कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

काठमाडौं कथामाला

अनेक किंवदन्ती बोकेर बाँचिरहेको काठमाडौंका मायावी कथाले यो सहरलाई झनै रहस्यमय बनाइदिएको छ 

सामाजिक संस्कारमा ढोगभेट र समयचेतको विशेष महत्त्व हुन्छ । समयसँगै तिनमा बदलाव आउँछ । मेरो बाल्यावस्था अर्थात् २०१० सालतिरका मेरा सम्झना सुनाउन चाहन्छु ।

काठमाडौं कथामाला

बिहान सबेरैको भेटमा ‘स्नाधुनला ?’ अर्थात् ‘जलसेचन र प्रार्थना पूजा सिद्धियो ?’ भनेर सोध्ने गरिन्थ्यो भने मध्याह्न पहिले ‘जाः नय् धुनला ?’ अर्थात् ‘भात खायौ ?’ भनी सोध्ने चलन थियो । अपराह्नमा भेट हुँदा ‘बजि नय् धुन ?’ अर्थात् ‘चिउरा (खाजा) खायौ ?’ भनी सोधिन्थ्यो ।

अचेल ‘गुड मर्निङ’ नभनी बिहान हुँदैन । ‘भान्छा भो ?’ ‘भात खायौ ?’ ‘खाजा खायौ ?’ कसैले सोध्दैन । ‘नमस्ते’ र ‘नमस्कार’ पनि २००७ सालपछि मात्रै चलनचल्तीमा आएको हो । काठमाडौं उपत्यकामा समयचेतका लागि घन्टाघर त थियो नै, तर मध्याह्न टुँडिखेलमा सिपाहीहरूले पड्काउने तोपको विशेष महत्त्व राख्थ्यो । बाटाका बटुवा हुन् वा खेतबारीका किसान वा ज्यासल र पसलका साहु तथा बनौटाहरू पनि एकापसमा सोध्थे– तोप पड्क्यो ? बेलुकीको ९ वा १० बजे रातिको तोप पड्काइन्थ्यो । तोप पड्केपछि कर्फ्यु लाग्थ्यो । बाटामा हिँड्नेलाई सिपाही वा पुलिसले समात्थ्यो । समयचेतका लागि नाडीमा घडी बाँध्ने वा गोजीमा बोक्ने विषय आम मानिसको औकातभन्दा निकै बाहिरको कुरा थियो ।

भेटघाटमा ठूलाबडालाई ‘जदौ’ भनिन्थ्यो र हात ढोग्ने चलन थियो चल्तीमा । बीच बाटामै पनि मान्छेले अर्काको खुट्टै ढोगेको देखिन्थ्यो कहिलेकाहीँ । घरभित्र परिवारजनमा ढोगभेटको आ–आफ्नै चलन कायमै छ, तर त्यो पनि ‘गुड मर्निङ’ र ‘गुड नाइट’ ले विस्थापन गर्न थालेको छ ।

काठमाडौं सहरका बजारहरू वा बाटाघाटामा देखिने मानिसको भीडमा टोपी नलगाएको टाउको हुँदैनथियो । स्वास्नीमान्छे पनि पछ्यौराले टाउको छोपेरै हिँड्थे । तर, धेरैको खुट्टामा जुत्ता भने हुँदैनथ्यो । आजभोलि टोपी लगाएको टाउको र जुत्ता नलगाएको खुट्टा भेट्नै सकिन्न । २००५–६ सालतिर टोपी नलगाउने र कपाल कोरेर हिँड्ने युवालाई मान्छेहरू शाासनविरोधी ‘कांग्रेस’ भन्थे । तिनलाई जुलुस, आन्दोलनका बेला पुलिसले भेट्यो भने पहिल्यै कपाल जगल्ट्याउने काम गर्थ्यो । त्यसबेला बिनाटोपी घरभित्र पस्न पनि हुँदैनथ्यो । ‘मलामी जानेले मात्रै टोपी फुकाल्छन् बाबु’ भनेर बुबाले मलाई सम्झाएको सम्झन्छु । कांग्रेसी केटाहरूको अर्को पहिचान थियो– कमिज र पतलुन वा ठूलो मोहता भएको सुरुवाल ।

कपाल पाल्ने र टोपी नलगाउनेको बिजोग २००६ सालमा युवराज्ञी इन्द्रराज्यलक्ष्मीको देहान्तताका देखियो । राजपरिवारका सदस्य परलोक हुँदा कपाल खौरेर समवेदनामा बस्नुपर्ने रहेछ । त्यसबेला कपाल पाल्ने केटा भेट्यो कि पुलिसले समातेर असनको डबलीमा लगेर हजामबाट एक पाटो रौं खौरिदिएर उसलाई छाडिन्थ्यो । त्यसको ५२ वर्षपछि दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको देहान्त हुँदा भने कतिपय युवाले स्वेच्छाले कपाल मुडाए । कपाल मुण्डन गर्ने वा रंगविरंगमा सजाउने वर्तमान युवाका स्वेच्छा भने बुझीनसक्नुको छ ।

हाम्रो किनमेल केन्द्र– असन

महाबौद्धबाट असन छिर्न मात्र दुई–तीन मिनेट लाग्छ । असन बजार उहिलेको सुपरमार्केट हो । काठमाडौं सहरी क्षेत्र वा उपत्यकाका अरू ठाउँबाट त्यहाँ आइपुग्ने सातवटा मुख्य बाटा छन् । वास्तविक सातदोबाटो भन्नु असन बजार हो । बिहान सबेरदेखि ठिमी–भक्तपुर, थानकोट–बलम्बु, बालाजु–बुढानीलकण्ठ, खोकना–हरिसिद्ध एवं अरू क्षेत्रबाट पनि व्यापारीहरू साग–तरकारी, चामल–चिउरा, दाल–गेडागुडी, दूध–दही, घ्यू–तेल, फलफूल एवं वन्यपदार्थ सालको पात, काफल–ऐंसेलु, काभ्रो, निउरो, जंगली च्याउ लगायत हाँस–कुखुरा पनि बेच्न ल्याउँथे । कृषि उत्पादनमा यो उपत्यका कति सम्पन्न थियो भन्ने असनको बजारमा प्रकट हुन्थ्यो । असनको डबलीमा दाउराको भारी बिसाइबसेका तामाङ युवायुवतीसँग सामानको मोलतोल गर्दा तिनलाई चुरोट र बिँडी सल्काइदिएपछि सजिलै कुरा मिल्थ्यो । मेरा दाजु त्यसै गर्नुहुन्थ्यो । डबलीको अर्को छेउमा रुपैयाँ–पैसा साट्ने सराफी पसल पनि हुन्थ्यो । भारतीय कम्पनी त्यहीँ साटिन्थ्यो । असन तथा इन्द्रचोकका सराफीहरूबाटै कम्पनीको सटही दर तोक्ने काम हुन्थ्यो । बेलायतको इस्ट इन्डिया कम्पनी सरकारले चलाएको सिक्का हुनाले हामी तिनलाई मोहर–रुपैयाँ नभनी कम्पनी भन्थ्यौं । आजभोलि भारु (भारतीय रुपैयाँ) वा आईसी (इन्डियन करेन्सी) भन्ने चलन छ ।

असन बजार चहार्दा मध्याह्नतिर बाहिरबाट आउने डोको, खर्पन भिरेका थोक–व्यापारीहरू घरतिर फर्किसकेका हुन्थे । खुद्रा व्यापारी पसल तथा फगुन्जा (फः बन्जा) हरू साँझसम्मै डबलीको डिलमा, सडकको छेउछाउमा व्यापार गरिबस्थे । हामीले खरिद गर्ने वस्तु माना–पाथी तथा पाउ–कार्नीमा नापिने चलन थियो । लिटर, किलोग्राम र ग्राम हाम्रो शब्दावलीमै थिएन । आलु पनि पाथीमा किनबेच हुन्थ्यो । दाल–चामलको त कुरै भएन । तौलेर बेच्ने भनेको मासु मात्रै हो कि ! फलफूल त गन्तीमै किनबेच हुने हो । वन्यपदार्थ (जस्तैः लब्सी, बयर, सतीबयर आदि) भुइँमा भाग लगाएर बेच्ने जिनिस थिए ।

हलुवाईको रोटी, मिठाई पनि गन्तीमा अधिक किनबेच हुन्थ्यो । मिठाई (मनभोग, गुलीमरी, स्याउ अर्थात् सेवाई) किन्न जाँदा केटाकेटीलाई थोरै फोसा दिने गरिन्थ्यो । यस्तै फोसा अरू पसलमा पनि दिने चलन थियो (पीपलमेट, सखर–चिउरा तथा नरिवल–छोहराका टुक्रा आदि) । फलफूलहरू (केरा, अम्बा, नास्पाती, सुन्तला, भोगटे, कागती) सबै थोक गोटामा गन्ती हुन्थ्यो । अनार–स्याउ असनको पानपसलमा मात्रै बेच्ने गरिन्थ्यो । अनार, स्याउ, मौसममा खानलाई सिकिस्तै बिरामी हुनुपर्थ्यो । टाइफाइड निको भएकालाई ख्वाउने गरिन्थ्यो अनार, मौसम आदिको रस अर्थात् ‘फ्रुट जुस’ । असनको तमाखु पसले हेर्न लायकको हुन्थ्यो । जीउभरि सखर–चाकुको दागले पोतिएको मैलो दौरा–सुरुवालमा बसेर तमाखु बेच्थे ती व्यापारी । उनी तमाखु तौलेरै बेच्थे पाउ र छटाकमा । सालको पातमा परालले बाँधेको पोकामा तमाखु किनेर दिनदिनै ल्याउनुपर्थ्यो । वैद्य पसलको पाचक होस् वा किराना पसलको मसला सबैथोक नेपाली कागजमा बेरेर वा पुरिया पारेर दिन्थे ती । आजभोलि जस्तो सामान पनि प्लास्टिकका थैलीमा, प्लास्टिकका बट्टा वा बोतलमा दिने कुरा सपनामा पनि चिताइएको थिएन । ढुवानीका साधन डोको, डालो, खर्पनबाहेक अरू थिएन मेरो बाल्यावस्थामा । पछि ठेलागाडा र रिक्साले प्रवेश पायो । त्यो पनि २०१७ सालपछि मात्रै ।

काठमाडौंको तापमान

१९९४ साल घटस्थापनाको तेस्रो दिन, जमराका गेडाहरू टुसाइरहेका बेला मेरी आमाले मलाई जन्माइन् । नजिकै थियो वीर अस्पताल, तर प्रसूतिसेवा थिएन । ब्लक नं. १०/४३९ को घरमा एउटा सानो कोठामा पराल

ओछ्याइएको थाङ्नोमाथि सुँडेनी अजीको सहायतामा म जन्मेको थिएँ । बुबा खरिदार लोकबहादुर श्री ३ जुद्धशमशेरको पजनीमा खोसुवा भइसकेका थिए, तर म ‘खरिदार साहेब’ कै छोरा भएर जन्में । र, त्यही औकात पछिसम्मै कायम रह्यो । काठमाडौं सहरको मध्यभागमा नेवार संस्कृति र संस्कारमा जागिरे घरानाको एक शिक्षित परिवारभित्र मेरो पालन–पोषण भयो । सबैभन्दा पहिले ‘ओहो काठमाडौं !’ भन्ने हेक्का २०१९ सालतिर मात्रै भयो । वनस्पति विभागको जडीबुटी व्यापार केन्द्र स्थापना गर्न हवाईजहाज चढेर नेपालगन्ज पुगेको थिएँ । फर्कंदा हवाईजहाजका पाइलट मेरा मित्र थिए– गोपाल श्रेष्ठ । उनले चालक कक्ष ‘ककपिट’ मा राखेर दृश्यावलोकन गराउँदै नेपालगन्जको खजुरा हवाई मैदानदेखि त्रिभुवन विमानस्थलसम्म उडाएर ल्याए । नेपाल दर्शनको एक विशेष अवसर त्यसबेला मलाई जुर्‍यो ।

फागुन–चैतको त्यो उराठ तराईलाई भावरको हरियो वनले संरक्षण दिएको थियो । चोसोमोसो परेका चुचुरासहितको चुरे पहाड र अग्लिँदो महाभारत पर्वतबीच दाङ र देउखुरीको भित्री मधेश विशाल लाग्यो । महाभारत पर्वतको शिरैशिर उडेर आउँदा पर्वतीय गाउँ बस्ती, कान्लाकान्लीले कोपेका पाखाहरू, पहाडी वनमा फुलेका गुराँसहरू, नागबेली नदीका साँघुरा उपत्यकाहरूमा जमेका औंले फाँट र फराकिला टारहरू आकाशबाट नजर भयो । जब हवाईजहाज भीमढुंगामाथितिरबाट काठमाडौं उपत्यका छिर्‍यो त्यहाँबाट देखिएको भूदृश्य नाटकीय रह्यो । हरियो–भरियो, विशाल उपत्यका ! चाक्लो परेको ‘नेपालमण्डल’ ! कान्तिपुर, ललितपुर र भक्तपुरको ‘तीन सहर नेपाल’ ! चार दिशाका ‘चार भञ्ज्याङ’— पाटी भञ्ज्याङ, साँगा भञ्ज्याङ, फर्पिङ भञ्ज्याङ र पाँचपानेभित्रको ‘काठमाडौं खाल्डो’ । कसैको काष्ठमण्डप, कसैको ‘काठमान्डू’, कसैको ‘कान्तिपुर’, कसैको ‘क्याटमान्डू’ र वर्तमानको काठमाडौं । चारैतिर हरियो पहाडले घेरेको, चारै दिशामा चुलिएका पर्वत शिखरहरू— शिवपुरी (२,६८९ मिटर), फुल्चोकी (२,७६५ मिटर), चन्द्रागिरि (२,५३५ मिटर र नागार्जुन (२,०८७ मिटर) बाट शोभायमान उपत्यकाको बीचोबीच बग्दै गरेका वागमती, विष्णुमती, मनोहरा तथा धोबीखोला, टुकुचा, यक्षखोला, हनुमन्ते र गोदावरी आदि नदीनालाले सिञ्चित उर्वरा उपत्यका वास्तवमै अलकापुरी, कान्तिपुरी नगरीको स्वरूपमा प्रस्तुत थियो ।

लगभग दुई सय वर्षपहिले नेपाल छिरेका एक विदेशी यात्रीले चन्द्रागिरिबाट नेपाल उपत्यका देखेर भनेका थिए– ‘मानौं एउटा विशाल कागजमा कोरिएको कन्टुर नक्साझैं फैलिएको समथर दृश्य नजर भयो ।’ हुन पनि अन्दाजी ६४० वर्गकिलोमिटरको क्षेत्रफललाई उब्जाउ खेत र बारीका कान्लाहरूले कोरेर समथर जमिन, अनि टार र डोलहरू तथा बिस्तारै उठेका पाखा र पहाडी भूमिले प्रदर्शन गर्ने दृश्य एक आधुनिक नक्साजस्तै थियो २०१९ सालमा पनि । मन्दिरको बाहुल्यता टड्कारो थियो । मन्दिरभन्दा अग्लो घर वा भवन बनाउने चलन थिएन । भनौं त्यस्तो परम्परा थिएन । धरहरा र घन्टाघर फेदीदेखि टुप्पोसम्मै स्पष्ट देखिन्थ्यो । कतैबाट छेलिएको अवस्था थिएन । गौचर विमानस्थल नजिकै बौद्धस्तूपको त्यो विशालतालाई चारैतिरको खुला कृषि भूमिले शोभायमान बनाउन मद्दत गरिरहेको थियो । पशुपति–गुह्येश्वरी र वागमतीको स्थान ठम्याउन नभ्याउँदै हवाईजहाज जमिनमा अवतरण भयो । तुवाँलोले गर्दा हिमालको दर्शन भएन, तर उपत्यकाका पहाडहरू फेदीदेखि टुप्पोसम्मै देख्न सकिने भयो ।

काठमाडौंको त्यही विमानस्थलमा ६० वर्षपछि अर्थात् गत फागुन २०७९ मा बुद्ध एयरको हवाईजहाज चढेर भैरहवाबाट उत्रिँदा मेरो त्यो काठमाडौं हराइसकेको थियो । जमिन वा हरियो फाँट कहीँ देखिएन । न डोलहरू भेटिन्छन्, न टारहरू चिनिन्छन् । तीनै सहर एकै डल्लो भइसकेछ । कंक्रिट र फलामबाट निर्माण भएका गगनचुम्बी भवनहरूले उपत्यकाको उचाइ १,३५० मिटरबाट माथि १०/१५ तला उठिसकेको छ ।

२०२५ सालतिर उपत्यकाको २५ प्रतिशतभन्दा पनि कम क्षेत्रफलमा फैलिएको सहरी क्षेत्रले २०४६ सालतिर ६७ प्रतिशत भूभागलाई ओगटिसकेको थियो । त्यसपछिका दिनहरूमा भवन निर्माणले उग्रगति लियो । उतिबेलाको उपत्यकामा लगभग ५ लाख जनसंख्या थियो । हालैको जनगणनाअनुसार, ३० लाखभन्दा बढी जनसंख्या बस्छ काठमाडौं उपत्यकामा ।

२०२०–३० सालतिर वैशाख–जेठको गर्मीमा लगभग ३०/३२ डिग्री सेल्सियसको अधिकतम तापमान नापिन्थ्यो, तर त्यो गर्मी दिनको ११ देखि २ बजेसम्म मात्रै टिक्थ्यो । साँझ–रात गर्मी घटिहाल्थ्यो । तापमानको रेखांकन कर्भले गर्दन लामो जिराफको आकार लिन्थ्यो । आजभोलिको तापक्रम एकपल्ट बढेपछि घट्ने नामै लिँदैन । रेखांकन गर्न थाल्यौं भने त्यसले हात्तीको आकार लिन्छ । उच्च विन्दुमा पुगेको तापमान झर्न मान्दै मान्दैन । फलस्वरूप यो उपत्यकाको तापमानलाई पनि क्यालोरीमा नाप्नुपर्ने अवस्था छ । उचाइ फरक नपरे पनि एउटा दुब्लो मान्छे मोटाउँदै गएपछि त्यसको नापो उचाइमा नभई तौलमा पनि नाप्नुपर्ने हुन्छ । ग्लोबल वार्मिङ (विश्व उष्णीकरण) भन्दा लोकल वार्मिङ (स्थानीय उष्णीकरण) हाम्रो चिन्ता र चासोको विषय बन्न थालेको छ ।

कहिल्यै आँप नपाक्ने र लिची नफल्ने बारीमा आँप पाक्न थालेको छ । लिची फल्न थालेको छ । उष्ण हावापानीका फलहरू एभोकाडो र ड्रागन फ्रुट्स पनि फल्न थालेका छन् । उष्ण प्रदेशीय जाकारान्डा र लालुपाते छ्यास्छ्यास्ती फैलन थालेको छ । वातावरणीय परिवर्तनका साथै हाम्रो जीवनशैलीमा पनि नाटकीय परिवर्तन भएको छ मेरो काठमाडौंमा ।

आठ दशकभन्दा लामो अवधि काठमाडौं खाल्डोमा बिताएपछि बाल्यावस्थातिर जीवनलाई फर्केर हेर्ने चेष्टा गर्छु । यस उपत्यकाको भौगोलिक स्वरूप, विकसित भौतिक संरचना, जनसंख्याको चाप र वातावरणीय प्रभाव, सामाजिक एवं आर्थिक परिवर्तन नियाल्दा मलाई विश्वास गर्न गाह्रो पर्छ– साँच्चै म यही जुनीको कुरा गर्दै छु वा पूर्वजुनीको ?

प्रकाशित : असार २३, २०८० १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?