कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

ब्रह्मपुत्र : एक नदी, अनेक जिन्दगी

श्लोकमा छ ब्रह्मपुत्र ! कथामा छ ब्रह्मपुत्र ! गीतमा छ ब्रह्मपुत्र ! जीवनतिर फर्केर हेर्ने एक ऐना हो– ब्रह्मपुत्र । अब सय वर्षपछि ब्रह्मपुत्र कस्तो होला ? यो नदी किनार हरियो, रसिलो रहला वा मरुभूमिझैं उराठ–उदास बन्ला ?
केशव दाहाल

मलाई नदीसँग खास लगाब छ । करोडौं वर्षदेखि अनवरत बग्ने नदीहरू देख्दा मेरो मन जीवनप्रतिको अथाह प्रेमले भरिन्छ । एक क्षण नबिसाई कसरी बग्न सकेका होलान् नदीहरू ? के नदीहरू पनि रुन्छन् ? के नदीहरू पनि हाँस्छन् ? के नदीहरू पनि प्रेम र वियोगमा हुन्छन् ? के नदीहरू पनि आफ्ना यादलाई सँगै बोकेर यात्रा गर्छन् ?

ब्रह्मपुत्र : एक नदी, अनेक जिन्दगी

नदी नभएको भए प्रकृति, सभ्यता र स्वयं मान्छे कस्तो हुन्थ्यो होला ? जब मेरा मस्तिष्कमा यस्ता प्रश्न आउँछन्, म सृष्टिको अनुपम लीला सम्झिएर नतमस्तक हुन्छु । मनले भन्छ, ‘नदी रचनाकारको सर्वाधिक सुन्दर सृजना हो ।’

एक दिन मलाई लाग्यो, नदीको गाथा लेखौं । यो मंसिर दोस्रो साताको कुरा हो । लाग्यो, नदीको लीलालाई थोपा थोपामा संगालेर शब्दहरूले सजाउँ ।

त्यसै मेसोमा अजय दीक्षित दाजुलाई भनें, ‘दाइ म नदीको गाथा लेख्छु ।’

‘कुन नदीको ?’

मैले भने– ‘ब्रह्मपुत्रको ।’

‘ब्रह्मपुत्र नै किन ? हाम्रा कोशी, कर्णाली, गण्डकी छाडेर तिमीलाई ब्रह्मपुत्रमै किन पुग्नुपर्‍यो ?’

यो प्रश्नको सही जवाफ के होला ? त्यो सोच्दै नसोची तत्काल जवाफ दिएँ, ‘त्यसका तीनवटा कारण छन् दाइ । पहिलो, ब्रह्मपुत्रसँग मेरा प्रियजनहरूको रगत र आँसु मिसिएको छ । त्यो मेरा लागि नदी मात्रै होइन, मेरो बाल्यकाल सम्झाउने कथाहरूको सन्दुक हो । दोस्रो, ब्रह्मपुत्र मलाई नाम नै बहुत सुन्दर लाग्छ । तेस्रो, म भर्खरमात्र ब्रह्मपुत्र किनार पुगेको थिएँ । अहिले म त्यहाँका ताजा अनुभूतिहरू सम्हालेर बसेको छु ।’

मलाई ब्रह्मपुत्रमाथि नै लेख्न प्रेरित गर्ने अरू के होलान् ? यो प्रश्नसँगै मेरो मन उडेर गयो– सुदूर अतीततर्फ, जतिबेला म मेरी हजुरआमाको (मामलकी हजुरआमा) न्यायो काखमा बसेर उनलाई परीकथाहरू सुनाउन कर गर्थें । तर, परीकथाको बदलामा उनी सुनाउँथिन्– ब्रह्मपुत्रको कथा । कथामा विशाल समुद्रझैं फैलिएको हुन्थ्यो ब्रह्मपुत्र र हुन्थे त्यसभित्र जेलिएका पत्रपत्र घटनाहरू । हजुरआमाको मनमस्तिष्कमा ब्रह्मपुत्र नै ब्रह्मपुत्र हुन्थ्यो– सयौं ब्रह्मपुत्र, श्लोकमा ब्रह्मपुत्र, कथामा ब्रह्मपुत्र, गीतमा ब्रह्मपुत्र !

उनका लागि ब्रह्मपुत्र यस्तो चामत्कारिक बिम्ब थियो, जसभित्र सुखदुःख सबै अटाउँथे । कथा सुनाइबस्दा उनको अनुहार कहिले ब्रह्मपुत्रको सङ्लो पानीमा टल्किने ज्योत्सनाको रङझैं उज्यालो हुन्थ्यो, कहिले नदीको उर्लंदो छालझैं उनको अनुहारमा वेदनाहरू नाच्न थाल्थे । उनका लागि ब्रह्मपुत्र आफ्नै जीवनतिर फर्केर हेर्ने ऐना थियो । मेरा लागि थियो, मेरी हजुरआमाले सुनाउने जीवनको दर्पणछाया ।

एक साँझ ! यो लगभग ४५ वर्षअघिको कुरा हो । हजुरआमाले हामी नातिनातिनालाई भन्नुभयो, ‘आज म तिमीहरूलाई एक राजकुमारीको कथा सुनाउँछु ।’ यति भनेर एक विदुषीले झैं उहाँले कथा सुरु गर्नुभयो– एकादेशमा असम भन्ने एउटा अचम्मको कल्पभूमि थियो । मान्छेहरू भन्थे– त्यहाँ जे चितायो त्यही हुन्छ, माता कामाख्याको आशीर्वाद । ब्रह्मपुत्रले बोकी ल्याउने मलिलो माटो, घाँसैघाँसले भरिएका रनवन र उखु खेती । त्यो कल्पभूमिमा पौरख गर्न, कमाउन र गृहस्थ बसाउन मान्छेहरू चारचौरासबाट जान्थे ।

त्यही मेसोमा भोजपुरबाट एक जोडी राजकुमार र राजकुमारी पनि असम लागे । उनीहरूले भर्खर विवाह गरेका थिए । त्यसैले सिन्का–सिन्का जोडेर परेवालेझैं गुँड लगाउने र गृहस्थी बसाउने उनीहरूको रहर थियो । नभन्दै असममा उनीहरूको गृहस्थी खुबै जम्यो । त्यतै आफन्तहरू बने, गाउँ–छिमेक बने, सयौं लैना भैंसीसहितको गोठ बन्यो । कथाका राजकुमार र राजकुमारी दैनिकजसो ब्रह्मपुत्रका फाँट र आसपासका जंगल चहार्थे, घाँस–दाउरा गर्थे, चराझैं गाउँथे, पुतलीझैं नाच्थे । ब्रह्मपुत्रको आवाजमा आवाज थपेर सुसेल्थे । दूध दुहुन्थे, घिउ जम्मा गर्थे । नदीको गीत गुनगुनाउँदै राजकुमारी डुंगामा घाँस हालेर ब्रह्मपुत्र वारपार गर्थी । जीवनमा प्रेम थियो, पौरख थियो ।

तर, एक दिन नसोचेको भयो । एक्कासि राजकुमार हरायो । ऊ रातैभर घर फर्किएन । अर्को दिन उसरी नै सूर्योदय भयो र सूर्यास्त भयो । त्यो दिन पनि राजकुमार फर्किएन । राजकुमारीले भोकै, प्यासै आफ्नो प्रियतम्को यादमा रात बिताई । उसले

ब्रह्मपुत्रसँग प्रार्थना गरी, कामाख्यालाई भाकल गरी । दुर्भाग्य तेस्रो दिन राजकुमारको मृत–देह जंगलको बीचमा फेला पर्‍यो, जसको शरीर रगताम्य थियो र शरीरभरि थिए अर्नाले हानेका चोटहरू ।

राजकुमारी विह्वल भई । उसको आकाश खस्यो, पाताल भास्सियो । तर, अरू उपाय थिएन । त्यसैले नियतिलाई स्वीकार गरेर उसले पतिको लास उठाई । आफैं डुंगामा राखेर ब्रह्मपुत्र तारी, घर ल्याई र आफ्नै आँगनबाट अन्तिम बिदाइ गरी । राजकुमारको ब्रह्मपुत्र किनारमा सद्गत भयो । त्यसपछिका एक वर्ष उसले ब्रह्मपुत्रको किनारमा बसेर स्वर्गवासी पतिका लागि प्रार्थना गर्दै बिताई । उसका आँसु ब्रह्मपुत्रका लहरहरूसँगै मिले र अनन्तमा हराए ।

राजकुमारीका दुई छोरीहरू थिए, गर्भे टुहुरी अर्की पनि छोरी जन्मिई । ऊ तीन छोरीहरूसँग ब्रह्मपुत्र किनारमा फेरि जीवनलाई लय दिन खोज्दै थिई । एक दिन फेरि उसकी कान्छी छोरी हराई । ऊ मात्रै दुई वर्षकी थिई । घर नजिकैबाट ब्रह्मपुत्र बग्थ्यो, उसलाई लाग्यो सबै कुरा सकियो । ब्रह्मपुत्रको उर्लंदो भेल सम्झिएर उसका ओठमुख सुके । तर, भाग्यले हात थाम्यो । लगभग चार घण्टापछि उसकी कान्छी छोरी ब्रह्मपुत्रको उर्लंदो भेलमा खेल्दै भेटिई । त्यस दिन उसलाई लाग्यो– अब पुग्यो, आफ्नै भोजपुर फर्किनुपर्छ । मलाई आज पनि सम्झना छ, त्यो दिन कथा सुनाइरहँदा मेरी हजुरआमाका गालाबाट आँसुका थोपाहरू खसे र माटोमा मिसिए । त्यो कथा सुनेको रात म फिटिक्कै निदाउन सकिनँ । राजकुमारीको दुःखले मलाई ब्याकुल बनाइरह्यो । पछि थाहा पाएँ, त्यो बहादुर राजकुमारी अरू कोही नभई मेरी हजुरआमा थिइन् र उनकी कान्छी छोरी थिइन्, मेरी आमा ।

ब्रह्मपुत्रका कथाहरू सुनाइरहँदा मेरी हजुरआमाका मनमा के खेल्थे, थाहा छैन । तर, जब उनी आफ्ना कथाहरूको पोको खोल्थिन् मेरो मन उड्न थाल्थ्यो ब्रह्मपुत्रतिर ।

सोध्थें, ‘हजुरआमा कत्रो छ ब्रह्मपुत्र ?’

हजुरआमा हातले संकेत गर्दै भन्थिन्, ‘ठूलो, धेरै ठूलो ।’

मैले देखेको सबैभन्दा ठूलो नदी थियो– हेंवा, जो मेरो घर नजिकैबाट बग्थ्यो ।

‘के हेंवाजत्रो ?,’ फेरि सोध्थें ।

‘होइन त्योभन्दा हजारगुणा ठूलो’, हजुरआमा हातलाई परपरसम्म फैलाएर देखाउँथिन् ।

‘कत्रो, सभा जत्रो ?’

‘होइन, त्योभन्दा पनि ठूलो !’

‘कत्रो अरुण जत्रो ?’

‘हैन त्योभन्दा पनि ठूलो !’

अरुणभन्दा ठूलो नदी कत्रो होला ? मलाई लाग्यो, त्यो पक्कै आकाशजत्रो हुनुपर्छ । म साथीहरूलाई सुनाउँथे, ‘ब्रह्मपुत्र त आकाशजत्रो विशाल छ ।’ यसरी त्योबेला ब्रह्रमपुत्र मेरा लागि अनेक कथा, किंवदन्ती र रहस्यहरूको आकाश थियो ।

यसरी म हुर्कंदै गएँ । उमेरसँगै ब्रह्मपुत्र मेरा लागि रहस्य कम र जलसम्पदा ज्यादा बन्दै गयो । म यसका काल्पनिक कथाहरूमा भन्दा, यसका लहरहरूमा मोहित हुँदै गए । म

ब्रह्मपुत्रले पार गर्ने २९ सय किलोमिटर लामो यात्रा देखेर चकित ओ चकित हुँदै गए । नदी हेर्दै गएँ, नदी पढ्दै गएँ, नदीको संगतमा रमाउँदै गएँ ।

***

ब्रह्मपुत्रको उत्पत्ति हुन्छ कैलाश–मानसरोवर क्षेत्रमा । यो क्षेत्रलाई हिन्दु, बुद्ध, जैन र बोन धर्म सम्प्रदायको पवित्र स्थान मानिन्छ । किंवदन्ती र स्कन्द पुराणका अनुसार कैलाश पर्वत पृथ्वीको यस्तो केन्द्र हो, जहाँ धर्ती र आकाशको मिलन हुन्छ, त्यसैले आदिकालमा मानव र देवताहरू यसै क्षेत्रमा बसेर एकआपसमा संवाद गर्थे । भनिन्छ, एक समय बोन धर्मगुरु र बौद्ध धर्मगुरु मेलारेपाबीच भएको शास्त्रार्थमा आफ्नो तन्त्र शक्तिलाई सिद्ध गर्न गुरु मेलारेपा सूर्यको प्रकाशझैं उडेर कैलाशको चुचुरोमा पुगेका थिए ।

मान्छेहरूको विश्वास छ कि कैलाश पर्वतका चारवटा पाटाहरू समयअनुसार अलग–अलग आकृति र रङका (सेतो, नीलो, रातो र हरियो) देखिन्छन् । धार्मिक कथाअनुसार, देवयुगमा मानसरोवर ताललाई क्षीर सागर भनिन्थ्यो र भगवान् विष्णुको शेषशय्या यही थियो । क्षीर सागरमा कुनै बेला महादेव, पार्वती, विष्णु र ब्रह्माजी स्वर्णहाँस भएर जलबिहार गर्थे । उनीहरूकै चुच्चाबाट चार दिशामा चारवटा नदी प्रवाहित भएको किंवदन्ती पनि छ ।

कैलाश मानसरोवर क्षेत्रबाट सुरु हुने महत्त्वपूर्ण नदीहरूमध्ये एक हो– ब्रह्मपुत्र, जसलाई तिब्बतमा यार्लुङ साङ्पो भनिन्छ, जो ब्रह्मकुण्डबाट निस्कन्छ । त्यसो त, ब्रह्मकुण्डको पश्चिम दिशाबाट अरू केही प्रख्यात नदीहरू पनि सुरु हुन्छन्, जस्तो सिन्धु, झेलम्, रवि र सतलज । जो पछि सिन्धु नदीमा एकाकार हुन्छन् र अरब सागरमा मिल्छन् । यसैगरी ब्रह्मकुण्डको पश्चिम–दक्षिणबाट निस्किन्छन्– यमुना र गंगा । यमराजकी बहिनी यमुना र गंगा सिधा दक्षिण झरेर पूर्व–दक्षिण लाग्छन् । रोचक के भने कैलाश मानसरोवरबाट बग्ने प्रायः सबै नदीहरू दक्षिण लाग्छन् । तर, ब्रह्मपुत्र भने हानिन्छ सिधा पूर्व, जो तिब्बतका पठार र हिमालयको बीचबाट ठूलठूला खाडलहरू नाघ्दै अगाडि बढ्छ र अरुणाचल पुगेर दक्षिण मोडिन्छ । त्यो मोडलाई ‘ग्रेट बेन्ड’ भनिन्छ ।

त्यसपछि ब्रह्मपुत्र अरुणाचलमा दिहाङ्ग बन्छ । त्यहाँका महान् पर्वतमालाहरू नाघ्दै, मोडहरू छिचोल्दै, नाच्दै र मुस्कुराउँदै असम पुगेर ब्रह्मपुत्र सिधा दक्षिण हानिन्छ । यो यात्रामा उसले अनेक द्वीप बनाउँछ, अनेक खेतहरू बनाउँछ, अनेक जंगलहरू सृष्टि गर्छ, अनेक पवित्र गाथाहरू कोर्छ । यही बाटोमा उसको नेपाली कविहरूसँग भेट हुन्छ र ब्रह्मपुत्र कविता बन्छ । त्यसपछि हरिभक्त कटुवाल, अविनाश श्रेष्ठ, मैना थापा, इन्दुप्रभा देवी, डम्बर दाहाल, लीला कालीकोटेहरू ब्रह्मपुत्रको कञ्चन जलधाराबाट प्रेरित भई शब्दहरूको क्यानभास बनाउँछन् । त्यहीं भुपेन हजारिकादेखि रोशन पुरीसम्म भेटिन्छन् र ब्रह्मपुत्र गीत बन्छ । त्यहीं लीलबहादुर क्षत्री भेटिन्छन्, रुद्र बराल भेटिन्छन् र

ब्रह्मपुत्र कथा बन्छ । यसरी सभ्यताहरू बनाउँदै र मान्छेलाई मोहनी लगाउँदै ब्रह्मपुत्र बंगलादेश पुग्छ, जहाँ यसलाई जमुना भनिन्छ । जमुना जब पद्मा (गंगा) सँग मिल्छ, पद्मा बन्छ । पद्मा जब मेधनासँग मिल्छ त्यसपछि यो मेधना बन्छ । र, अन्ततः मेधना बंगालको खाडीमा पुगेर विश्राम लिन्छ । यसरी मानसरोवरमा छुटिएका यमुना, गंगा र ब्रह्मपुत्र एकाकार हुन्छन् । त्यसपछि बन्छ, विशाल नदी संगम– बंगालको खाडी ।

***

मेरी हजुरआमाले ब्रह्मपुत्रको कथा सुनाएको झन्डै ४५ वर्षपछि गत कात्तिकमा म सपरिवार असम लागें । म ब्रह्मपुत्रका कथाहरूलाई मनले स्पर्स गर्न चाहन्थें । जब म पहिलो पटक ब्रह्मपुत्रको नजिक पुगें, गुहाटी सहरको काखैबाट बग्ने ब्रह्मपुत्रको किनार त्यो दिन खचाखच थियो । मान्छेहरू कोही जलविहार गर्दै थिए, कोही उमानाथको दर्शन गर्न जाँदै थिए । कोही बगरमा रमाउँदै थिए, कोही डुंगाहरू घुमाउँदै थिए । हामीले एउटा मध्यम आकारको डुंगा रिजर्भ गर्‍यौं ।

ब्रह्मपुत्रको दाहिने किनारबाट हाम्रो डुंगा उमानाथ मन्दिरतर्फ अगाडि बढ्यो । जब डुंगा नदीको मध्यभागमा पुग्यो, मेरो मन चञ्चल भयो । मैले नाविकलाई भने, ‘तिमीलाई थाहा छ साथी, यो नदीमा मेरा प्रियजनहरूको आँसु र पसिना मिसिएको छ ।’ उसले मेरो कुरा बुझेन र गत बर्खामा नदी कति धेरै माथिसम्म आएको थियो बताउन थाल्यो । मैले भने, ‘जति धेरै मान्छेका आँसुहरू नदीमा झर्छन्, त्यति नै नदी बढ्दै जान्छ । बाढी भन्नु त्यही मान्छेका आँसु र पसिनाको भेल त हो ।’ ऊ मुस्कुरायो । त्यही क्षण मैले मनमनै आफ्ना प्रियजनहरूलाई सम्बोधन गर्दै भने, ‘मेरा प्रियजनहरू ! तपार्इंहरूले सुनाएको असम र नेपालको सम्बन्धको कथा पक्कै यतै कतै पानीमा लहराउँदै होला । म त्यही कथा खोज्न यहाँ आएको छु । के तपाईहरू मलाई देख्दै हुनुहुन्छ ?’

उमानाथ मन्दिरको प्रांगणमा घुमिरहँदा एक जना पण्डितले मलाई सोधे, ‘ब्रह्मपुत्रको नाममा एउटा खास विशेषता छ, के त्यो तिमीलाई थाहा छ ?’

मेरो अन्योल देखेर उनैले भने, ‘भारतीय उपमहाद्वीपका अधिकांश नदीहरू स्त्री नामले चिनिन्छन्, तर ब्रह्मपुत्र मात्रै यस्तो नदी हो, जसको नाम पुलिंगी छ ।’

कसरी यसको नाम ब्रह्मपुत्र भयो ? मैले सोधें ।

‘यसको निकै रोचक कथा छ भाइ,’ उनी नेपाली बोल्थे र मसँग कुरा गर्न उत्साहित देखिन्थे । उनले कथाको प्रारम्भ गरे, ‘हिमालय खण्डमा साधनारत महर्षी सन्तनुकी पत्नी अमोध अत्यन्तै सुन्दर नारी थिइन्, अप्सरा जस्ती । उनीसँग सारा देवलोक मोहित थियो । त्यसमध्ये ब्रह्मा पनि एक थिए । एक दिन अमोधप्रतिको यौनकामनाले ब्रह्मा ब्याकुल भए । तर, ब्रह्माको प्रस्ताव अमोधले अस्वीकार गरिन् । पछि सन्तनुको अनुमतिले ब्रह्मा र अमोधको यौनमिलन भयो । त्यो मिलनको शक्तिबाट जलधारा उत्पन्न भई कुण्ड बन्यो, जसलाई ब्रह्मकुण्ड भनियो र त्यहींबाट उत्पत्ति भएको नदीको नाम रहन गयो– ब्रह्मपुत्र ।’

उमानाथ मन्दिरबाट फर्किंदै गर्दा डुंगाले उमानाथ द्वीपको एक चक्कर मार्‍यो । त्यसैबेला एक अञ्जुली पानी हातमा उठाएर मैले ब्रह्मपुत्रलाई भने, ‘ब्रह्मपुत्र ! म उही तिम्रो कथा सुनेर हुर्किएको फुच्चे–केटो आज तिम्रो जलधारालाई प्रत्यक्ष देखेर मन्त्रमुग्ध हुँदै छु । के तिमी मेरी हजुरआमालाई चिन्छौं ब्रह्मपुत्र, जो आजभन्दा झन्डै ८० वर्षअघि तिम्रो लहरमा डुंगा खियाउँदै घाँस वारपार गर्थिन् ? के तिमी मेरी आमालाई सम्झिन्छौ

ब्रह्मपुत्र, जसले तिम्रो जलधारामा खेल्न सिकेकी थिइन् ? के तिमी मेरा हजुरबालाई चिन्छौ ब्रह्मपुत्र, जसलाई तिम्रै काखमा समाधिस्थ गरिएको थियो ? के तिमी मेरा सासू–ससुरालाई चिन्छौं ब्रह्मपुत्र, जो यतैकतै गारो–खासी पर्वतमालामा गाईबस्तु चराउँथे ? के तिमी मेरा बालाई चिन्छौ ब्रह्मपुत्र, जो बैंसका रहरहरू मेट्न कुनै बेला यतै कुयरखेती गरेर बसेका थिए ? के तिमीलाई मेरा यी प्रिय मान्छेहरूको याद आउँछ ब्रह्मपुत्र, जसले बाँचुन्जेल तिमीलाई कहिल्यै भुलेनन् ?’ मलाई लाग्यो, ब्रह्मपुत्रका लहरहरू मलाई भन्दै छन्, ‘प्रिय केशव ! मैले गाउने गीतलाई ध्यान दिएर सुन । यी तिनै गीतहरू त हुन्, जुन गीतमा तिम्रा मान्छेहरूको कथा छ ।’ भ्रममै सही, मैले ब्रह्मपुत्रको आवाज सुनें र गद्गद भएँ ।

त्यो दिन ब्रह्मपुत्रको अद्भुत जलधारा देखेर मेरो मन रोमाञ्चित भयो । मलाई लाग्यो, म हाम्रो सभ्यताको जगमा उभिएको छु । म हाम्रो सभ्यताको एक यस्तो विश्वासअघि उभिएको छु, जसले नदीलाई पूजा गर्छ । कुनै समय यस्तो थियो, मान्छेहरू नदीलाई पछ्याउँदै हिँड्थे । त्यसैले नदी आसपास गाउँ–नगरहरू बसे । नदी किनारमा देवस्थलहरू बने ।

नदी हुँदै मान्छेहरू चारचौरास फैलिए । नदी हुँदै मान्छेहरू समुद्रमा पुगे र समुद्र हुँदै पृथ्वीको चक्कर लगाउन थाले । नदीहरूसँग मोहित मान्छेले यसलाई माता, प्रेमिका, प्रकृति र जीवनदायिनीका रूपमा अपार प्रेम र सम्मान गर्दै आयो । त्यो यस्तो समय थियो, जतिबेला मान्छे जलपरिका कथामा रमाउँथ्यो । नदीलाई अविराम प्रवाहित हुन दिन्थ्यो र नदीमाथि फोहोर गर्नु पाप ठान्दथ्यो । नदी मान्छेको जीवनधारा थियो ।तर, जब मान्छेले सत्ता, शक्ति र सम्पत्तिको आविष्कार गर्‍यो, नाफाघाटा मान्छेको वृत्ति बन्यो । विश्व जित्न अगाडि बढेका शासकहरूले नदीलाई बिस्तारै साम्राज्य विस्तारको साधन बनाए । नदीमाथि हकदाबी हुन थाल्यो । नदीमाथि युद्ध

हुन थाल्यो । नदीलाई सीमारेखा बनाई राजा, महाराजाले जमिनको भागबन्डा गरे । नदीको पवित्र जलमा मान्छेले रगत लागेका खुँडा, तरबारहरू पखाल्न थाल्यो । जब पुँजीवादले प्रकृतिमाथि धावा बोल्यो, नदी बिस्तारै सम्पदाबाट सम्पत्ति बन्यो । एक वस्तु अर्थात् ‘कमोडिटी’ । जब आधुनिक विकासले फड्को मार्‍यो, मान्छे स्वार्थी बन्दै गयो । उसले नदीको प्रेम र आदर भुल्यो । नदीका कविता भुल्यो, गीत भुल्यो । परिणाम, नदी किनारमा ठूलठूला कारखानाहरू खुल्न थाले । नदीमाथि बाँध बने । कतै बग्दै गरेको नदी रोकियो, कतै जलप्रवाहलाई बंग्याइयो । अर्थात्, नदीमा जीवन छ भन्ने मान्छेले भुल्यो ।

नदीको छातीमा सिमेन्टका खम्बाहरू ठडिए । नदीहरू चोटैचोटले छियाछिया भए । बिस्तारै नदी मरे र फगत पानीका मैला पोखरीमा फेरिए । नदी तन्त्रहरू बिथोलिए । नदीमा खेल्ने माछा हराए । जलपरीका कथाहरू हराए । नदी किनारमा बसेर आफ्नो सभ्यता र संस्कृतिमा रमाउने आदिवासीहरू बेदखल भए । उनीहरूको भाषा, धर्म, संस्कृति बेदखल भयो । उनीहरूले पुज्ने भगवान् बेदखल भयो । नदीमा आजकल कि त ठेकेदार, इन्जिनियर र व्यापारी भेटिन्छन् कि त शासक । आजकल नदी किनारमा प्रेम र प्रकृतिका गीत गुन्जिँदैनन्, गुन्जन्छन् मेसिनका कर्कश आवाज । त्यसैले नदी रिसाएका छन् । त्यसैले नदी बाढी, पहिरो, डुबान, कटान लिएर हिँड्छन् आजकल । आजकल नदीको पानी पिउनयोग्य रहेन र नदी किनारमै पुँजीवादले ठूलठूला जारबाट पानी बेच्ने उद्योग सुरु गर्‍यो ।

ब्रह्मपुत्र किनारमा बसेर नदीहरूबारे विचार गरिरहँदा मेरो मनमा घुमिफिरी फेरी उनै प्रश्नहरू आए । जस्तो, साँच्चै नदीहरू यसरी नै मर्दै गए भने हाम्रो भविष्य के होला ? ब्रह्मपुत्र, सिन्धु, सतलज, गंगा, गण्डकी, कोशी, कर्णालीहरू पृथ्वीबाट हराए भने मान्छे कहाँ जाला ? अबको सय वर्षपछि ब्रह्मपुत्र कस्तो होला ? गंगा कस्तो होला ? हाम्रा प्रिय कोशी, गण्डकी र कर्णाली कस्ता होलान् ? अबको सय वर्षपछि पनि हाम्रा नदी किनार यसरी नै हरिया, रसिला रहलान् कि मरुभूमिझैं उराठ र उदास बन्लान् ?

यी प्रश्नहरू यसकारण मेरो मनमा आए कि अहिले पुँजीवाद अझ चर्को बन्दै आएको छ । नाफाघाटाको हिसाबकिताब अझ चर्को बन्दै छ । नदीको मोलभाउ बढ्दै छ । मान्छेको तुजुकले आकाश छुँदै छ । मान्छेलाई अझै नदीहरूको दोहन गर्नुछ । त्यसैले सत्ताधारीहरू ठूलठूला बाँध बनाउने, नदी जोड्ने र चमत्कार गर्ने सपना देखिरहेका छन् । त्यस्तो भयो भने के होला ? मान्छेको पागलपन रोकिएन भने के होला ? त्यस्तो भयो भने अवश्य नै नदी तटीय क्षेत्रमा नयाँ उथलपुथल सृजना हुनेछ । हामी स्वयं पनि नयाँ राजनीतिक, आर्थिक र सामाजिक उथलपुथलमा फस्नेछौं । नयाँ द्वन्द्व जन्मिने छ । बस् त्यही क्षण मेरो मनले आफैंलाई प्रश्न गर्‍यो, के त्यसपछि पनि म यसरी नै ब्रह्मपुत्रको जलधारामा निर्बाध रमाउन पाउँला ? सायद ब्रह्मपुत्रले मेरो मनको प्रश्न सुन्यो । तर, पनि ऊ मौन थियो ।

अन्त्यमा, ब्रह्मपुत्रको किनारबाट सूर्यास्त हेरेर मैले नदीसँग बिदा मागें । बिदा हुँदै गर्दा मैले ब्रह्मपुत्रलाई भने– प्रिय बन्धु ! आजसम्म तिमीले हाम्रा कथाहरूलाई रस दियौ, श्रृंगार दियौ, लय दियौ र त्यसलाई पुस्ता दरपुस्ता जोगाएर राख्यौ । तिनै कथाहरू पछ्याउँदै म तिम्रो काखमा आइपुगें । यिनै कथाहरू पछ्याउँदै मेरा सन्तान दरसन्तान भोलि फेरि तिम्रा काखमा आउनेछन् । भन ब्रह्मपुत्र अबको सय वर्षपछि पनि के तिमी यसरी नै बगिरहनेछौ ? बिदा हुँदै गर्दा मैले देखे ब्रह्मपुत्र मुस्कुराउँदै मलाई आशीर्वाद दिइरहेको थियो ।

प्रकाशित : मंसिर ३०, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?