भन्ने म सोच्छु ।

झन्डै दुई दशकदेखि म कवि अभयलाई हेरिरहेको छु । अधिकांश मान्छे (कविहरूसमेत) शक्ति र सत्ताको पछि दौडिरहेको सन्दर्भमा उनी सदैव शक्ति र सत्ताको विपक्षमा उभिएको देख्दा उनलाई एन्टिकरेन्ट भन्न मिल्छ । एन्टिकरेन्ट प्रतिक्रियात्मक हुन्छ । यद्यपि समाज प्रतिगमनतिर बढ्दा प्रतिक्रियात्मक हुनु सही र सचेत छनोट हो ।

आफ्ना रचनाधर्मितामा प्रतिबद्ध र इमानदार, सत्यनिष्ठ र विनोदप्रियता कवि अभयका पुँजी हुन् । त्यसो त सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समतामूलक विश्व दृष्टिकोण मात्रै उनका कविताका विशेषता होइनन् । स्थानीयता, नेवाः संस्कृति–सभ्यताप्रति प्रेम र सम्मानभाव पनि उनका कवितामा प्रशस्त छन् । स्थानीयतालाई सार्वभौम अर्थ प्रदान गर्ने सक्ने खुबीमा कविको कौशल प्रकट हुन्छ । ‘लहना र तीर’ पढ्दा कतिपय स्थानमा त्यो कौशल भेट्छौं ।

कहिलेकाहीँ नपत्याउने गरी प्रणयका स्पर्श कवितामा भेटिन्छन्, जहाँ उनले मनको भित्री तहमा यौवनकालको रुमानी सपना सजाएका छन्– कोही फर्किन्छ भन्ने आशामा । विद्रोह, पक्षधरता र प्रेमविपरीत संवेदना कहाँ हो र ? भ्रष्ट र जर्जर हुँदै गएको सामाजिक व्यवस्था, रुढी र भ्रष्टाचारले गाँजेको सत्ताप्रति विद्रोहभाव र सामाजिक न्यायप्रतिको प्रतिबद्धता प्रेमको जगमै उभिएको छ–

जागै रहन्छ हरक्षण

कहीँ त्यसको कोमलता नहोस् नष्ट

हृदयमा सबभन्दा प्रिय कविताझैं

वालेटमा पुरानो प्रेमपत्रझैं

किताबको बीच पानामा मजुरको प्वाँखझैं

मैले सुरक्षित राखेको छु, हृदयमा त्यो ठाउँ

एक दिन फेरि

तिमीले नै फिर्ता माग्छौ कि भनेर ।

प्रकाशित : फाल्गुन २६, २०८० ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?