कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७
संस्कृति

कौतुकमय शान्तिपुर

स्वयम्भू महाचैत्यको उत्तर–पश्चिममा छ शान्तिपुर । जामन गुभाजू, प्रताप मल्ल, रणबहादुर शाहको शान्तिपुर प्रवेशका रोचक मिथक छन् ।
मल्ल के. सुन्दर

नेपाल संवत्अनुसार दसौं महिना (श्रावण प्रतिपदादेखि भाद्र प्रतिपदासम्म) हो– गुँला । वैष्णव र हिन्दुको नागपञ्चमी, कलकी जयन्ती, गौरा पर्व, ऋषि तर्पणी, रक्षा बन्धन, गाईजात्रा, जन्माष्टमी, नृसिंह जात्रा, भीमसेन जात्रा, पितृऔंसी सबै यसै बेला पर्छ । विशेषतः प्राचीन नेपाल मण्डलभित्रका नेवार समुदायका लागि बौद्ध विहारहरूमा सम्यक् बुद्धमूर्ति प्रदर्शनि (बजिद्यः ब्वये), ब्याँजानके (भ्यागुतो पूजा), सिलुतीर्थ यात्रा, क्वातिपुन्हि (गुन्हुपन्हि), कुम्भेश्वर मेला, सायाः, मतयाः, दथुसायाः, हिले वा रोपाइँ जात्रा, यल पञ्जरां (ललितपुरे पञ्चदान), पञ्चदान आदि महत्त्वपूर्ण अवसर यसै महिनामा पर्छन् ।

कौतुकमय शान्तिपुर

यीमध्ये उपत्यकाका रैथाने नेवार बौद्धहरूका लागि अझै अर्थपूर्ण छ– गुँला पर्व । ‘गुँ’ अर्थात् ‘वन/पर्वत’ ‘ला’ अर्थात् ‘महिना’ । महिनैभरि वन/पर्वतस्थित बौद्ध अराध्यदेवहरूसम्म पुगेर नित्य स्तुति र साधना गर्ने एक पवित्र अवसरका हो यो महिना । प्राचीनकालदेखि नै जंगलसहित डाँडामाथि अवस्थित स्वयम्भू क्षेत्र गुँला पर्वको मुख्य तीर्थस्थल हो ।

यस अतिरिक्त स्वयम्भू परिसरमै अवस्थित गुँदेय् (वन दुर्ग) पनि गुँला पर्वका लागि उत्तिकै महत्त्वपूर्ण अर्को साधनास्थल हो । यद्यपि पछिल्लो कालखण्डमा यस दुर्गलाई शान्तिपुर नामकरण गरियो । सामान्य भक्तजनका लागि हिजोआज यो स्थल शान्तिपुर नै हो ।

स्वयम्भू पुराणको वृत्तान्तले भन्छ– कुनै समय काठमाडौं उपत्यकाको नागहृद र त्यसको मध्यभागबाट प्रज्वल्लित दिव्यज्योति दर्शन गर्न महाचीनबाट महामञ्जुश्री आइपुगेका थिए । त्यो ज्योति स्वउत्पत्ति भएको स्वयम्भूको रूप थियो, कालान्तरमा त्यसको रक्षा हुन सकेन । र, त्यो पुरिने सम्भावना भयो । त्यसैले ज्योतिस्वरूपको सुरक्षार्थ त्यसमाथि स्तूपा निर्माण गर्ने जिम्मा सिद्ध शान्तिकराचार्यलाई दिइयो । मञ्जुश्रीको आज्ञा पालना गर्दै शान्तिकराचार्यले स्वयम्भू चैत्य बनाउन लगाए ।

यद्यपि गोपालराजवंशावलीमा ‘राजा विश्वदेव (वृषदेव), वर्ष १००, तेनकृत सिनगु विहार चैत्य भटारिक प्रतिस्थित सम्पूर्ण कृत्तम’ मा उल्लेख गरिए अनुसार, स्वयम्भू चैत्यको निर्माण लिच्छवि राजा वृषदेवको राज्यकालमा सम्पन्न भएको थाहा हुन्छ ।

तर, लोकआस्था र लोकाख्यानका अतिरिक्त ‘स्वयम्भूपुराण’ को सातौं परिच्छेदका विवरणहरूले भने स्वयम्भू प्रतिस्थापनाको श्रेय शान्तिकराचार्यलाई नै दिन्छ ।

आख्यानात्मक विवरण अनुसार, शान्तिकराचार्य नेपालवासी थिएनन्– उनी गौड देस (हाल भारतको बंगाल) का राजा थिए । प्रचण्डदेव नाम गरेका उनी छोरा सुकीर्तिलाई राजपाठ सुम्पिएर नेपालमण्डलतिर लागे । गुरु गुणाकर आचार्यबाट दीक्षित भइसकेपछि उनी शान्तिकराचार्य भई चिनिए ।

नेपालमण्डलभित्रको बज्रकुट/पद्मागृह/गोश्रृङ्ग पर्वत (जसलाई स्थानीयहरू सामेय्गुँ (गाई–भैंसी चरन वन भन्थे) माथि शान्तिकराचार्यद्वारा बज्रयानी मान्यता अनुसार श्रीयन्त्राकारको धरातलीय आधारमा स्वयम्भू चैत्य गुमोज शैलीमा निर्माण गरिएको थियो । बज्रयानी आस्था अनुसार, शून्यताको प्रतीक गर्भगृहमाथि त्रियोदशभुवनको छत्रहरूले सजाइयो । अनि चैत्यको चारैतिर सौम्य, शान्त र ध्यानस्थ आँखाहरू करुणाबोधका प्रतीक बने ।

हाम्रो प्राचीन शिल्प र प्रविधिको एक उत्कृष्ट धरोहरको रूपमा जीवन्त उभिएको छ– स्वयम्भू । भौतिक संरचनाका दृष्टिले प्रशंसनीय हो नै, त्यसअतिरिक्त उक्त परिसरमा निर्माण गरिएका दार्शनिक मान्यताका पञ्चतत्वसँग सम्बन्धित पाँचवटा पुरहरू पनि साथसाथै निर्माण गरिएको थियो, जुन धेरैलाई जानकारी नहुन सक्छ । ती पुर हुन्– दक्षिण–पूर्वमा अवस्थित वसुपुर (पृथ्वी), दक्षिण–पश्चिम वायुपुर (हावा), उत्तर–पश्चिम अग्निपुर (आगो), उत्तर नागपुर (जल) र उत्तर–पश्चिम दिशास्थित शान्तिपुर ।

गुँला पर्वका बेला स्वयम्भू स्तूपाका अतिरिक्त शान्तिपुरको पनि नित्यपूजा र स्तुति गरिन्छ । तर, शान्तिपुर भने अन्य चार पुरभन्दा पृथक् छ, जसको प्रत्यक्ष सम्बन्ध देखिन्छ– स्वयम्भूका निर्माता मानिएका शान्तिकराचार्यसाग । निर्माणकालको प्रारम्भमा अन्य पुरजस्तै यसलाई आकाश तत्त्वको प्रतीकात्मक अर्थमा आकाशपुर भनियो । सुरुमा यो वनदुर्गको अर्थमा गुँदेय् थियो । तर, कालान्तरमा शान्तिकराचार्यको सम्मानमा यसलाई शान्तिपुर नामकरण गरियो ।

स्वयम्भू चैत्यबाट पश्चिम–उत्तर खुड्किला भई तल झर्दा एउटा खुला परिसरमा देखिने वर्गाकार भुइँतलाको फरकखालको संरचना नै शान्तिपुर हो । बाह्य स्वरूप कुनै मन्दिर, पाटी–पौवा वा सत्तलभन्दा भिन्न बनावटमा छ । शान्तिपुरका विषयमा अनेकन् कथन, जनविश्वास र लोकाख्यान भेटिन्छन् । थुप्रै रोमाञ्चकारी विवरण पनि सुन्न पाइन्छ ।

यीमध्ये एक प्रमुख लोकविश्वास शान्तिपुरको गर्भगृहभित्र नवनागको रगतले लेखिएको ‘वृष्टिचिन्तामणि स्त्रोत’ (महामेघसूत्र) पुस्तक हो, जुन यहाँ सुरक्षित राखिएको छ । त्यो पुस्तक सुरक्षित राख्ने ऐतिहासिक महापुरुष शान्तिकराचार्य स्वयं थिए । त्योभन्दा पनि महत्त्वपूर्ण जनविश्वास छ– मुलुकमा अनावृष्टि भए त्यो पुस्तकलाई बाहिर घाममा ल्याएर पाठ गरे सहज वृष्टि हुन्छ ।

‘स्वयम्भूपुराण’ को आठौं परिच्छेद अन्तर्गत राजा गुणकामदेवको राज्यकालमा ७ वर्षसम्म पानी नपरेको र अनिकाल हुँदा राजाज्ञामा शान्तिकराचार्यले उक्त स्त्रोत घामको उज्यालोमा पाठ गर्दैगर्दा ठूलो वर्षा भएको मिथकमाथि चर्चा गरिएको छ । केही वंशावलीमा विसं १०४३ तिर गुणकामदेव राजा आफैं शान्तिपुर पसेको पनि उल्लेख छ ।

राजा प्रताप मल्लको राज्यकालमा पनि कान्तिपुरमा अनावृष्टि भयो, हाहाकार मच्चियो । दुई जना बज्राचार्यलाई साथ लिएर राजा स्वयं शान्तिपुरभित्र पसे । त्यो घटना नेसं ७७८ असार कृष्ण चतुर्दशीको थियो । यसबारे लामो विविरण प्रताप मल्लको शिलास्तम्भ शान्तिपुर प्रवेशद्वार बाहिर छँदैछ । दीक्षितहरूका लागि मात्रै शान्तिपुर प्रवेश अनुमति भएकाले राजाले कान्तिपुर, मणिसंघ महाविहार (मुसुंबहाः) का प्रसिद्ध तान्त्रिक जामना गुभाजुबाट आवश्यक दीक्षा लिइएको कुरा पनि इतिहासमा पाइन्छ । उनी जामना गुभाजुबाट बज्रयानी तन्त्रअनुसार दीक्षित भएको कुरा प्रजाजनलाई बोध गराउने मनसायले स्वयम्भू चैत्यको दाँयाबाँया प्रतापपुर र अनन्तपुर नाउँका शिखर शैलीमा दुई संरचना खडा गरे ।

सोही शिलास्तम्भमा कुँदिएको विवरण अनुसार, राजासँग हिँडेका दुई बज्राचार्यहरू शान्तिपुरको भित्री ढोकाको एक ठूलो पत्थर हटाएर प्रवेश गर्नासाथ एक आँखा नदेख्ने भए, अर्का मूर्च्छा परे । राजाको एउटा हातमा बलेको सुकुन्दा थियो अर्कोमा तान्त्रिक साधना गरिएको माछा, कालो भटमास र दूध । शान्तिपुरभित्र विभिन्न तला रहेको र प्रत्येक तलामा नौ–नौवटा ध्यानागार गरी २७ वटा कोठाहरू छन् । प्रताप मल्लकै बयानअनुसार, पहिलो तल्लाको मध्यभागमा महासम्बरतन्त्र अंकित तामाको गोलाकार यन्त्र, दुईवटा खड्ग, शून्यकर तन्त्र पुस्तिका आदि थिए । दोस्रो तला झर्दा त्यहाँ लाटोकोसरोको झुण्डले अत्याएको, हातको बत्ती निभ्न लागेको आदि स्थितिको बयान छ । त्यस अतिरिक्त भूत, प्रेत, पिशाच आदिले छोप्न आउँदा तान्त्रिक साधाना गरिएका माछा र कालो भटमास छरेर उनीहरूलाई पन्छाएको कुरा पनि लेखेका छन् ।

तल्लो तल्ला पुग्दा त्यहाँ सर्प आदिलाई शान्त पार्न दूधले तर्पण गर्दै अघि बढें भनेका छन् । त्यसै तलाको बीच भागमा पन्ध्र सय बर्षअघिदेखि ध्यानस्थ अवस्थामा रहेका, तर जीवित शान्तिकराचार्यलाई आफूले देखेको दाबी प्रताप मल्लले छ । शान्तिकराचार्यको शरीरमा केवल छाला र हड्डी मात्रै रहेको र उनैले आफूलाई नवनागको रगतले लेखेको स्त्रोत देखाउँदै बाहिर घाममा लगेर त्यो पाठ गर्न आदेश दिएको प्रताप मल्लले लेखेका छन् । लगभग तीन घण्टा शान्तिपुरभित्र व्यतीत गरी राजा बाहिर निस्के । घाममा स्त्रोत वाचन गरे, त्यसैको प्रभावमा वर्षा भयो ।

केही समयपछि दोस्रो पटक पनि प्रताप मल्ल शान्तिपुर प्रवेश गरे । भित्र उनले बत्तीको छायामा आफू शिरबिना नै हिँड्दै गरेको देखे । के अशुभ संकेत होला भन्दै त्रसित अवस्थामा वाहिर निस्के । भनिन्छ, त्यसको ६ महिनामा उनको देहान्त भयो ।

अर्को एउटा ताम्रपत्रमा भेटिएको विवरणले भन्छ– विसं १८५६ मा राजा रणबहादुर शाह पनि शान्तिपुरको ढोका खोलेर भित्र छिरेका थिए । तर, उनलाई कुनै पनि दीक्षा प्राप्त थिएन, त्यसैले उनले आँखाको ज्योति गुमाए र अत्तालिएर बाहिर निस्के । पछि तान्त्रिकहरूको राय–सल्लाहमा सुनको असर्फीसहित क्षमापूजा र राँगा बलि चढाएपछि उनको आँखाको ज्योति फर्कियो । उनले आरम्भ गरेको उक्त क्षमापूजा प्रत्येक वर्ष दसैं महानवमीका दिन अद्यापि शान्तिपुरभित्र हुने गर्छ ।

नित्यपूजाका लागि मणिसंघ (मुसुंबहाः) का तान्त्रिक जामना गुभाजु आफ्नो घर काठमाडौं, ब्रह्मटोल मुसुंबहाभित्रको जपतुं (जलसमाधि केन्द्र) इनारबाट प्रवेश गरेर प्रत्येक दिन शान्तिपुरको मूलढोका खोलेर बाहिर निस्किने गर्थेर् भन्ने लोककथन छ । त्यस्तै शान्तिपुरबाट भूमिगत बाटो हुँदै चोभार गणेशको चखुंतिबखुंति सुरुङबाट निस्कन सकिन्छ पनि भनिन्छ ।

शान्तिपुरभित्र सातवटा ढोकाहरू छन् । जामना गुभाजुले निर्वाह गरेको सोही परम्परा अनुसार आजसम्म पनि मुसुंबहाःका बज्राचार्य परिवारका प्रतिनिधिहरू मात्रै पुजारीका रूपमा शान्तिपुरभित्र प्रवेश गर्न पाउँछन् । यद्यपि, अहिले मुसुंबहाःका बज्राचार्य खलकका छोरीका तर्फबाट भएका सन्तति काठमाडौं मखनको रत्नकीर्ति महाविहारका बज्राचार्य परिवारले मूल पुजारीको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

उपत्यकाका बज्राचार्यहरू आज पनि शान्तिकराचार्यलाई आफ्ना अराध्य गुरु मान्छन् । उनी समाधिस्थ शान्तिपुरलाई मूलआगमन मान्दै फाल्गुण कृष्ण नवमीका दिन उपत्यकाका सम्पूर्ण बौद्ध महाविहारका बज्राचार्यहरू जम्मा भएर उनको स्मरण गर्छन् । देय् आचागु (राष्ट्रिय बज्राचार्य गुठी) को त्यो भेलामा विशेष पूजा गरिन्छ । यद्यपि हिजो–आज आपसी कलहका कारण यस भेलामा काठमाडौंका १८ वटा महाविहारका प्रतिनिधि मात्रै सामेल हुन्छन् । अत्यन्तै रहस्यमय र गुप्त अवस्थामा रहेको शान्तिपुर ऐतिहासिककालदेखि आजसम्मै सर्वसाधरणका लागि एक जिज्ञासा हो, कौतुल र तिलस्मी कथा हो ।

शान्तिपुरमा पूजाका लागि स्वयम्भूका बुद्धाचार्य खलकबाट एक जना र मखनका अर्का एक बज्राचार्य समावेश हन्छन् । बुद्धाचार्य खलकका प्रतिनिध शान्तिपुर प्रवेश गर्ने सातैवटा ढोकाका साँचो आफ्नो पटुकोमा झुन्ड्याएर अघि बढ्छन् । उनैले अगाडिको एक ढोकाको साँचो खोलिदिन्छन्, तर उनी ढोकाभित्र छिर्ने आँट गर्दैनन् । बज्राचार्य खलकका पुजारी मात्रै पूजाका लागि भित्र प्रवेश गर्छन् । उनी पनि त्यहाँभन्दा पर अर्को ढोकाभित्र पाइला टेक्ने आँट गर्दैनन् ।

वैज्ञानिक रूपमा तथ्य–सत्य अनुसन्धान भएको छैन । शान्तिपुरभित्रको यथार्थ कसैलाई थाहा छैन । तर, बज्राचार्य समुदायका ज्येष्ठ तथा बौद्धिक व्यक्ति यज्ञमान पति भन्छन्, ‘शान्तिपुर अरू केही होइन, प्राचीनकालमा साधकहरू ध्यानस्थ हुने एक अभ्यन्तर केन्द्र हो ।’ त्यहाँ प्रवेश गरेर धेरैले ध्यान मात्रै गरेनन्, कतिपयले शान्तिपुर भित्रै सिद्धि प्राप्त पनि गरे ।

प्रकाशित : भाद्र ९, २०८० ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?