१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आख्यानको हरियोपरियो

२०७९ को आख्यानको हरियोका रूपमा देखापरे– देवीप्रसाद सुवेदीकृत ‘मनु’ र विवेक ओझारचित ‘ऐँठन’ । ‘मनु’ मा शास्त्रीय सौन्दर्य छ, ‘ऐँठन’ मा समकालीन सन्दर्भ । स्तरीय आख्यानमा न्यूनता छाएका बेला यिनले आख्यानको प्रायः देखिने फिक्कापनलाई थोरबहुत छायामा पारेका छन् ।
राजकुमार बानियाँ

अहिले हरियो छ, तर अग्लो रूख कतै देखिँदैन– अग्रज कवि राजेन्द्र भण्डारीले भारतीय नेपाली कविताको प्रसंगमा यस्तो अभिव्यक्ति दिएका थिए कुनै बेला । त्यो स्थिति नेपाली साहित्य अझ आख्यानमा पनि हुबहु यस्तै छ । त्यसलाई हल्का सच्याउने हो भने स्तरीय आख्यानमा न्यूनता छ । 

आख्यानको हरियोपरियो

वर्ष २०७९ को आख्यानको हरियोका रूपमा देखापरे, देवीप्रसाद सुवेदीकृत ‘मनु’ र विवेक ओझारचित ‘ऐँठन’ । दुवै उपन्यासको स्वभाव काटीकुटी मिल्दैनन् । ‘मनु’ मा शास्त्रीय सौन्दर्य छ भने ‘ऐँठन’मा समकालीन सन्दर्भ । यिनले आख्यानको प्रायः देखिने फिक्कापनलाई थोरबहुत छायामा पारेका छन् ।

मुलुकका दुई प्रतिष्ठित ठूला पुरस्कार यी दुई आख्यानलाई नै मिल्यो । लामो र छोटो सूची हुँदै पुरस्कृत यी दुई किताबले आख्यानसाग मात्रै प्रतिस्पर्धा गरेका थिएनन् । कविता, आख्यान, गैरआख्यान आदि एकै ठाउँमा राखेर छनोट गरिएकाले यी दुई आख्यानले सिंगो साहित्यकै परीक्षा पार गरेका हुन् ।

पद्मश्री पुरस्कार विजेता ‘मनु’ मा ११ पृष्ठ लामो लेखकीय बयान पढेर म विस्मित भएँ । मूल आख्यानभन्दा पनि लेखकीय जोडबल स्पष्टीकरणमा देखिएको छ । यसमा स्त्री र दलित अधिकारकर्मीवृत्त मनुको भन्दा पनि ‘मनुस्मृति’ को नकारात्मक धङधङी जिम्मेवार छ । यी वयोवृद्ध लेखकले अझै पनि सार्वजनिक कार्यक्रममै ‘भिलेनलाई किन हिरो बनाएर लेखेको ?’ भन्ने बाघ–झापु सवाल झेल्नुपरिरहेकै छ ।

सन् १९२७ मा भारतीय विद्वान् भीमराव रामजी अम्बेडकरको नेतृत्वमा चन्दनको चितामा राखेर ‘मनुस्मृति’ (मानव धर्मशास्त्र) का केही प्रति जलाएयता त्यसको बांगोटिंगो व्याख्या/अपव्याख्या चलिरहेकै छ । राणाकालमै चक्रपाणि चालिसेले नेपाली भाषामा उल्था गराएको ‘मनुस्मृति’ मा मतान्ध भएर टिप्पणी गरिहनुभन्दा सत्याग्रह वा सत्यशोधन हितकारी हुन सक्थ्यो ।

संसारमा समर्थन र विरोध नित्य चलिरहन्छन् । महात्मा गान्धी नै अम्बेडकरको विरोधमा उत्रिए । ‘मनुस्मृति’ को वर्ण र धर्म सिद्धान्तमा तपाईंको समर्थन छ ? भन्ने प्रश्नमा उनले भनेका थिए, ‘यसको मूल ग्रन्थ कसैसँग छैन । मलाई लाग्छ, यसका कैयौं अंश पछि जोडिएका हुन् । त्यसका बारेमा कतिपयको आपत्ति हुन सक्छ । स्त्री र कथित दलित जातिबारे अन्यायपूर्ण कुराहरू छन् । त्यसैले शास्त्रहरूलाई सावधानीपूर्वक अध्ययन गर्नु आवश्यक छ । यसमा यति धेरै विरोधाभास छन् कि एउटा हिस्सा स्वीकार गर्दा अर्को हिस्सा अस्वीकार गर्नुपर्ने हुन्छ ।’ (योङ इन्डिया, २४ नोभेम्बर १९२७) ।

देवीप्रसाद सुवेदीले गान्धी भाष्यमा टेकेर ऋग्वैदिक सामाजिक उपन्यास ‘मनु’ लाई पाठकीय अदालतमा हाजिर गराएका छन् । परस्पर विरोधी मिथ्या, असंगत तथ्य र श्लोकको मिलावटको सिकार ‘मनुस्मृति’ मात्र होइन, ‘महाभारत’ र ‘रामायण’ मा पनि उत्तिकै छ । विनोवा भावेले सन् १९६५ मा ‘मनुस्मृति’ का २,६८५ श्लोकमध्ये ४४५ श्लोक मात्रै छानेर ‘मनु–शासनम्’ लेखेको दृष्टान्त पनि छ ।

युद्धको पहिलो सिकार सत्य वा धर्म नै बन्दछ भनेर युनानी नाटककार एसिलसले त्यसै भनेका होइनन् । मानवीय उदारता, विनम्रता, व्यापकता र वैज्ञानिकता युद्धको निर्मम सिकार बन्छन् । अराजकता र हिंसाबाट आदर्श समाज वा राज्यको स्थापना हुन सक्दैन भन्ने दिग्दर्शन ‘मनुस्मृति’ मा छ र त्यो बहुमान्य पनि छ । तर, वामपन्थ, दक्षिणपन्थ, अन्यान्य पन्थको सत्यनिष्ठा सन्दिग्ध मान्ने हो भने यसलाई संहिताबद्ध प्राचीन लोकव्यवस्थाको एउटा कडी मान्ने नसकिने होइन ।

रोचक के भने मनुष्य, मानिस, मनुज, मानव वा अंग्रेजीको ‘म्यान’ आदि शब्द मनु शब्दबाट प्रभावित मानिन्छन् । उनी मनुष्यलोकका निम्ति नीति–नियम र सामाजिक राज्यव्यवस्थाका प्रणेता रहेकोमा आख्यानले पटक्कै सन्देह गरेको छैन । प्राग्ऐतिहासिक एवं कल्पित पात्रहरूका साथै घटनावृत्त उत्तर ऋग्वैदिककालीन सघन प्रतिबिम्ब लाग्छन् ।

उपन्यास विवस्वान्को पाठशालाबाट सुरु भएको छ । दक्षप्रजापतिको गुरूकुल शासक र योद्धाहरू उत्पादन अनि विवस्वान्को गुरूकुल समाजसुधार र नैतिक आध्यात्मिक चेतना जगाउने जनशक्ति उत्पादनमा केन्द्रित थियो भन्ने आख्यानको जिकिर छ । नारीको स्वतन्त्रता र कार्यविभाजनका बारेमा पनि यसले विमर्श गरेकै छ । नारी र पुरूषका बीचमा सहभोजन, सहकार्य र सहवासको युग समाप्त नभएको जिकिर पनि आख्यानको छ ।

विवस्वान्का पुत्र भएकाले मनुल वेद र पुराणहरूमा वैवस्वतका रूपमा चित्रित छन् । देवलोकबाट मनुष्यलोकतिरको आप्रवासनका क्रममा वैवस्वत मनुसँग आउने ऋषिहरू ऋग्वैदिक रचनाका उत्तराधिकारी वंश र शिष्य मानिएका छन् । उपन्यासका प्रमुख पात्रहरू ऋग्वेद, केही जेन्द अवेस्ता र कतिपय काल्पनिक पात्रहरू समेटिएका छन् । मिथकीय घटना र कल्पित पात्रहरूकै कारण यसले आख्यानको दर्जा पाएको हो ।

मनुले गुण–कर्म र सामाजिक श्रमविभाजनका आधारमा चार वर्ण सिर्जना गरेको र सभ्य समाजमा श्रमिक वर्गलाई नीच ठानेर निन्दा नगरिने ठहर पनि आख्यानमा गरिएको छ । एक दर्जनभन्दा बढी नारी चरित्रका माध्यमबाट तत्कालीन नारीहरूको मनोदशा र सामाजिक स्थितिको आकलन पनि यसमा छ ।

निश्चय नै मनुका राजनीतिक र सामाजिक विचार धर्ममा आधारित छन् । उनले राजनीति र धर्मको रेखा छुट्याएका छैनन् । मनु परम्परामा स्वायम्भुव मनुरचित धर्मसूत्रहरूलाई मार्केण्डेय र उनका शिष्यहरूले चित्रलिपिमार्फत मानवधर्मसूत्रका रूपमा चिनाएको प्रसंग आख्यानमा आउँछ । मनुको व्यवस्थापनमा देव र असुर विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको, तक्षशिला पाठशालाका महर्षि अंगिरा र उनका पुत्र आचार्य सुधन्वाले आफ्नो पाठशालामा अश्वपालन र प्राविधिक यान्त्रिक शिक्षाको स्तरोन्नति गरेको कथानक पनि यसमा समेटिएको छ ।

‘मनु’ को कथा पिरामिड शैलीको छ । सुरुवातमा कथाको आँगन फराकिलो देखिए पनि पछि साँघुरिँदै गएको छ । अन्तिम अर्थात् बाह्रौं अध्याय ‘उपसंहार ः वानप्रस्थ’ शोधग्रन्थको शीर्षक जस्तो लाग्छ । समग्र आख्यानकै बुनोटमा गैरआख्यान तत्त्व गह्रुँगो छ । कुनै सन्दर्भसूची हुन्थ्यो भने यसलाई गैरआख्यान मानेर पढ्न पनि मिल्थ्यो । यति ठूलो ग्रन्थमा बरोबर शिल्पकला पुर्‍याउनु मुस्किल नै हो । तर, पनि आख्यानलाई फितलो भन्ने आधार देखिँदैनन् । सुवेदी पूर्वीय वाङ्मयका गहन अध्येता हुन् भन्ने ‘रामायण’ र ‘महाभारत’ माथि आधारित रहेर लेखिएको उनको ‘वाल्मीकि र व्यास ः तुलनात्मक अनुशीलन’ ले प्रस्ट पारिसकेकै थियो । ‘मनु’ ले त्यसलाई अर्को उचाइमा लगेको छ । परम्परागत व्याख्याको घेरा नछाडेकै सही, सुवेदीले नभए कसै न कसैले ‘मनु’ का बारेमा लेखेकै राम्रो हुन्थ्यो । यसमा आलोचनात्मक दृष्टि अपुग भएको कुरा पनि स्वीकार गरेकै जाती ।

‘मनु’ लाई कतिपयले मदनमणि दीक्षित (ममदी) को ‘माधवी’ सँग पनि तुलना गरेका छन् । यी दुईको जायजन्ममा ठ्याक्कै चार दशकको अन्तराल छ । वैदिक शब्दकोश धेरै प्रयोग भएकाले ‘माधवी’ लाई नेपालीमा भाषान्तरण गर्नुपर्छ भन्ने स्तरको टीकाटिप्पणी सुनिन्थ्यो भने ‘मनु’ मा त्यो खालको समस्या छैन । पाँच पृष्ठको शब्दार्थले त्यसलाई निकै हदसम्म समाधान गरिदिएको छ । ऋग्वेदका सूक्तहरू, ब्राह्मणग्रन्थ एवं पुराणहरूले विवस्वान्का तीन सन्तानमध्ये दुई मनु र यम अनि पुत्री यमी रहेको उल्लेख गरेका छन् ।

मनुपुत्र इक्ष्वाकुबाट सूर्यवंशी राजपरम्परा र पुत्री इलाका तर्फबाट पुरुरवा, आयु, महष, यायाति हुादै चन्द्रवंश विस्तार भएको उल्लेख आख्यानले गरेको छ । मनुका अनुज यमको सन्ततिबारे उपन्यास बोल्दैन । मनु र माधवीको समाज एउटै होइन । अझ भनौं, मनुको समाज इतिहासकालभन्दा अगाडिको हो । मनु विवस्वान् मनुका सन्तान हुन् भने माधवी ययातिकी पुत्री । असुर राज्यमा महामाया गणिका रहेकी अप्सरापुत्री माधवीको कथा हालेर ममदीले नारी आदर्शको आधारभूत स्रोत निर्माण गर्न खोजेका छन् । तर, त्यो व्यासकी होइन, ममदीकी माधवी हो । ‘मनु’ ले त्यस युगको उच्च शिक्षाकेन्द्र तक्षशिलामा मनुलगायतका आर्यजनले भारतवर्षका राज्यहरूमा सामाजिक नीति–नियमको स्थापना गरेको विषयलाई बलियोसँग उभ्याएको छ ।

‘मनु’ मार्फत सुवेदीले प्राचीन समाजलाई आंशिक तवरमा पुनर्जीवन दिने प्रयास गरेका हुन् । तर, ‘मनु’ कुनै शास्त्र होइन, चरित्रप्रधान आख्यान हो । कथामा आधिकारिकता झल्किन्छ । मनुप्रति सहमत हुन मात्रै होइन, असहमत हुन पनि यो आख्यान एकफेर पढ्नु मनासिव हुन्छ । समग्रमा ‘मनु’ ज्ञान वुभुक्षा बढाइदिने विद्वद्ग्राह्य पुस्तक हो ।

***

मदन पुरस्कार प्राप्त ‘ऐंठन’ युद्धको ‘एन्टिथेसिस’ हो । विवेक ओझाले माओवादी द्वन्द्वको क्यानभासमा लेखेको यो आख्यान शान्तिको प्रस्तावना हो । सेना र विद्रोहीद्वारा सिर्जित कैंयन् हृदयविदारक दृश्यले पाठकको मन–मथिंगल हल्लिन्छन् । कसैको सनक, कुण्ठा र महत्त्वांकाक्षामा सुरु हुने युद्ध अप्रिय नै हुन्छ । दुःखद नै हुन्छ । युद्धमा कसैको हार वा जित होला । तर, तेस्रो पक्षले सदैव हारिरहेकै हुन्छ ।

‘ऐँठन’ युगीन यथार्थ हो, यहाँको होस् वा त्यहाँको । कथित क्रान्ति वा युद्ध मानव–इतिहासकै क्रूरतम अध्याय हुन् । सभ्य समाजलाई पटक्कै नसुहाउने खालका हिंसा, रक्तपात र आतंक सिर्जना गरेर युद्धमा सरोकार नै नभएको भुइँमान्छेलाई सताउने काम हरेक पटक भइरहेकै हुन्छ । त्यसपछिको पुस्ताले युद्धका नीलडाम, खत, छर्रा वा सइन–खटिरा लिएर बाँच्नु परिरहेकै हुन्छ । त्यसैले युद्धका त्रासदी, बर्बादी, कुरूपता वा निरर्थकताबारे लेखेर पाठकलाई थाहा दिनुपर्छ । त्यो स्तुत्य काम विवेकले गरेका छन् । यो उपन्यास हिजो–आजको मात्रै होइन, भोलिका लागि पनि हो ।

राजनीति जहिल्यै स्वार्थप्रेरित हुन्छ र मानिस–मानिसबीच विभाजन र विभेदको रेखा कोरिदिन्छ । तर, उत्तम साहित्य निःस्वार्थ रूपमा सिर्जित हुन्छ र त्यहाा मानिसले मानिसलाई मानवतावादी दृष्टिले मात्रै नियाल्छ । पुरातन र नवीन, सुन्दर र कुरूप, उदात्त र नीच आदिको नाममा कुनै पनि लेखकले युद्ध वा हिंसाको पक्ष लिन सक्दैन । युद्ध वा हिंसाको पक्ष लिने काम मतान्ध कार्यकर्तालाई सुहाउला, कम्तीमा कवि–लेखकलाई सुहाउँदैन । उसले युद्धको विद्रूपीकरण गरेर देखाउनचाहिँ मिल्छ । क्रान्ति वा जेसुकै नाम दिऊँ, त्यो अपराध हो । शान्तिनगरको स्कुले शिक्षक बबनकुमारको जीवनमा युद्ध त्यसरी नै थोपरिएको छ । पत्नी उर्मिला र बालक छोरो प्रह्लादसँग रमाइरहेको बबनले बिनाकसुर विद्रोहीको नजरमा सेनाको सुराकी र सेनाको नजरमा छापामार बन्ने परिस्थिति झेलिरहेको छ । माओवादी कब्जामा परेको बबनले छापामारहरूसँग हिँड्दाहिँड्दा मानसिक सन्तुलन नै गुमाएको कारूणिक गाथा आख्यानमा सुसाइरहेको छ ।

‘ऐँठन’ मा कल्पनाको तीव्रता छ । झरिलो रातमा पत्नी र छोराको आलो चिहान खोतलिरहेको बबनको बेसुरा दृश्य मात्रै छैन, चन्द्रकलामाथि सरकारी सेनाद्वारा गरिएको सामूहिक बलात्कारको दृश्य पनि उत्तिकै मर्मस्पर्शी छन् । ‘... कमरेड उषाले पनि लहरै सातवटै शरीरमा आफ्नो खुकुरी चलाई । उसो त उषाको सुहागरातको दिन थियो त्यो । तर, ऊ तमाम सुहागहरू मेट्न व्यस्त थिई ।’ (पृष्ठ. २४१) ।

यसो लेखिरहँदा कसैलाई ‘ऐंठन’ माओवादी द्वन्द्वको विपक्षमा उभिएको जस्तो लाग्न सक्छ । तर, लेखकले शान्ति वा मानवताको पैरवी गरेपछि कसैको पक्ष लिनु वा नलिनुको कुनै अर्थ रहँदैन । आख्यानमा माओवादी द्वन्द्वको मात्रै नभएर महाभारतदेखि द्वितीय विश्वयुद्धसम्मका विभीषिका पनि प्रसंगवश आएका छन् । कल्पना लेखकका निम्ति वरदान हो । आख्यानमा कल्पना, अनुभूति र इतिहाससम्मत सौन्दर्यसामग्री चाहिन्छन् नै ।

ओझाले ‘ऐँठन’ मा सम्भाव्य संसार सिर्जना गर्ने क्षमता देखाएका छन् । सामान्य, स्वीकृत, मानक, स्थापित र अधिकृत सत्य वा तथ्यको अतिक्रमण सार्थक देखिएको छ । विराट् कल्पनाको आख्यानीकरणमा ओझा सफल छन् । सहज, संवेद्य र स्पष्ट गद्यभाषामा लेखिएको यो आख्यानमा काव्यिक उपासना पनि प्रशस्तै भएको छ । सटीक र सुकिलो बिम्ब ‘ऐंठन’ नामकरण पनि सार्थक छ ।

महाभारतकालीन कौरव र पाण्डव पक्षका घाइते योद्धाको सुरुवाती संवादले पाठकलाई ‘ऐंठन’ को चामत्कारिक पासोमा पार्छ । भलै यसका पात्रहरू काल्पनिक होऊन्, समाजकै प्रतिच्छाया हुन् । ओझाको बेजोड कल्पनाशीलताले आख्यानको रङ फितलो हुन पाएको छैन । छिद्रान्वेषीहरूले लेखनका कमजोरी अवश्य पत्ता लगाउलान् । तर, सद्प्रवृत्तिहरूको खोजीमा लाग्ने हो भने यसको औपन्यासिक शिल्पमा खोट लगाउने ठाउँ छैन ।

समाजका घटना साहित्यमा प्रवेश गर्न कम्तीमा २० वर्षको समय लाग्छ भन्छन् समाजशास्त्रीहरू । अन्यथा त्यो सामान्य रिपोर्टिङ वा रिपोतार्जको स्तरमा संकुचित हुन्छ । लेखकीय गहिरो, परिपक्व र सुल्झिएको दृष्टिकोण बनाउन पक्कै पनि समय लाग्छ । युद्धको इतिहास लेख्न त झन् धेरै समय नै भयो । तर, हामीकहाँ माओवादी द्वन्द्व आलो छँदै धेरैले धेरैथरी मलुवा आख्यान लेखे । तर, युद्धको निरर्थकता अनि कुरूपता देखाउने आख्यान थोरै मात्रै लेखिए । अनावश्यक लम्बाइबाहेक ‘ऐँठन’ रुचिकर र सुहाउँदो छ ।

प्रकाशित : मंसिर ३०, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?