कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भावसंवेदी कविता

यी कवितामा कला, विचार र कल्पनाको मिश्रित शैली छ । केही कविता भावातिरेकमा पौडिएझैं लाग्छन्, भन्न सकिन्न– ती हृदयको गहिराइसम्म पुग्छन् या पुग्दैनन् !
फणीन्द्र संगम

शब्दलाई फारु गर्ने कवि/लेखक मलाई असाध्यै मनपर्छ । किनकि तिनले थोरै शब्दमा धेरै भन्न सक्छन् । कवि निर्भीकजंग रायमाझी शब्दलाई फुर्मास नगर्ने कविमा पर्छन् । अरूले नसोचेको विषय–विम्ब उनको चासो हो ।

भावसंवेदी कविता

जस्तो कि ‘मोनालिसा हुन’– फुटाएर क्यानभ्यास र फ्रेम/अब लुभ्र संग्रहालयको भित्तादेखि उठ्दै छु/म फियोरेन्टिनाको सडकमा निस्फिक्री डुलिहिँड्ने ‘म्याडम लिसा गेरार्दिनी’ हुँ/कदापि स्वीकार छैन रङ र कुचीमा जेलिएर मोनालिसा हुन ।

५ सय वर्षयता रहस्यमै रहेकी उनको चित्रमाथि निर्भीकले फरक कोण दिएका छन्, जहाँ उनी मोनालिसाको स्वतन्त्रता र प्रेमको खोजी गर्छन् । लियोनार्दो दा भिन्चीको विश्वप्रसिद्ध चित्रमा धेरैले मोनालिसाको मुस्कानलाई रहस्यमयी भनेका छन् । अहिलेसम्म चर्चा हुन्छ त केवल उनको सुन्दरता र यही रहस्यमयी मुस्कान । नयाँ सद्य–कवितासंग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’ मा कवि निर्भीकले स्थापित मान्यतामाथि फरक दृष्टिसहित विमर्शको बाटो खोलेका छन् ।

त्यसो त, उग्र राष्ट्रवादबिना पनि देशका कविता बन्ने रहेछ, जस्तो कि ‘नक्सा कोर्ने हात’ । भावुकता नपोखीकनै पनि प्रेम कविता फुर्ने रहेछ, जस्तो कि ‘सूर्यमुखीसँग’ ।

भरमार विम्ब र क्लिस्ट शब्द थोपर्दैमा त्यो कविता हुने होइन । निर्भीक कविता लम्ब्याउन शब्दकोश पल्टाएर शब्दको खोजी गर्दैनन्, बरु सरसतामै बृहत् व्याख्यानको जिम्मा पाठकलाई छाडिदिन्छन्–

घामको निगाहमा/मुहारमा कान्ति फिजाउँदै कहिले दायाँ, कहिले बायाँ त कहिले पश्चिम लर्किने/लजालु सूर्यमुखीले कसरी सिक्यो ?/कि प्रेम र समर्पण एउटै हो ।

– (सूर्यमुखीसँग)

मात्रै नौ लाइने यो कविताले प्रेमलाई समर्पणको रूपमा व्याख्या गर्छ । घामको रापप्रति सूर्यमुखीको समर्पण अनि त्यही रापलाई जीवनको ऊर्जा र चमकका रूपमा देखाउन खोजेका छन् उनले ।

अर्को बलियो कविता हो– ‘शीतल निवासको गर्मी’ । संवैधानिक राष्ट्रपति नै ‘राजनीति’ खेल्न अघि सर्ने हाम्रो देशको सामयिक यथार्थलाई उनले व्यक्त गरेका छन् । यसमा उनले दुई छिमेकहरूको चलखेललाई पनि बिम्बात्मक रूपले प्रस्तुत गरेका छन्–

दक्षिणको हावा चल्यो कि/उत्तरको सिरेटोले हान्यो कामज्वरो पनि यतैतिर छ ।

पुराना समय, पुराना साथी, पुराना सम्बन्ध र जीवनमा गल्छेँडाहरू उनका कवितात्मक यादमा बल्झिएका छन् । उनी गाउँको चौतारी पुग्छन्, तर त्यो उदास देखिन्छ– कसैलाई कुरिरहेझैं । सुनसान चौतारीको दृश्यसँगै गाउँ रित्तिएको संकेत कवितामा छ । न लाहुरे न तन्नेरी जोडी, चौतारीमा अब कोही भेटिन्नन् । यो रित्तिँदै गएका हाम्रा गाउँको साझा यथार्थ हो । शीर्ष–कविता ‘त्यसरी त कहिल्यै सोचिएन’ छुटिसकेको समय–समीक्षा र पश्चात्तापजस्तो लाग्छ, तथापि यो जीवनबोधी कविता हो । सामान्य विषयलाई पनि जटिल सोच्दा वा बेवास्ता गर्दा त्यसको महत्त्व पछि मात्रै महसुस हुने रहेछ भन्छ कविताले ।

कोरोनाकालीन परिवेश सम्झाउँछ ‘लकडाउनमा एक साँझ’ ले । एकै कोठामा कैद जीवन भोगेको आम अनुभव र स्वतन्त्रताको आशामा छटपटिएको कठिन दैनिकीलाई उनले कवितामा लेखेका छन् । सन्निकट संकटमा हरेक प्राणीले भोग्ने अवस्थालाई उनले जुरेलीमार्फत ‘चटारो’ मा देखाएका छन् । कवि इँटैइँटाको ‘सानो तलाउको छेउबाट’ स्मृति बोकेर सागर–महासागरसम्म पुग्छन् । तर, तिनले उनलाई रत्याउन सक्दैन । फेरि उही सानो तलाउकै स्मृतिमा डुब्छन् । प्रेमको विराटता र उत्सुकतालाई काव्यिक भाव दिएका छन् ।

देशको नक्सालाई बालकको नीलो आँखासँग तुलना गरी कवि संवेदित बन्छन्, ‘नक्सा बनाउने हात’ मा । ‘कालो अबिर’ प्रतिरोधी कविता हो । जल्लादको चोहरामा कालो अबिर दलेर होली मनाउन उनको आह्वान छ । बहिष्करणको प्रतिरोध वा उत्पीडनको मूर्च्छना–भाव कवितामा छ । टोपीमा अडिएको राष्ट्रियताको भाष्यप्रति विमति छ उनको । ‘मेरो टोपी कैलाशको शिरजस्तो छैन’ मा गरिब, निमुखा, मजदुर र तिनको पसिनाको मूल्य उनलाई राष्ट्रबाट भन्दा ठूलो लाग्छ । मानवीय सहअस्तित्वको कामना ‘औजार’ मा छ । मान्छेले मान्छेलाई औजार बनाएर भिडाउने पक्षको विरोधमा छन् उनी ।

अहिलेको पुस्ताले भोगिरहेको, सोचिरहेको र लेख्न खोजिरहेको विषयलाई उनले काव्यिक अनुभूति दिएका छन् । छोटा, सटीक र सरल कविताप्रति कविको प्रेम छ । तर, केही कविता भावातिरेकमा पौडिएझैं लाग्छन्, भन्न सकिन्न ती हृदयको गहिराइसम्म पुग्छन् या पुग्दैनन् । केही कविताले उचाइ लिइरहे पनि ती बैठानको ठेगाना नभएर भौंतारिएजस्ता लाग्छन्, कतिले पूर्णताको माग गर्छन् । भनिन्छ– संसारमा नयाँ चिज केही छैन, तर नयाँ तरिका अँगाल्नुपर्छ । त्यसैले केही कविता प्रभावितजस्ता लाग्नु स्वाभाविक हो । आशा छ, कवि अझै सचेत हुनेछन् । मूलतः उनका कवितामा कला, विचार र कल्पनाको मिश्रित शैली छ ।

कवि विप्लव प्रतीकले संग्रहमा लेखेका छन्, ‘असल मानिस सफल पनि हुन सक्छ तर सफल मानिस असल नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।’ निर्भीकका कविता सफल छन्/छैनन् समय र पाठकले मूल्यांकन गर्दै जालान्, तर उनी असल कवि भने पक्कै हुन् । असल कविले कसरी खराब कविता लेख्न सक्छ र ?

प्रकाशित : फाल्गुन १२, २०८० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?