कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

ठट्टा गर्दै हुनुहुन्छ, मिस्टर फाइनमेन !

नोबेल विजेता भौतिकशास्त्री फाइनमेनको जिज्ञासा, स्वभाव, मिहिनेती, उदारमना र संस्थापनसँगको विद्रोहभावले यो आत्मकथा प्रभावशाली छ ।
रोशन शेरचन

मैले पढेका भौतिकशास्त्री रिचार्ड फाइनमेनको पहिलो लेख सायद ‘विज्ञानको महत्त्व’ (भ्यालु अफ साइन्स) हो । त्यसपछि उनका अन्तर्वार्ताहरू सुनेँ । उनी लागे– एक अवतारी । फाइनमेनको आत्मकथा ‘स्योर्ली यु आर जोकिङ मिस्टर फाइनमेन’ (पक्कै तपाईं ठट्टा गर्दै हुनुहुन्छ, मिस्टर फाइनमेन) पढ्न खोजेँ । पीडीएफ डाउनलोड गरेँ पनि । तर, व्यस्तताले पढ्न सकेको थिइनँ । एक दिन फिक्सन डिजाइनर कुमार नगरकोटीले हार्डकपी पुस्तक गिफ्ट दिए । आश्चर्य र प्रसन्नताले भरिएँ । बिरलाकोटी पनि कम्ता अवतारी होइनन् !

ठट्टा गर्दै हुनुहुन्छ, मिस्टर फाइनमेन !

पुस्तकको शीर्षकको पनि रोचक घटना रहेछ । प्रिन्सटन युनिभर्सिटीको एक कार्यक्रममा चियासँग दूध लिने कि कागती ? भनेर एक महिलाले सोधिछन् । ‘दुवै’, फ्राइनमेनले भनेछन् । जिल्ल पर्दै महिलाले भनिछन्, ‘पक्कै तपाईं ठट्टा गर्दै हुनुहुन्छ, मिस्टर फाइनमेन ।’

उत्कट जिज्ञासा फाइनमेनको विशेषता रहेछ । बनिबनाउ झूटा विश्वासहरू भत्काउन उनी आफैं अघि सर्थे । जिज्ञासा निवारणको पराकाष्ठा एक घटना हेरौं । एकपटक कुरैकुरामा एक जनाले भनेछ, ‘मान्छेको पिसाब निस्कनुमा गुरुत्वाकर्षणको योगदान छ ।’ फाइनमेनले ‘त्यसो होइन’ भनेर देखाउन उनीहरूकै सामुन्ने टाउकाले टेकेर सफलतापूर्वक पिसाब फेरेर देखाइदिएछन् । यस्ता उटपट्याङ गर्ने उनी एक सामान्य व्यक्ति थिएनन् । उनी थिए–सन् १९६५ मा क्वान्टम इलेक्ट्रोडाइनामिक्समा नोबेल पुरस्कार पाउने अमेरिकी भौतिकशास्त्री ।

अर्को प्रसंग पनि रोचक छ । एक पटक कसैले भनेछ, ‘एस्पिरिन र कोक सँगै खादा मान्छे बेहोस हुन्छ ।’ फाइनमेनले भनेछन्, ‘मलाई त्यस्तो लाग्दैन ।’ बहस चर्किंदै गयो । कसैले भन्यो– बेहोस हुन एस्पिरिन पहिले लिनुपर्छ, पछि लिनुपर्छ वा कोकमै घोलेर पिउनुपर्छ वा त्यस्तो केही पर्दैन । ‘बुद्धिविलास मात्रै किन ? प्रयोग गरेरै थाहा पाऔं’ भन्दै उनी अघि सरे । फाइनमेन लेख्छन्, ‘मैले कुल ६ एस्पिरिन खाएँ । ३ बोटल कोक पिएँ । सर्वप्रथम २ एस्पिरिन र कोक । दोस्रोमा, कोकमा मिसाएर २ एस्पिरिन । र, अन्त्यमा कोकपछि २ एस्पिरिन । म कति खेर ढल्छु र उठाउँला भनेर उनीहरू मेरो वरपर उभिएका थिए । तर, म अचेत भइनँ । उनीहरू छक्क परे । त्यो रात म राम्ररी सुत्न सकिनँ । त्यस रात मैले रिम्यान जेटा फङ्क्सनको सुत्रमा काम गरेर बिताएँ ।’

ठट्टैठट्टाका पृष्ठहरूले भरिएको यो आत्मकथाले जति हसाउँछ, उति नै सोच्न बाध्य पार्छ । भौतिकशास्त्रका प्राविधिक विषयमा विचार राख्ने ल्याकत मेरो नभए पनि फाइनमेनको जिज्ञासा, कुनै फरम्याटमा बस्न नरुचाउने उनको फ्रि–ह्विलिङ स्वभाव, कडा मिहिनेत गर्ने बानी, उदारमना र संस्थापनसँगको विद्रोहभावले गहिरो प्रभाव छाड्छ ।

एमआईटी ग्राजुएट हुँदा फाइनमेन जन ह्विलरको (भौतिकशास्त्री) अनुसन्धान सहायक भएर काम गर्छन् । एक दिन ह्विलर भन्छन्, ‘फाइनमेन, अब तिमीले सेमिनारमा आफ्नो अनुसन्धानको निचोड प्रस्तुत गर्नुपर्छ, सेमिनारको अनुभव पनि चाहिन्छ ।’ त्यसबखत फाइनमेन इलेक्ट्रनको बिहेबियर (क्वान्टम सिद्धान्त) बारे अनुसन्धान गरिरहेका हुन्छन् । सेमिनारको दुई दिनअघि उनी हलमा विग्नरलाई भेट्छन् । विग्नर भन्छन्, ‘फाइनमेन तिमीले ह्विलरसँग गरेको काम रोचक छ, त्यसैले मैले सेमिनारमा हेनरी नरिस रसेललाई निमन्त्रणा गरेको छु । उनी विख्यात खगोलशास्त्री हुन् । गणितज्ञ प्रोफेसर जन भन न्यइमनलाई पनि डाकेको छु । भौतिकशास्त्रको प्रोफेसर पउलीलाई पनि यो विषय आकर्षक लाग्न सक्छ । प्रोफेसर आइन्स्टाइन हाम्रो साप्ताहिक सेमिनारमा कमै आउँछन् । तिम्रो काम रोचक भएकाले मैले उनलाई विशेष निम्तो पठाएको छु । खुसीको कुरा, उनी पनि आउँदै छन् ।’

जीवनको पहिलो सेमिनारमै कहलिएको वैज्ञानिक र गणितज्ञलाई निमन्त्रणा गरेको थाहा पाउदा अज्ञात भयले फाइनमेन पहेलिँदै जान्छन् ।

फाइनमेनले लेखेका छन्, ‘सेमिनारको दिन आउँछ । म अघि नै हल छिर्छु र सेमिनारको अनुभव नभएकाले सायद कालोपाटीमा धेरै नै समीकरणहरू लेखेछु । एकसे एक घाँग वैज्ञानिकहरूका अघि ती समीकरण कसरी व्याख्या गर्ने ? मेरो अनुभव थिएन । समीकरण लेखिरहँदा, आइन्स्टाइन हलभित्र छिर्छन् । मेरो नजिक आउँदै मृदुभाषामा भन्छन्– हेलो, म तिम्रो सेमिनारमा आएको हुँ । तर, पहिला मलाई बताऊ, चिया कहाँ राखिएको छ ∕ म चियातिर देखाउँछु । आइन्स्टाइन चिया भएतिर लाग्छन् । म बाँकी समीकरणहरू लेख्न थाल्छु ।

फाइनमेन अगाडि लेख्छन्, ‘प्रस्तुतीकरणको समय आउछ । म केही असमञ्जसमा पर्छु । कहाँबाट थाल्ने ? मेरो अघि मास्टर माइन्डहरू मलाई सुन्न व्यग्र छन् । जीवनकै पहिलो प्राविधिक प्रस्तुति । मलाई लाग्छ, म कपडा धुने मेसिनभित्र कोचिएको छु र केही समयमा फनफनी निचोरिनेछु । खैरो खामभित्रबाट नोट निकाल्दा मेरो हात काँपिरहेको मलाई अझै प्रस्ट सम्झना छ । तर, जादुजस्तो यस्तै केही भयो । यस्तो पटक–पटक भएको छ । जब मैले अनुसन्धानबारे बोल्न थालेँ, म विषयवस्तुमा यति एकाग्र हुँदै गएँ कि मलाई होसै भएन, हलमा को–को छन् ∕ बिनाभय म, क्वान्टम फिजिक्समा मलाई लागेका कुरा सबैलाई सुनाइरहेको थिएँ ।’

सेमिनार सकिन्छ । छलफल र प्रश्नोत्तरको बेला आउँछ । सर्वप्रथम पउली, जो आइन्स्टाइनको छेवैमा बसेका हुन्छन्, उनी भन्छन्, ‘मेरो विचारमा यो सिद्धान्त सही छैन ।’ कारणहरू बताउँछन् अनि आइन्स्टाइनतिर फर्कंदै भन्छन्, ‘के तपाईं मेरो विचारसँग सहमत हुनुहुन्छ, प्रोफेसर आइन्स्टाइन ?’ आइन्स्टाइन विनम्रतापूर्वक जवाफ फर्काउँछन्, ‘छैन..., हामीसँग अहिले नै उनको सिद्धान्त गलत भन्न पर्याप्त प्रमाण (इभिडेन्स) छैन । त्यसैले म अहिले नै विश्वासपूर्वक उक्त आइडिया सही छैन भन्न सक्दिनँ ।’ फाइनमेन लेख्छन्, ‘गुरुत्वाकर्षणको अझै उपयुक्त वैकल्पिक सिद्धान्त हुन सक्ने सम्भावना स्विकार्ने आइन्स्टाइन भिन्न आइडियाप्रति निकै सहिष्णु लागे । तर, मैले त पउलीले के–के कारण मेरो सिद्धान्तलाई गलत भने, त्यसमा ध्यान दिनुपर्थ्यो ।’

दोस्रो विश्वयुद्धकालमा (१९३९–१९४५) अमेरिकालाई चाँडोभन्दा चाँडो परमाणु बम निर्माण गर्नुपर्ने बाध्यता आइलाग्यो । हिटलरको सैनिक विश्वविजयको मार्चमा थियो । आइस्टाइनले २ अगस्ट, १९३९ मा अमेरिकी राष्ट्रपति फ्रांकलिङ रुजावेल्टलाई पत्र लेखेर ‘नाजीले परमाणु बम बनाउन सक्छन् तसर्थ अमेरिका आफैंले परमाणु बम बनाएर भए पनि नाजीलाई रोक्नुपर्छ’ भने । आइस्टाइन महान् वैज्ञानिक मात्रै नभई, मानवतावादी पनि थिए । उनको पत्रको गम्भीरतालाई विचार गरेर सन् १९४२ मा न्यु मेक्सिकोको लस अलामसको मरुभूमिमा मानहाटन प्रोजेक्ट स्थापना भयो । यस महात्त्वाकांक्षी प्रोजेक्टमा हजारौं वैज्ञानिकले काम गरेका थिए । फाइनमेनलाई मानहाटन प्रोजेक्टमा काम गर्न डाकियो । प्रोजेक्टको नेतृत्व सैद्धान्तिक भौतिकशास्त्री जुलियस रोवर्ट ओपनहाइमरले गरेका थिए । भर्खरै अपनहाइमरको जीवनमा बनाइएको सिनेमा ‘अपनहाइमर’ रिलिज भएको छ । परमाणु बमभन्दा कम कम्पन पैदा गरेको छैन सिनेमाले । लस अलामसको प्रयोगशाला गोप्य राखियो । धेरै काम कोडबाट गरिन्थ्यो । लस अलामसको रहस्यमय र रोमाञ्चक दुनियाँको वर्णन पुस्तकमा पढ्न पाइन्छ ।

फाइनमेनका विचारले हामीलाई विज्ञानसम्मत दृष्टिले जीवन र जगत् बुझ्न सघाउँछ । फाइनमेनले भनेका छन्, ‘मलाई के लाग्छ भने कुनै विषयको हामीलाई गलत जानकारी वा उत्तर हुनुभन्दा केही थाहा नभएको श्रेयस्कर । मलाई डर लाग्दैन यो भन्न कि यस ब्रह्माण्डमा भएका धेरै विषयबारे म अनभिज्ञ छु । त्यस्तो ब्रह्माण्डमा, जहाँसम्म म भन्न सक्छु, जसको उत्पत्तिको पछिल्तिर कुनै प्रयोजन छैन ।’

विज्ञानप्रतिको निष्ठा अग्घोर थियो उनमा । प्रिस्टनको विद्यार्थी छँदाको एउटा घटना हेरौं । ‘पापाज् प्लेस’ नामक सानो रेस्टुराँमा फाइनमेन केहि खादै थिए । त्यति नै बेला पेन्टिङ गर्दा लगाउने लुगासहित भर्खरैजसो रोगन लगाएर एक जना पेन्टर उनी नजिकै बस्छन् । दुवैको कुराकानी हुन्छ । पेन्टर प्रश्न गर्छन्, ‘यदि मजस्तै पेन्टिङ पेसामा हुनुहुन्थ्यो भने तपाईं यस रेस्टुराँमा कस्तो रङको पेन्ट गर्नुहुन्थ्यो ?’ फाइनमेन जवाफ फर्काउँछन्, ‘मलाई थाहा छैन ।’ पेन्टर थप्छन्, ‘तपार्इंले कति ख्याल गर्नुभएको छ ? रेस्टुराँको भित्तामा एउटा उचाइमा कालो–मैलो रेखाहरू हुन्छ । टेबलमा बस्दा ग्राहकहरूको कुइनाले भित्तालाई छुने हुँदा कालान्तरमा फोहोर रेखा बन्न जान्छ । तसर्थ म रेस्टुराँमा सेतो वा उज्यालो रङ लगाउँछु । कारण त्यसले फोहोर लुकाउँदैन र ग्राहकलाई सफाइको अवस्था बताउँछ ।’ फाइनमेनलाई पेन्टर निकै अनुभवी लाग्छ । फाइनमनको मौनता चिर्दै पेन्टर भन्छन्, ‘यो पेसामा कसरी आवश्यक रङ बनाउने भन्ने पनि राम्ररी थाहा हुनुपर्छ । उदाहरणका रूपमा, पहेंलो रङ बनाउन कुन–कुन रङ मिसाउने ?’ फाइनमेनलाई लाइट रङको निम्ति हरियो र रातो रङ मिसाउनुपर्छ भन्ने थाहा थियो, तर यो रोगनको सन्दर्भ भएकाले फाइनमेन भन्छन्, ‘अहँ थाहा छैन ।’

पेन्टर आत्मविश्वासपूर्वक भन्छन्, ‘सेतो र रातो मिसायो भने पहेंलो रङ निस्कन्छ ।’

फाइनमेन झस्किन्छन्, ‘पक्कै हो र ? मलाई त गुलाबी रङ निस्कन्छजस्तो लाग्छ ।’

‘हैन, पहेंलो निस्कन्छ’, पेन्टरको जिद्दी छ ।

फाइनमेन सोध्छन्, ‘तपाईं कुनै रङको पिगमेन्ट त मिसाउनुहुन्न नि ?’

‘पिगमेन्ट मिसाउँदिन । सेतो र रातो रङको डब्बा किनेर ल्याउनुस्, म देखाउँछु ।’ चकित हुँदै फाइनमेन ‘पापाज् प्लेस’ रेस्टुराँ नजिककै पसलबाट सेतो र रातो रङको डब्बा किनेर ल्याउँछन् ।

दुवै जनाको वार्तालाप सुनिरहेको रेस्टुराँको मालिक फाइनमेनलाई सम्झाउँछन्, ‘किन उसँग तर्कवितर्क गरिराखेको, जसले जीवनभर पेन्टिङ गरेको छ, उसको कुरा विश्वास नगरेर ?’

क्षणभर फाइनमेन बोल्दैनन्, असमञ्जसमा पर्छन् । केही क्षणको मौनतापछि भन्छन्, ‘मैले फिजिक्समा लाइट पढेको छु । लाइट सिद्धान्तले भन्छ– रातो र सेतो रङ मिसाउँदा पहेंलो होइन, गुलाबी रङ बन्छ ।’ फाइनमेन दुवै रङको डब्बा ल्याएर छेवैको पुरानो कुर्सीमा राख्छन् । रेस्टुराँ मालिक नजिकै उभिएर हेरिरहन्छन् । पेन्टर डब्बा खोलेर अलिकति रातो र अलिकति सेतो रङ मिसाउँछन् । फाइनमेनका आँखाले त्यसको मिश्रण गुलाबी नै देख्छ । पेन्टरले रातो र सेतो रङ थप्छन् र मज्जाले फिट्छन् । पहेंलो रङ नबनेपछि बर्बराउँछन्, ‘मसँग पहेंलो रङको सानो ट्युब पनि हुनुपर्ने, रङको घोललाई उजिल्याउन । अनि त पहेलो रङ बनिहाल्छ ।’ त्यहीबखत फाइनमेन मौका छोप्दै भन्छन्, ‘निश्चय नै, तिमी पहेंलो मिसाऊ, रङ पहेंलो भइहाल्छ । तर, पहेंलो नमिसाईकन तिमीले पहेंलो रङ बनाउन सक्दैनौ ।’ पेन्टर पराजित मुद्रामा पेन्ट गर्न उपल्लो तलामा उक्लिन्छन् । रेस्टुराँ मालिक भन्छन्, ‘यो पेन्टर सन्काहा नै हो, त्यस्तो व्यक्तिसँग तर्क गर्न तम्सन्छ, जसले वर्षौंसम्म लाइट पढाएको छ ।’

फाइनमेनको निष्कर्ष छ, ‘कसरी अनुभवी मान्छेहरूले भनेकै कारण हामी विज्ञानका सिद्धान्तहरू गलत छन् भनी विश्वास गरिहाल्छौं । यस्ता सोचाइले मैले पनि भौतिकशास्त्रमा धेरै गल्तीहरू गरेको छु ।’

प्रकाशित : भाद्र ९, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?