२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

हराएको एउटा काँठ

के हो काँठ कल्चर ? के हो ‘पप कल्चर’ ? कोटेश्वरलाई पढे यसको जवाफ पाइन्छ ।

कोटेश्वर कहिलेसम्म काँठ रह्यो ? यसको तिथिमितिगत उत्तर सम्भवतः कसैसँग पनि छैन । यतिचाहिँ किटानीका साथ भन्न सकिन्छ– जनआन्दोलन २०४६ को सफलतापछि कोटेश्वरको काँठेपनामा क्रमशः कमी आउन थालेको हो । तीसको दशकमा कोटेश्वर काँठले उच्चबिन्दु स्पर्श गरेको देखिन्छ । सोही दशकको एक भोक्ताको फ्रेमबाट हेर्दा यो काँठ अथवा सहरको किनारबारे यस्तो स्मृति ताजा बनेर आएको छ ।

हराएको एउटा काँठ

जब २०४६ सालको आन्दोलन सफल भयो तब कोटेश्वरको काँठे संस्कार एक पटक उचाइमा पुगेर क्रमशः तल ओर्लन थाल्यो । आन्दोलन निष्कर्षमा पुगेपछि अधिकांश कोटेश्वरवासी कांग्रेस र कम्युनिस्टमा विभाजित भए । मन नपरेको व्यक्ति वा छिमेकी कांग्रेस भयो भने आफू कम्युनिस्ट हुने चलन खुबै चल्यो । प्रायः काँठवासीमा ‘तँलाई म देखाइदिन्छु’ भन्ने मनोभाव बलियो थियो । यो पनि त कल्चरकै प्रभाव हो । दलहरू प्रतिबन्धित रहेको समयमा कोटेश्वरमा कम्युनिस्ट वर्चस्व थियो, कांग्रेस निकै कम देखिन्थे सतहमा । शासनसत्ताप्रति अधिक डराउँथ्यो काँठ ।

पञ्चहरूको चुरीफुरी अत्यन्तै थियो भने उनीहरू खुलेआम बहुदलवादीलाई असामाजिक करार गरिदिन्थे । कम्युनिस्ट अर्थात् प्रगतिशील विचारको पक्षपाति हुँदाहुँदै पनि कोटेश्वरको जीवनशैली भने यथास्थितिवादी वा कहिलेकाहीँ त पश्चगामी नै थियो । विभेद, थिचोमिचो, अन्याय र सुदखोरी व्याप्त थियो । मेरी आमाले एक तोला सुन धितो राखेर वर्ष दिनका लागि छिमेकीसँग सय रुपैयाँ सापटी लिएकी रहिछन्, उनले तोकिएको समयमा साउँब्याज तिर्न सकिनन् । दुई–तीन महिनापछि पैसा लिएर सुन निखन्न जाँदा धितो लिनेले नदिएको घटना आमा बारम्बार सुनाउँथिन् । महिलालाई कम श्रममूल्यका साथै शिक्षाबाट वञ्चित गर्नेदेखि दलितहरूप्रति काँठ असहिष्णु थियो ।

प्रश्न उठ्छ– के हो त काँठ कल्चर ? यसको कुनै छुट्टै पहिचान छ ? कुनै निश्चित कल्चर वा जीवनशैली, खानपान, चाडबाड, गीतसंगीत अथवा मनोरञ्जनमा निजत्व नहुनु नै काँठ कल्चर हो । त्यसो भए के यो ‘पप कल्चर’ हो ?

छ्यासमिस वा पोस्टमोडर्न (!) कल्चर ? कोटेश्वरबाट अलि पर्तिरको भक्तपुर सहर, काठमाडौं र पाटनका नेवारहरूमा आफ्नै कल्चर थियो । उपत्यकाका डाँडावरिपरि बसोबास गर्ने तामाङको पनि निजी कल्चर थियो । तर, यो कोटेश्वर काँठको आफ्नो भन्नु केही पनि थिएन । नेवार हुन् वा तामाङ तिनको आफ्नै चाडपर्व र मनोरञ्जन अनि खानपानको तरिका थिए । भलै ती बिस्तारै फिका हुँदै गए । बहुल संस्कृतिको थिचोमिचोमा ती पनि पर्दै गए ।

काँठको भने कहिल्यै आफ्नो निजी कल्चर हुन सकेन । न खानपान न त लवाइ नै आफ्नो बनाउन सक्यो यसले ! तर, मनोविज्ञान भने काँठको अलि फरक थियो । अधिकांश काँठे महत्त्वाकांक्षाहीन थिए । जीवनमा केही गर्नैपर्छ भन्ने सोच निकै कममा प्रतीत हुन्थ्यो । शिक्षाको महत्त्वबारे अल्पज्ञान मात्रै थियो । आफ्नो भन्दा अरूको बढी चासो र चिन्ता राख्नु काँठको स्वभाव हो । चिया पसल वा कुनै चौतारोमा बसेर अरूको कुरा काट्नु औधी प्रिय कर्म हुन्थ्यो काँठवासीको । त्यही स्वभाव बोकेर वर्षौंदेखि काँठ बाँचिरह्यो ।

लामो समयसम्म काँठले मनोरञ्जनलाई ‘पाप’ सम्झिरह्यो, ‘खराब कर्म’ मानिरह्यो । म बिर्सनै सक्दिनँ तीसको दशकको मध्यतिरको एउटा घटना । एक जना गाउँले दाइले रञ्जना सिनेमाहल लगेर आफ्नै पैसामा मलाई हिन्दी सिनेमा देखाएका थिए । त्यो सिनेमाको नाम ‘आदमी सडकका’ थियो । त्यसबखत मैले दस कक्षा उत्तीर्ण गरिसकेको थिएँ । तर, मेरो जीवनकै पहिलो सिनेमा थियो त्यो । सिनेमा हेरेर घर फर्कंदा पाँच नाघिसकेको थियो । घरमा आमा र दाजुले एकै पटक सोधे– ‘कहाँ गएर आइस् यतिखेरसम्म ?’

‘रञ्जनामा सिनेमा हेरेर आको,’ मैले सीधा उत्तर दिएँ ।

‘यहाँ गाई भोकले कराएको करायै छ, तँ भने सिनेमा हेर्न जानेँ ? अब यो बिग्रने भयो, खराब काम गर्‍यो यसले । यति सानै उमेरमा सिनेमा हेर्न थाल्यो !’ दाजु कराउन थाले ।

तीनकुने छेउछाउ, त्रिभुवन विमानस्थल नजिकका चौर र बागमती नदीवरपर दैनिक गाई चराउन लैजाने जिम्मेवारी मेरै थियो । गाई चराउन जाँदा गरिने कतिपय कर्म नै हाम्रा निम्ति मनोरञ्जन थिए । बगलीमा पैसा हुँदा गुच्चा र पायाँ (कौडाजस्तै) खेलिन्थ्यो, नहुँदा कित्ता (चुरोटको खोलबाट बन्ने) वा डन्डीबियो प्रमुख खेल बन्थ्यो । दाइ पुस्ताका केही अग्रज भने सिनेमा नियमित हेर्थे, चाहे घरमा जतिसुकै कुटाइ खाइयोस् वा पापी भनियोस् । उनीहरू बेलाबखत तास र पासा पनि खेल्ने गर्थे ।

सोही समयको छेकोमा दाइ उमेरका थुप्रैले घरबाट पैसा वा सुन चोरेर ‘सोले’ फिल्म हेर्न रक्सौल पुगेको कथा सुनेको थिएँ । सोले हेरेर फर्केका एक जना दाइले उक्त फिल्मको डाइलग अभिनयसहित सुनाएका थिए । उनले त्यो फिल्म सात पटक हेरेका रहेछन् । कलाकारका नाम, गीत र संवाद हामी भाइहरूलाई ती दाइले खुबै सुनाउँथे । तिनको ‘स्टोरी टेलिङ’ मलाई अद्भुत लाग्थ्यो । दृश्यसमेत बताउँथे उनी । ‘शोले’ हेर्न रक्सौल पुगेका उनी झन्डै १० दिनपछि घर फर्केका थिए । तिनी मेरा निकटतम छिमेकी थिए । उनी आफ्नी आमाको सुन चोरेर सोले हेर्न गएका रहेछन् । घर फर्केपछि खूब पिटाइ खाए, त्यो क्रम केही दिनसम्म जारी रह्यो । पिट्दा उनकी आमाले पटकपटक ‘तँ पापी मेरो सुन चोरेर सिनेमा हेर्न जाने भइस् हैन’ भन्थिन् । उनलाई सिनेमा अर्थात् मनोरञ्जन गर्नु र पाप गर्नु उस्तैउस्तै लाग्थ्यो सायद । ती दाइ र तिनका दौंतरी सिनेमामा हिरो वा अन्य कलाकारले लगाएको जस्तै लुगा लगाउन खोज्थे । कलाकारका बोली र व्यवहार पनि नक्कल गर्न खोज्थे । काँठमा पप कल्चर भित्र्याउन सायद ती दाइजस्तैको योगदान पो रह्यो कि भन्ने पनि मलाई लाग्छ ।

आमाको सुन चोरेर सोले हेर्ने ती दाइको स्वभाव खर्चालु खालको थियो । उनी घरबाट सुन मात्र होइन, चामल र अर्थोक पनि चोरेर बेच्थे । त्यो समय नगदको चरम अभाव थियो । त्यो अभाव पूर्तिका खातिर घरका सरसामान नबेची खल्ती गह्रुङ्गो पार्न सम्भव थिएन । युवावयका मानिसले घरबाट चोरेको सामान किन्ने एक जना पसले थिए । त्यसबखत तिनी कोटेश्वरमा खुबै बदनाम पनि थिए ।

खासमा काँठ रहँदा कोटेश्वर सधैं हेपाइमा पर्‍यो । सहरवासीले जसरी हामीलाई ‘काँठे’ भन्थे, उसै गरी दूर डाँडापाखाका मानिसले पनि हेप्दै सोही सम्बोधन गर्थे । काँठले तिनलाई ‘पाखे’ भनेर हेप्ने प्रयत्न गर्थ्यो, तर सफल हुँदैनथ्यो । लामो समयसम्म काँठेले विवाह गर्न काँठतिरै ताक्नुपर्ने अवस्था थियो । सहरियाले पत्याउने त कुरै भएन, छेउछाउ डाँडापाखाले पनि काँठेसँग सम्बन्ध गाँस्न रुचाउँदैनथ्यो । कम्युनिस्ट वर्चस्व रहेको कोटेश्वरमा वामपन्थीहरूले ‘पप कल्चर’ मन पराउने कुरै भएन । पप कल्चरलाई ती पश्चिमा वा अमेरिकी साम्राज्यवादी कर्म मान्थे ।

अहिले त कोटेश्वर काठमाडौं महानगरपालिका वडा नम्बर ३२ भइसकेको छ । सरकार वा प्रशासनले यो स्थानलाई नगरपालिका करार गरिदिएको लामो समयसम्म पनि यसले आफूलाई नगरवासी मानेको थिएन । बिस्तारै यहाँको स्थानीयता ओझेल पर्दै जान थाल्यो । यो काँठले बागमतीमा नुहाउन, पौडी खेल्न, लुगा धुन र अप्ठेरो पर्दा त्यो खोलाको पानी पिउन नपाउने भयो । दर्जनौं कुवा, इनार अतिक्रमित भए । खुला स्थान, चौर र चौतारोहरू निजी सम्पत्तिमा रूपान्तरित भए । अब कोटेश्वरमा यहाँको खेतबारीको माटोको सुगन्ध आउँदैन । विभिन्न ठाउँबाट बसाइसराइ गर्दै यता आउनेको संख्या ह्वात्तै बढेपछि कोटेश्वरले आफ्नो काँठको चोला बदलेको हो । साँच्चै कोटेश्वरबाट हराएको काँठ अहिले कहाँ पुग्यो होला ?

यो काँठलाई ‘कल्चरलेस’ भन्नु पनि अलिकति अपमान नै हो । त्यो अपमान म स्वयम् पनि खप्न सक्दिनँ । जति नै आफ्नो निजी कल्चर छैन भने पनि अलिकति यताबाट, अलिकति उताबाट आयात गररै भए पनि भोगिरहिएकै हुन्छ । यसो हुँदाचाहिँ काँठले ‘पप कल्चर’ अंगीकार गरिरहेको हुन्छ भन्दा केही न्याय होला कि भन्ने मलाई लागेको हो ।

काँठ स्वदेशी कमिज–सुरुवाल नलगाएर पश्चिमी सभ्यताको पाइन्ट–सर्ट पहिरन्छ । मकै, ढिँडो, कोदो, फापर, गहुँ नखाएर किनेरै भए पनि उसिनाको चामल खान्छ (किनकि, त्यो समय काँठमा वर्ष दिन पूरै खान पुग्ने धान उत्पादन हुने जमिन निकै कम मानिससँग मात्रै थियो) । गाउँका साना पसलमा दैनिक उपभोग्य सामान नकिनेर सहर (त्यसबखत मंगलबजार वा असन) पस्छ । गाई–भैंसी पाल्छ, तर दूध आफू कम पिउँछ वा पिउँदै पिउँदैन र बेच्न पनि सहर नै पुग्छ । दही बेच्छ र कोक पिउँछ । मनोरञ्जन (विशेषगरी सिनेमा हेर्ने) लाई खराब काम वा पाप ठान्छ, तर बहुसंख्यक युवा लुकीछिपी भिडियो, त्यसमा पनि ‘पोर्न’ हेर्न मन पराउँछ । गाई–भैंसी दुहुन छाडेर केही क्रान्तिकारी (परिवर्तनप्रेमी) युवा हिप्पी हेर्न झोँछे वरपर पनि पुग्छन् । हिप्पीबाट प्रभावित बनेर बेलबटम पाइन्ट लगाउने, जुल्फी (कपाल) पाल्ने र सर्टको कलर लामो पार्ने काम पनि काँठका केही युवापंक्तिले गर्‍यो । हिप्पीकै कथामा आधारित बीसको दशकको उत्तरार्द्धतिर बनेको हिन्दी सिनेमा ‘हरेरामा हरेकृष्णा’ तिनको प्रिय सिनेमा (नेपालमा छायांकनसमेत भएको) बन्न पुग्यो ।

आमरूपमा कोटेश्वर काँठले वार्षिक रूपमा स्वस्थानी भने पढिरह्यो र त्यसका तिलस्मी कथाबाट रोमाञ्चित भइरह्यो । सप्ताह, पुराण बेलाबखत लगाइरह्यो र दसैं–तिहार पनि मनाइरह्यो । छोरीलाई स्वस्थानी कथा पढ्न कहिल्यै दिएन र स्त्रीले सुन्न हुँदैन भन्दै गायत्री मन्त्र व्रतबन्ध गरेका पुरुषले दैनिक रटिरहे । र, कल्चरभित्र यी क्रियाकलापले स्थान ओगटिरहे ।

काँठ जहिलेसम्म ‘काँठ’ नै रह्यो त्यसबखतसम्म त्यसले पप कल्चर अपनायो । यहाँ थोरै यस्ता मानिस पनि बस्थे, जो आफूलाई ‘एलिट’ मान्थे, तिनले पनि कुनै ‘एलिट कल्चर’ अपनाउन सकेनन् । ती एलिटहरूले पनि पप कल्चरकै बाटो समाते । पप कल्चर उसै पनि कम आयु भएको पदावलीका रूपमा दर्ता भएको छ । यसलाई हामीले कतिपय अवस्थामा ‘अपसंस्कृति’ को उपमा दिए पनि यो एउटा कल्चर त हो नै ।

संसारभरि नै कल्चरहरूबारे अध्ययन–अनुसन्धान र अध्यापन हुने गरेको पाइन्छ । कल्चरलाई विद्वान्हरूले सर्वाधिक रचनात्मक र ज्ञानको स्रोत मानेका छन् । ‘कल्चरल ट्रान्समिसन’ ले मानिसहरूलाई नयाँनयाँ आविष्कारका साथै नयाँ सोच र नयाँ युगमा पुग्न मद्दत गरेको विश्वास गरिन्छ । युरोप–अमेरिकामा १९७० मा मानविकी र समाजशास्त्रका विद्वान्हरूले ‘कल्चरल टर्न’ नामक अभियान नै चलाएका थिए । कल्चरल टर्नले इतिहासको अध्ययनमा ठूलो प्रभाव पारेको मानिन्छ । यसले विगत कस्तो थियो, हामीले यसका बारेमा कसरी कुरा गर्‍यौं र हामीले यसलाई कसरी सिकायौं भन्नेबारे हाम्रा सबै पुराना मान्यताहरूलाई प्रश्न गर्न बाध्य तुल्यायो । डेभिड चेनी नामक लेखकले ‘द कल्चरल टर्न’ नामक किताब नै लेखेका छन् । सन् १९९४ मा प्रकाशित उक्त पुस्तकमा उनले भनेका छन्, ‘कल्चर मानविकीको क्षेत्रमा पछिल्लो शताब्दीमा महत्त्वपूर्ण रूपमा विकसित अवधारणा हो । कल्चर र त्यससँग जोडिएको पदावली अध्ययनको विषय मात्र नभएर सर्वाधिक रचनात्मक तथा बौद्धिक स्रोतसमेत बनेको छ । यसले हामीलाई आज हामीले बाँचिरहेको जीवन बुझाइको पुनर्व्याख्या गर्न अभिप्रेरित गर्दछ ।’

युवा विद्यार्थीको आकर्षण कम हुँदै गएको भए पनि हाम्रो देशको विश्व–विद्यालयमा कल्चर पढाइन्छ । कल्चर विषय रोचक कम हुनुका साथै यसमा भविष्य नदेखेरै विद्यार्थीको आकर्षण कम भएको हुन सक्छ । यसलाई रोचक बनाउने जिम्मा पाठ्यक्रम निर्माता, लेखक र प्राध्यापककै हो । विश्व–विद्यालयमा कहिल्यै काँठ कल्चर पढाइ भएन । ‘कल्चरल टर्न’ बुझ्न काँठजत्तिको उपयुक्त स्थान अर्को हुन होला र ! हाम्रा प्राध्यापकहरूले सहायक सामग्रीकै रूपमा भए पनि यस्ता कल्चरबारे पढाउने कष्ट गरेनन् । नत्र द्रुत गतिमा फेरिइरहेको काँठ कल्चरको अध्ययन–अध्यापन कम्ता रोचक र रोमाञ्चक हुने थिएन ! हाम्रा विश्व–विद्यालय र पाठ्यक्रम निर्माता विद्वान्हरूलाई अनुरोध के छ भने, आफ्नो निजी कल्चर नहुनाले नै काँठ सधैं ‘कल्चरल ट्रान्जिसन’ को सिकार बनिरह्यो । यसैलाई ऐतिहासिक घटना मानेर, काँठको निजी स्वरूप तथा प्रतिनिधि घटनाहरूबारे खोज गर्दा हितकर नै हुन्छ । के यसबारे कुनै शोध–अनुसन्धान हुनु वा विश्व–विद्यालयको पाठ्यक्रममा समावेश गरिनु रोचक सन्दर्भ नबन्ला र !

प्रकाशित : असार ९, २०८० ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?