१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

छेउकुनाका दुर्दान्त कथा

जीवनमा के सुखबोध नभई दुःखबोध हुनु सम्भव छ ? सुखदुःख एकै सिक्काका दुई पाटा होइनन् ? के दुःख, पीडा र संघर्ष नै कथाको मसला हो ?

आम नेपाली समाजका निम्ति अमेरिका आज पनि ‘स्वप्नभूमि’ हो । बोटमै हरियो डलर फल्ने देश हो । त्यहाँको भौतिक विकास, सुखसयल र सुविधाको स्वर्गीय आनन्द भोग गर्न जोकोही लालायित छन् । तर, अमेरिकामै रहेका सिभिल इन्जिनियर कृष्ण कुसुमले आफ्नो नवीनतम् कथासंग्रह ‘पार्श्व धुन’ मा देखेको वा सुनेकोभन्दा भोगेको अमेरिकालाई हुबहु प्रस्तुत गरेका छन् ।

छेउकुनाका दुर्दान्त कथा

त्यहाँको भौतिक वैभवभन्दा मनोसामाजिक समस्या उजागर गरेका छन् । अझ त्यहाँ पुग्ने नेपालीहरूलाई किनाराकृत मानेर सहानुभूति दर्शाएका छन् । किनभने उनीहरू भाषिक, सामाजिक र सांस्कृतिक पहिचानको गहिरो संकटमा छन् ।

तेस्रो देश पुनर्वासमा गएका नेपालीभाषी भुटानी गोपाल अंकलको मर्मभेदी कथा हो, ‘एउटा अन्त्य’ । कथामा उनी आफ्नो परिवारलाई भुटानी शासकले लखेटेको नभई सम्पत्तिबाट बेदखल गराउन आफ्नै बडाबाले लगत छुटाएर षड्यन्त्र रचेको रहस्यको पुलिन्दा फुकाउँछन् । अमेरिकामा गएपछि पनि देशविहीन र नागरिकताविहीन मात्रै नभई भाषा हराउनुपर्दा विक्षिप्त गोपालले अन्त्यमा आत्महत्याको बाटो रोजेको थाहा पाएर पाठक स्तब्ध हुन्छ । नेपालीभाषीलाई भुटानी शासकले लखेटेको भन्ने ‘ब्ल्याक एन्ड ह्वाइट’ भाष्य यो कथाले स्वीकार गरेको छैन । पूर्वदीप्ति शैलीमा लेखिएको यो कथा अत्यन्तै प्रभावशाली छ ।

अर्को कथा ‘पारिजात’ पनि भुटानी शरणार्थी दलित परिवारले भोग्नुपरेको दुर्दान्त कथा हो । कथाको पात्र हरि गजमेर नेपाली समाजको जातीय विभेद आफ्नो सन्तानले भोग्नु नपरोस् भनेर नेपाली नै नभएको बस्तीमा गएको छ । उसले मातृदेशबाट लखेटिएर नेपालमा शरणार्थी बनेको, तेस्रो देश पुनर्वास भएको, त्यहाँ पनि दलित भनी आफ्नै समुदायको छुवाछूतका कारण बसाइँ सरेको उसको हृदय दुई महिने छोरीलाई आफूसँगै सुताउँदा मृत्यु भएको भनी सुत्केरी पत्नीलाई प्रहरीले पक्रेपछि झन् विदीर्ण भएको छ ।

सामान्यतः हाम्रो गाउँघरमा बच्चा ठूलो नहुँदासम्म बाबुआमासँगै सुताउने चलन छ । सानो बच्चालाई आमाबाट अलग सुताउने त कल्पना नै गर्न सकिँदैन । तर, अमेरिकामा नवजात शिशुलाई समेत आफूसँग सुताउन नपाइने कानुन रहेछ । त्यसकारण आमाको बेवास्ता र लापरबाहीका कारण बच्चीको मृत्यु भएको अभियोग लागेको छ । नेपालमा सामान्य लालनपालनको विषय अमेरिकामा गैरकानुनी हुँदो रहेछ । एकातिर भाषाको समस्या छ, अर्कोतिर सांस्कृतिक दूरी । कथामा नेपाली र अमेरिकी समाजबीचको चोटिलो सांस्कृतिक विमर्श छ । मृतक बच्चीको संवादले पाठकको मथिंगल हल्लाउँछ ।

कृष्ण कुसुमको कथाकारिकताले ‘बर्ड आई भ्यु’ लाई सहजै स्वीकार गर्दैन । बरु छिद्रान्वेषणमा लैजान्छ र रहस्योद्घाटन गरिछाड्छ । कथाकार मूलप्रवाहका विषयभन्दा बाहिर अर्थात् छेउकुनाका, अझ छुटेका साना त्यान्द्राहरू समातेर कथामा ट्वीस्ट ल्याउन सिपालु छन् । ‘न्युयोर्कमा भेटिएको देश’ मा एक प्रौढ महिलाको दुर्दान्त कथा छ । कोरोना त्रासदीमा अमेरिका बसाइ उनलाई जेलजस्तो भएको छ । कोरोना महामारीबाट पति गुमाएकी छन् । छोरासँग भेट भएको छैन । कथाकी मुख्य पात्र देवकी मात्रै नभएर अन्य प्रौढ पात्रहरूको मनोदशालाई पर्गेल्न कथा सफल छ ।

‘चार्ली’ घरपालुवा जनावरको मृत्युबाट उत्पन्न मानसिक अवसादको कथा हो । यसकी पात्र पिंकी चार्ली नामक कुकुरलाई बेबी, वन एन्ड वन्ली बेस्टफ्रेन्ड मान्छे । चार्लीको मृत्युले उसलाई उदासीनता, चिन्ता, क्रोध, एक्लोपन बढेर डिप्रेसनसम्म पुर्‍याएको छ । उसले आफ्नै प्रेमी उर्फ ट्युटर शिक्षकलाई नै चार्लीको हत्यारा घोषित गरेकी छ । किनभने उसले चार्लीलाई कुकुर भनेर हेपेको थियो । यो मनोवैज्ञानिक कथा पठनीय छ । ‘अपूरो’ नामक कथा २२ वर्षे युवकको मृत्युपछि उसको पत्नी दाबी गर्दै दागबत्ती दिन पाउनुपर्ने जिकिर गर्ने युवतीको कथा हो । यसले अहिलेको ‘लिभिङ टुगेदर’ ले निम्त्याएको सामाजिक समस्यालाई कथाको बान्की दिएको छ ।

राजनीतिक कटाक्ष छ, ‘क्लोन’ कथामा । परिवर्तन भनेको एउटा राजा हटाएर देशको ७६० स्थानमा नयाँ स्वरूपका रंगीचंगी रजौटा स्थापना गर्नु हो त भन्ने जबर्जस्त प्रश्न यसले उठाएको छ । यद्यपि यो आम प्रश्न नयाँ होइन । तर, यसको राजनीतिक प्रासंगिकता अद्यापि छँदै छ । त्यसैले यस्तो विषयमा कथा नै लेख्नु एक प्रकारले क्लिसे काम मानिन सक्छ । यसमा एक पात्रको संवाद स्मरणीय छ, ‘अन्त्य राजाको होइन राजतन्त्रको भएको हो । तन्त्र पड्किँदा व्यक्ति सकिने होइन शासन सकिने हो ।’ विकास नामको फेन्टासीलाई कथाले सिस्नुपानी लगाएको छ । अग्ला डाँडाकाँडामा भ्यु टावर उभ्याउने होडबाजी, पिर्के सलामीका दृश्यहरू र पुरानो शासककै व्यवहारको पुनरावृत्तिमा कथाकारको ‘नोट अफ डिसेन्ट’ छ ।

‘दुत्कार’ र ‘अनुत्तरित’ कथा सिक्वेलजस्ता छन् । ‘दुत्कार’ मा धोकेबाज पतिको कथा छ भने ‘अनुत्तरित’ मा लोग्नेमान्छेबिना बच्चाको आमा बन्न लागेको कथा छ । यद्यपि अभिलाषाकी आमा सीतालाई उसको लोग्ने पुरुषोत्तमले दिएको धोका त्यति विश्वसनीय छैन । त्यसमा कतिपय पाठकले नाटकीयता देख्न सक्छन् । ‘माया उर्फ पासो’ नक्कली विवाह गरेर विदेश जाने फेसनको उत्कर्ष हो भने ‘लडाकु’ माओवादी आन्दोलनको विद्रुपीकरणको कथा हो । देश बदल्न होमिएका लडाकुले आफैं देश छाड्नुपरेको अवस्था कारुणिक छ । ‘ब्लाइन्ड डेट’ अमेरिकामा नेपाली छात्राको निर्मम नियति उजागर भएको छ ।

‘पार्श्व धुन’ मा १३ मध्ये आठवटा अमेरिकी परिवेशमा नेपाली पात्रहरूको कथा छन् । कथामा विविधता छ । प्रायः पहिले नलेखिएका कथा छन् । पात्रको धुकधुकीलाई छामेर लेख्नु चानचुने काम होइन । धेरैजसो कथा ‘म’ पात्रबाट वाचन गरिएका छन् । इन्द्रबहादुर राईले भनेजस्तो आफ्ना पात्रहरूको विषयमा लेखकले लेखेको भन्दा बढ्दा कुरा जानेको हुनुपर्छ र मात्रै उसले थोरैमा पनि पत्यार वा विश्वास हुने गरी भन्न सक्छ । त्यो काममा कहीं कतै अलमल देखिन्छ ।

कुसुमको कथामा बिछट्ट नौलो शैली नभए पनि विषयवस्तुमा नवीनता छ । वर्णनकला प्रशंसनीय छ । तर, त्यसमा भाषिक सौष्ठव वा लालित्य दिन भने अल्छी गरिएको छ । कथामा शाब्दिक मिठास अपेक्षित हुन्छ नै । कतिपय कथामा पुनर्लेखन र पुनर्सम्पादनको अभाव खड्केको छ । उनले कथाजस्तो विशाल वृक्षलाई बोन्साइ गरेका छैनन् । आजको धपेडीमय जीवनमा कथाको लम्बाइ चुनौतीपूर्ण नै हो । तर यसमा नभनी नहुने कैफियत पनि देखिएको छैन । कथा लेखकको विशुद्ध कल्पना हो । तर, कृष्ण कुसुमको कथामा यथार्थ चलायमान छ र आदर्श बोकेर हिँड्ने पात्र जीवित छन् । यो सुखद पक्ष हो ।

हिजोआज मुद्राराक्षसले नसताइएको पुस्तक कमै पाइन्छन् । भाषिक एकरूपता र हिज्जेको समस्या बग्रेल्ती भेटिन्छन् । ‘पार्श्व धुन’ त्यसबाट मुक्त हुन सकेको छैन । संग्रहको नाम ‘पार्श्व धुन’ भए पनि यसमा यो शीर्षकको कथा भेटिँदैन । संग्रहबाहिरबाट नाम राख्दा पुस्तकको शीर्षक कथाबाट पाठकको मोहभंग हुन पाएको छैन । फरकफरक विषयवस्तुमा लेखिएका कथालाई एउटा कथाको शीर्षकले न्याय नगर्न पनि सक्थ्यो ।

छेउछाउ वा किनाराको कथा भन्ने अर्थमा यसको नाम ‘पार्श्व धुन’ राखिएको छ । तर, सिनेमाको व्याकरणमा पार्श्व धुन भनेको पृष्ठभूमि (ब्याकग्राउन्ड) मा एकनास बज्ने संगीत हो । संगीतको जस्तो मजा भने यी कथामा छैनन् । उनका प्रायः कथामा दुःखान्त छ । उनी कथालाई सुखद बनाउनतिर लाग्दै लाग्दैनन् । उनले यस्तो एकपाखे शैली किन अँगालेका हुन् ? जीवनमा के सुखबोध नभईकन दुःखबोध हुनु सम्भव छ ? सुखदुःख एकै सिक्काका दुई पाटा होइनन् ? के दुःख, पीडा र संघर्ष नै कथाको मसला हो त ?

प्रकाशित : पुस २८, २०८० १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?