कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

यो कथा हो, यो कथा होइन

के थियो झापा विद्रोह ? कसरी अघि बढ्यो ? विद्रोहमा को–को संलग्न थिए ? त्यसभित्रका अन्तरविरोध, संघर्ष र उतारचढाव कस्ता थिए ? किताबले सविस्तार बयान गर्छ ।
केशव दाहाल

विद्रोहको कथा भन्न सजिलो हुँदैन । विद्रोहको कथा लेख्न पनि सजिलो हुँदैन । किनभने विद्रोह आफैंमा सजिलो विषय होइन । अर्को शब्दमा भन्दा, विद्रोहको कुनै सूत्र हुँदैन । आक्रोश, अराजकता, आवेग र महत्त्वाकांक्षाको के सूत्र ? के लय ?

यो कथा हो, यो कथा होइन

विद्रोह त आँधीजस्तै हुन्छ । विद्रोह छरिएको हुन्छ– अनेकौं मनोविज्ञानमा, सपनाहरूमा, स्वार्थहरूमा । कहिलेकाहीँ अवस्था यस्तो हुन्छ कि विद्रोह स्वयं आन्तरिक र बाह्य परिस्थितिको घेराबन्दीमा पर्दै जान्छ । न निस्कन सजिलो, न बसिरहन सजिलो । जुन विद्रोह कुनै दिन सकुशल परिस्थितिको फन्दाबाट निस्किन्छ, त्यसले इतिहास बनाउँछ । जुन विद्रोह परिस्थितिजन्य फन्दाबाट निस्किन सक्दैन, त्यो कथा बन्छ । त्यसैले मलाई लाग्छ, विद्रोह जटिल हुन्छ । अतः अनेकौं पात्र, प्रवृत्ति, मनोविज्ञान र घटनामा यत्रतत्र छरिएको विद्रोहलाई एउटै धागोमा उनेर कथा भन्नु अप्ठ्यारो काम हो ।

भनिन्छ– ‘क्रान्ति, विद्रोह र आतंकबीच बहुतै पातलो सिमाना हुन्छ । कुन बेला विद्रोह आतंक बन्छ, थाहै हुँदैन ।’ यसो पनि भनिन्छ– ‘क्रान्ति सुविचारित प्रयत्न हो, विद्रोह परिस्थितिजन्य आक्रोश ।’ यद्यपि विद्रोह यस्तो आगोको मुस्लो हो, मानौं त्यसभित्र सयौं सलाईका काँटी एकैपटक बल्छन् । सयौं सलाईका काँटी अर्थात् सयौं नायक । सयौं नायक जब विद्रोहमा सामेल हुन्छन्, उनीहरूसँगै सयौं प्रतिनायक पनि जोडिन आइपुग्छन् । त्यसपछि बन्छन् घटनाहरू । त्यसपछि आउँछन् घुम्तीहरू । त्यसैले विद्रोहका घटना र घुम्तीहरू चहार्नु, पात्रहरू खोज्नु, त्यसलाई लयमा हाल्नु र एउटा सिलसिलाबद्ध कथामा उन्नु सजिलो हुँदैन । त्यही असजिलो काम सम्पन्न गरेका छन् लेखक निरोज कट्टेलले । र, त्यही असजिलो कामले बनेको छ, झापा विद्रोहको रोमाञ्चक बयानबाजी– ‘२०२८ झापा विद्रोहको अन्तर्कथा ।’

‘झापा विद्रोह’ विसं २०२८ देखि २०३२ सम्म झापा जिल्लामा चलेको वामपन्थी विद्रोहको नाम हो, जसलाई नेपाली राजनीतिका अनेक आलेख र दस्तावेजमा अभिलेखन गरिएको छ । यद्यपि यसलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने भिन्न दृष्टिकोण र आग्रह पूर्वाग्रह छन् । तर, लेखक निरोजले आफ्नो पुस्तकमा यो विद्रोहलाई यसरी अभिलेखन गरेका छन्, जहाँ पक्ष–विपक्ष, आग्रह–पूर्वाग्रह छैन । त्यहाँ घटना र पात्रमाथि पक्षपात छैन, जहाँ न स्तुती छ, न गाली । पुस्तक पढ्दा कतै लाग्छ, निरोज समयको क्रूरतम् कथा भन्दै छन् । फेरि पढ्दै जाँदा लाग्छ, निरोज नयाँ पुस्तालाई इतिहास सुनाउँदै छन् । कहिलेकाहीँ लाग्छ, यो कथा हो । कहिलेकाहीँ लाग्छ, यो कथा होइन । तटस्थता र साक्षीभाव किताबको सबैभन्दा सुन्दर पक्ष हो । र, यही नै पुस्तकको कलात्मक पक्ष पनि । पुस्तकमा निरोजले घटनाहरूलाई रोमाञ्चक र रहस्यमय शैलीमा यसरी उनेका छन् कि पढ्दा आनन्द आउँछ, जसले पाठकको मनमा एउटा ‘सप्तरंगी चित्र’ सिर्जना गरिदिन्छ– विद्रोहको चित्र ।

पुस्तक सुरु हुन्छ, ०६१ माघ १९ को पृष्ठभूमिबाट, जुन दिन राजा ज्ञानेन्द्रले पिता महेन्द्रको पदचाप पछ्याउँदै शाही ‘कु’ गरे । परिणाम, जनआन्दोलन ०४६ का उपलब्धि निस्तेज भए, दल र नेताहरू नियन्त्रणमा परे, नागरिक अधिकारहरू कुण्ठित गरिए । ज्ञानेन्द्रले ‘प्यारा देशवासी’ को नाममा तिनै देशवासीले रगतसँग साटेको प्रजातन्त्रलाई आफ्नो सनकको सिकार बनाए । त्यो निश्चय नै आश्चर्यजनक घटना थियो । तर, त्योभन्दा आश्चर्यजनक थियो, राधाकृष्ण मैनालीको नारायणहिटी प्रवेश । राधाकृष्ण, अर्थात् झापा विद्रोहका एक नायक ।

०६१ माघ २० मा नारायणहिटी दरबारको भव्य प्रांगणबाट कमरेड राधाकृष्ण मैनालीले शाही मन्त्रीको शपथ लिए । सरकारी टेलिभिजनबाट त्यो समारोहको प्रत्यक्ष प्रसारण गरियो । एउटा विद्रोहीको दरबार प्रवेश आमाहरूले कुनै बेला सुनाउने तिलस्मी कथाजस्तै, एक दुर्लभ घटना थियो । र, निरोजले त्यही घटनाबाट पुस्तक–प्रारम्भ गरेका छन् ।

त्यसपछि पुस्तकमा अनेक घटना आउँछन् । घटनामा कतै विद्रोही आउँछन्, कतै विद्रोहीहरूले अनाहकमा मारेका निर्दोशहरू । के थियो झापा विद्रोह ? कसरी अघि बढ्यो ? विद्रोहमा को–को संलग्न थिए ? त्यसभित्रका अन्तरविरोध, संघर्ष र उतारचढाव कस्ता थिए ? घटनासँगै लेखक अनेक पात्रलाई भेट्छन्, यत्रतत्र चहार्छन् र इतिहासको गर्तमा लुकेका अन्तर्कथालाई शब्दमा उतार्छन् ।

‘२०२८ झापा विद्रोहको अन्तर्कथा’ को राजनीतिक पृष्ठभूमि बुझ्न इतिहासको त्यो कालखण्डमा विचरण गर्नुपर्छ, जतिबेला संसारैभर कम्युनिस्टको लहर थियो । त्यही लहरमा हेलिँदै सन् १९४७ मा कलकत्तामा बस्ने नेपाली युवाहरूले ‘मार्क्सवादी अध्ययन मण्डल’ खोल्छन् । मण्डलमा हुन्छन्– पुष्पलाल श्रेष्ठ, केशरजङ रायमाझी, देवेन्द्रलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, डीपी अधिकारी, हिक्मतसिंह भण्डारी आदि । त्यसपछि उनै पुष्पलालको नेतृत्वमा (सन् १९४९, लेनिन जयन्ती) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुन्छ ।

नेकपाले संगठन विस्तार सुरु गर्छ । त्यसै क्रममा झापा जिल्ला कमिटीको गठन हुन्छ, २०१७ सालमा । तर, त्यो कमिटी खासै सक्रिय हुँदैन । पार्टीभित्रको विवादकै बीच २०२२ र ०२५ सालमा झापा जिल्ला कमिटीको दुई पटक पुनर्गठन गरिन्छ । पछिल्लो पुनर्गठनबाट जिल्लाको नेतृत्वमा आउँछन्– मदन खपाङ्गी, तिलविक्रम ढकाल, द्रोणाचार्य क्षत्री, राधाकृष्ण मैनाली आदि । यी युवा पार्टी केन्द्रको दिशाहीन, गतिहीन र भुत्ते शैलीप्रति असन्तुष्ट हुन्छन् किनभने उनिहरूलाई चाहिएको छ– विद्रोह । परिणाम, २०२७ सालमा नेकपाको झापा जिल्ला कमिटीले विद्रोह गर्छ । अर्थात, झापाले पार्टी केन्द्रलाई नसोधी जिल्लामा किसान आन्दोलन उठाउने र राज्यसँग सशस्त्र प्रतिकार गर्ने निर्णय गर्छ । झापाको पार्टी केन्द्रसँग सम्बन्ध तोडिन्छ । र, त्यही बगावतको जगमा सुरु हुन्छ– ‘झापा विद्रोह’ ।

विद्रोहीहरूको प्रारम्भिक सपना हुन्छ– ‘सामन्तवादबाट झापालाई मुक्त गर्ने, देश मुक्त गर्ने, जनगणतन्त्र स्थापना गर्ने र विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ उचाइ थप्ने ।’ सपना त ठूलै थियो, तर सपना देख्नेहरू परिपक्व थिएनन् । न त उमेरले परिपक्व थिए, न विचारले । उनीहरूसँग राजनीतिक सुझबुझ, रणनीतिक कुशलता, संगठनात्मक शक्ति र परिवर्तनको लयबद्ध कार्यक्रम केही थिएन । मात्र थियो, विद्रोहको आगो । थियो, पञ्चायतप्रति बेहिसाब आक्रोश र पक्का कम्युनिस्ट हुने जोस ।

तत्कालीन भाकपा (मार्क्सवादी) दार्जिलिङ जिल्ला कमिटी किसान आन्दोलनका लागि निकै चर्चित थियो । उनीहरूको प्रभाव क्षेत्र थियो– नक्सलबाडी, माटिगडा, सिलिगुडी र डुवर्स । यता झापामा थियो– थोरै नक्सलवाडी किसान विद्रोहको प्रभाव, थोरै चिनियाँ क्रान्तिको प्रभाव, थोरै जनवादको चाहना र थोरै साम्यवादको युटोपियन सपना । झापालीहरूलाई एक्सनमा उत्रिन हतारो थियो । परिणाम एक्सन, दमन र प्रतिकारको सिलसिला सुरु भयो । गरिबलाई शोषणबाट मुक्त गर्ने, किसानलाई जमिनको मालिक बनाउने र जनवाद ल्याउने विद्रोहीका रोमाञ्चक सपनाले किसान र आदिवासीलाई आकर्षित गर्‍यो । राजवंशी, उराँव, धिमाल र सन्थालका घर सेल्टर बने । विद्रोहका नाराहरू गाउँघरमा सुनिन थाले । एक्सन कमिटीहरू गठन हुँदै गए । कमिटीले सामन्तलाई सफाया गर्ने मनमौजी निर्णय गर्न थाल्यो ।

त्यस समय कम्युनिस्टहरूमा (वामपन्थी) अन्तर्राष्ट्रियतावाद निकै माथि थियो । त्यसैको प्रभावले हुनुपर्छ, झापा विद्रोहमा जोडिन आइपुगे, नीमु र खुजेन । सन् १९७१ मा सिलगुडी जेल ब्रेक गरेर भागेका सात राजनीतिक बन्दीमध्ये दुई जना थिए ती । कालान्तरमा उनीहरू नै राजेन र भोगेन राजवंशीका नामले झापा विद्रोहका चर्चित पात्र बने ।

यसरी झापामा विद्रोहको आगो बल्यो । विद्रोही युवाहरू सीपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओली, मोहनचन्द्र अधिकारी, दोर्णप्रसाद क्षत्री, मदन खपाङ्गी, तिलविक्रम ढकालहरू चर्चाको शिखरमा पुगे । व्यक्ति हत्याका सिलसिला बढ्दै गए । सामन्तलाई सिध्याउने नाममा कर्णबहादुर गौतम, विष्णुप्रसाद बिमली, ईश्वरीप्रसाद चुँडाल, बुटन चौधरी, उग्रकान्त राजवंशी, धर्मप्रसाद ढकाल र ज्ञानी ढकाल आदि आठ जनाको विद्रोहीले हत्या गरे । स्वभावतः राज्य दमनमा उत्रियो । परिणाम सुखानीमा ०२९ फागुन २१ मा रामनाथ, वीरेन, नेत्र, कृष्ण र नारायणजस्ता युवालाई पञ्चायती शासकले हत्या गरे ।

‘२०२८ झापा विद्रोहको अन्तर्कथा’ मा लेखकले एउटै विद्रोहले मान्छेलाई कहाँ पुर्‍याउँछ, त्यसको रोचक वर्णन गरेका छन् । साधारण युवाहरू कसरी विद्रोही बने ? उनिहरूको राजनीति कति धेरै अपरिपक्क थियो ? एक्सनहरू कति धेरै लहडी थिए ? र, मान्छेहरू कसरी त्यसको सिकार बने ? किताबमा अनेक उपकथा भनिएका छन् । ती उपकथामा कतै विद्रोही छन्, कतै पीडित, कतै विद्रोहीका परिवार, कतै पीडितका परिवार ।

निश्चय नै त्यो वर्णनमा दुःखका अनेकौं प्रसंग छन् । र, छन् उतारचढावका दर्जनौं घटना । जस्तो कि त्यही विद्रोहको एउटा नायक आफ्नै सिद्धान्तविपरीत दरबार पस्छ, अर्को मन्दिरको पुजारी बन्छ । एउटा प्रधानमन्त्री बन्छ, अर्को गुमनाम हराउँछ । एउटा सहिद बन्छ र सालिकमा बस्छ, अर्को पलायन हुन्छ वा जिन्दगीबाटै विश्राम लिन्छ । एक प्रसंगमा घटनाहरूको बेलिविस्तार लगाउँदै विद्रोहीहरूले हत्या गरेका बुटन चौधरीका छोरा रामनारायण चौधरी भन्छन्– ‘वामपन्थीहरूले सामन्त भनेर बुबाको हत्या गरे, कांग्रसहरूले सहिद भनेर उहाँको सालिक बनाइदिए ।’ विद्रोहले कसैलाई श्रीपेच दियो, कसैलाई खाली हात । त्यसो त किताबमा अन्त्यतिर लेखक राजेन राजवंशीलाई भेट्न भारत पानीट्यांकी हुँदै उनको गाउँ पुग्छन् । भेटमा राजेन भन्छन्, ‘क्रान्तिका उपलब्धि तराजुमा जोखिन्न ।’ अवश्य नै, तर इतिहासले मागेका प्रश्नको जवाफ नदिने हो भने क्रान्ति वा विद्रोहले आफ्नो औचित्यलाई कसरी बचाउँछ ? सायद त्यही विद्रोहको जवाफदेहिता खोज्ने एक प्रश्न र एक अपिल हो यो पुस्तक ।

‘२०२८ झापा विद्रोहको अन्तर्कथा’ मा झापाको भद्रपुर, दुवागडी, पुहाँतुबारी, हल्दीबारी, ज्यामिरगडी, गरामनी, शनिश्चरे, बुधबारे, धुलाबारी, पाराखोपी, बाहुनडाँगी आदि रेड जोन हुँदै कथा अगाडि बढ्छ र पुग्छ नख्खु जेलब्रेकमा– ०३३ चैत १२ गते । नख्खु कारागार कसरी ब्रेक भयो ? कथाले अवश्य नै नयाँ पुस्तालाई रोमाञ्चित बनाउँछ ।

पुस्तकमा विद्रोहसँग जोडिएका अनेक नाम र ती नामका आफ्नै कथा छन् । तिनैमध्येका दुई नाम छन्– कुन्ती कार्की र कुन्ती राजवंशी । एक जना सहिद वीरेन राजवंशीकी बहिनी कुन्ती र अर्की विद्रोहीद्वारा मारिएका कर्णबहादुर गौतमकी छोरी कुन्ती ।

दुवैको साझा बयान छ । कुन्ती कार्की भन्छिन्, ‘मेरो बुबामाथि ठूलो अन्याय भयो ।’ कुन्ती राजवंशी पनि भन्छिन्, ‘मेरो दाजुमाथि ठूलो अन्याय भयो ।’ जब एउटै विद्रोहमा सत्ता र विद्रोहीबाट मारिनेका दुई अलग परिवारले बितेर जानेहरूमाथि अन्याय भएको ठान्छन्, त्यसपछि विद्रोहको कथाले पाठकमा अपार करुणा जागृत गर्छ ।

कलिलो उमेर, ठूलो सपना, अपरिपक्व राजनीति र अनेकौं कमजोरीसहित सुरु भएको झापा विद्रोह झन्डै पाँच वर्ष चल्छ । र, ०३२ जेठमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (कोके) मार्क्सवादी, लेनिनवादीको गठनसँगै त्यो एक राजनीतिक पार्टीमा रूपान्तरित हुन्छ । ठीक त्यही विन्दुबाट प्रारम्भ हुन्छ नेकपा (माले) र नेकपा (एमाले) को इतिहास । यसरी झापा विद्रोह नेपाली कम्युनिस्टहरूको अतीत बन्छ । यहीँनेर एउटा प्रश्न स्वाभाविक हुन जान्छ, अतीतप्रति वर्तमान जवाफदेही हुनुपर्छ कि पर्दैन ? मलाई लाग्छ, निरोजले नभनेको, तर पुस्तकले सोधेको एउटा महत्त्वपूर्ण प्रश्न यही हो । यही प्रश्नसँगै लेखक निरोज कट्टेलले इतिहासलाई निकै सुन्दर ढंगले अभिलेखन गरका छन् र बेला प्रकाशनले एक संग्रहणीय पुस्तक प्रकाशन गरेको छ ।

प्रकाशित : आश्विन २७, २०८० ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?