२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

जिरीका खर्कतिर बरालिँदा

 स्विसले विश्वमा चिनाएको जिरी लामो समय स्वत्वमा अलमलियो, अब यसले आफूलाई चिनाउन ढिला गर्नुहुन्न
फणीन्द्र संगम

जिरीबाट गाडीमा एक घण्टा उकालो चढेपछि पुगियो– क्याङसे पोखरी (२,४५० मि.) । कच्ची बाटो ठाउँ–ठाउँमा ग्राभेल गरेकाले यात्रा सोचेजस्तो कठिन रहेन । हामीजस्ता पटके पर्यटकले बोलेरो रिजर्भ गरेकै बेस ! ४–५ हजार तिरेपछि दिनैभरलाई आनन्द !

जिरीका खर्कतिर बरालिँदा

जिरी बजारबाटै म, दीपक सापकोटा र देवव्रत डबल क्याब बोलेरोको पछाडि चढ्यौं । हामीलाई हावा खाँदै मनग्ये दृश्य नियाल्नु थियो । रवि मिश्र र सागर चन्द भित्रै बसे । बजार छाड्नासाथ धुपी–सल्लाका हरिया रूखले स्वागत गर्न थाले । काठमाडौं–कोलाहलबाट मुक्तिको श्वास फेर्न हिँडेका हामीलाई सुस्त बताससँगै आउने संगीतमय सिरसिराहटले पुलकित बनाइदियो । फाट्टफुट्ट घर पनि अब देखिन छाडे । हरिया जंगलभित्रका अनेक वनस्पति र फूल–बुट्यान हेर्दै निरन्तर उकालियौं । अब त धुपीका अग्ला रूखले पनि कद घटाउन थाले । पोथ्र्रापोथ्री बुट्यान अनि जंगली फूल नियाल्दै अघि बढिरहँदा तल देखियो– जिरी अर्थात् लिंकन बजार ।

हिउँद लागिसकेकाले क्याङसे पोखरीमा पानी कम थियो । वरिपरि तारबार गरेर ध्वजापताका टाँगिएको रहेछ । यहाँबाट झन्डै ३ घण्टा उकालो हिँड्ने हो भने जिरीको शिर– च्योर्दोङ (३,६९० मि.) । तर, यहींको पारिलो नागीेले रत्यायो । हिँड्ने हिम्मत नभएर हो कि उकालिने मुड कसैमा देखिएन । पारि देखिएका नुम्बुर (दूधकुण्ड), रोल्वालिङ हिमशृंखला हेर्दै फोटो खिच्न थाल्यौं । तल धापमा बसेको बस्ती यलुङ रहेछ । पश्चिमपट्टि देखिने डाँडाचाहिँ हनुमन्ते ।

पोखरी मुन्तिर चौंरी गोठ देखेर हौसियौं । छिरी हेर्दा गोठालाका केही मालमत्ता मात्रै देखिए । चौरमा यत्रतत्र सुकिनसकेको गोबर देखेर अनुमान गरियो– चिसो सुरु भएकाले चौंरी बेंसीतिर झारेका होलान् । खर्कमा आइसकेपछि चौंरी नदेखी फर्कन मनले मानेन । अब चौंरी गोठ खोज्ने र दूध खाएर मात्रै फर्कने– सबैको एक स्वर । हाम्रा चालकले दुई/चार ठाउँ फोन गरेपछि खुसीको खबर सुनाए, ‘पारिपट्टि गोठ छ भन्ने बुझियो । जाने हो त ?’

अलि तल झरेपछि चालकले गाडी रोके र पारि देखाउँदै भने, ‘ऊ त्यही हो गोठ । यहींबाट हिँडेर जानुपर्छ ।’ पुग्नै डेढदेखि २ घण्टा लाग्नेरैछ ! दिन ओरालो लागिसकेकाले तिख्खर स्याँठ चल्न थालिसकेको थियो । जाने कि नजाने ? अलि पर बारीमा काम गरिरहेकी दिदीसँग बुझ्दा उनले भनिन्, ‘गोठ त छ, तर मान्छे दिनभरि काम गर्न बेंसी झर्छ, बेलुका मात्रै पो फर्कन्छ है ।’ हिस्रिक्क भइयो । अब न चौंरी देख्न पाइने भो, न दूध खान । खर्कमा गोठ मात्रै भेटियो, चौंरी देखिएन ।

बाटोमै भेटिएका, च्योर्दोङबाट झरिरहेका भाइहरूलाई सोधिहेर्‍यौं, ‘यहाँ अरूतिर कहाँ पाइन्छ त चौंरीको दूध ?’

‘तल डाइरीमा पाइहाल्छ नि,’ एक भाइको अबोध जवाफले दीपकको सिग्नेचर हाँसो पहिलो पटक खर्कभरि गुन्जियो । डाइरी अर्थात् डेरी, गाउँको भाषा !

अब ओरालो लाग्नुको विकल्पै रहेन । चालकले अलि तल अचानक गाडी रोके । मसिनो गरी भने, ‘यहाँ पदमचालको लोकल पाउँछ है !’ पदमचाल (केन्जो) को औषधीय गुणबारे एकछिन चर्चा भइहाल्यो । नजिकैको घरतिर लाग्यौं । जिरेल्नी दिदीले एक बोतल तयार पारिन् । सुरुमा ‘चखनी’ मात्रै मगाइयो । ‘चिज ठीक छ’ एक–अर्कालाई आँखा सन्काएपछि एक चिया गिलास भाग लाग्यो । केहीबेरमै औषधि लाग्न थालिहाल्यो । पदमचालको सौम्य तालमा साँझको गन्तव्य झरियो । मध्य मंसिर भए पनि जिरी निकै चिसो भइसकेको थियो, तर हाम्रा कान राता–ताता नै थिए ।

आतिथ्य छ, उत्साह छैन

काठमाडौंबाट १८८ किलोमिटरको दूरीमा जिरी । दोलखा सदरमुकाम चरिकोटबाट ५६ किमि नजिक । तीनतिर हरिया डाँडाले घेरिएको जिरी ओसिलो फाँटमा बसेको सानो बजार हो । हुन त जिरीलाई ‘नेपालको स्विट्जरल्यान्ड’ मात्रै होइन, ‘सगरमाथाको प्रवेशद्वार’ (गेटवे टु माउन्ट एभरेस्ट) पनि भनिन्छ ।

आजभन्दा ७० वर्षअघि यहीं बास बसेर हिँडेका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले २०१० जेठ १६ का दिन सर्वोच्च शिखरमा पहिलो पाइला राखे । त्यसपछि नेपालले संसारको ध्यान खिच्यो । बिस्तारै विदेशी आरोहीको लर्को जिरी भएरै सगरमाथा सोझिन थाल्यो । किनकि सगरमाथा छिर्ने सजिलो ‘गेट’ नै जिरी थियो ।

२०१४ सालमा स्विस सरकारले यहाँ बहुद्देश्यीय परियोजना सञ्चालन गरेपछि भने जिरीका स्वर्णिम दिन सुरु भए । शिक्षा, स्वास्थ्य, वन, दुग्ध, कृषिलगायत ग्रामीण विकासमा लगानी भित्रिन थाल्यो । कतिसम्म भने यहाँको अस्पतालमा डाक्टर र नर्स नै स्विस थिए । पशु विकास कार्यक्रमअन्तर्गत उतैबाट उन्नत गाई ल्याएर गाई आनुवांशिक स्रोत विकास केन्द्र खुल्यो । बजारमुनि गाई फार्म छ भने नजिकै ठूलो चरन क्षेत्र छुट्याइएको छ । च्योर्दोङमा चीज कारखाना, बजार नजिकै जिरी अस्पताल, प्राविधिक शिक्षालय सञ्चालनमा छन् । स्विस सरकारकै सहयोगमा २०४२ मा लामोसाँघु–जिरी सडक बनेपछि जिरीलाई उकास्न अझ सहज भयो । मानेडाँडामा २०१८ सालमा स्विसले नै विमानस्थल बनाएका थिए । यहाँ पिलाटस पोर्टर मात्र चल्थ्यो । दुर्घटना भएपछि बजारमुनि चौरमा २०३० सालमा अर्को विमानस्थल बन्यो । २०४४ यता बन्द भएको विमानस्थलको अवशेष घाँसै मैदानले नामेट पारिदिएको छ ।

खासमा जिरी स्विस पर्यटकको दोस्रो घरजस्तै थियो । जिरीको विकास प्रवर्द्धनमा स्विस भूगोलविद् टोली हागनको देनलाई यहाँका अग्रजहरू सम्झिइरहन्छन् । यहाँको भूगोल र हावापानीलाई हागनले जुरिच सहरसँग तुलना गरेका थिए । पछि स्विस शैलीमै घरका संरचना बने । तर, भूकम्पले ध्वस्त बनाइदिएपछि हाल त्यस्ता घर देख्न पाइन्न । सगरमाथा बेसक्याम्प पुग्न अनेक विकल्प खुल्न थालेपछि जिरी सुस्ताएको धेरै भयो । लुक्लामा विमानस्थल बनेपछि पर्यटक सोझै उता लाग्न थाले । विदेशीको आगमन खुम्चियो ।

पर्यटक कुरिबसेका व्यवसायीमा आत्मीयता छ, उत्साह देखिन्न । लामो ट्रेकमा रुचि राख्ने विदेशी मात्रै यहाँ आइपुग्ने रहेछन् । यहींबाट १९/२० हिँड्छन् र बेसक्याम्प पुग्छन् । होटल हेमन्तका सञ्चालक वसन्त प्रधान आन्तरिक पर्यटकको भरमा मात्रै जेनतेन व्यवसाय टिकिरहेको सुनाउँदै थिए । ‘एक/दुई विदेशी फाट्टफुट्ट देखापर्ने हुन्,’ उनले भने, ‘तपाईंहरू जस्ता पर्यटक टिम बनाएर आउँदा केही आशा त जाग्छ, तर पहिलेजस्तो अवस्था अब कहाँ रह्यो र !’ सुस्ताएको जिरी प्रवर्द्धनका लागि स्थानीय सरकारले तदारुकता नदेखाएकामा उनले गुनासो गरे । यहाँ होटल हेमन्त जस्ता ठूलो लगानीमा बनेका होटल नै करिब एक दर्जन छन् ।

होटल ग्याबिलाका सञ्चालक केशर जिरेल पनि निराश सुनिए । पुराना व्यवसायी उनको आँखामा गुल्जार जिरीको दृश्य अझै बाँकी छ । तर, वर्तमान उत्साहजनक रहेन । ‘अहिले जिरीजस्ता गन्तव्य अनेक बन्न थाले, मान्छेको रोजाइ फेरियो,’ उनी भन्छन्, ‘कोभिड, द्वन्द्वकाल, भूकम्पजस्ता कहरले जिरी सुनसान भएको हो ।’

धार्मिक, सांस्कृतिक, प्राकृतिक मूल्य बोकेको जिरीलाई तंग्रिन जिरीवासी मात्रै होइन स्थानीय सरकार र प्रदेश तहबाट पनि दीर्घकालीन योजना जरुरी देखिन्छ । त्यसो त बौद्ध धर्मका गुरु पद्मसम्भव (रिम्पोचे) को १९५ फिट अग्लो प्रतिमा पटासे डाँडामा निर्माणाधीन छ । यो योजना पूरा भए लुम्बिनी आउने बौद्ध धर्मावलम्बी कम्तीमा १५ प्रतिशत यता आउने आशा व्यवसायी जिरेलले राखेका छन् ।

बजार पश्चिमको चिहानडाँडा नै अब आध्यात्मिक केन्द्रका रूपमा विस्तार हुँदै छ । २०७३ मा स्थापना भएको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र सञ्चालनमा छ । जसको नेतृत्व गरिरहेका छन्, आईबी सर (इन्द्रबहादुर खड्का) । ‘यहाँ ध्यान एवं प्रवचन कुटी पनि छ, जहाँ ध्यानयोग सिकाउँछौं,’ पूर्वसांसद समेत रहेका उनी भन्छन्, ‘पुस्तकहरू व्यवस्थित गर्न नयाँ लाइब्रेरी बन्दै छ ।’ केन्द्रअन्तर्गत बुद्धिस्ट कलेज छ । लुम्बिनी संस्कृति विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमा ५ ब्याचसम्म पढाइ सञ्चालन गरिएको खड्का बताउँछन् । यहीं बनेको बुद्ध पार्क रमणीय छ ।

जिरीको शिर च्योर्दोङ, क्याङसे पोखरी, हनुमन्ते डाँडा, चीज कारखाना, तेन्जिङ हिलारी पार्क, स्टोन पार्क, गुराँस पार्क, जिरेश्वर महादेव, हाटडाँडा बजार, लौती झरना, चिया बगान यहाँ रमाउने ठाउँ हुन् ।

क्याङसे पोखरीसम्म सडक स्तरोन्नति र त्यहाँबाट च्योर्दोङसम्म पदमार्ग व्यवस्थित बनाउन सके आन्तरिक पर्यटक बढ्न सक्छन् । स्विसले विश्वमा चिनाएको जिरी लामो समय स्वत्वमा अलमलियो, अब आफूलाई आफैंले चिनाउन ढिला गर्नुहुन्न ।

प्रकाशित : पुस १४, २०८० ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?