२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

‘समालोचकको हिप्पोक्रेसी देखेर दिक्क लाग्छ’

फणीन्द्र संगम

लेखनमा सांस्कृतिक–वैचारिक स्पष्टता, किनारीकृतको आवाज, मुन्धुमी दर्शनसँगै वैश्विक चेतना बोक्ने प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ हालै सार्वजनिक भएको छ ।

‘समालोचकको हिप्पोक्रेसी देखेर दिक्क लाग्छ’

नेपाली साहित्यमा पचासको दशकदेखि सक्रिय उनले यसअघि ‘पालामको मूर्च्छना’ कवितासंग्रह प्रकाशन गरिसकेका छन् ।उनीसँग निबन्धमा केन्द्रित रही फणीन्द्र संगमले गरेको कुराकानी :

लुङ्माहिम साइँलाको रूपान्तरणलाई पहिलो निबन्धमा समेट्नुभएको छ । जो, लिम्बुवान राज्यको स्वायत्तता माग्ने प्रतिनिधिमण्डलमा सामेल भएर २०१३ सालमा काठमाडौं जानुभयो, राजा महेन्द्रलाई भेट्नुभयो, गाउँमै किरात पुस्तकालय खोल्नेदेखि सिरिजंगा लिपिमा पालाम–ख्याली लेखनमा सक्रिय रहनुभयो । पछिल्लोकालमा भने उहाँ मन्दिर निर्माण गर्नुहुन्छ, सतपालजी महाराजको अनुयायी बन्नुहुन्छ । आफ्नै बुबाले अन्तिममा गल्ती पो गर्नुभयो कि भन्ने लाग्दैन ?

मेरो निबन्धसंग्रह ‘शब्दथुम’ मा समाविष्ट पहिलो निबन्ध ‘लुङ्माहिम साइँलाको मेटामोफोर्सिस’ बुबासँगको संस्मरण हो । खासमा यो निबन्ध छोराले बुबाको व्यक्तित्वलाई कसरी बुझेको थियो भन्ने कथासार पनि हो । म गणेशबहादुर थाम्सुहाङको सातौंमध्ये सबभन्दा कान्छो सन्तान । यस अर्थमा बुबाको प्रारम्भिक जीवनलाई नजिकबाट बुझ्ने मौका पाइनँ । मैले बुझ्न थालेदेखि उहाँ जागिरे जीवनको अवकाशपछि आध्यात्मिक हुनुहुन्थ्यो । भारतीय धर्मगुरु सतपालजी महाराजको अनुयायी हुनुहुन्थ्यो । साथमा राजनीति गर्नुहुन्थ्यो । जब उहाँको देहान्त भयो त्यसपछि थाहा पाएँ, उहाँ त कवि पनि हुनुहुँदो रहेछ । याक्थुङ लिपि र भाषामा प्रशस्तै काम गर्नुभएको रहेछ । आफ्नो गाउँमा पुस्तकालय खोल्नुभएको रहेछ ।

तपाईंले भनेझैं २०१३ सालमा लिम्बुवान प्रतिनिधिमण्डलको सदस्य भई राजा महेन्द्रलाई स्वायत्तता माग्न जानुभएको रहेछ । यसरी आफ्नो समुदाय, भाषा, संस्कृतिमा सचेत र कटिबद्घ मान्छे कसरी आयातित धर्म र संस्कारमा लाग्नुभयो भन्ने जिज्ञासा हो पहिलो निबन्ध । बुबाले सांस्कृतिक, धार्मिक रूपान्तरणबाट स्वार्थलाभ लिनुभएको प्रमाण मैले भेटिनँ । मेरो अनुमान मात्र के हो भने– पञ्चायतकालमा अराष्ट्रिय तत्त्वको आरोप लागी जेल या निर्वासनबाट जोगिन सत्ताको धर्म अनुसरण गर्नुभयो ।

हन्टिङ्टनको पुस्तक 'क्लायस् अफ सिभिलाइजेसन’ को सन्दर्भ उठाउँदै एक ठाउँ उल्लेख गर्नुभएको छ– ‘अबको युद्ध एक संस्कृति र अर्को संस्कृति, धर्म–धर्म र सभ्यता–सभ्यताबीच हुनेछ ।’ हामीकहाँ पटकपटकको व्यवस्था परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र बनायो, समानुपातिक समावेशिताको कुरा चलिरहेको छ । नेपालको सन्दर्भमा हन्टिङ्टनलाई उद्धृत गर्नुको कारण के हो ?

सन् १९९१ मा सोभियत संघको पतनपछि हन्टिङ्टनले ‘क्लायस् अफ सिभिलाइजेसन’ लेखे । शीतयुद्घ अन्त्यको अनुमान गर्दै उनले उक्त विचार राखेका थिए । विश्वमै उनको अनुमान यथार्थमा परिणत हुँदै थियो । रुवान्डामा तुत्सी र हुतु जातिबीच क्लायस् र जेनोसाइड, श्रीलंकामा तमिल र सिंहालीबीचको युद्घ केही दृष्टान्त थिए । यस्ता उदाहरण थुप्रै छन् । सन् २००१ को अमेरिकी ट्वीन टावर हमलापछि क्लायस् अफ सिभिलाइजेसन अझ बढेर गयो । पछिल्लो समय नयाँ–नयाँ रूप फेर्दै द्वन्द्व सतहमा आइरहेछ । यसो हुनुमा रिभर्स चेतना बोकेका लिडरहरूको उल्लेख्य योगदान रहेको छ । नेपालमा पनि यस्ता रिभर्स चेतना बोकेका व्यक्तिहरूको बढोत्तरी हुँदै छ । र, त्यसको असर हाम्रो समाजमा देखिँदै छ ।

आफ्नो पहिचान–संस्कृति लेख्दा तपाईंभन्दा अग्रजले ‘जातिवाद’ को आरोप नै खेपेका थिए । त्यसमा पनि पक्कै ‘रिभर्स चेतना’ बोकेका मानिसको असन्तुष्टि थियो होला । तपाईं र नयाँ पुस्ताले लेखिरहँदा त्यस्ता आवाज कतिको मत्थर भएका छन् ?

हाम्रा अग्रजहरूले जातिवादीको आरोप सामना गर्दै पहिचान–संस्कृति लेखनको गोहो निर्माण गरेकै कारण हामीलाई केही सहज भएको सत्य हो । हाम्रो र नयाँ पुस्ताले पहिचान लेखन गरिरहँदा नेपाली साहित्य क्षेत्रको बुझाइ धेरै उदार भएको छ । यसो हुनुमा हाम्रो वैचारिक लडाइँको कथा लामो छ । यद्यपि अझै कति यस्ता तथाकथित समालोचक छन्, जसलाई पहिचानको स्वर कर्कश लाग्छ । साम्प्रदायिक लाग्छ । विखण्डनकारी लाग्छ । उनीहरूको हिप्पोक्रेसी देखेर दिक्क लाग्छ । जस्तो कि विश्वमा चलेको पहिचान लेखन उनीहरूलाई मन पर्छ । अफ्रिकन–अमेरिकन लेखनको कुरा गरेर थाक्दैनन् । जब नेपाली साहित्यमा पहिचान लेखनको कुरा आउँछ, उनीहरूलाई साम्प्रदायिक लाग्छ । यस्ता ढोंगी विचारसँग पहिचान लेखनका नयाँ पुस्ताले वैचारिक लडाइँ लड्न जरुरी छ ।

वैरागी काइँलाको काव्यिक स्कुलिङबाटै अघि बढेको स्विकारोक्ति तपाईंको निबन्धमा देखिन्छ । उनीबाट तपाईंजस्ता अनुज लेखकले पाएको प्रभाव के हो ?

नेपाली कविता विधाका सर्वोच्च कवि वैरागी काइँला हाम्रो समाजका आदर्श व्यक्तित्व हुन् । उनले नेपाली कविता र लिम्बू संस्कृतिमा पुर्‍याएको योगदान अतुलनीय छ । यसर्थ हामीजस्ता अनुज पुस्ताका लेखकहरूका लागि उनी आइडल पर्सन हुन् । नेपाली कविताको इतिहासमा क्रंक्रिट लेखन साथै आदिवासी मिथकको पहिलो प्रयोग उनीबाटै भएको हो । नेपालमा पहिचान लेखन उनीबाट थालनी भएको हो भन्दा सायदै गलत भइन्छ । कवितामा मिथकको समिचिन प्रयोग, भाषाको उच्चता, अध्ययन र शब्द सामर्थ्यमा विश्वास कवि वैरागी काइँलाबाट अनुज पुस्ताले पाएको प्रभाव हो ।

‘वर्तमानमा सांस्कृतिक लेखन एक काव्यिक धार नै भएको छ’ भन्नुभएको छ । २०६२/६३ को जनआन्दोलनपछि यसखाले धारले हस्तक्षेप गर्‍यो पनि । अहिले त त्यो धार कमजोर भएको लाग्दैन ?

म एक कविताको विद्यार्थी पनि भएको हुँदा मेरो निबन्धमा कविताप्रतिको चिन्ता आएको हो । वर्तमानमा सांस्कृतिक लेखन एक काव्यिक धार भएको सत्य हो । किनकि यो धार स्थापित हुनुमा मेरो अग्रज, समकालीन र अनुज पुस्ताको महत्त्वपूर्ण अंशदान छ । पछिल्लो छिमल आएका पुस्तकहरू हेर्नुहोस् त सांस्कृतिक लेखन अझ बलियो भएको छ ।

अब एआईले कविता लेखे के होला भन्ने चिन्ता पनि देखिन्छ तपाईंमा । अब मन–मस्तिष्कको लेखन हराउँदै गएको अनुभव गर्नुभएको हो ?

विश्व नै अहिले प्रविधिको आक्रामक प्रस्तुतिबाट त्रस्त र अलमलमा छ । युवाल नोआ हरारीले भनेझैं प्रविधिले सुविधा मात्र नभएर मानव समुदायलाई जोखिम पनि निम्त्याउँदै छ । यहाँ एआईले मानिसलाई बेरोजगार बनाउँदै छ । अचम्म त ! सिर्जनात्मक क्षेत्रमा पनि एआई हाबी हुँदै छ । पश्चिममा एआईविरुद्घ आन्दोलनमा छन् स्रष्टाहरू । सिनेमा, संगीत, लेखनमा एआईको उपस्थिति बढ्दो छ । हृदय र मस्तिष्कको फ्युजनबाट निःसृत हुने सिर्जनात्मक विधा प्रविधिको खतरामा छ । मेरो चिन्ता हो यो ।

तपाईं ‘गाउँ’ मा बस्नुहुन्छ । ६ वर्ष लगातार काठमाडौं बस्नुभयो पनि । सहर र गाउँको समाज–चिन्तनले लेखकको धारणा निर्माणमा कस्तो फरक पार्छ ?

म काठमाडौंबाहेक विश्वका विभिन्न विकसित सहरमा पनि बसें । एउटा सर्जकको समय र स्थानले लेखनको धारणा निर्माणमा उल्लेख्य प्रभाव पार्ने मसँग अनुभव छ । गाउँबाट सहर पुग्दा लेखनको धारणा डायस्पोरिक चिन्तन भनूँ या आउटसाइडर मानसिकताले निर्देशित हुँदो रहेछ । त्यसकारण सहर नोस्टाल्जिया लेख्छ । फेरि अतीत र वर्तमानको असंगत अनुभूतिले सहर डिप्रेस्ड विचार लेख्छ । तर गाउँ अर्गानिक लेख्छ ।

तपाईंलाई प्रभाव पार्ने लेखक/चिन्तक वा निबन्धकार को–को हुन् ?

म लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने र भारतीय लेखक/चिन्तक निर्मल बर्माबाट प्रभावित छु ।

खासमा निबन्धले उठाउनुपर्ने विषय–विचार के हो ? जस कारण निबन्ध अरू विधाभन्दा फरक छ ।

निबन्धको पहिलो सर्त यथार्थको नजिक हुनुपर्छ । निबन्धमा कोरा कल्पना वर्जित छ । कल्पनाशीलता चाहिए पनि त्यो सत्यको नजिक हुनुपर्छ । सम्भवतः यसै कारण निबन्ध अरू विधाभन्दा पृथक् छ ।

प्रकाशित : मंसिर १६, २०८० १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?