२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

स्वरको सवारी

‘सवारी मेरो रेलैमा’ देखि नेपाली नारी गायनको औपचारिक गीत–रेकर्डिङको सुरुवात भएको थियो । शास्त्रीय संगीतका रागहरूमा खारिएकी मेलवादेवी तिनै हुन्, जो शब्द, संगीत र गायनलाई सुरहरूमा गाउँदै नेपालको मात्रै होइन, समग्र भारत–वर्षकी स्वर साधिका बनिन् ।
भूपेन्द्र खड्का

कोलकाताको रेलको फाटकबाट आफ्नो जीवनका लिकहरू सम्झिहोलिन् उनले । उस्ताद भगतकृष्णसँगको विवाह, चार सन्तानको जन्म, दुई पुत्रवियोग, चन्द्रशमशेर महाराजको आफूप्रतिको अनुराग, शुक्रराज शास्त्रीसँगको क्रान्तिकारी युगीन घनिष्ठता, आफूलाई डोकोमा बोकेर रुम्जाटारबाट राणा दरबारसम्म ल्याउने आफ्ना गुमनाम पिता अनि छोरीलाई दरबारकी स्वरसिंहिनी बनाउने सपना देखेकी आमा सप्तदेवी !

स्वरको सवारी

इलाहाबाद संगीत सम्मेलन – विसं १९८६ मा ‘ठुमरीकी रानी’ को पदवी पाएपछि मेलवादेवीले आफ्नो गायिकीलाई आफैं नजरान्दाज गर्ने मौका पाइन् र रचना तथा संगीत गर्दै स्वर भरिन्– सवारी मेरो रेलैमा ।

सानु र सानु लैलै कुसुमे रुमाल बरिलै

ज्यान तिमीले पायौ कि, सवारी मेरो रेलैमा !

यो एउटी नेपाली गायिकाको रचना, संगीत र स्वरको गीत मात्रै होइन, आजसम्मको इतिहासमा नेपाली संगीतमा शासकहरूबाट क्षमतावान् कलाकारलाई कसरी शोषण गरिन्थ्यो र देशनिकालासम्म गराउन बाध्य पारिन्थ्यो भन्ने एउटा उदाहरण पनि हो ।

झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै

मोहनी लायौ कि, सवारी मेरो रेलैमा

त्योभन्दा पहिले नसुनिएको नेपाली लोकलयमा आधारित शास्त्रीय–संगीत मिस्रित यस गीतमा शब्दको उत्कृष्टता त छँदै छ, संगीतको विशिटता अझ उच्च छ । लोकलयमा गीत बहँदै गर्दा बीचबीचमा आउने उनको शास्त्रीय गायनको तराना र मूर्छनाले गीतलाई अद्वितीय बनाइदिएको छ । संगीतका बुझक्कीहरू भन्छन्, ‘मेलवादेवी जत्तिको गायिकी र साधना लिएर आजसम्म पनि अर्की मेलवाको नेपाली संगीतमा जन्म हुन सकेको छैन ।’

गीतः सवारी मेरो रेलैमा स्वरलिपिः राजु सिंह/स्वर,शब्द,संगीतः मेलवादेवी

‘सवारी मेरो रेलैमा’ नेपाली संगीत संसारकै एक उत्कृष्ट गीत हो । खेम्टा (६/८) तालमा बनाइएको यस गीतको आलाप भने त्रिताल (४/४) मा छ । मन्द्रदेखि तार सप्तकसम्मको रेन्जमा कम्पोज गरिएको यस गीतमा मेलवादेवीको आवाजमा ‘टेनर क्लेफ’ टोन छ । यस्तो टोनमा संगीतका १२ नोट र अन्य कलालाई सहजै प्रस्तुत गर्ने गुण हुन्छ । यस गीतबारे संगीतकार राजु सिंह भन्छन्, ‘मेलवादेवीको गायिकीमा यति शुद्धता छ कि मन्द्र सप्तकको तीव्र ‘म’ लाई पनि सावधानीपूर्वक शुद्ध स्वरमा गाइएको छ । शास्त्रीय गीतहरू प्रायः हार्मोनियमको कालो पर्दालाई आधार मानेर बनाइन्छ । यो गीत पनि त्यस्तै छ । बी फ्ल्याट माइनर स्केलमा कम्पोज गरिएको गीतमा हार्मोनी भने सी साफ मेजर नोटमा छ । पाश्चात्य गीतमा यस्तो कम्पोजिसन गाउन निकै कठिन हुन्छ । सेमी नोटहरू पनि निकै चल्ने हुनाले वाद्यवादकहरूलाई बजाउन पनि निकै कठिन हुन्छ । मेरो विचारमा मेलवादेवी यो भारत वर्षकै एक उत्कृष्ट गायिका हुन् र यो एउटा उत्कृष्ट गीत हो ।’

चन्द्रशमशेरको दरबारबाट बाहिरिँदा मनको बाघ र वनको बाघ, दुवैको सामना गर्दै कैयौं दिन लगाएर रेलको बाटो हुँदै उनी कोलकाता पुगेकी थिइन् । दुई पुत्र वियोगको व्यथालाई मुटुभित्र थुनेर गरिएको त्यो यात्रा चानचुने थिएन । देशबाट, देशको जंगलबाट एउटी कोइलीलाई धपाइँदै थियो– शासन, सत्ता र वैयक्तिक सम्बन्धहरूको आरोप लगाएर । दरबारमा कलाको सोख पूर्ति गर्न देशीभन्दा विदेशी कलाकारलाई निम्त्याउने राणा खलक स्तब्ध भएको थियो, उनको बहिर्गमनबाट । सुत्केरी भएकै महिना दिनपछि दुई चिचिला छोरीहरूलाई च्यापेर एउटी साहस र स्वरकी बघिनीको नेपाल बहिर्गमनले तत्कालीन समयमा खास अर्थ नराखे पनि अहिले भने मानक अर्थ राख्छ ।

नेपाली संगीतको सवा सय वर्ष र नारी गायन–रेकर्डिङको एक सय वर्ष पुग्नै लाग्दा नेपाली नारी गायिकीलाई खोतल्नैपर्ने हुन्छ । लोकगीत माटोको गीत हो । खोलाले गाउने भाका टिप्नलाई स्वरमा खास कसी लगाइराख्नु पर्दैन । हावाको सुस्याइ र चराको चिरिबिरीमा पनि लोकगीतले डाँडापाखा घन्काउन सकिन्छ । फेरि लोकगीत गाउन सकिन्छ भन्नुको तात्पर्य सजिलो छ भन्न खोजिएको होइन ।

जब कुनै गीतलाई, लयलाई शास्त्रीय नियममा बाँधेर बजागाजाका साथमा गाइन्छ, त्यहाँ पक्कै पनि सुर, ताल, लय, गति र यतिका नियमहरू लागू भइहाल्छन् ।

मेलवादेवीको स्वर जति सुरमा थियो, जीवन भने उत्तिकै बेसुर बन्यो । विसं १९५९ मा ओखलढुंगाको रुम्जाटार, चण्डीगाउँमा जन्मिएकी उनी आफ्नी आमा सप्तदेवी गुरुङको साथ लागेर ७ वर्षको उमेरमा चन्द्रशमशेरको दरबार पसेकी थिइन् । ‘लाहुर नगएको छोरो र दरबार नपसेकी छोरीको के काम’ भन्ने आहान प्रख्यात भएका बखत सप्तदेवीले छोरीलाई दरबारकी एक दलिन बनाउन सकिन्छ कि भन्ने सोचले डोकोमा बोकेर राणा दरबार भित्र्याएकी थिइन् । त्यति बेला सप्तदेवी दरबारमा काम गर्ने गुरुङ समुदायकी एक सुन्दर महिला थिइन् । जन्मजात कलामा दख्खल भएको गुरुङ खलककी मेलवादेवीमा पनि गायनको अद्भुत कला देखिएपछि महाराज चन्द्रशमशेरले ‘यी नानी त मित्रसेनभन्दा पनि तिखी रैछिन्, यिनलाई तिनीभन्दा ठूली गायिका बनाउनुपर्छ’ भन्दै दुई जोर छिटको धोती, चोलो र दुई दिनमा एक मोहोर बकस दिए । र, दुई वर्षका निम्ति सिंहदरबारको उत्तरपट्टिको सुसारे गृहमा आमाका साथमा बस्न थालिन् मेलवादेवी । त्यसपछि चन्द्रशमशेरकै निर्देशनमा उनले दरबारकै संगीतका उस्ताद ढुण्डे खाँ, गणपत, खेमचन्द्र, माधवप्रसाद र बालाप्रसाद शर्मासँग कलिलो उमेरदेखि नै आफ्नो स्वर तिखार्ने मौका पाएकी थिइन् ।

१२ वर्षको उमेरबाट आफ्नो बालस्वरलाई दरबारको बैठकीमा दर्ज गराएर मेलवाले गायिकीमा तिनै उस्तादहरूको बाटो पछ्याइन्, जसले उनलाई अनवरत ७ वर्ष शास्त्रीय संगीत सिकाएका थिए । नेपाली भाषाका विरलै गीत भए पनि शास्त्रीय संगीतको रागमा आधारित गीतहरू महाराजहरूका बैठक र खोपीहरूमा बज्थे, सुनिन्थे । मेलवादेवी पनि राणा दरबारकी मूल गायिकामा दरिइन् ।

छोडी जाऊ, तोडी जाऊ, मायालाई फोडी

दुःख गर्नु, सुख गर्नु तिम्रै निम्ति गोरी

मिर्मिरे झ्यालैमा

आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा ।

रंग तिम्रो, ढंग तिम्रो देख्ता आफैं बसेँ

ज्यानै जावोस्, मानै जावोस्, लान कम्मर कसेँ

मिर्मिरे झ्यालैमा

आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा ।

सुकेको आवाजप्रति महाराजको मोह

स्वर, सुर र सुन्दरताले पूर्ण मेलवादेवीबाट चन्द्रशमशेर निकै प्रभावित थिए । चन्द्रशमशेरको हिमचिम मेलवादेवीसँग बढेपछि उनकी कान्छी रानी बालकुमारीदेवीमा रिसको पारो निकै चढ्यो र उनकै इसारामा मेलवादेवीलाई पानमा सिन्दूर राखेर खुवाइयो । त्यसपछि उनको स्वर भास्सियो । मेलवादेवीको धोद्रो स्वर मन नपरेपछि चन्द्रशमशेरले तुरुन्तै कोलकाताबाट सेन गुप्ता नाम गरेका बंगाली डाक्टर बोलाएर जाँच गराए । नाम चलेका नेपाली वैद्यले पनि हेरे । उनीहरू सबैले मेलवादेवीको स्वरको उपचार नेपाल मात्रै होइन, भारतमा पनि सम्भव नहुने बताएपछि चन्द्रशमशेरले बेलायतबाट घाँटी रोग विशेषज्ञ बोलाए । करिब दुई महिनाको उपचारपछि मेलवादेवीको स्वरमा केही सुधार त आयो, तर पहिलेको जस्तो सुमधुर हुन सकेन । मन्द्र र मध्य सप्तकसम्म खुल्ने स्वर तार सप्तकमा पुगेपछि सुकेर आवाज नै नआउने भयो । कसैको केही चीज मन पर्छ र गुनिलो लाग्छ भने जे पनि मन पर्न थाल्छ भनेझैं चन्द्रशमशेरले पनि मेलवादेवीको स्वरको तारिफ गर्न छाडेनन् । उनको सुकेको स्वरको तारिफमा चन्द्रशमशेर भन्ने गर्थे रे, ‘गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।’

चन्द्रशमशेरकालीन समयमा मेलवादेवीलाई खासगरी कुनै पुरुषले प्रत्यक्ष सम्पर्क गर्नु, प्रेम गर्नु र स्नेह देखाउनु भनेको बाघसँग कुस्ती खेल्नुसरह नै थियो । त्यस्तो अवस्थामा पनि चन्द्रशमशेरका छोरा बबरशमशेर र केशरशमशेरको मेलवादेवीप्रतिको आसक्ति निकै थियो ।

मेलवादेवीकी छोरी विमला दीक्षितले भारतबाट प्रकाशित पत्रिका ‘संगीत सरिता’ मा आमालाई सम्झँदै भनेकी थिइन्, ‘मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा केशरशमशेर पनि भुतुक्कै हुन्थे । एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले आमालाई भने– अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छ्यौ ? त्यसबेला आमाको प्रत्युत्तर थियो– पानी कति मात्रामा पर्छ, म त्यो भन्न सक्तिनँ, तर आकाशमा बादल आउँछ र पानी पर्छ, म यति भन्न सक्छु । अनि केशरशमशेरले ‘लौ तिमीले भनेको कुरा पुग्यो भने म तिमीलाई पाँच हजार रुपियाँ दिन्छु’ भनी आमासँग बाजी थापे । आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो । अनि केशरशमशेरले स्याबास भन्दै आमालाई पाँच हजार रुपियाँ बक्सिस दिए ।’

‘संगीत सरिता’ को अर्को लेखमा विमलाले आफ्नी आमालाई चन्द्रशमशेरकी प्रिय गायिकाका रूपमा चित्रित गरेकी छन् । चन्द्रशमशेर सिकारका बेला पनि मेलवादेवीलाई सँगै लिएर जान्थे । उनले गीत गाउन थालेपछि विशेषगरी मृगहरू उनको वरिपरि आउँथे । चन्द्रशमशेर मेलवादेवीको वरिपरि आएका मृगलाई सिकार नगर्न सहयोगीहरूलाई आदेश दिन्थे । यसरी पनि चन्द्रशमशेर मेलवादेवीको कला र गलालाई सम्मान गर्ने गर्थे ।

भगतकृष्ण र मेलवा खटपट

दरबारका तबलावादक भगतकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रूप, यौवन र धनसम्पत्तिप्रति त्यति नै आसक्त थिए । दरबारभित्रको खटपटबीच चन्द्रशमशेरले मेलवादेवीलाई काठमाडौंको विजयेश्वरीमा एउटा घर किनिदिए । २६ वर्षको उमेरमा १९ वर्ष राणादरबारमा संगीतको सेवा गरेर चन्द्रशमशेरकी रानीबराबरको सम्मान लिई उनी दरबारबाट निस्किन् । मेलवादेवी हाँसी–हाँसी तामदानमा चढेर सिंहदरबारबाट बाहिरिएको त्यो दृश्य सिंहदरबारको दोस्रो तलाको उत्तर कुनाको बुर्जाबाट महाराज चन्द्रशमशेरले बडो निरीह भएर निर्निमेष हेर्नुको विकल्प रहेन ।

साहित्यकार मदनमणि दीक्षितको एक लेखानुसार चन्द्रशमशेरले विसं १९८५ को वसन्त पञ्चमीको दुई दिनअघि दरबारमा फर्मान जारी गरे, ‘पाँच वर्षभन्दा बढी काम गरिसकेका इच्छुक नानी र सुसारेहरू वसन्त पञ्चमीको दिन सिंहदरबार छाडेर जान सक्छन् ।’ अन्ततः मेलवादेवी दरबारबाट बाहिरिने भइन् । मेलवादेवीको बहिर्गमनको खबरले आह्लादित बनेका चन्द्रशमशेरले दुःखका आँसु एक्लै बगाउनुको विकल्प रहेन । आफूले बक्सिसमा पाएका गरगहनामध्ये धेरै आफ्ना सुसारेलाई बाँडिदिएको पनि चन्द्र महाराजले चाल पाएनन् ।

दुईवटा विवाह गरेर ४ सन्तान जन्माइसकेका तबलावादक भगतकृष्ण मानन्धर मेलवादेवीको पछि लागे । प्रेमको नाटक गर्दै मेलवादेवीको दरबारिया संगतबाट फाइदा उठाउने हेतुले मानन्धरले मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा लगेर सिन्दूरपोते लगाइदिए । त्यसपछि भगतकृष्ण मानन्धरको तबला चन्द्र–दरबारमा बज्न छाड्यो । उनी दरबारमा निषेधित भए ।

मेलवादेवीसँग वैवाहिक जीवन गाँसेको कसुरमा त्यस बेला भगतकृष्ण पनि आफ्नो जातीय समाजबाट बहिष्कृत भए । सोही विषयमा भगतकृष्ण र मेलवादेवीको पारिवारिक खटपट सुरु भयो अनि विवाह गरेको केही वर्षमा मेलवादेवीको दाम्पत्य जीवन भताभुंग भयो । उनले आफ्नो घर सस्तैमा बेचिन् र शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णय गरिन् ।

शास्त्री–मेलवा मेल

धेरैले मेलवादेवी र शुक्रराज शास्त्रीबीच प्रेम सम्बन्ध पनि थियो भनेर अड्कल काट्ने गर्छन् । तर, वास्तविकता निकै फरक थियो । त्यतिबेला शास्त्री र उनका समकालिक जहानियाँ राणा शासनको जरा उखेल्न लागिपरेका थिए । राणा दरबारभित्रको सूचना थाहा पाउने एउटा गोप्य माध्यमको रूपमा शुक्रराज शास्त्रीले मेलवादेवीलाई प्रयोग गरे । चन्द्र महाराजकी प्रिय पात्र मेलवादेवीले शास्त्रीलाई थाहा पाएजति सूचना दिने गरेकी थिइन् । त्यसै बेला शुक्रराज शास्त्रीले आफ्नो नाटक ‘स्वर्गको दरबार’ मा मेलवादेवीलाई गीत गाउने अवसर दिए, ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो । एक मात्रै धर्म साधन, नारी घरको द्वार हो ।’

त्यस गीतमा प्रयोग भएका नारी सशक्तीकरणका शब्दहरू राणाहरूलाई बिझाउने खालका थिए । ‘नारी घरकी देवी हो’, ‘राज्य लक्ष्मी हो’, ‘माणिक मोती हो र राज्यमन्त्री हो’, ‘जोबिना स्वर्ग राज हुन असम्भव छ’ भन्ने शब्द र भाव यस गीतमा छन् ।

शुक्रराजसँगको क्रान्तिकारी मेलपछि चन्द्रशमशेर औंसीको बादल बने र मेलवादेवीप्रति कठोर निर्णय गरे । दरबार छाडेर जाने आदेशलाई मेलवादेवीले सहजै स्वीकार गरिन् ।

शुक्रराज शास्त्रीकै सल्लाहबमोजिम मेलवादेवी भारतको कोलकाता जाने निर्णयमा पुगिन् । यस सन्दर्भमा उनको दरबारिया गायिकी जीवनको पनि सम्बन्ध थियो । राणा दरबारमा गाना–बजानाका लागि आउने उस्तादहरू पनि मेलवादेवी–स्वरको पारखी मात्रै होइन, ठूला फ्यान नै थिए । उनीजस्ती गायिका भारतमा समेत नभएको भनेर उनीहरू चर्चा गर्थे र भारतमा गई संगीतमा अघि बढ्न प्रेरणा दिन्थे ।

सुलभादेवी र प्रवास जीवन

हप्तौंको यात्रापछि उनी कोलकाता पुगिन् । दरबारबाट निस्कँदाको रुपियाँ–पैसा, गरगहना र घर बेचेको सम्पत्ति उनीसँग थियो । संगीत मोह र त्यसलाई अझै कसी लगाउने उनको प्रतिबद्धतामा कमी आएको थिएन । पुत्र वियोगमा विक्षिप्त बनेकी उनी संगीतका सभा–समारोहमा झन् झुम्न थालिन् । कहिले इलाहाबाद संगीत सम्मेलनमा पुग्थिन् त कहिले रामगढ संगीत सम्मेलनमा । आफ्नो गलाको कौशल देखाएको ठाउँबाट उनी सुनका तक्मा पनि प्राप्त गर्थिन् । सोही क्रममा विसं १९८६ को इलाहाबाद संगीत सम्मेलनले उनलाई ‘ठुमरीकी रानी’ को दर्जा दियो । उमेरले चालीस कटेपछि मेलवादेवीको जीवनमा विविध उतारचढावहरू देखा परे । गायिकी कम हुँदै गयो । आर्थिक अवस्था खस्कँदै गयो । दुई छोरीको शिक्षादीक्षा र पालनपोषणका लागि उनी कोलकाताकै मारवाडी बालिका विद्यालयमा संगीतकी गुरुमा बनिन् । त्यही स्कुलमा छोरीहरू पनि भर्ना गरिन् । आफ्नै निवासमा संगीतको कक्षा पनि सञ्चालन गरिन् । आफ्ना शिष्यहरूलाई हिन्दी र बंगाली भाषाका गीत गवाएर अनि शास्त्रीय रागहरू सिकाएर उनले जीवन गुजारा मात्रै गरिनन्, त्यही पेसाको निरन्तरतासँगै कालान्तरमा दुई छोरीहरूको विवाहसमेत गरिदिइन् ।

तर, दुःखको कुरा के छ भने यी सबै कार्य मेलवादेवीले होइन, आफ्नो फेरिएको नाम ‘सुलभादेवी’ ले गरेकी थिइन् ।

स्वर, सुर र संगीतको मेल

मेलवादेवीमा सामाजिक, सांस्कृतिक र साहित्यिक उच्च चेतना राणाकुलले भरिदियो । कविता र गीति चेतनामा थप चेत र कला शुक्रराज शास्त्री र उनका साथीहरूको संगतबाट थपियो । शास्त्रीय संगीतको घरानाले गायिकीमा मात्रै होइन, शब्द छनोटमा पनि उनमा गुणात्मकता थपिदियो । जन्मिँदै संस्कृतिले सम्पन्न गुरुङ परिवारमा जन्मिएकी उनमा रुम्जाटारको पानी पिएको लय र गला स्वाभाविक थियो । शास्त्रीय संगीतको अभ्यासले सो गायिकीलाई लोक–संगीत मिश्रित शास्त्रीय संगीत बनाइदियो । फलतः उनका आफ्नै रचना रहेका गीतमा शाब्दिक गहनता, लयात्मकता, उच्चारणमा उचित ध्वनि र संगीतमा परिपक्वता पाइन्छ । तत्कालीन अवस्थामा भारतको कोलकातामा गीत रेकर्ड गर्न धेरै नेपाली गायक–संगीतकार पुग्ने गर्थे । त्यसमा संगीत प्रवीण नरराज ढकाल, मास्टर रत्नदास प्रकाश, गोपाल श्रेष्ठ आदि थिए । नरराज ढकालले त केही समय मेलवादेवीसँग संगीतसमेत सिकेका थिए । रत्नदास प्रकाश र गोपाल श्रेष्ठहरूलाई त्यहाँको स्टुडियो र रेकर्डिङबारे उनले जानकारी गराएकी थिइन् ।

संस्कृति अन्वेषक सुवी शाहका अनुसार, १९९०–९१ मा भारतको कोलकातास्थित ‘हिज मास्टर्स भ्वाइस’ (एचएमभी) मा ‘सवारी मेरो रेलैमा’ र अन्य ७ गीतको डिस्क रेकर्ड गराइन् मेलवादेवीले । गीत लेख्ने, संगीत भर्ने र आफैं गाउने अनि ७२ आरपीएम डिस्कमा रेकर्ड भएका गीत ग्रामोफोनमा बज्ने पहिलो नेपाली गायिका उनै बनिन् ।

‘सवारी मेरो रेलैमा’ बाहेक उनका गीत थिए– ‘आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा’, ‘हाई मेरो परदेशी प्रितम छाडेर जानुभो’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर’, ‘भूकम्पको त्रास’ (नेपाल भाषा), ‘थापा है थली’, ‘श्री ३ महाराज सुन प्रभु’, ‘न घरलाई घर कहिन्छ’ ।

हरियो भन्नु तुलसी पत्र, पहेंलो सुरती

परन्तुसम्म नहुने भए के गर्नु पिरती ।

हाय मेरो प्रदेशी प्रितम छाडेर जानुभो ।

संगीतका जिज्ञासुहरू भन्छन्, उनी आफैंले सिर्जना गरी लय भरेको यो गीत चन्द्रशमशेरलाई दरबारको कोठीमा सुनाउने गर्थिन् । चन्द्रशमशेरमा उनीप्रतिको अनुराग कलाको परखले भुतुक्कै हुने मेलवादेवीको स्वभाव र बहुमुखी प्रतिभामाथि थियो ।

स्वरको बैठान

दुई छोरीहरू शान्तिरानी र विमलाको विवाहपश्चात् मेलवादेवी फेरि एक्लै भइन् । उनले कोलकातास्थित नर्थ स्टेटको डेरामा बुढ्यौली काट्नुपर्ने भयो । सानै उमेरमा गुमाएका दुई छोराहरू ओम र मोहनको मातृ–स्मृति, राणा दरबारमा बिताएको सौखिन जीवनको विस्मृति, जीवनको सबैभन्दा ठूलो गहना आफ्नो आवाज दरबारमा गुमाएको पीडा लगायतका कुराले मेलवादेवी बिथोलिइरहिन् । जीवन एउटै कोठामा साँघुरियो । २०१२ साल मंसिरमा ५३ वर्षको उमेरमा खाना पकाउने स्टोभ पड्केर उनी खरानीमा परिणत भइन् । भारतमै बिहेबारी गरेका दुई छोरीहरूले पनि यो घटना थाहा पाएनन् । उनका धर्मपुत्र रामचन्द्र गुप्ताले लास बुझे । कोलकातास्थित हुगली नदीको कालीघाट किनारमा उनको अन्त्येष्टि गरियो । धरतीको धुनमा कालजयी गीत गाउने महान् गायिकाको निधन केवल वायुले चाल पायो ।

हुलाक टिकटमा कि मनमा ?

नेपाली नारीजातिकी महान् गायिका मेलवादेवीको सम्मानमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ । नेपाल फिलाटेलिक सोसाइटीका अनुसार, केन्द्रीय गोश्वारा हुलाक कार्यालयले व्यक्तिगत सिरिजअन्तर्गत सन् २०१२ को जुन–जुलाईमा मेलवादेवीको तस्बिरसहित जन्म र मृत्यु सालसमेत उल्लेख गरेर पाँच रुपैयाँ दरका हुलाक टिकट प्रकाशित गरेको छ ।

अब एआईले गीत गाउँछ, लेख्छ, संगीत भर्छ भन्ने भाष्य संसारभर छरिइरहेका बेला सरकारी कामकाजमा पनि कम मात्रामा प्रयोग हुने हुलाक टिकटमा मेलवादेवीको तस्बिर हुनु त्यस्तो ठूलो सम्मान पक्कै होइन ।

जन्मिनासाथै भाइरल हुने सौभाग्य पाएर आएका अहिलेका पुस्ताका कति गायक–गायिका, संगीतका साधकले मेलवादेवीलाई चिन्छन्, उनको कला र गलालाई चिन्छन् ? उनको गायिकीलाई साक्षी राखेर अहिले कति गायिकाहरू मेलवादेवीको संगीतपथमा छन् ?

सय वर्ष पुग्नै लागेको छ, मेलवादेवीले गीत रेकर्ड गरेको नेपाली नारी इतिहासको । उनको स्वर र संगीतको कदर गर्न आजका नारी–कोकिलहरूले आफ्नो स्वर सुरमा सुसज्जित गराउन संगीतका सात सुरहरूमा लगाइरहून् ।

प्रकाशित : भाद्र १६, २०८० १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?