कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

आफैं आख्यान, आफैं पात्र 

सन् २०२२ को नोबेल पुरस्कार विजेता फ्रेन्च लेखक यानी अर्नोकी आख्यानका पात्र उनी आफैं हुन्– बाल्यकालकी आफू, यौवनकालकी आफू । आफूभित्रका अनेक ‘आफैं’ लाई उनले पात्र बनाएर खुल्लमखुला कथा लेखिन्, अटोबायोग्राफी होइन ।
जीवनमा जतिबेला घटना घटेका हुन्छन्, त्यो समयलाई तिनै घटनाले ढाकेका हुन्छन् । तिनका अनौठा अर्थ वर्षौंपछि लाग्छन्, लागिरहन्छन् । – यानी अर्नो, अ गर्ल्स स्टोरी
विष्णु सापकोटा

तत्कालीन गाउँ पञ्चायतको नाम नै करेन्डाँडा राखिएको भए पनि यो डाँडा धेरै अग्लो थिएन । २०२० को मध्यदशकमा सिद्धार्थ राजमार्गले छिचोलेर गएको यो डाँडामा मेरो घर राजमार्गछेउमै थियो । आफैं डाँडा भएर के गर्नु, घरका पूर्वपट्टि यति अजंगका अरू डाँडा थिए कि ती कति अग्ला थिए भन्ने नै देखिँदैनथ्यो ।

आफैं आख्यान, आफैं पात्र 

तर, पश्चिम फर्केको घरको पारि टाढाटाढासम्म सबै खुला थियो । नागबेली परेको आँधीखोला पर तल आँगनबाटै देखिन्थ्यो । टाढा पारिपारि अग्ला अरू डाँडाहरू देखिन्थे । पूर्वका डाँडाले छेकेर घाम केही ढिलो गरी उदाए पनि उदाएपछिका घाम भने मेरो घरमा ढिलो गरी अस्ताउँथे । ऋतुअनुसार अलिकति यताउता सर्नेबाहेक बादल नलागेको दिन मेरो घरबाट सुदूर क्षितिजका पश्चिमी पहाडमा घाम डुबेको दृश्य वर्षभरि नै देखिन्थ्यो ।

त्यत्रो ठूलो सूर्य अस्ताएर हरेक दिन डुब्न अटाउने डाँडापारिको संसार कस्तो होला ? कल्पना नै कल्पनातीत हुन्थे । जति सोचिनसक्नुको विशाल र अचम्मको भए पनि त्यो संसार त्यहीँ परको डाँडामुनि छ भन्ने नै लाग्थ्यो । इतिहासको धार नै सधैंका लागि बदलेको दोस्रो विश्वयुद्धमा केही समय ब्रिटिस–भारतीय फौजमा काम गरेका किस्सा सुनाउने बुबा मलाई त त्यतिबेला सानोतिनो इतिहास निर्माता नै लाग्थे । त्यस्तो कर्मलाई शिक्षित भाष्यले भाडाको सिपाही भएको भन्छ भन्ने मलाई थाहा थिएन ।

लडाइँमा जाने फौजका कथा हुन् वा भारतमा चारधाम गर्दा डुलेका ठाउँका, बुबाले आफ्ना कथा सुनाएपछि हामी सोध्थ्यौं– ती ठाउँहरू हाम्रो घरबाट कति टाढा छन् ? ७–८ वर्षका केटाकेटीलाई के भनेर अर्थ्याउनु भन्ने भएर सजिलोका लागि होला, बुबा ती सबै ठाउँ ‘उ त्यहाँ पारि डाँडामा जहाँ घाम अस्ताउँछन् त्यसैको मुनि छन्’ भनिदिनुहुन्थ्यो । पोखरा–सुनौली लेखेका बसहरू घर नजिकैबाट गुड्थे । सुनौली कति टाढा भनेर सोधे बुबा ‘उ त्यही घाम अस्ताउने डाँडाको उता’ भनिदिनुहुन्थ्यो । बाल्यकालभरि मैले आफूले वरिपरि देखेबाहेकको सबै सबै संसारहरू त्यही क्षतिजका डाँडाहरूको उतापट्टि थिए ।

राजमार्गको छेउमै घर भएकाले, टाढा भारतका विभिन्न ठाउँबाट पशुपतिनाथ जान हिँडेरै आउने साधुहरू बेलाबेला हामीकहाँ बास बस्थे । बुबासँग उनीहरू के बोल्थे हामी बुझ्दैनथ्यौं । तर, आफ्ना गाउँका बाहेक संसारमा मान्छेहरू यस्ता पनि हुँदा रहेछन् भन्ने देख्दा रमाइलो हुन्थ्यो । तिनलाई हिप्पी भन्दा रहेछन् भन्ने त वर्षौंपछि थाहा भयो । ती अम्रिकानेहरू सुनौलीतिरबाट राजमार्गमा हूलका हूल आउँथे । कोही साइकलमा, कोही दुईतले बसमा, कोही जिपमा । आउँदाआउँदै कुनै ठाउँ मन पर्‍यो भन्ने आफ्नो वाहन ठाउँको ठाउँ रोकेर दिउसैदेखि बाटो किनारमा बास बस्ने कति हुन्थे कति । घर नजिकै कतै उनीहरू रोकिएर बसेका बेला हामी केटाकेटीहरू वरिपरि गएर हेर्थ्यौं ।

कहिलेकाहीँ कसैकसैले हामीलाई अनौठा लाग्ने सामान दिन्थे । एक दिन एक जना हिप्पी जोडीलाई के लाग्यो होला भने हामीलाई केही दिऊ सायद उनीहरूसँग हामीलाई दिन केही बाँकी नभएर पनि । उनीहरूले एउटा बडेमानको बेलुन थिए । दुई पटक फुक्न नपाउँदै फुटिहाल्ने पुन्टुरे बेलुनबाहेक अर्को नदेखेका हामीहरू त्यो फुट्दै नफुट्ने अजंगको बेलुन फुक्दै राजमार्गमा यता र उता गर्न थाल्यौं । एक जना पाका दाइले गाली गरेर त्यो फुक्दाफुक्दैको बेलुन खोसेर फुटाइदिँदा हामीलाई चित्त दुखेको थियो । त्यो बेलुन परिवार नियोजनका लागि पुरुषले प्रयोग गर्ने सामग्री हो भनेर हामीलाई हिप्पीले भनेका थिएनन् ।

***

२०२२ को साहित्यतर्फको नोबेल पुरस्कारको सम्मान पाएकी फ्रेन्च लेखिका यानी अर्नोका पुस्तकहरू यो वर्षभरि नै अधिक चर्चामा छन् । उनको अमेरिकी प्रकाशक द सेभेन स्टोरिज प्रेसलाई त उनका किताब छाप्नै भ्याईनभ्याई छ भन्ने खबर आएका थिए । कताकताको संयोगले मैले उनका ‘अ गर्ल्स स्टोरी’ र ‘द इअर्स’ भन्ने दुई पुस्तक आठ–दस महिनाअघि डिजिटल कपीमा पढेको थिएँ । कतिपय पुस्तक पढुन्जेल रमाइलो हुन्छ, तर पढेर सकेको केही समयपछि विस्मृतिमा जान थाल्छन् । यानी अर्नोका लेखाइ भने पढिसकेपछि समय बित्दै जाँदा पनि मनमा घुमी नै रहेका थिए ।

भदौको तेस्रो साता मात्रै उनको ‘सिम्पल प्यासन’ भन्ने ‘किताब’ हात पर्‍यो । सानो आकारको यो पुस्तक ठूला किताबहरूको बीचमा पर्‍यो भने टेबलमै हराउनेजस्तो छ । तर, यो फुच्चे जत्रोसुकै आकारका ठूलाहरूसँग पनि भिड्न नडराउने खालको छ । त्यति मात्रै होइन, उनका अरू पुस्तिकाले जस्तै यसले पनि अहिलेसम्म स्थापित भएका साहित्यका जुन विधाहरू छन्, ती विधागत मानकलाई जिस्क्याएको छ, भत्काएको छ ।

यानीका किताबहरूलाई के भनेर परिभाषित गर्ने ? समालोचकलाई नै हम्मे परिरहेको छ । न ती संस्मरण मात्रै हुन् न कोरा आख्यान । न ती निबन्ध मात्रै हुन् न समकालीन समाजका इतिहास मात्रै । न ती समाजशास्त्र मात्रै हुन् न एथ्नोग्राफी मात्रै । कि ती आफूले बाँचेर आएको समाजको इतिहाससँग वर्तमानबाट गरेका संवादहरू हुन् ? नोबेल कमिटीले गत वर्ष पुरस्कार अर्पण गर्दै भनेको थियो– यो सम्मान उनको त्यो लेखकीय साहसका लागि हो, जसले जेजे हो त्यसलाई त्यसरी नै खोतल्न सक्छ । उनको त्यो निर्भय कला, जसले व्यक्तिका अन्तरमनमा लुकेर बसेका सुदूर अतीतका स्मृतिहरूलाई भुल्नुपर्छ भन्ने समाजको सदाबहार आह्वानलाई चुनौती दिन्छ ।

सानो छँदा बाँचेका लज्जा र हीनताका भोगाइहरू, त्यतिबेलाका ती निर्दोष प्राप्ति र अप्राप्तिहरू, कौमार्य बचाउँदा र भंग हुँदाका त्यो समयका अर्थ र अनर्थहरू, प्रेमका सुवास र तिरस्कृत कामनाहरू, परिवारका पूर्णता र अभावहरू, फ्रान्सेली समाजमा जरा गाडेका वर्ग र विभेदहरू– यी सबैबीच जति जे भयो भयो, अब त्यो सबै बिर्सनु भन्ने व्यक्तिका निजी स्मृतिविरुद्ध समाजमा जुन अलिखित ऐक्यबद्धता छ, यानीले त्यसलाई लेखेर भत्काइदिएकी छन् । त्यसरी भत्काउँदा उनले साहित्यका चलिआएका विधाका मानक पनि भत्काउनुपरेको छ । उनले भनेकी छन्– यदि यसरी नलेख्ने हो भने लेख्नै किन पर्‍यो ? के काम छ लेख्नुको ?

जुन विषय उनले जसरी लेख्न चाहेकी थिइन् त्यसो गर्दा लेखाइहरूका लागि यानीले एउटा विधा नै आफ्नै जन्माएकी छन्, जुन विधालाई मैले हार्ड कपीमा फेला पारेको ‘सिम्पल प्यासन’ को पछाडिको कभरमा ‘अटो–फिक्सन’ भनिएको रहेछ– संस्मरणात्मक आख्यान । तर, उनका लेखाइबारे यो ‘अटो–फिक्सन’ भनेर ‘कोइन’ गरिएका साढे एक शब्दले धेरै बताउन सक्दैनन् । उनका आख्यानकी पात्र उनी आफैं हुन् । बाल्यकालकी आफू, यौवनकालकी आफू, सम्बन्धविच्छेद भएकी आफू, बच्चाकी आमा भइसकेकी आफू ।

तर, यहाँनेर सम्झिनुपर्ने के छ भने ती आफूभित्रका अनेक आफूहरूलाई उनले खुल्लमखुला पात्र बनाएर आख्यान लेखेकी छन्, अटोबायोग्राफी होइन । सन् १९५८ को फ्रान्सको एउटा गाउँमा १८ वर्षकी केटीले आफूलाई छाडेको केटाबारे त्यतिबेला गरेका अनुभूतिका स्मृतिलाई ६० वर्षपछि सम्झँदा जेजति सम्झिइएको छ, त्यसलाई कति पत्याउने ? कति नपत्याउने ? उनले आफैं प्रश्न गरेकी छन् । त्यतिबेलाकी ‘त्यो केटी’ ले किन त्यसरी सोचेकी थिई होला ? अहिले मैले ‘त्यो केटी’ बारे जे सम्झेकी छु के त्यो साँच्चै त्यही होला ? कि मेरा स्मृति भित्रभित्र पुनर्लिखित भइसकेका छन् ? ७८ वर्ष उमेर पुगेकी ‘बूढी’ ले (अ गर्ल्स स्टोरी २०१६ मा प्रकाशित भएको हो) किन ती कथाहरू लेख्नैपर्ने भएको होला ? उनका ‘कथाहरू’ पढेपछि मेरो मनमा तिनीहरू घुमिरहनुको कारण यिनै प्रश्नहरूमा छन् ।

अक्सर सबै मानिसले अनुभव गर्ने जुन ‘युनिभर्सल’ एकान्तपन छ, जिन्दगीमा जहाँ जे गरे पनि मनमा सधैं केही नपुगेको हो भन्ने जुन खालिपनको भाव उत्पन्न हुने जीवनको स्थिति छ, यानीका लेखाइले हामीलाई फकाईफुलाई तिनै दार्शनिक कारणहरूमा घोत्लिन पुर्‍याउँछन् । घुमाईफिराई आफ्नै जीवनका कथामार्फत उनले भनेकी छन्, ‘जसले आफ्नो विगत बिर्सन खोज्छ त्यो जति एक्लो यो संसारमा कोही हुँदैन ।’ जीवनमा हामी सबै ‘असल’ मानिस हुनुपर्छ भन्ने दबाब छ । आफू असल मानिस हुँ भनेर आफैंलाई भुलाउने चक्करमा आफूले अनुभव गरेका लज्जालाई आफैंसँग लुकाउनुपरेको छ । आफ्ना विगतका अनुभूतिलाई आफैंले नयाँ नयाँ कथा बनाएर, खासमा भएको यस्तो हो भनेर आफैंसँग आफ्नो इतिहासको झूटो पुनर्लेखन गरिरहनुपरेको छ । निरन्तरको यस क्रममा मानिस आफैंसँग टाढिएको छ, एक्लिएको छ ।

मानिस असल हुन जरुरी छैन भन्नुको अर्थ खराब हुनु भनेको होइन । यो भनेको केवल असल हुने चक्करमा आफैंसँग आफ्नो आधिकारिक ‘सेल्फ’ नगुमाउनु भनेको हो । आफू आफूसँग जस्तो हो त्यस्तो हुन नसकेर, आफैंले आफ्नैबारे कथाहरू बनाएर आफैंलाई गफ लगाउन थालियो भने त्यो मान्छे अस्तित्ववादी दार्शनिकहरूले भन्नेजस्तो ‘र्स्ट्यान्जर’ र ‘आउटसाइडर’ हुन्छ भन्ने अर्नोको अड्डी छ ।

यद्यपि उनले ‘समाज सुधार्ने’ उद्देश्यका लागि लेखेको दाबी गरेकी छैनन्, न त अरूलाई उपदेश दिन । उनले लेखेको आफ्नै लागि हो, जुन धेरैका लागि भइदिएको छ । उनका लेखाइ यति धेरैका लागि भइदिएका छन् कि कसैले त उनी कतै मार्क्सवादी झुकावकी त होइनन् पनि भनेका छन् । किनकि एउटी युवती ‘गलत’ वर्गमा जन्मिनुका कारण भोगेका निजी विरोधाभासलाई उनले यसरी लेखेकी छन् कि, त्यहाँनेर उनी आफ्नो वर्गका अनगिन्ती युवतीका कथालाई प्रतिनिधित्व गर्न पुग्छिन् । अर्थ–सामाजिक वर्गहरूले मानिसका मनोविज्ञानलाई कसरी प्रभावित पारेका हुन्छन् भन्ने उनका अनुभव त निजी हुँदाहुँदै सामूहिक पनि हुन् । यिनै लेखकीय विशेषताका लागि कतिपयले उनका पुस्तकलाई समाजशास्त्रसँग नजिक, फ्रान्सेली वर्गीय समाजको इतिहास र ‘एथ्नोग्राफी’ भनेका छन् ।

कसैका निजी अनुभूति, ती अनुभूतिका स्मृति कति शक्तिशाली रूपमा एउटा पुस्ता, समाज र वर्गका स्मृति हुन सक्छन् भन्ने सुन्दर उदाहरण हुन् उनका लेखाइ । ‘अ गर्ल्स स्टोरी’ की १८ वर्षकी केटी नायिका, जसलाई अहिलेकी पाको उमेरकी महिलाले, एक्काइसौं शताब्दीको चस्माबाट चित्रण गरिरहेकी छन् । फ्रान्सेली अस्तित्ववादी लेखकहरूले संसारभर बौद्धिक जगजगी मच्चाएका ती दशकमा भर्खर कलेज जान खोजेकी फ्रान्सकै एक गाउँकी केटीले ती दार्शनिकबारे के सोच्थिन् ? सिमन द बुवाको चर्चित ‘द सेकन्ड सेक्स’ किताबले संसारको इतिहासलाई महिलाको हातले पुनर्लेखन गर्न सिकाएको सन् १९६० को दशकमा, गैरकानुनी गर्भपतन गराउनुपरेकी कलेजमा दर्शनशास्त्र पढ्ने एउटी निम्नवर्गीय युवतीको मनोदशा कस्तो हुन्थ्यो ? ती कथा उनको एक्लो भएर पनि धेरैको हो ।

सन् २००८ मा प्रकाशित ‘द इअर्स’ लाई धेरैले उनको ‘मास्टरपिस’ ठान्छन् । दोस्रो विश्वयुद्धको भयानकतापछिका फ्रान्सेली समाजका छ दशकका अन्तरद्वन्द्वलाई सूक्ष्म पृष्ठभूमि बनाएर उनले जीवनका साठी वर्षमाथि यस किताबमार्फत पोखेकी छन् । उनको ‘सिम्पल प्यासन’ पनि आफैंमा विचित्रको छ । जति नै कला साहित्यमा उच्च संस्कृति भएको मानिए पनि फ्रान्सेली समाजमा एउटी महिला लेखिकाले (वा पुरुषले नै) के लेख्न हुन्छ ? के हुँदैन ? त्यो पर्खाल उनले ढालेकी छन् ।

कामदार बस्तीमा चिया पसल (क्याफे) चलाउनेकी एक्ली सन्तान, आफ्नो वर्ग उत्थान गर्दै बुर्जुवा घरमा श्रीमती बनेर सरेपछि, कसरी आफ्नो ‘सेल्फ’ लाई उत्खनन गर्न आफ्नैबारे लेख्नुबाहेकको उनीसँग उपाय थिएन भन्ने यस पुस्तकले सशक्त रूपमा देखाएको छ । त्यसो त आफूलाई जसरी चित्रण गरेकी थिइन् अर्नोले, त्यो पढेर उनकी आमा उनीसँग बेखुस थिइन् । अर्नोकी आफ्नै छोरीले उनका डायरी च्यातेकी थिइन् । आमाका कथाहरू बाहिर आए आफूलाई समाजले के भन्ने होला भनेर छोरी डराएकी थिइन् । तर, आफूलाई मन लागेको शैलीमा लेख्दा परिवारबाट परित्यक्त हुने मूल्य उनलाई ठूलो लागेन ।

‘सिम्पल प्यासन’ वास्तविक जीवनमै घटेको एक साधारण आवेगको कथा हो, जहाँ उनको सम्पूर्ण संसार नै एक विवाहित विदेशीसँगको ‘अनैतिक’ आशक्तिमा असाधारण रूपमा खुम्चिएको हुन्छ । यस पुस्तिकालाई धेरैले प्रशंसा गरेको केका लागि छ भने कला र सिर्जनाले के नैतिक हो ? के होइन ? त्यो हेर्ने काम गर्दैन । कला मानवीय अनुभूतिका त्यस्ता जरासम्म पुग्न सक्छ, जहाँ समकालीन समयको ‘स्पिरिट’ पुग्न डराएको हुन्छ । आम मानिस त समाजमा जुन ‘ट्रेन्ड’ हरू स्थापित छन् तिनैबाट ‘कन्डिसन्ड’ भएर समाजले के सोच्न पाइन्छ ? के पाइँदैन ? तोकेको मापदण्डभित्र सोच्दै बस्ने न हुन् । आम मानिसले त मनमा आएका कुनै भावना चलनचल्तीको नियममा अनैतिक मानिन्छन् भने, आफैंसँग आफ्नै सोचाइलाई

आफ्ना होइनन् भनेर अस्वीकार गर्ने न हो । अस्वीकार गरे पनि मनमा आएका सोचाइ त घटिसकेका घटनाका सत्य हुन् । अर्नोले आफ्ना प्यासनका हदहरूबारे काल्पनिकी मिसाएर वर्णन गर्दा कतै पनि लज्जा अनुभव गरेकी छैनन् । कसैलाई स्पष्टीकरण दिन जरुरी ठानेकी छैनन् । जीवनको कुनै मोडमा मानिस भावनाको कुन हदसम्म जान सक्छ, आफूलाई आवेगमा कतिसम्म डुबाउन सक्छ भन्ने अनुभूति उनले जुन सुन्दर ढंगले भनेकी छन्, त्यसले ‘अश्लील’ भनिने सोचाइका मानकलाई अमान्य ठानेको छ । एउटा लेखक आफूभित्र कतिसम्म पस्न सक्दोरहेछ भनेर यो पातलो पुस्तिकाले नीतिपालक लेखकहरूलाई जिस्क्याएको छ ।

जीवन बाँच्ने क्रममा हामीले आफूभित्र थुप्रै पात्र जन्माएका हुन्छौं । दशकौं पहिले आफूले बाँचेको कुनै समयक्रम सम्झँदा के त्यो मै थिएँ र ? भन्ने लाग्न सक्छ । आफ्ना कथामार्फत यानीले प्रत्येक पाठकका विगतका अनगिन्ती ‘म’ पात्रहरूसँग वर्तमानबाट अन्तर्संवाद गर्ने आख्यानात्मक ठाउँ बनाइदिन्छिन् । उनका लेखाइले एउटा अन्तरवस्तु दोहोर्‍याएर भनिरहेझैं लाग्छ– जीवनमा बिर्सनुपर्ने केही छैन । आफ्नो विगतबारे सम्झन डराउनुपर्ने केही छैन ।

सचेत मनले आफ्नो विगत बिर्सन खोजे पनि हाम्रो शरीरले केही बिर्सनेवाला छैन । तीस वर्षपहिलेको कुनै एक घटनामा त्यतिबेला ठ्याक्कै के सोचिएको थियो अहिले सचेत मनले पूरै सम्झिँदैन होला । तर, यो शरीरमा तीस–चालीस ट्रिलियन जति सेलहरू छन्, खर्बौं खर्ब सेलहरूमा कति ‘डिजिटल डाटा’ छ त्यो न विज्ञान, न अध्यात्म, धेरै कसैलाई थाहा छैन । ती खर्बौं सेलका डाटाहरूको के–के काम होला, थोरैबाहेक विज्ञानलाई केही मेसोमेलो छैन ।

मस्तिष्क त शरीरको एउटा अंग न हो । त्यही मस्तिष्कमा शरीरले भोगेका ती अनगिन्ती अनुभवको के प्रभाव हुन्छ, त्यो आफैंमा अथाह छ । मानिसले गर्न सक्ने भनेको बाँच्ने क्रममा आफूभित्र जस्ताजस्ता पात्र बनेका छन्, तिनलाई नडराई, नलजाई स्वीकार गर्ने हो । हो, अर्नोले जस्तो सबैले खुलस्त लेख्न नसक्लान् तैपनि आफैंसँग बोल्न नडराए पुगिहाल्यो । जीवन भनेको आफैंसँग गरिने संवाद न हो । आफूबाहेक अरूसँग बोल्ने भनेको त सोचविचार पुर्‍याएर, के बोलौं, कति भनौं भनेर अड्कलेर मात्र न हो । अर्नोका लेखाई धेरै नअड्कलीकन लेखिएका छन् । त्यसैले नै उनका किताब पढिसकेपछि ती लामो समयसम्म मनमा घुमिरहने होलान् ।

यहाँ चर्चा गरिएका उनका किताब मैले एकै समयमा नभई केही महिनाको अन्तरालमा पढेको थिएँ । पहिले पढ्दा–पढ्दै र पछि ती कथाहरू मनमा आइरहँदा, म अवचेतन मनमा बेलाबेला आफ्नो सानोको घरको आँगनबाट पारि क्षितिजको डाँडामा प्रत्येक साँझ गएर डुब्ने सूर्यलाई सम्झेको हुँदोरहेछु । धेरै पटक त्यस्तो भएपछि मलाई लाग्यो, सायद मेरो त्यो स्मृतिले मलाई केही भन्न खोजिरहेको छ । त्यसपछि मैले आठ वर्षअघिको घटना सम्झें ।

त्यतिबेलासम्म पढ्ने र काम गर्ने सिलसिलामा पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी संसारका केही देशमा म पुगिसकेको थिएँ । त्यस हिसाबमा, आफूले सानोमा देखेको संसारभन्दा बाहिर कस्ता संसारहरू हुँदा रहेछन् भनेर धेरथोर देखिसकेको थिएँ । तैपनि खास देख्न मन लागेको संसार त देखेकै छैन भन्ने लागिरहेको थियो । त्यस्तो लागिरहेको समयमा एक दिन अचानक मनमा आयो, सानो छँदा बुबाले भनेका कथाका ती सबै संसार त पारि घाम अस्ताउने डाँडाको उतापट्टि पो थिए, जहाँ म अहिलेसम्म पुगेकै छैन । त्यो परको डाँडामा पुगेर, ती अस्ताएका घाम पुग्ने संसार कस्तो रहेछ भन्ने नदेखेसम्म संसारमा जहाँजहाँ पुगे पनि के नै देखेको भयो र ?

अनि त्यस वर्षको दसैंमा घर गएका बेला भान्जी, साथी र छोरालाई साथ लगाएर खिलिङ–देउराली भनिने त्यो डाँडामा पुगेरै छाडें । देउरालीमा मन्दिर रहेछ । ठीक मध्याह्नको समयमा हामी पुग्दा, मन्दिरको केही तल थोरै समथर चौरमा तीस–चालीस जनाको हूल थियो । तीसौं वर्षदेखि मनमा कल्पेको डाँडामा त्यस्तो दृश्य देख्दा सुरुमा त के हुन लागेको हो बुझ्नै नसकेर ‘सर्रियल’ अनुभव भयो । अलि नजिक पुगेपछि थाहा भयो, वर्षमा एकचोटि हुने दसैंको नवमी पूजा भर्खर सकिएको रहेछ । म भने ती मानिसभन्दा पनि त्यो डाँडाभन्दा उताको संसार कस्तो रहेछ, हेर्न आतुर थिएँ । डाँडाबाट उतापट्टि– जहाँ मेरो आँगनबाट हेर्दा घाम लुक्न गएका हुन्थे– टाढाटाढासम्म अरू डाँडाहरू नै रहेछन् । डाँडाबाहेक केही रहेनछन् । मन्दिरका पल्ला डाँडामा घर भएका फुच्चेहरूले अहिले कल्पिरहेका होलान्, उनीहरूको आँगनबाट परको सूर्य अस्ताउने डाँडामुनिको संसार कस्तो होला ?

यानी अर्नोका पुस्तकले हामीलाई आफ्ना–आफ्ना स्मृतिका तिनै डाँडाहरूमा पुर्‍याउँछन् । त्यतिका वर्षपछि, सानोमा घाम अस्ताएको डाँडापारिको संसार हेर्न जानैपर्ने बाध्यात्मक रहर ममा किन भएको थियो होला ? हुन सक्छ विगतका मेरा सबै अनुत्तरित प्रश्नलाई मैले प्रत्येक साँझ त्यही डाँडापारि लैजाँदै लुकाएर राखेको थिएँ, जुन वयस्क जीवनमा बिस्तारै बाहिर आउन खोजिरहेका थिए ।

यस वर्ष उनका किताब पढेपछि मैले आफूलाई जेजसरी बुझेको छु भन्थें कहिलेकाहीँ त्यो नै फेरिन लागेझैं लाग्छ । सानो छँदाका ती हजार स्मृति, जो मसँग छन्, तिनलाई फर्केर हेर्दा मैले आफैंसँग अन्याय गरेको त छैन भन्ने लाग्छ । म ती स्मृतिलाई जस्ता छन् त्यसरी सम्झन नसकी तिनलाई अहिलेको ‘व्यक्तित्व’ लाई पायक पर्ने गरी पुनर्लेखन गरेर आफैंलाई झुक्याउने कोसिस त गरिरहेको छैन ? र, त्यसो गर्दा मैले बाँच्ने जीवन ‘अथेन्टिक’ नभइरहेको त छैन ?

वर्तमान त अस्तित्वमै छैन । एउटा वाक्य सोच्न सुरु गरेर सकुन्जेलसम्म त्यो वाक्यको सुरुवात नै विगत भइसकेको हुन्छ । भविष्य भन्ने त एक अवधारणा मात्रै न हो, कहिल्यै देखिएकै छैन । यदि कुनै यथार्थ छ भने त्यो केवल विगत हो । किनकि त्यो थियो । त्यसैले सायद जसले विगत बिर्सन खोज्छ, ऊ आफैंबाट टाढिँदै जान्छ । यानी अर्नोले ‘अ गर्ल्स स्टोरी’ यस्तै यस्तै भावमा टुंग्याएकी छन्– जीवनमा जतिबेला घटना घटेका हुन्छन्, त्यो समयलाई तिनै घटनाले नै ढाकेका हुन्छन् । त्यहाँ घटनाका अर्थहरू लाग्न पाउँदैनन् । ती घटनाका अनौठा अर्थहरू वर्षौंपछि लाग्छन्, लागिरहन्छन् ।

प्रकाशित : आश्विन १३, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?