ती दिन

झापा : गाडा, गोडा र घोडा

५० वर्षअघि झापाको यातायातका साधन थिए– गाडा र गोडा । हुनेहरू घोडामा हिँड्थे, नहुनेहरू गाडा र पैदल । दिनैभरि हिँडे पनि झापाको एक कुनाबाट अर्को कुना पुग्न भ्याइँदैनथ्यो ।
लोकराज बराल

मेरो जिल्लाको आजलाई ८० वर्षअघिसँग तुलना गर्दा कस्तो देखिएला ? मेरो झापा यसरी रूपान्तरण होला, सोचेकै थिइनँ ।

झापा : गाडा, गोडा र घोडा

म जन्मेको गाउँ इरौंटारको (हालको शान्तिनगर) पहिचान अलग्गै थियो । तराई र पहाडको संगमस्थल– इरौंटार । पाखो र टार गरी दुईतिर बाँडिएको । हाम्रो घर टारमै पर्थ्यो त्यसैले हामीजस्ताको घरमा गोरु गाडा पुग्थे अनि मधेशको धान र अन्य सामान ओसारिन्थ्यो । तर, मधेशमा खेती नहुनेको अवस्था निकै भिन्न थियो । सीमित साधन–स्रोतमा जीविका चलाउनुपर्थ्यो, त्यसैले अरूको खेताला–गोठाला बन्नुपर्थ्यो । तर, अलि तल पुगे समतल भाग भेटिन्थ्यो ।

२००१ सालपछि मैले सही मधेश देखेको हुँ, किनभने मेरा बाले भैंसी पाल्दै केही जग्गा जोड्नुभएको थियो र हामीले दुहागढीतिर व्यवहार बढाउन पायौं । मधेश र इरौंटारको फरक त्यतिबेला थाहा भयो । हामी पहाडेको रहनसहन, बोलीचालीको भाषा बिलकुल फरक थियो किनभने त्यहाँं बढी राजवंशी, सतार, तेली, किसान, धिमाल, थारू, गनगाईको जनसंख्या थियो । हामीले पनि स्थानीय राजवंशीसँग १०० (भारु) को दरमा जग्गा किनेका थियौं । पहिले आउने पहाडेले त सायद त्योभन्दा धेरै सस्तोमा वा सित्तैंमा जग्गा भेला पारेको पछि सुनेका थियौं । पहाडमा थोरै पैसा हुनेहरू पनि झापा आएपछि ठूला जग्गावाल भए । केहीचाहिँ सरकारले नै मालपोत उठाउन खटाइएका जमिनदार थिए, तिनीहरूलाई प्रभावकारी भूमिका दिइएकाले ती सामन्त भए । मधेशकै केही जग्गा भएका स्थानीयवासी (मधेशी) लाई पनि जमिनदारको भूमिका दिइएको हुन्थ्यो । जग्गावाल राजवंशी, सतारलाई देवनिया भनिन्थ्यो ।

पहिले झापाको पहिचान बनेको थियो– जाली, फटाहा भएको ठाउँं । जग्गा कारोबारी, लाटा–सीधालाई फसाई दुःख दिने अत्यधिक मान्छे र जागिरदार पनि यहाँ कमाउन आउने ! त्यसैले झापाको यस्तो छवि बनेको हो । तर, कालापानी अर्थात् अति मलेरिया लाग्ने भयले २००७ सालअघि सीमित मानिस पहाडबाट मधेशतिर झरे अनि मालामाल भए । केही राजवंशी र थारूबाहेक धेरै सानातिना जग्गावाल मधेशी (देवनिया) हराएर गए । केही माड्वारी परिवार झापामा धेरै अघिदेखिका जग्गावाल, उद्योगपति थिए, केही अझै छन् । तर, ती आफ्नो क्षेत्रमा अघि बढेको देखिँदैनन् । कत्तिले नयाँ बजारको खोजीमा अन्य जिल्लातिर व्यवसाय बढाउन थाले, कत्ति हराए ।

हाट र धानको कारोबारले खचाखच हुन्थ्यो– भद्रपुर । हाट लागेको दिन घर फिर्दा मान्छेहरूको हातमा हुन्थ्यो– डोरीमा झुन्डिरहेको माछा ।

३०/३५ वर्ष अघिसम्म भद्रपुरमा मात्रै करिब ३५ भन्दा बढी धान मिल थिए । झापाका धेरै भागको धान र अन्य अन्नको व्यापार केन्द्र थियो– भद्रपुर । बुधबार, शनिबार हाट लाग्ने र धानको बढी कारबाही हुने भएर खचाखच हुन्थ्यो– भद्रपुर । धेरै मिल मारवाडीका थिए । हाट लागेको दिन धान बेचेर घर फर्किंदा हाट भर्नेहरू प्रायः हातमा माछा झुन्ड्याएर फर्किन्थे ।

५० वर्षअघिको झापाको पूर्वाधार विकास र आजको अवस्था तुलना गर्ने खालका छैनन् । यातायातका साधन थिए– गाडा र गोडा मात्रै । हुनेहरू घोडामा हिँड्थे, नहुनेहरू गाडा र पैदल । झापाको एक कुनाबाट अर्को कुना पुग्न दिनैभरि हिँड्दा पनि भ्याउन गाह्रो थियो । अनकण्टार जंगल र बाटो नहुँदा घोडा वा गाडाबाहेक अन्य विकल्प थिएन । विराटनगर कसरी गइन्थ्यो ? पूर्वतिरका झापाली भारतको नक्सालवाडी र गलगलिया रेल्वे स्टेसनमा रेल चढी कटिहार, जोगवनी हुँदै अर्को दिन विराटनगर पुग्थे । मैले पहिलो पटक रेल चढेको २००६ साल फागुनमा हो । म दिदी–भिनाजुसित बसी त्यतिखेरको जुद्धोदय हाइस्कुल (हालको आदर्श विद्यालय) मा तीन कक्षा भर्ना हुन गएको थिएँं । त्यसअघि इलामको सलकपुरमा बाको मामाका घरमा भर्खरै खुलेको तीन कक्षासम्मको प्राइमरी पाठशाला पढेको थिएँं ।

झापामा एउटा मात्रै हाइस्कुल थियो– भद्रपुरको मेची किनारमा । त्यो पद्मशमशेरका पालामा खडा भएकाले स्कुल उनकै नामबाट चिनिन्थ्यो । पछिसम्म पनि एसएलसी दिन विराटनगर जानुपर्थ्यो । आज त्यस्ता स्कुल अनगिन्ती छन् । झापाको पहिलो कलेज मेची महाविद्यालय २०२१ मा भद्रपुर हाइस्कुलकै भवनमा सुरु गरिएको हो । मैले पनि त्यस कलेजमा भाइस प्रिन्सिपलका रूपमा ६ महिना काम गरेँ । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएपछि एमए पढाउने लेक्चररका रूपमा २०२२ साल असोजदेखि त्रिवि काठमाडौंमा काम गर्न थालें । र, ३६ वर्षपछि प्राध्यापनबाट अवकाश लिएँ । आज शिक्षामा बाढी आएको छ, तर गुणात्मक शिक्षामा भने ध्यान गएको छैन । प्रत्येक वडामा शिक्षण संस्था छ । पहिलेका सतार, धिमाल, थारू, मेचे, किसान र अन्य केही जातिको संख्या कम भए पनि ती खानै नपाउने छैनन् । सबै जिल्ला घुम्दा खरका घर देखिएन । प्रशस्त चिया बगानले झापाको शोभा बढाएको छ, तर अरू उद्योग–धन्दा नदेख्दा र कृषि पनि तल झर्दै जाँदा जनताको स्थायी आर्थिक स्रोत के होला ? प्रश्न उठ्छ ।

पछिल्लो जनगणनाअनुसार, झापा नेपालीभाषीको ७० प्रतिशतभन्दा बढी जनसंख्या भएको र आज यसको संख्या धेरै मात्रामा बढेको हुन सक्ने अनुमान गर्न सकिन्छ । २०१७ सालपछि पहाडे जनजातिको संख्या पनि उल्लेख्य बढेकाले राजमार्ग छेउछाउ उनीहरूको बसोबास अधिक छ । पञ्चायती सरकारको नीति अनुसार, भूतपूर्व सैनिक र अन्य जनजातिलाई दक्षिणतिरका भेगमा बसोबास गराइएको भएर आज दक्षिणी भागमा बसाइ सरी आउनेको संख्या उल्लेख्य छ । दक्षिणी भेगमा मधेशीको संख्या कम हुंदै गएको छ । त्यसैले निर्वाचनमा ती निर्णायक मतदाता हुन सक्दैनन् । झापामा संसदीय वा अन्य चुनावी परिणाममा पहाडे जातिकै बाहुल्य छ । दक्षिण झापा पनि अब सबै नेपाली भाषा बोल्नहरूको सम्पर्कमा आएकाले मधेशका अन्य जिल्लाभन्दा झापा फरकै पाइन्छ । भनिन्छ, आज झापामा पुनर्वासको समस्या छैन । पहिले नै जंगल फाँडी बसोबास भइसकेको छ । ‘हरियो वन नेपालको धन’ अब पुरानो सम्झना मात्रै बनेको छ ।

पूर्वाधार विकासका हिसाबले आजको झापाको कायापलट भएको अनुभव हुन्छ । सबैजसो गाउंँ एकाअर्कासित जोडिएका छन् । धेरैजसो बाटो कालोपत्रे र ग्राबलयुक्त छन् । गोरु वा राँगा–गाडा कतै देखिँदैनन् । हलो जोतेको दृश्य भने देखिन्छ, तर मेसिनको प्रयोग पनि बढ्दै गइरहेको छ । सबै घरबारीमा बगैंचा र हरियाली छ । प्रशस्तै सुपारी, नरिवलले झापाको शोभा बढाएको छ । उहिले मोटरका नाममा लकडी बोक्ने लहरी धुलाबारीको धूलो बाटामा गुडेको हेर्न पाइन्थ्यो, आज सबैतिर बस वा अन्य मोटर, मोटरसाइकल वा टेम्पो देखिन्छ । भद्रपुर, चन्द्रगडीजस्ता सदरमुकाम भएका ठाउंँमा गतिला होटल बन्न सकेका छैनन् किनभने यातायातको सुविधाले अड्डाका सबै काम सकी मान्छेहरू बेलुका आफ्नै घर पुग्छन् र ती अरू यी स्थानलाई ट्रान्जिटका रूपमा मात्रै लिन्छन् ।

हामी सानो छँदा हिउँदमा ग्वारग्वारती पहाडे नेपाली ढाकर बोकी भारतको आसामतिर लागेको देख्न पाइन्थ्यो, तर यताबाट कामका लागि भारत जानेको लर्को अब देखिँदैन । यसको ठीक विपरीत पश्चिम नेपालका गरिब जनता अझै पनि काम र मामका लागि भारततिर लाग्ने–फर्किने ताँती सिमानामा देख्न पाइन्छ । विशेषगरी नेपालगन्ज, धनगढी, कञ्चनपुरको गड्डाचौकी, झुलाघाट र दार्चुलामा यस्ता दृश्य देख्न पाइन्छ । अमेरिकी राजनीतिशास्त्री माइनर विनरले भनेझैं अझै पनि भारत नेपालको ‘सेफ्टी भल्भ’ हो । काठमाडौंको सोच र बोली यहाँ पाइँदैन, झापाका मान्छेहरू नकारात्मक बहसमा अल्झिएका छैनन् र ती सामाजिक मिडियाका कतिपय कपोलकल्पित विषयबाट बहकिँदैनन् ।

झापाका परस्परविरोधी प्रवृत्ति यत्रतत्र पाइन्छ । यो भारतको पश्चिम बंगाल र विहारसित जोडिएको जिल्ला भएकाले पारीको प्रभाव पर्नु स्वाभाविकै हो । यसको राजनीतिक प्रभावले झापाली हिंसात्मक आन्दोलन यहीँ भयो र हत्या आतंकले जिल्ला ग्रस्त थियो । तर, यो आन्दोलन धेरै चल्न सकेन र यसको रूपान्तरण शान्तिपूर्ण रूपमा भई आज यसका सूत्रधारहरू उनीहरूले तिरस्कार गरेको बहुदलीय व्यवस्थामै सक्रिय भइरहेका छन् । त्यस आन्दोलनकै दौरानमा साधारण नागरिक मारिए, तर उनीहरूलाई सहिद भनेर कतै सालिक बनाइएको छैन । तर, सरकारले अड्डा चलान गर्ने बहानामा जंगलबीच हत्या गरिएका पाँच युवकका नाममा सुखानी जंगलबीच उनीहरूको सालिक र सहिदस्थल बनाइएको छ ।

नेपाली कांग्रेसले चलाएको २०१७ सालपछिको सशस्त्र युद्धताका कतिपय निर्दोष व्यक्तिको सरकारले हत्या गर्‍यो र उनीहरूलाई सहिद मानियो । यस्तै एक व्यक्ति थिए झापाका निन्दानिवासी विश्वनाथ घिमिरे, जसलाई कांग्रेस भएको शंकामा सेनाले हत्या गर्‍यो । आज उनको सालिक बाहुनडाँगी बजारमा खडा गरिएको सहिदका रूपमा ।

ती मारिएका सबै सहिद नै हुन् किनभने उनीहरूको उद्देश्य तानाशाही शाही शासनको अन्त्य र लोकतन्त्र बहाली थियो । लोकतन्त्रको आफ्नै–आफ्नै व्याख्याअनुसार उनीहरू हिँडेका भए पनि जनताको भलो नै उनीहरूको चाहना थियो । सुखानी र बाहुनडाँगी पुग्दा म अति भावुक हुन्छु, किनभने म आफूलाई उनीहरूको लक्ष्यप्रति भावनात्मक रूपमा सँगै पाउँछु ।

प्रकाशित : श्रावण १३, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?