कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
नाटक 'दमिनी भीर'

लच्छीको दुःख गाइरहेको सहनाइ

जातीय विभेदले जकडिएको सामाजिक संरचना र त्यसबाट पिल्सिएका, उत्पीडनमा परेकाहरूको संघर्ष–कथा ‘दमिनी भीर’ ले भन्छ

पुस्तक पढ्दा हामी कल्पनाको छुट्टै महासागर पुग्छौं । तर, जब त्यही पुस्तक मञ्चमा उतारिन्छ, तब त्यसले टेक्स्टभित्रका पात्र र परिवेशको दृश्य पस्किदिन्छ । कल्पनालाई दृश्यमा उतार्नु चुनौतीपूर्ण हुन्छ ।

लच्छीको दुःख गाइरहेको सहनाइ

त्यो चुनौती आत्मसात् गर्दै लेखक राजन मुकारुङ र निर्देशक इँगिहोपो कोइँच सुनुवारले ‘दमिनी भीर’ उपन्यास (२०६९ मा मदन पुरस्कार प्राप्त) माथि नाटक बनाएका छन् । मण्डला थिएटरमा मञ्चरत नाटकमा तपाईं उपन्यासका सबै प्रिय पात्र भेट्नुहुनेछैन । सबै कथा पनि मञ्चमा देखिनेछैनन् । उपन्यासका सबै पात्र र कथालाई दुरुस्तै नाटकमा देखाउन सम्भव हुँदैन पनि । सायद त्यसैले निर्देशक र लेखकले नाटकमा प्रस्तुत गर्न खोजेको विषयमा आधारित पात्र मात्रै मञ्चमा उभ्याएका छन् । जात व्यवस्थाले थिचिएको समाज देखाउन नाटकमा पुस्तकबाट त्यस्ता पात्रलाई केन्द्रमा उभ्याइएको छ, जो विभेदविरुद्ध उभिने हिम्मत राख्छन् । नाटकमा जातीय विभेदले जकडिएको सामाजिक संरचना र त्यसबाट पिल्सिएका, उत्पीडनमा परेकाहरूको संघर्ष छ । विषयसँग सम्बन्धित पात्र र कथा मात्रै मञ्चमा उतार्ने निर्देशक–लेखकको चलाखीपूर्ण निर्णयले ‘दमिनी भीर’ लाई मजबुत बनाएको छ । जनआन्दोलन, विकास र विनाशका विषय पृष्ठभूमिमा राख्दै नाटकले मूलतः जात व्यवस्थामाथि मल्हम लगाउन खोजेको छ ।

नाटकको सुरुवातै गजब्बको छ । घोडचढीमा सवार काजी सुके दमाइको आँगन धाइरहन्छ, ऋण फिर्ता माग्ने निहुँमा दमिनीमाथि आँखा गाड्छ । काजीको ऋण तिर्न सुकेसँग लाहुर पस्नुको विकल्प हुँदैन । एक्ली दमिनीमाथि काजीले बलात्कार गर्छ । त्यसपछि दमिनीले भीरबाट हाम फालेर आत्महत्या गर्छे । त्यो भीरको नाम ‘दमिनी भीर’ यसरी रह्यो । ‘दमिनी भीर’ को यो कथामार्फत दर्शक सुरुमै नाटकले उठाउन खोजेको विषय निकट पुग्छ । त्यसपछि सुरु हुन्छ, लच्छी (माइली) र चेतनको कथा । दमिनी भीरकै व्यथा सम्झाउने कथा । कथित ठूलो जातका चेतनले कथित तल्लो जातकी लच्छीलाई बलात्कार गर्छ । सुरुमा लच्छीको परिवार प्रतिरोधमा उत्रिन्छ, त्यसपछि अचानक घटना लुकाउनतिर लाग्छ । त्यसमाथि समाजको छिःछिः, दुरदुर ! अब के लच्छीले सुकेकी पत्नीले झैं दमिनी भीरको कथा दोहोर्‍यालि ? उपन्यासका पाठकलाई त थाहै होला, लच्छीले त्यसपछि लिने सशक्त निर्णय र विद्रोही गाथा । त्यही निर्णयले नै त दमिनी भीरको कथा अगाडि बढाउँछ ।

लच्छीको कथाले नेपाली समाजभित्रको कुरूप स्वरूप देखाउँछ । कथित उपल्लो जातले कथित तल्लो जातलाई गर्ने दुर्व्यवहार र हिंसा देखाउँछ । नाटकले जात व्यवस्थाको अर्थतन्त्र उजागर गर्छ । नाटकमा कथित उपल्लो जातका अधिकांश पात्र आर्थिक रूपले सम्पन्न छन् । ऋण दिन सक्ने हैसियत राख्छन् । तर, कथित तल्लो जात पीँधको पीँधमै छन् । उनीहरू ऋण लिन सक्छन्, समयमा चुक्ता गर्न सक्दैनन् । नाटकले पीँधका मान्छेको आवाजलाई शक्तिमा भएकाले कसरी दबाउन खोज्छन् भन्ने विषय छोएको छ । छोरीमाथि भएको अपराधविरुद्ध आवाज उठाउन पुगेकी लच्छीकी आमाको दबाइएको स्वर त्यसको उदाहरण हो, आक्रोशमा घरबाट निस्किएकी उनी रक्सीको मातमा घर फिर्छिन् र लच्छीलाई भन्छिन्, ‘यो कुरा कसैलाई नभनेस्, प्रधानहरू हुन् ।’ आफूमाथिको दमनविरुद्ध बोल्दा अझै पनि दलितका आवाज कसरी दबाइन्छ ? यसको सशक्त उदाहरण पनि हो नाटक । जातकै कारण पाइसकेको डेरा गुमाएकी रूपा सुनारको आवाज दबाउन पनि समाजका एउटा तप्काले भनेको थियो, ‘आफ्नो सम्पत्ति भाडामा दिने/नदिने अधिकार घरवालाको हुन्छ ।’ रुकुम नरसंहारमै पनि यस्ता कदम नचालिएका होइनन् । यो नाटकले विभेदको पुनरुत्पादनमाथि पनि व्यंग्य गर्छ । काजीपछि चेतनहरूले बारम्बार विभेद गरिरहनुले भन्छ– समाजले जातिभेदलाई पुनरुत्पादन गर्दै छ ।

समाजको सार्थक कथा भन्ने ‘दमिनी भीर’ ले जात व्यवस्थाविरुद्धको संचरनाविरुद्ध लड्न प्रेरणा दिन्छ । साथै विभेदको पर्खाल भत्काउँदै न्यायमूलक समाज निर्माण गर्न सिकाउँछ । नाटकमा एउटा सशक्त दृश्य छ– लच्छीसहित गाउँलेहरू सडक ल्याउन दमिनी भीर फुटाइरहेका हुन्छन् । जातकै कारण आफूले भोगेको हिंसा/दमन सहन नसकेर दमिनीले त्यही भीरबाट आत्महत्या गरिन् । वास्तवमा त्यो भीर सामाजिक विभेदको अग्लो पहाडको प्रतिविम्ब हो । विभेदको यही पर्खाललाई गाउँलेले एकै मनको भएर फोडे । अग्लो भीर समतल भएर त्यो बदलियो, परिवर्तनको नयाँ रूपमा । विभेदको यही पर्खाललाई यसैगरी भत्काउन के हामी तयार छौं ? त्यो पहाड उखेलेर फ्याँक्ने न्यायमूलक समाजको घन के तपाईंको हातमा छ ? नाटकले अन्तरजातीय प्रेमले जात व्यवस्थामा ल्याउन सक्ने परिवर्तनको सानो झिल्को पनि प्रस्तुत गर्छ ।

के जातीय विभेदको पर्खाल भत्काउन हामी तयार छौं ? त्यो पहाड फुटाउने न्यायमूलक समाजको घन तपाईंको हातमा छ ?

नाटकमा विम्बहरूको प्रयोग बेजोड छ । जब सुकेकी पत्नी दमिनी भीरबाट आत्महत्या गर्छे तब सहनाई दुई फ्याक हुन्छ । र, पृष्ठभूमिमा त्यसको धुन गुन्जिरहन्छ । लच्छीमाथि चेतनले जबरजस्ती गर्दा पनि त्यो धुन गुन्जिरहन्छ । लाग्छ, सहनाईले लच्छीको चीत्कार/रोदन गाइरहेको छ । जब लच्छी आफूमाथिको अपराध सुनाउँछे, पृष्ठभूमिमा गुन्जन्छ, ‘के–को जालो ? के–को जालो ? माकुरीको जालो बरी लै ।’ पूर्वेली शैलीको यही गीतले पनि माकुरोको जालोजसरी गुजल्टिएर बसेको जात व्यवस्थालाई व्यंग्य गरिरहन्छ । बलात्कारको दृश्यमा चेतन मञ्चभन्दा माथिल्लो स्थानमा देखिन्छ । कथित उपल्लो जात कसरी तल्लो जातभन्दा माथि हुन्छन् ? यस दृश्यले प्रतिविम्ब गर्छ । नाटकमा प्रयोग संगीतले महत्त्वपूर्ण भूमिका खेलेको छ । कुनै दृश्यमा संगीतले जात व्यवस्थाको पीडा गाउँछ त कतै पात्रहरूको मानसिकता भन्छ । नाटकमा पूर्वेली स्वाद र संस्कृति पनि छ । पात्रले बोल्ने संवादमा पूर्वेली समाजको मीठास मिसिएको छ ।

समाजको जटिल आयाम पस्किन रैथाने शैली समातेको नाटकमा केही कमजोरीे छन् नै । सुके र दमिनीको कथा छोट्याउँदा कथाको बहाव अझै गतिशील बन्थ्यो । कथाको अन्तिमसम्मै लच्छी चेतनको पर्खाइमा छे । तर, ऊ किन पर्खाइमा छे ? यस प्रश्नको जवाफ नाटकले दिँदैन । चेतनकै अघि कान्छा रोज्न मात्रै चेतनको आगमन भएको आभास हुन्छ ।

पूनम थापा (लच्छी), किरण चाम्लिङ राई (कान्छा) र रियर राई (चेतन) को अभिनयले दर्शकलाई नाटकसँग जोडिरहन्छ । कलाकारहरूको अभिनय र निर्देशक इँगिहोपोको मिहिनेतले नाटक अब्बल बनेको छ ।

प्रकाशित : भाद्र ३०, २०८० १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?