कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
फिल्म

‘बूढो बाघ’ को फिर्ती सवारी

‘पठान’ को एक गीतमा कलाकारले गेरुवा वस्त्र लगाएकै निहुँ झिकेर फिल्म चल्न नदिने धम्की दिइयो । तर, दर्शकले त्यसलाई अतिवाद ठाने र जवाफमा फिल्म सफल बनाइदिए ।
सुशील पौडेल

उखानै छ, बाघ बूढो र स्याल तन्नेरी कहिल्यै हुँदैन । साहित्यमा बाघलाई शक्ति, सौर्य र दम्भको अलंकार मानिन्छ । भनिन्छ– सिकार गर्न नसक्ने अवस्थाको बूढो बाघ बरु भोकै मर्छ, तर घाँस खाँदैन । बलिउडमा सोही नामको फिल्मको हिरो भएका हिसाबले सलमान खानलाई टाइगर भनिए पनि काम र रवाफका हिसाबले असली बाघ हुन्– शाहरूख खान ।

‘बूढो बाघ’ को फिर्ती सवारी

संसारकै सर्वाधिक ठूलो फिल्म उद्योगमध्येको एक मानिने बलिउडको प्रतिनिधित्व गर्ने शाहरूख खानको फ्यान फलोइङ जबरजस्त छ, जसमा उनी टम क्रुज, ज्याकी चानभन्दा अघि छन् । रोमान्सका बादशाह शाहरूखको ३१ वर्षे करिअरको ग्राफमा उचारचढाव आए, ६६ फिल्म खेल्दा २४ फिल्म त फ्लप नै भए, ९ वटाले पनि जेनतेन लगानी मात्रै उठाए । तर, बाँकी फिल्म जति र जसरी चले, सफलता सधैं लोभलाग्दो रह्यो । एउटा सत्य के भने शाहरूखका फिल्म चले, चलेनन् वा ठीकठाक चले होलान् तर उनी फ्यानका नजरमा त्यस्तो स्टार बनिरहे, जसको ओज कहिल्यै घटेन ।

७ वर्षअघि ‘फ्यान’ बाट केही डगमगाएको उनको करिअर ‘जिरो’ फिल्मको असफलतासम्म आइपुग्दा केही आलोचकलाई लाग्यो, अब शाहरूख पनि जिरोकै अवस्थामा पुग्दै छन् । यही पछिल्ला वर्ष बलिउडलाई दक्षिण भारतीय फिल्मले बजारमा च्याप्दै लगेको थियो भने बलिउडमा लामो समय राज गरिरहेका स्टारहरूलाई राजकुमार राव, आयुष्मान खुरानाजस्ता एक्टरले काममै चुनौती दिइरहेका थिए । धेरैलाई लागेको थियो, तीन खान (शाहरूख, सलमान, आमिर) को ओरालो यात्रासँगै अब बलिउड पनि सकिनेछ । विश्वमै सर्वाधिक धेरै फिल्म निर्माण हुने र टिकट बिक्री गर्ने बलिउडको अवस्था डायनोसरको जस्तै भएर जानेछ । र, क्षेत्रीय फिल्मले भारतीय फिल्मको प्रतिनिधित्व गर्नेछन्, बक्सअफिसमा कब्जा जमाउनेछन् ।

उमेरले बूढो भइरहँदा पनि घाँस खाने अवस्थामा भने अझै थिएनन्, शाहरूख । उनको त्यो अनस्क्रिन जोसले अझै बक्सअफिसमा सिकार गर्ने योजना बुन्दै थियो । कोरोना कालसँगैको लकडाउनपछि भने बूढो बाघ पुनः सिकारमा निस्कियो । सन् २०२३ को जनवरी २५ र सेप्टेम्बर ७ मा उनका लगालग दुई फिल्म ‘पठान’ र ‘जवान’ रिलिज मात्रै भएनन्, बक्सअफिसमा सुनामी नै ल्याइदिए । ३० वर्षमा उनका ६४ फिल्मले गरेको व्यापार (२५ सय करोड भारु) यस वर्षको आठ महिनामा ‘पठान’ र ‘जवान’ ले उठाइदिए । तेस्रो सातामा पनि राम्रो कलेक्सनसहित चल्दै गरेको ‘जवान’ ले सर्वाधिक कमाई (१०५० करोड भारु) गर्ने भारतीय फिल्मको ‘पठान’ रेकर्डलाई पनि तोडेर धेरै अघि बढ्ने छनक दिइसक्यो । त्यसो त बक्सअफिसमा धेरै शीर्षकमा रेकर्ड राख्ने फिल्मको रेकर्ड पनि ‘जवान’ ले बनाइसकेको छ ।

बलिउड मसला मुभीको फर्मुलामा ज्यादा विश्वास गर्छ । ‘पठान’ र ‘जवान’ पनि उम्दा फिल्म होइनन् । उही हिरो र भिलेनको फाइट, हिरो र हिरोइनको रोमान्स, अनि गानाबजाना, तार्किक र यथार्थभन्दा टाढा भए पनि रौं नै ठाडो पार्ने सिन सिक्वेन्स अनि सिठी र ताली बज्नेखालका लाउड डायलग । यी सबै मरमसला मिसाएर फिल्म तयार पारेका निर्देशक एट्लीकुमारले शाहरूखको हात दर्शकमा पस्किदिएका हुन्– ‘जवान’ । भारतमा मात्रै १३ दिनमा ५ सय करोडको बेन्चमार्क पार गरेको ‘जवान’ का दर्शक ३२ प्रतिशत गैरभारतीय छन् । अर्थात्, शाहरूखको स्टारडम क्रेज एकतिहाइ भारतबाहिरै छ ।

शाहरूखका लागि सन् २०२३ सकिनु ३ महिनाअघि नै यो करिअरकै सफल वर्ष बनिसकेको छ । अनुभवी बूढो बाघ कुशलतापूर्वक पुनः सिकारमा निस्किएझैं छनक दिएका शाहरूखको अझै यसै वर्षको क्रिसमस छेकोमा अर्को सम्भावित सफल फिल्म आउँदै छ– डंकी । राजकुमार हिरानीले आफ्नै लेखनमा निर्देशन गरिरहेको ‘डंकी’ मा अभिनेता खानले आफूले जीवनकालमै नगरेको मिहिनेत गरेको र त्यसको परिणाम पर्दामा देखिने सन्देश फ्यानलाई दिइसकेका छन् । त्यसो त हिरानी आफैंमा फिल्मका जादुगर हुन्, उनी संलग्न फिल्म त्यसै खेर भने जाँदैन ।

‘बेटेको हाथ लगाने से पहले बाप से बात कर’, ‘जवान’ को यो डायलगले फ्यानमाझ खुबै डंका पिट्यो । त्यसो त ‘जवान’ मा शाहरूख आफैं बाबु र छोराको दोहोरो भूमिकामा छन्, तर यो डायलगलाई दर्शकले पर्दामा मात्रै सीमित रहेर बुझेनन् । उक्त डायलगले उनीहरूलाई शाहरूखकै बाबु–छोराको घटना सम्झायो । सन् २०२१ मा मुम्बईमा आयोजित एक पार्टीमा लागूऔषध प्रयोग गरेको आरोपमा शाहरूखका छोरा आर्यनलाई प्रहरीले पक्राउ गरेको थियो । पछि उनी धरौटीमा रिहा भए, तर उक्त घटनाले बाबु शाहरूख निकै बदनाम भए । छोरालाई सही बाटो हिँडाउन नसकेको भन्ने आलोचना खेप्दै उनी छोरा र परिवारको बचाउमा लागिरहे । पछि ‘पर्याप्त प्रमाणको अभावमा’ भन्दै आर्यन छुटे भने उक्त मुद्दा नार्कोटिक ब्युरोमा काम गरिसकेका र मुम्बई लागूऔषध खोजतलासका प्रहरी प्रमुख समीर वांखेडेतर्फ मोडियो । उनलाई आर्यन छुटाउन घूस खाएको आरोपमा भ्रष्टाचार मुद्दा लागेको छ ।

भारतमा केही वर्षयता बलिउड तारोमा पर्दै आइरहेको छ । अझ खासगरी बलिउडकै हस्ती मानिने तीन खानहरू तारोमा छन् । ठूलो फ्यान फलोइङ भएका यी स्टारलाई ड्यामेज गर्नकै लागि सामाजिक सञ्जालमा अर्को तप्का जोडतोडले लागिरहेको छ । कतिपय त यसलाई राजनीतिक, धार्मिक प्रतिशोध पनि मान्छन् । हिन्दु कट्टरवादी भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वको सरकार हिन्दुइतरप्रति अनुदार रहने गरेको आरोप नयाँ होइन । तर, यसको पछिल्लो टार्गेट बलिउड पर्न थालेको अनुमान छ । त्यसैको परिणामस्वरूप पनि शाहरूखलाई साइजमा ल्याउन छोरा आर्यनलाई लागूऔषधमा फसाउन खोजिएको शंकाको सुविधा छ । यसैले पनि शाहरूखले ‘जवान’ मा बोलेको उक्त संवाद यतिबेला फ्यानका लागि स्वादिलो लागिरहेको हो । ‘पठान’ कै बेला पनि भाजपाकै एक नेताले बखेडा नझिकेका होइनन् । फिल्मको गीतमा कलाकारले लगाएको गेरुवा वस्त्रकै सामान्य निहुँमा धार्मिक विवाद झिकेर फिल्म नै चल्न नदिनेसम्मका धम्की दिइयो । तर, दर्शक, शुभचिन्तकले त्यसलाई अतिवादको रूपमा लिए र ‘पठान’ सफल बनाउन दिलोज्यान दिएर लागे ।

करिअरको सुरुवातमा चकलेटी हिरो हुँदै ‘देवदास’ को पागलप्रेमी, रोमान्स किंग, एन्टी हिरोदेखि यतिबेला एक्सन किंगका रूपमा आफूलाई सफलतापूर्वक उभ्याएका शाहरूखप्रति एउटा धारणा छ– उनी जे पनि बन्न सक्छन् र जसरी पनि बन्छन् । र, त्यो रुचाइन्छ पनि । फ्यान फलोइङमा शाहरूखपछि सलमानलाई बलियो स्टार मानिन्छ । तर, शाहरूखको स्टारडमको फैलावट यति विश्वव्यापी छ कि दायराका हिसाबले सलमान धेरै पछि छन् ।

एकपटक टीभी सो ‘द अनुपम खेर सो’ मा शाहरूखलाई खेरले सोधेका थिए, ‘के तपाईंलाई भविष्यमा कुनै दिन यो स्टारडम गुमाउँछु कि भन्ने डर लाग्छ ?’ गालामा डिम्पल पर्नेगरी मुसुक्क मुस्काउँदै खानले भनेका थिए, ‘स्टारहरूमा म नै अन्तिम हुँ ।’ उनको भनाइको आशय थियो– आफूपछि अब कसैको पनि यो आकारको फ्यानफलोइङ आर्जन गर्न सक्नेछैन ।

शाहरूखभन्दा उम्दा कलाकार आउलान्, अहिले नै धेरै छन् । तर, उनको जस्तो स्टारडम हलिउडमै पनि टम क्रुज, ब्राड पिट वा जोनी डिपको भन्दा लोभलाग्दो र ठूलो मानिन्छ । यसो हुनुमा मुख्यतः शाहरूखको आफ्नै पृथक् लवजको डायलग डेलिभरी, रोमान्सको अदाको लोकप्रियता हो नै, त्यसबाहेक बलिउडजस्तो विश्वकै धेरै फिल्म निर्माण हुने उद्योग र विश्वकै अधिक जनसंख्या भएको भारतको हुनुले पक्कै सघाएको छ ।

बलिउडमै पनि करोड क्लबको सुरुवाती झन्डा गाड्नेमा आमिर खान अघि आउँथे भने धेरै फिल्म करोड क्लबमा छिराउनेमा सलमान पर्थे । यो दौडमा शाहरूख केही पछि थिए । भलै उनका ब्लकबस्टर्स हिट भएका फिल्मताका भारतीय फिल्मको बजार करोड हाराहारीमा बनिसकेको थिएन । यसका लागि उनले सन् २०११ को ‘डन २’ सम्म कुर्नुपर्‍यो । त्यसबीचको छ वर्षमा उनका ५ वटा फिल्म बक्सअफिसमा एक सय करोड कलेक्सन पार गर्ने बने भने ‘चेन्नाई एक्सप्रेस’ ले २२७ करोड कलेक्सन गरेको थियो ।

तर, अहिले माहोल पूरै फेरिएको छ । आमिर र सलमानले हिट फिल्मसमेत दिन नसकिरहेका बेला शाहरूखले आफुलाई दुई सय करोड क्लबबाट एकैपटक ६ सय करोड क्लबमा अपडेट गराइदिए, त्यो पनि करिअरको उत्तरार्द्धमा । त्यसो त उनको करिअरकै फिल्म सफलता दर ६३ प्रतिशतभन्दा बढी छ । २१ वर्षअघिको उनको फिल्म ‘ए लम्हे जुदाई के’ ले शाहरूखको करिअरमै कम ५७ लाख भारु कलेक्सन गर्दै सुपरफ्लप भएको थियो भने आज उनको प्रतिस्पर्धा आफ्नै फिल्मसँग चलिरहेको छ । अहिले त उनको प्रतिस्पर्धा भारतभन्दा बाहिर हलिउडसँग हुन थालेको छ । ‘पठान’ र ‘जवान’ को सफलतापछि शाहरूखलाई नै विश्वको सर्वाधिक ठूलो मुभी स्टार मान्न थालिएको छ । कम मूल्यका टिकटका कारण रेभिन्युमा हलिउड फिल्मको कलेक्सनलाई जित्न कठिन भए पनि दर्शक संख्याका आधारमा शाहरूखका फिल्म हेर्ने दर्शक यतिबेला सर्वाधिक देखिएको तर्क गरिएको छ । र, यसमा विश्वास गर्न सकिने आधार पनि छ ।

स्टारडमको आकार देखेरै पछिल्लो समय नेटफ्लिक्सले समेत शाहरूखप्रति लगानीको हात बढाएको छ । उसले खानको फिल्म निर्माण कम्पनी रेडचिल्ली इन्टरटेनमेन्टमार्फत फिल्म बनाउन खोजिरहेको छ । अहिले नै नेटफ्लिक्सले शाहरूखका दर्जन पुराना हिट फिल्म किनेर आफ्नो प्लाटफर्ममा राखेको छ । पुरानै फिल्म सही, शाहरूख यतिबेला नेटफ्लिक्सका ८६ लाख सब्सक्राइबरमाझ पुगेका छन् । यसले उनको फ्यान फलोइङको दायरा अझै फराकिलो पार्ने र ग्लोबलाइज्ड हुन थप सघाउने देखिन्छ ।

नेटफ्लिक्सका कन्टेन्ट प्रमुख टेड सारान्डोस शाहरूखको स्टारडम क्रेज देखेर छक्क छन् । भन्छन्, ‘शाहरूख दर्शकको सर्वाधिक हुटिङ पाउने भारतीय कलाकार हुन् । भारतीय सिनेमालाई विश्वमाझ चिनाउनुमा उनको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । उनलाई दर्शकले दिएको उपमा किंग खानले नै यी सबै कुरालाई सिद्ध गरिदिएको छ ।’ नेटफ्लिक्सले शाहरूखको पहिलो फिल्म ‘डियर जिन्दगी’ सँगै ‘ह्याप्पी न्यु इयर’, ‘दिलवाले’ र ‘ओम शान्ति ओम’ आफ्नो प्लाटफर्ममा राखेको छ ।

५ वर्षअघि नै ‘फोर्ब्स’ म्यागाजिनले शाहरूखको कमाइको आधारमा विश्वको बिगेस्ट मुभी स्टारका रूपमा उनलाई सूचीकृत गरेको थियो । ‘फोर्ब्स’ ले भारतीय फिल्म निर्माण अमेरिका र चीनमा भन्दा बढि हुने जनाउँदै सन् २०१२ मा बलिउडमा २.६ विलियन फिल्म टिकट बिक्री भएको, जुन हलिउडको १.३६ भन्दा अधिक रहेको तर्क गरेको थियो । ‘फोर्ब्स’ ले उक्त वर्ष शाहरूखले टम क्रुजभन्दा बढी कमाएको तथ्य सार्वजनिक गरेको थियो ।

इन्डियन प्रिमियर लिगमा ‘कोलकता नाइट राइडर्स’ र क्यारिबियन प्रिमियर लिगमा ‘ट्रिबागो नाइट राइडर्स’ क्लबका मालिकसमेत रहेका शाहरूखलाई ‘न्युज विक’ म्यागाजिनले सन् २००८ मै विश्वका सर्वाधिक शक्तिशाली ५० व्यक्तिमा सूचीकृत गरेको थियो भने गत वर्ष ‘इम्पायर’ ले गरेको पाठक सर्वेक्षणमा पनि उनी विश्वका सर्वकालीन ५० उत्कृष्ट कलाकारमा परे । र, यस वर्ष ‘टाइम’ म्यागाजिनले निकालेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि उनी छन् ।

प्रकाशित : आश्विन ६, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?