१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

ग्याङस्टर र भ्वायलेन्सका दुई सय मिनेट

पिताको माया नै नपाएको छोरो कालान्तरमा उनैका लागि मार्न र मर्न पनि पछि हट्दैन । ग्याङस्टर र भ्वायलेन्स फिल्म रुचाउने दर्शकलाई बाँधिराख्ने सामर्थ्य ‘एनिमल’ मा छ । 
सुशील पौडेल

पढाइले फिजियोथेरापिस्ट सन्दीप रेड्डी भांगामा फिल्मको भूत सवार थियो । २८ वर्षको छँदै सहायक निर्देशक भई फिल्म ‘कैदी’ मा काम गरिसकेपछि उनलाई आफैं फिल्म बनाउने महत्त्वाकांक्षा जाग्यो । अनि आफैं लेख्न थाले स्क्रिप्ट । दुई वर्ष लगाएर तयार भयो, अर्जुन रेड्डीको स्क्रिप्ट । तर, पाँच वर्षसम्म पनि पैसा लगानी गर्ने कोही भेटेनन् ।

ग्याङस्टर र भ्वायलेन्सका दुई सय मिनेट

कामकाज छाडी फिल्म बनाउँछु भनेर लागेका सन्दीप हतास देखिएपछि आफ्नै बुबा र दाइ अघि सरे, निर्माणमा । जग्गा बेचेर लगानी भरथेग गरिदिए । अन्ततः ५ करोड भारुको फिल्मले ५१ करोड बक्सअफिसबाटै कमाइदियो । पछि त्यही फिल्मको हिन्दी रिमेक ‘कविर सिंह’ का लागि टि–सिरिजले सहकार्य गर्‍यो । साहिद कपूर स्टारर ६० करोडको उक्त फिल्मले ३ सय ८० करोड कमाइ गरिदियो । कमाइको सफलता त एक ठाउँमा थियो, तेलंगानाको यो ठिटोले पहिलो फिल्मबाटै बलिउड हल्लाइदियो । कतिपय आलोचकले ‘कविर सिंह’ लाई स्त्रीद्वेष र पुरुषवादी सोचले ग्रसित भनी टिप्पणी गरे भने अधिकांशले उनको फरक शैलीलाई रुचाए ।

‘कविर सिंह’ का आलोचकलाई झनै चिढ्याउने गरी सन्दीप यतिबेला थप रौद्र रूपमा देखापरेका छन्, ‘एनिमल’ सहित । रणवीर कपूर स्टारर यस फिल्मले व्यावसायिक सफलताको बाटो त रिलिजको पहिलो दिनदेखि नै समातिसकेको छ तर आलोचकको आवाज पनि यसपालि झन् ठूलो सुनिएको छ । मारधाड, खुनखराबी, महिलाद्वेषी अश्लील संवाद र दृश्यको बिस्कुन बिछ्याइएको र अति हिंस्रक ‘नायक’ निर्माण गरिएको भन्दै समीक्षकले समेत आलोचना गरेका छन् ।

‘सर्वाधिक घृणित नायकमध्येको एक यतिबेला ठूलो पर्दामा वाहवाही बटुलिरहेको छ,’ ‘द गार्जियन’ मा फिल्म ‘एनिमल’ को समीक्षामा फुओंग लीको टिप्पणी छ । त्यसो त ‘कविर सिंह’ बाटै यसका नायक साहिद कपूरले समेत चर्को आलोचना खेप्नुपरेको थियो । साहिदले आफ्नो चरित्रले स्त्रीद्वेषलाई बढावा दिएको आरोपमा बचाउ गर्दै तर्क गरेका थिए, ‘वास्तविक जीवनमा विभिन्न खालका मान्छे हुन्छन्, जसमा आफ्नो रजगजमा विश्वास गर्ने अल्फा–पुरुष पनि छन्, मैले त्यही चरित्रलाई इमानदारीपूर्वक निर्वाह गरेको हुँ ।’ पटकथा लेखकसमेत रहेका निर्देशक सन्दीप यतिबेला सोही अल्फा–पुरुष चरित्रको माध्यमबाट ‘एनिमल’ मा छताछुल्ल पोखिएका छन् । रणवीरले उनको सोचको चरित्र रणविजय सिंहलाई प्राण भरिदिएका छन् ।

‘एनिमल’ बाबु छोराको कथा हो । भारतकै धनीमध्येमा पर्ने उद्योगपति बलवीर सिंहलाई उनका छोरा रणविजय आदर्श पिता मान्छन्, तर उही छोरा र परिवारका लागि उनीसँग समय हुँदैन । शक्तिमान बाबु भएर पनि कलेजमा केटाहरूको छेडखानीले निरीह बनेकी दिदीका लागि एक्लै एके–४७ बोकेर रणविजय कक्षाकोठामा पुग्छ र आफ्नो अल्फा–चरित्रको छनक दिन्छ ।

परिवारका लागि ‘प्रोटेक्टिभ’, बाबुसँगको बहुलठ्ठी लगाव, पागल–प्रेम अनि पत्नीप्रतिको पौरुषपनाले निम्त्याउने नोकझोककै सेरोफेरोमा रहेर निर्देशकले दुई सय मिनेट खर्चेर फिल्म पस्केका छन् । ‘एनिमल’ झन्डैझन्डै रणवीरको ‘वान म्यान शो’ भन्दा फरक पर्दैन । ‘रकस्टार’ र ‘सन्जु’ मा उनले देखाउने चरित्र चित्रणको झलक पाइसकेका दर्शकका लागि ‘एनिमल’ को रणविजय त्यसको उच्चतम रूप हो । कठोर बाबुको लाचार छोरादेखि पत्नीप्रेमी अनि बदलाभावमा उन्मुक्त हिंस्रक जनावरझैं बन्न सक्ने सबै चरित्रमा रणवीरले अभिनयको पत्र–पत्र केलाएका छन् । दर्शकमा आफूलाई कहींकतै फिक्का अनुभूति हुन दिएका छैनन् । खासगरी एंग्री लुक्समा उनी उम्दा देखिएका छन् । फिल्मी खानदानका उनले आफूलाई अभिनयकै लागि जन्मेको मिहिनेती कलाकारका रूपमा थप प्रमाणित गरिदिएका छन् ।

‘कविर सिंह’ बाटै बिच्किएका दर्शक ‘एनिमल’ को ट्रेलर रिलिजपछि उद्वेलित थिए । त्यहीबेलादेखि नै निर्देशक सन्दीपले महिलाप्रति खराब सोच राख्ने हिंस्रकलाई आदर्श पात्र बनाएको, पारिवारिक फिल्म नबनाएको तथा विषाक्त र रक्तपातपूर्ण समाज निर्माणमा सघाउने खालको फिल्म बनाएको आरोप आउन थालिसकेको थियो । तर, यी आरोपलाई निर्देशकले तत्काल टेरपुच्छर लगाउने छाँट भने देखाएनन् । ‘त्यही कुरा मैले अर्जुन रेड्डीमा पस्कँदा खासै आलोचनाको सामना गर्नुपरेको थिएन तर त्यसैको रिमेक कविर सिंह गर्दा बढी आलोचना खेपें,’ निर्देशक सन्दीपले ‘एनिमल’ रिलिजअघिको एक अन्तर्वार्तामा भनेका थिए, ‘नाम त लिन्नँ, तर बलिउडका कहलिएका निर्देशक, निर्माताले नै मेरो फिल्म मनपर्‍यो भन्न डर मानेको देखें ।’ उनले ‘एनिमल’ पनि एडल्ट सर्टिफाइड फिल्म भएकाले त्यसैको परिधिमा रहेर फिल्मलाई मूल्यांकन गरिदिनुपर्ने ठान्छन् । भन्छन्, ‘म आफ्नै छोरालाई पनि यो फिल्म देखाउँदिनँ ।’

सवा तीन घण्टा लामो भए पनि ‘एनिमल’ ले दर्शकलाई टिकाइरहने सामर्थ्य भने राख्छ । अझ ग्याङस्टर र भ्वायलेन्स फिल्म रुचाउने दर्शकका लागि त यो रमाइलो पनि छ । गीत र पृष्ठभूमि संगीतले हलबाट निस्किएपछि झन्झनाइरहन्छ । जबकि कथा त्यस्तो स्मरणीय छैन । सम्पादनसमेत आफैं गरेका निर्देशकले हरेक दृश्यको कोरियोग्राफी आम दर्शकको नाडी छामेरै गरेका छन् । दोस्रो हाफमा भने फिल्मले केही पकड गुमाएको छ । फिल्म रिलिजअघि भिलेनको अवतारमा निकै हाइप पाएका बबी देवलको इन्ट्री अनपेक्षित रूपमा ढिलो र आकस्मिक रूपमा छिटो टुंगिनुले केही खल्लो बनाउन सक्छ । २, ३ सिनमा मात्रै देखिए पनि बबी आफ्नो छाप छोड्न सफल छन् । निर्देशक सन्दीपले रणवीरलाई नै कतै हिरो, कतै भिलेनमा सर्वोपरि देखाइदिँदा भिलेनकै रूपमा देखिएका पात्रहरू खुम्चिएका छन्  ।

रश्मिका फिल्ममा शो पिसबाट खासै माथि उठ्न पाएकी छैनन् । ‘कविर सिंह’ मा नायकले नायिकालाई झापड हानेको दृश्यले विवाद खेपेका निर्देशकले यसपालि भने ठीकविपरीत नायिकाले झापड हानेको दृश्य राखेर सन्तुलन राख्न खोजेको देखिए पनि समग्रमा भने उनी गीताञ्जली (रश्मिका) रणविजयको लाचार छाया मात्रै लाग्छिन् । कलाकारहरूले उम्दा काम गरेका छन् । दृश्य भाषामा निकै मिहिनेत गरिएको ‘एनिमल’ को स्टोरी कन्भिन्सिङ बनाउन हतारो गरिएको छ ।

मुख्य चरित्र नै जनावरजस्तो हिंस्रक परिणत हुनका लागि रचिएका घटनाक्रम वजनदार लाग्दैनन् । बाबुको माया र साथ नै नपाएको छोरो त्यही बाबुका लागि मर्न र मार्ने हदसम्म पुग्ने बाटो तय गर्न पहिल्यै बाबुछोराबीच सम्झनालायक केही दृश्य रचिएको भए विश्वस्त हुने ठाउँ रहन्थ्यो । अन्त्यमा, वयस्कका लागि मात्र भनिएको ‘एनिमल’ सपरिवार हेर्न जान चाहने र कमजोर दिलका लागि पनि सिफारिसयोग्य नहुन सक्छ ।

प्रकाशित : मंसिर २३, २०८० ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?