१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

म कोठाभित्रकी एकल यात्री

किताब सबैको साथी हो, तर एकल जीवन जिउनेका लागि जीवनसाथी
सविता गौतम दाहाल

उनी बितेपछि राजधानीमा बिनाचित्तबुझ्दो काम बिलकुल बस्न मन लागेन । विषयमिल्दो केही काम खोजेँ, पाएँ र केही दिन गरेँ पनि । आंशिक काम र दाममा रमाउन सकिनँ । घर सल्लाह गरें, तीन महिना पुरानै काममा फर्किने र एक्लै बस्न सकिन्छ/सकिँदैन कोसिस गर्ने, नसके राजधानी फर्कने कुरा भयो । मन दरो पारेर गृह सहर आएँ, काममा जोडिन चाहेको निवेदन दिएँ र जागिर खान थालेँ । जब घरदेखि जागिर भएको सहर फर्कें, म भित्ताहरूले घेरिएको भवनमा एक्लै बस्छु । सुरुसुरुमा राति झस्किन्थें, दिउसो एक्लै रुन्थें, डर पनि लाग्थ्यो किनकि पहिले घरमा कहिल्यै एक्लै बस्नुपरेको थिएन ।

म कोठाभित्रकी एकल यात्री

घरमा केही हरिया पातहरूको जीवन्त संकलन छ, कुनै जमिनमा छ त कुनै गमलामा । म पातहरूको लयमा सधैं मोहित थिएँ, अहिले पनि छु, मलाई हरियोको साथ खूब मन पर्छ । थाहै नपाई चार वर्ष भइसकेछ– खाने टेबलमा, बैठककोठामा, सुत्ने कोठामा एक्लै बस्न थालेको, साँझ छतमा जान थालेको । तीन महिनाको परीक्षणकाल सकिएर पनि कति धेरै समय बितिसकेछ । फुर्सदमा धेरैजसो पढछु– अनुसन्धानका किताब वा विज्ञानका वा साहित्यका । नपढे कि सिनेमा हेर्छु– सिरिज वा युट्यबका छोटा कथा वा जीवनी ।

केही नगरी, केही नहेरी बस्न साह्रै सकस हुन्छ । भनौं छटपटाउँछु, एउटा किताब समाएपछि शान्त हुन्छु । भोकाएको बच्चाले दूध पाएजस्तो मेरो एक्लोपनको साथी मात्रै किताब, मोबाइल वा ल्यापटप हो, जहाँ म पढ्न वा हेर्न सक्छु– कथा वा जीवन वा युद्ध वा विज्ञान । कामपछिको समय मलाई उति मन पर्दैन । कसैले कामपछि कतिखेर घर आउँछे भनेर पर्खेको पनि हुँदैन । नमीठो लाग्छ सम्झँदा, त्यसैले दुई ठाउँमा काम गर्छु र पनि मलाई कहिलेकाहीँ काम कम लाग्छ । सधैं अफिसबाट ढिलो निस्कन्छु, कहिलेकाहीँ कोही साथी/भाइलाई फोन गरेर ‘भेटौं’ भन्छु । प्रायः अफिसमा काम गर्ने महिला मित्र घर पुग्ने हतारोमा हुने र कतिको घरमा बच्चा फर्कने बेला भएकाले फोन उठ्दैन । घरमा खाना आफैं बनाउँछु, किनमेल गर्छु र पनि एक्लै परेको पल एकदम नमज्जा लाग्छ । प्रायः बिहानको समय प्राणायाम, व्यायाम र ध्यानमा बित्छ । छोटा बिदा अचेल पटक्कै मन पर्दैन ।

सुरुसुरुमा बिदामा साथी वा आफन्तलाई फोन गर्थें, भेट्न जान्थें, खाना खान बोलाउँथें, तर सबै व्यस्तताले आउन भ्याएनन् । पछि पछि बोलाउन छोडें, फोन गर्ने क्रम पनि घट्दै गयो । बिस्तारै बुझ्दै गएँ, म साँच्चै एक्लो छु, कुनै अन्य तरिकाले यो रिक्तता पुरिने रहेनछ । आँसुले बेलाबेला साथ दिइरह्यो, भक्कानो पनि कहिलेकाहीँ मभित्र फुट्थ्यो । बुझ्दै गएँ एक दिन होइन, दुई दिन होइन, महिना दिन होइन, बर्ष दिन होइन, म त अब बाँचुन्जेलका लागि एक्लै भइसकेकी रहेछु ।

सानातिना यात्रामा एक्लै हुन थालेँ । सुरुसुरुमा त आफू संसारमा एक्लै भएको विश्वास लाग्दैनथ्यो । बेलाबेला झसंग हुन्थें र आत्मसात् गर्थे आफ्नो अवस्थाको । सृजनशील भएकाले सृजनाहरू निरन्तर गरिरहेँ । सृजना र अध्ययन त म हिजोका दिनमा पनि गर्थें । नयाँ नाता पनि बने– कोही साथी, कोही दाजु, कोही दिदी, कोही बहिनी, कोही भाइ । दाजु भनेर बनेको नाता नराम्ररी टुट्यो, म सायद बहिनीको भूमिकामा मिलिनछु । पुरुष साथीहरूसँग पनि दुईचार दिन कुरा भएपछि म सही साथी होइन भन्ने लाग्न थाल्यो र आहत भएँ । नयाँ दिदीसँग मेरा रुचिहरू मेल खाएनन्, पातलिँदै गयो भेटघाट । नाताका बहिनीहरूको पेसा थियो, परिवार थियो, म अटाइनँ । भाइहरू आफ्नै तालमा हुँदा रहेछन् खासै जमेन । नाता हुर्काउने कोसिसमा असफल भएँ ।

बिस्तारै पुस्तकका लेखकलाई साथी ठान्दै किताबका पानामा भेटघाट बढाउँदै गएँ– अति सुरक्षित, न साथी रिसाउला भन्ने डर, न बोल्न नजानिएलाको भय, न हिसाबको गडबड । खाँदै, पिउँदै विजय कुमार, रमेश सायन, रामलाल जोशी, सरस्वती प्रतीक्षाहरूलाई साथी बनाएँ । युअल नोहा हरारी, मार्क म्यानसन, गीताञ्जलीहरूसँग संगत बढाएँ । अंग्रेजीका सिरिज हेरेर, अंग्रेजी भाषासँगको पुरानो पिरतीलाई ताजा बनाएँ । हो, म एक्लै रमाउन थालें । अनेकन् पात्रसँग हाँस्न, रुन थालेँ । उनीहरूको हाउभाउ चिन्न थालेँ । तिनका वस्त्र, केशविन्यासलाई कलाको आँखाले हेर्न थालें, एक्लोपन छुमन्तर हुँदै गयो ।

अल्फ्रेड जेलिनेकको पियानो गुरु हेर्दै चिया, कफी पिउन थालें । टोनी मोरिसनका मन छुने भाषण, कालाहरूको संघर्ष, इतिहास सुन्ने, एलिस मुनरोलाई भेट्ने र मन पराउने अनि डोरिस लेस्सिङको सुनौलो नोटबुक सुटुक्क चियाउने मान्छे बन्दै गएँ । कोठाभित्रकी एकल यात्री हुनुको नशामा रहन थालेपछि घरमा भएका पानादार नयाँ, पुराना थरीथरीका रममा रमाउने भइयो । हर फुर्सदमा पाना पिउने भइयो, बजार गएर किताब किन्न कुद्नुपरेको छैन । सुन्न मिल्ने अक्षरहरू मेरानिम्ति मेरा हजुरआमाहरूका आशीर्वाद भएका छन् ।

आफू त संसार डुलुवा भइसकेछु । ‘एमिलि इन पेरिस’ नामको सिरिज हेरेर पेरिस सहरका कलाहरू चहारेँ, फ्रान्सका ठाउँहरू पुगेँ, फेन्च भाषाको संगीतमा झुमेँ । लन्डन वा अमेरिकाका मानिसका रहनसहनमा भुलिनु सामान्य हुन थाल्यो । एकल यात्री सकल विश्व यात्रामा छु, संसारभरका सिद्धान्त वा सिनेमाका मन लागे निचोड सुन्छु, समयले भ्याए पूरै डुब्छु । आफूखसीको यो जीवनमा आफूलाई खुसी राख्ने हर सम्भव प्रयत्नमा छु ।

कुनै पनि एकल महिला, जसका पति ईश्वरका प्रिय बनेर सदाका लागि गए वा उनीहरू कानुनी रूपमा पतिसंँग छुट्टिए, ती महिलालाई फेरि जीवनसाथी पाउन गाह्रो छ । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा महिलाले पतिको घर धानेका हुन्छन् । कन्यादान दिएर बाबुआमाले अर्काको गोत्रमा दान दिएका हुन्छन् (अपवादबाहेक) । कुनै हालतमा महिलाका लागि नयाँ साथीबारे अरुले सोचेको कमै पाइन्छ ।

हाम्रै गाउँमा कति दिदीबहिनी सानै उमेरमा पति गुमाएपछि जीवनभर बाँचेर, मरेपछि पतिकै गोत्रमा पिण्ड खान्छन् रहर भने पनि, कर भने पनि । अपवादबाहेक न कुनै बाबुआमा वा सासूससुरा वा परिवारका अन्य सदस्यले छोरी वा बुहारी वा भाउजू वा काकी वा माइजूको एकल जीवनबारे सोचेको वा साथी खोजिदिएको होस्– त्यस्तो सुन्न विरलै पाइन्छ । कतिको इच्छा हुँदैन, कतिलाई परिवारले साथ दिँदैनन्, कतिलाई विद्रोही बन्ने आँट आउँदैन् । र, उनीहरू भजनकीर्तनमा लागेर वा सेवाकार्यमा आफूलाई समर्पण गरेर जीवन बिताइदिन्छन् । मेरी सानीमा, फुपू दिदी जीवनभर एक्लै बसे, बसिरहेका छन् नयाँ जन्मने एकलहरूका चिरकालीन प्रेरणा बनेर । कसैले उनीहरूका निम्ति जीवनसाथी खोज्न वा कोही बन्न आउनेलाई पनि सहयोग गरेको प्रमाण छैन ।

हिन्दु धर्ममा नियमहरू छन्, जसले एकलहरूलाई न्याय गर्न सक्छ, तर त्यसतिर प्रायः कसैले जोड दिएको पाइँदैन । त्यो पाटो यौनशिक्षा जत्तिकै गौण छ । अहिले केही एकल महिलाले जीवनको मध्यपछि पनि साथी बनाएको हामीले सामाजिक सञ्जालमा देखेका, पढेका छौं । तर, यो कदमले व्यापक देखिँदैन, यद्यपि त्यस्तो हिम्मत र अनुकूलता सबै एकल महिलालाई मिलोस् भन्नेको जमात दिन प्रतिदिन बढदो छ ।

चाहना गर्नेले जीवनसाथी पाएका छन्, रमाएका छन् । पश्चिमा देशको धेरै कुरा हाम्रो समाजमा भित्रिए पनि एकल महिलाहरू कोही पुरुषसँग सँगै बस्ने चलन भित्रिएको छैन । यसलाई अहिले पनि नराम्रो नजरले हेरिन्छ । तर, म एकल पुरुष र एकल महिला एकअर्कालाई साथ दिन सक्छन् जीवनको उत्तरार्द्धमा अनि यो कुरा समाज र परिवारले बिस्तारै बुझनेछ भन्ने विश्वास राख्छु ।

चाहेको कुरा मान्छेले ढिलो–चाँडो पाउँछ । ‘तँ चिता, म पुर्‍याउँछु भन्छन् रे ईश्वर,’ आमाले भनेको सानै छँदा सुनेकी हुँ । मैले अक्षरसँगको यात्रा रोजेकी छु, कलेजमा अक्षरको संयोजन सिकाउँछु कलिला कर्णधारलाई । सुन्दर संयोजन बनेको पल नाच्छु पनि । अक्षरले कुँदेका कलालाई सुनाउन मेचीदेखि महाकालीसम्म यात्रा गर्छु । कलापारखीको निम्ता पाउनु आशीर्वादको लय हो, जो मैले सायद अचेतनमा राखेकी छु– रोन्डा ब्राइनले ‘रहस्य’ किताबमा भनेजस्तै ।

किताब सबैको साथी हो, एकल जीवन बिताउनेका लागि चाहिँ यी जीवनसाथीजत्तिकै हुन् । धेरै भो अचेल राति डराउँदिनँ । चट्याङ परोस् वा भुइँचालो आओस्– एक्लै बसेकी छु । कसैलाई साथका लागि बोलाउँदिनँ । हिजो लाग्ने डरलाई जितेकी छु । कोठाभित्रकी एकल यात्री म, यात्रामा असल लेखकका अनेक पात्रसँग एउटै कोठामा रोमाञ्चक यात्रा गरिरहेकी छु ।

प्रकाशित : आश्विन ६, २०८० ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?