कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

पांग्रामा गुडिरहेको सभ्यता

मानव सभ्यता पांग्रामै सवार भएर यात्रा गरेथ्यो । मान्छेको मानक कथा हो– पांग्राको आविष्कार । काल्पनिकीको उच्चतम नमुना पांग्राले मान्छेको इतिहासलाई नै फरक दिशा र गति दियो । नभएको भए पांग्रा सभ्यताको यो दौडमा हामी आइपुग्ने थिएनौं ।
सुरेश ढकाल

पांग्राको आविष्कार सभ्यताको मानक कथा हो । यो त्यस्तो प्रविधिको आविष्कार थियो, जसले मानव सभ्यतालाई आजको उन्नत अवस्थासम्म यात्रा गरायो । संस्कृतिको उद्विकासमा छोटो अवधिमै लामो दूरी तय गर्न मान्छेको अन्य प्राविधिक आविष्कारका तुलनामा पांग्राको योगदान महत्त्वपूर्ण छ । महाभारतको रथदेखि सुपर–सोनिक जेटको कथा खासमा पांग्राबिना सम्भव थिएन । प्रविधि युगको आदिकथा हो– पांग्राको कथा : यो सामान्य पांग्राको केही असामान्य फुटकर कथा हो ।

पांग्रामा गुडिरहेको सभ्यता

कथा महाभारतको

महाभारत बृहत् युद्धकथाका सबैभन्दा ‘अभागी’ पात्र हुन्– सूर्यपुत्र कर्ण । यद्यपि महाभारत पढे/सुनेका मान्छेका लागि तिनै कर्ण सम्भवतः निकटका लाग्न सक्छन् । मानौं आजको मान्छेको विरोधाभाषपूर्ण जिन्दगीको प्रतिनिधित्व गर्थे कर्ण । भारतीय लेखिका इरावती कर्वेका अनुसार, कर्ण ‘म को हुँ’ भन्ने प्रश्न वरिपरि रुमल्लिइरहेका पात्र थिए, जुन आजको मान्छेको मनोदशासँग धेरै मेल खान्छ । ‘धर्मयुद्ध’ को सत्रौं दिनमा ‘कपटपूर्ण’ रूपमा गरिएको कर्णको हत्या दुःखान्तको उत्कर्ष थियो । कर्णको हत्या त्यतिबेला भयो, जतिबेला उनको रथको पांग्रा जमिनमा धस्सिएको थियो र उनी त्यही धसिएको पांग्रा निकाल्न जमिनमा ओर्लिएका थिए निहत्था । तिनै निःशस्त्र कर्णलाई कृष्णको ‘उक्साहट’ मा, तर युद्धको शिष्टाचारविपरीत अर्जुनले वाण चलाएर हत्या गरेका थिए । कथाअनुसार, यदि कर्णले पनि युद्धको शिष्टाचार र ‘धर्म’ बिर्सिएको भए उनले पनि अर्जुनको हत्या गर्न सक्थे, तर त्यसो गरेनन् । भनिन्छ, महाभारत अनेकौं असंगतिहरूका संगतिपूर्ण कथा हो । यदि कर्णले पनि ‘धर्म बिर्सेर’ अर्जुनको हत्या गरेका भए ?

त्यसैले अनुमान गर्न सकिन्छ– कर्ण सवार रथको पांग्रा सोही समय त्यसरी नधस्सिएको भए महाभारत कथाले अर्कै मोड लिने थियो, कथाको संरचना अर्कै हुने थियो ।

महाभारतमा रथयुद्ध महादृश्यको जुन रचना गरिएको छ, त्यो लेखकीय परिकल्पनाको उत्कृष्ट नमुना थियो । महाभारतमा नाटकीय मोडका लागि ‘प्रप’ का रूपमा उपयोग गरिएको त्यो घोडाले तान्ने रथका ठूला–ठूला चक्रजस्ता पांग्राहरू तत्कालीन समयमा त्यति पुराना प्रविधि भने थिएन । यातायातका लागि पांग्राको प्रयोग हुन थालेको धेरै भएको थिएन । घोडाले तान्ने रथमा पांग्राको प्रयोग तत्कालीन समयको उत्कृष्ट प्रविधि थियो, जुन हजारौं वर्षसम्म निरन्तर रह्यो– वाष्पइन्धन वा जैविक इन्धनको प्रयोगले तिनलाई विस्थापन नगर्दासम्म । महाभारतको कालक्रम निर्धारणमा मतैक्यता भेटिँदैन । त्यस्तै महाभारतको कथा लेखनको अवधिको पनि, किनकि यो सुरुमा श्रुति–स्मृति परम्पराबाट निरन्तरता पाउँदै आएको कथा थियो । आर्य अतिक्रमणको युरोपेली सिद्धान्त र केही भातीय लेखकसमेतका अनुमानमा महाभारत करिब ३५०० वर्ष पहिलेको कथा हो । तर, अन्य पौराणिक र केही पुरातात्त्विक प्रमाणले यो करिब ६ हजार वर्षसम्म पुरानो हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै पुरातात्त्विक अन्वेषणमा पांग्राको प्राप्त अवशेष करिब ५५ सय वर्ष पुरानो भएको कालक्रम निर्धारण गरिएको छ । कृष्णको सुदर्शन चक्र पनि पांग्राको आविष्कारपछिको परिकल्पना थियो । यद्यपि ऋग्वेदमा उल्लेख भएको भनिने विष्णुको सुदर्शन चक्र झनै पुरानो उदाहरण थियो पांग्राको परिकल्पनाको ।

केही पुरातत्त्वविद्हरूले पांग्राको आविष्कार ६ हजार वर्षभन्दा पहिले नै भएको हुन सक्ने अनुमान गरेका छन् । यही प्रमाणका भरमा महाभारत युद्धको कालक्रम निर्धारण गर्न त सकिँदैन, तर यति भन्न सकिन्छ, महाभारतका रथ पांग्राको प्रयोगद्वारा सम्भव भएको यातायातको सुरुवाती र भव्य उपयोग थियो । पांग्रा र एक्सल (पांग्राको केन्द्रभागमा रहने अक्षयकिलो वा अक्षयदण्ड) को संयोजन वा युक्तिले त्यसरी चल्ने पांग्रावाला रथको निर्माण सम्भव भएको थियो । अहिले सुन्दा सामान्य लागे पनि हजारौं वर्ष पहिले त्यस्तो प्रविधि चमत्कारी नै थियो ।

महाभारतकालीन रथदेखि सर्वाधिक तीव्र गतिमा उड्ने उत्तर अमेरिकी एक्स–फिफ्टिन जहाजसम्मका कथा खासमा पांग्राकै आविष्कारले सम्भव भएको प्रविधिको कथा हो । तर, पांग्राको आविष्कारको पहिलो उपयोग भने यातायातका लागि भएको थिएन ।

अज्ञात आविष्कारक

‘म अल्छी छु । तर, तिनै अल्छी मान्छेले नै पांग्रा अनि साइकलको आविष्कार गरेका थिए किनकि तिनले हिँड्न वा भारी बोक्न मन पराएनन्,’ नोबेल पुरस्कार प्राप्त पोल्यान्डका पूर्व ाष्ट्रपति लेख वालेसको यो लाक्षणिक उद्धरण फरक सन्दर्भमा थियो । तर, जे भए पनि मानव सभ्यतालाई नै गति दिने पांग्राका आविष्कारक अज्ञात ‘अल्छी’ जो थिए ती धन्यबादका हकदार थिए । हिजोका तिनै ‘अल्छी’ हरूले नै आजको संसारलाई यो रफ्तारमा चल्न सम्भव बनाएका थिए ।

मान्छेका अधिकांश आविष्कार प्रकृति वा प्राकृतिक अवस्थाबाट प्रभावित भई गरिएका छन् । पांग्रा मात्रै त्यस्तो आविष्कार हो, जुन मान्छेको काल्पनिकीको उपज थियो । यो आविष्कारमा आधारित शृंखलाबद्ध नव–प्रवर्तनले मानव इतिहासलाई नै फरक दिशा र गति दिने काम गर्‍यो । मानव जातिको विगतबारे रुचि हुने जोकोहीलाई पनि लाग्दो हो– पांग्रा नभएको भए हामी अवश्य सभ्यताको यो दौडमा यहाँसम्म आइपुगेका हुँदैनथ्यौं ।

करिब २२ देखि २५ लाख वर्षअघिको सामान्य ढुंगे हतियारको निर्माण र प्रयोग मानवजातिको इतिहासमा प्रविधिको पहिलो आविष्कार थियो, जसले मान्छेलाई सांस्कृतिक मान्छेको आदि पहिचान दिलायो । सांस्कृतिक मान्छे अर्थात् जसले श्रम र दिमागी कसरतको उपयोगद्वारा जीवन सहज बनाउने उपाय खोजी गर्न सुरु गरेका थिए । लाखौं वर्षको निरन्तरताको परिणाम थियो क्रमशः आगोको आविष्कार, खेतीपातीको सुरुवात, माटोका भाँडा र पांग्राको आविष्कार, जसले सांस्कृतिक उद्विकासमा महत्त्वपूर्ण परिवर्तन सम्भव गरायो । नवपाषाणकाल र कांश्युगबीचको संक्रमणकालीन, करिब १० हजारदेखि ५५ सय वर्षको अवधिमा देखापरेको थियो पांग्राको आविष्कारका पुरातात्त्विक प्रमाणहरू । यस आविष्कारको महत्त्व अन्य आविष्कार र उपयोगको सन्दर्भमा हेर्नुपर्ने हुन्छ, जो पांग्राबिना सम्भव हुने थिएनन् । पछिल्ला आविष्कारहरूबिना केवल पांग्राको आविष्कार मात्रैले अवश्यै पनि मानवजातिका लागि त्यति धेरै योगदान गर्न सक्दैनथ्यो ।

कृषि, डुंगा, कपडा बुनाई, माटाको भाँडाका निर्माणजस्ता महत्त्वपूर्ण आविष्कारपछि मात्रै पांग्रा देखापरेको थियो । केही मानवशास्त्री ठान्छन्, ‘काठ जैविक अवशेष भएकाले अन्य अजैविक अवशेषजस्तो हजारौं वर्ष सुरक्षित रहन सक्ने सम्भावना कमै हुन्छ । त्यसैले पुराना पांग्राको अवशेष नभेटिएका हुन सक्छन् ।’ तर, पांग्राको आविष्कार र प्रयोग हाल अनुमान गरिएभन्दा पनि पुरानो हुन सक्छ । तथापि उल्लेखित सबै आविष्कारको स्तरोन्नतिका लागि पांग्राले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पांग्राको आविष्कारले तसर्थ मानव सभ्यता र सांस्कृतिक विकासलाई निरन्तर प्रभावित गरिरह्यो । यसले अर्थतन्त्र, समाज र जीविकोपार्जनका उपायहरूमा गहन र दूरगामी प्रभाव पारेको छ । सुरुवाती चरणको कृषिलाई व्यापारसम्म जोड्ने क्रमदेखि शक्तिशाली उपनिवेश र साम्राज्य विस्तारमा पांग्राको महत्त्वपूर्ण भूमिका थियो । पांग्राको सामर्थ्यले विश्वको नक्सा बदलिदिएको थियो । पुँजीवादको लय र गति पनि पांग्रामै सवार भएर भएको थियो, जसका अनेक उदाहरण हाम्रा सामुन्ने छन्, जुन सहजै अवलोकन र अनुमान गर्न सकिन्छ ।

त्यसैले भनिन्छ– मानव सभ्यता पांग्रामा सवार भएर यात्रा गरेथ्यो । अर्थात् पांग्राको कथा मान्छेको कथाको अभिन्न अंग हो । पांग्राको आविष्कारक को भनेर निश्चित रूपमा खुट्याउन नसके पनि सभ्यताको वाहक बृहत् इतिहास बोकेको पांग्राको भूमिकामा कुनै फरक परेको छैन ।

पांग्राको पहिलो उपयोग कुमालेको चक्र

प्रमाणमा आधारित अनुमान अनुसार, करिब ६ हजारदेखि ६२ सय वर्ष पहिले सुमेरियन कुमालेहरूले माटोका भाँडा बनाउन पांग्राको प्रयोग गरेका थिए । तर, त्यो पहिलो आविष्कार भद्दा प्रकारको थियो, जो सुस्त गतिमा कुनै अक्षकिलोको वरिपरि घुम्थ्यो । उपयोगीसिद्ध भएपछि त्यसैलाई सुधार गरी ठाडो अक्षकिलोमा अड्याएर चाहेको गतिमा घुम्ने पांग्रा निर्माण गरियो । त्यसपछि भने माटोका भाँडा बनाउने प्रविधि र शिल्पमा उल्लेखनीय परिवर्तन आयो ।

यस्तो पांग्राको सुरुवाती प्रमाणको अवशेष भने मेसोपोटामियाको उर भन्ने स्थान (वर्तमान इराक) मा फेला पारिएको थियो आजभन्दा अनुमानित पचपन्न सय वर्ष पहिले । आविष्कारक को थियो ? त्यो अज्ञातै छ । ठूला रूखका गोलाइ (मुढा) का चक्का काटेर त्यस्ता काठका पांग्रा बनाइएको हुन सक्छ । स्वाभाविक रूपमा ती पांग्रा धेरै खप्दैनथे । यस्ता पांग्रा बनाउने सीप द्रुत गतिमा प्रसार भयो र तिनमा स्तरोन्नति पनि सँगसँगै भयो ।

विविध स्वरूप र बहुउपयोगका सेरामिक अर्थात् माटाका भाँडाहरूको बढ्दो प्रचलनसँगै तिनको निर्माणको प्रविधिमा पनि नवप्रवर्द्धनहरूमार्फत क्रमशः स्तरोन्नति हुँदै गएको पाइन्छ । यद्यपि यसको निर्माणको आधारभूत प्रविधि अर्थात् पांग्राको प्रयोग भने यथावतै छ ।

पुरातात्त्विक सन्दर्भमा विभिन्न कालखण्डका माटोका भाँडाका टुक्राहरू मानवशास्त्रीहरूका लागि विगतबारे थाहा पाउने महत्त्वपूर्ण स्रोत हुन् । अन्न भण्डारण, खाना पकाउन, खानलगायत थुप्रै संस्कारमा यिनका प्रयोग हुन्थे, जुन आज पनि निरन्तर छ । सांस्कृतिक इतिहास निर्माण र उद्विकासमा महत्त्वपूर्ण भूमिका रहेको तिनै माटाका भाँडाको तीव्रतर विकासको आधारमा भने पांग्राको आविष्कार नै थियो ।

यातायातमा फड्को

आविष्कारको केही सय वर्षभित्रै पांग्रा भएका बाहन सुमेरुदेखि स्विट्जरल्यान्डसम्मै देखा पर्न थालिसकेका थिए । त्यस्ता बाहनलाई सहज रूपमा चलाउन बनाइएका काठका फल्याकहरू

बिछ्याइएका पटरीको हालसम्म थाहा लागेको पहिलो प्रमाण संयुक्त अधिराज्यको प्लमस्टिडमा थियो, जसको कालक्रम निर्धारण पनि करिब ५७ सय वर्ष पहिले भएको अनुमान गरिएको छ । त्यस्तै जर्मनीको किलमा पनि अनुमानित ५४–५३ सय वर्ष पुरानो त्यस्तै प्रकारका डोबहरू उत्खनन गरिएका थिए । त्यसको करिब तीन सय वर्षपछि अर्थात् आजभन्दा करिब ५३७० वर्ष पहिले पोल्यान्डमा भेटिएको एउटा सेरामिकको टुक्रामा पहिलो पटक पांग्रावाला बाहनको आकृति कुँदिएको थियो । अनुमान लगाउन सकिन्छ, त्यतिबेला जनावर, खासगरी गोरुगाडा वा बग्गी युरोपमा पनि लोकप्रिय भइसकेको थियो ।

त्यस्ता बाहनहरू गाडा, बग्गी आदिको स्वरूपमा हुन्थे, जुन सामान तथा मान्छे ओसारपसारमा उपयोग हुन्थे । पांग्राको यस्तो उपयोगका कारण घोडालगायत जनावरलाई घरपालुवा बनाउने अभ्यास पनि सँगसँगै व्यापक हुँदै गएको पुरातात्त्विक प्रमाणले बताउँछन् ।

यद्यपि त्यस्ता प्रमाणले पर्याप्त तवरमा बताउन सक्दैनन्– जनावरले तान्ने, पांग्राको सहायताले चल्ने गाडा, बग्गी, रथजस्ता यातायातको प्रविधिको प्रसार कहाँबाट र कतातिर हुँदै भूगोलका विभिन्न कुनामा फैलियो ? सन् १९८९ मा जर्मनीको एक पुरातात्त्विक स्थलमा उत्खननका क्रममा पांग्राको ओहोरदोहोरबाट बनेको डोब देखियो । उत्खननमा संलग्न पुरातत्त्वविद्हरूको अनुमानमा ती डोब थिए– त्यस क्षेत्रमा भेटिएका ढुंगाका विशाल संरचना निर्माणका लागि माटो र ढुंगा ओसार्न प्रयोग भएका गाडाका पांग्राका । ती डोबहरू करिब ५६५० वर्षदेखि ५४०० वर्षअघिका हुन सक्थे । त्यस्ता सुरुवाती प्रमाण प्रायः युरोप र चीनबाटै आएका छन् । यदाकदा अहिले पनि निर्माणस्थलतिर देखिने, गिट्टी–बालुवा आदि ओसार्न प्रयोग हुने एक पांग्रे गाडाको प्रारूपचाहिँ प्राचीन ग्रिसेलीहरूले गरेका थिए ।

बीचमा एउटा अक्षकिलोको भरमा सुस्त गतिमा घुम्ने काठको सामान्य चक्कादेखि धातुका उच्च प्रविधियुक्त पांग्राको निर्माण र तिनको निरन्तर स्तरोन्नति केही सय वर्षको अवधिमै भएको थियो । यस्तो नवप्रवर्द्धन विश्वका विभिन्न कुनामा समानान्तर रूपमा भइरहेकै थिए ।

त्यसयता केवल पांग्रा र तिनका आधारमा चल्ने यातायातका साधन मात्र बनेनन् बरु तिनकै कारण सिर्जित आवश्यकताले आजको बाटो, रेल, सुरुङ, एस्केलेटरसम्म बने । पांग्राको सर्वाधिक महत्त्वपूर्ण उपयोग यातायातका लागि भए पनि जलयात्रा, धागो कताइ, चर्खा, आदि पांग्राकै आधारमा सम्भव भएको थियो । पानी घट्ट, बिजुली उत्पादन गर्ने टर्बाइनलगायत अन्य उपयोगी आविष्कार र नवप्रवर्द्धन पनि छन्, जसले मानव समृद्धि र संस्कृति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सुरुवाती चरणका त्यस्ता गाडा वा बग्गीहरू चार पांग्रे थिए भनी अनुमान लगाउन सकिन्छ । करिब ५६–५४ सय वर्षअघि नवपाषाणकालीन पोल्यान्डमा पाइएको सबैभन्दा पुरानो प्राप्त अवशेषमा चारपांग्रे गाडा चित्रअंकित थियो । इराकमा झन्डै उस्तै समय करिब ५३–५१ सय वर्षअघिको ठानिएको माटोका चित्रांकित चक्कीहरूमा पनि चार पांग्रा नै थिए ।

माथि उल्लेख गरिएको महाभारतको प्रसंगको रथ वा चक्रजस्तो पांग्राको पहिलो प्रामाणिक पुरातात्त्विक अवशेषचाहिँ सबैभन्दा पहिले करिब चार हजार वर्षअघिको टर्कीको एउटा समाधिस्थलमा पाइएको थियो । १९औं शताब्दीमा प्रवर्द्धन गरिएको भनिएको दुई पांग्रे साइकलको पांग्राको प्रारूप त्यही टर्कीमा प्राप्त पांग्रा नै थियो ।

दुई पांग्रेको दुई सय वर्ष

दुई पांग्रे साइकलको अहिलेको स्वरूप र प्रविधि, जसमा बेरिङ, स्प्रिंग, फलामे रिम, टायर, घुमाउने यन्त्ररचना, पेडल, ब्रेक छन्, त्यसको प्रारूप पछिल्लो पाँच हजार वर्षदेखिकै निरन्तरको मान्छेको साधना, लगाब र शृंखलाबद्ध नवप्रवर्द्धनको प्रतिफल हो । अहिले सामान्य लाग्ने दुई पांग्रे साइकल तत्कालीन समयमा जादुमयी आविष्कार थियो । जर्मनीको एउटा समाधिस्थलमा दुई पांग्रे चित्रांकित अवशेष भेटिएको थियो, जुन करिब ५४ सयदेखि ४८ सय वर्ष पुरानो भएको अनुमान गरिएको थियो । त्यस्ता दुई पांग्रे गाडा वा बग्गी जनावरले तानेर चल्थे । तर, दुई पांग्रे साइकल चाहिँ साँच्चैको उपयोगी सावित बाहन थियो र मान्छेको आवतजावतमा एउटा क्रान्ति बराबरकै उपलब्धि थियो ।

हामीमध्ये धेरैको साइकलसँग गाँसिएका अनेकन रमाइला स्मृति पक्कै छन् । साइकलसँगको पहिलो प्रेमका अनेक किस्सा होलान् । मेरो साइकलसँगको प्रेम कहानीमा भने अनेकन ट्रेजेडी छन् । तर, जे होस् पहिलो पटक एक्लै साइकल कुदाउँदा अनुभूत भएको स्वतन्त्रता र गौरवको महसुस अझै ताजै छ । साइकल यसर्थमा पनि स्वतन्त्रताको बाहन थियो ।

१९ औं शताब्दीको उत्तरार्धमा युरोपमा महिलाले साइकल चलाउनु सशक्तीकरणको सूचक मानिन्थ्यो । अल्प तथा कम विकसित मुलुकमा अहिले पनि त्यो मान्यता छ । पहिले सम्पन्नताको सूचक ठानिन्थ्यो साइकल । अहिले पनि धनीहरूका सोख र खेल सामग्री बनेको साइकल गरिबका लागि जीविकोपार्जनका आधार हुन् ।

पछिल्लो आधा शताब्दीमा मात्रै साइकलको प्रविधि र लोकप्रियता ज्यामितीय गतिमा बढेझैं लाग्छ । ट्रेक मडोना वटरफ्लाई साइकल हालसम्मकै सर्वाधिक महँगो ठानिन्छ, जसको मूल्य पाँच लाख अमेरिकी डलर अर्थात् नेपाली साढे ६ करोड रुपैयाँभन्दा पनि बढी पर्छ । साँच्चैको पुतलीका सक्कली पखेटाहरू टाँसेर सिंगारिएकाले यो महँगो भएको थियो र अधिकारकर्मीहरूले यसको चर्को विरोध गरेका थिए ।

चार सय वर्षअघि सन् १४१८ मा इटालियन इन्जिनिअर जिओभान्नी फोन्टानाले निर्माण गरेको मानवीय शक्तिको भरमा डोरीले तान्ने चारपांग्रे बाहन नै साइकल आविष्कारको प्रारूप थियो । सुरुमा अहिलेको साइकलमा हुनेजस्तो पेडल थिएन, खुट्टाले भुइँमा बल गरेर धकेलेपछि केही दूरीसम्म गुड्ने खालको थियो त्यो । पेडल वा पाउदानसहितको साइकलको विकास भने त्यसको झन्डै दुई दशकपछि भएको ठानिन्छ । जेम्स जोन्स्टन नामका एक स्विडिसले सन् १८३९ मा यस्तो पाउदानसहितको साइकल विकास गरेका थिए, यद्यपि त्यो पनि अहिलेको जस्तो भने थिएन । त्यसो त साइकलको हालको स्वरूप तयार हुनुपूर्व नै सन् १८३० मा बेलायतको लिभरपुल र म्यानचेस्टरबीच व्यावसायिक रेलसेवा नै सुरु भइसकेको थियो ।

दुईपांग्रे साइकलले नै मोटरबाट चल्ने पहिलो मोटरसाइकल र अटोमोबाइलको गोरेटो पनि निर्माण गरिदिएको थियो । पाठकका लागि यो जानकारी पनि रुचिकर हुन सक्ला, पहिलो हवाईजहाज उडाउने राइटब्रदर्शले सुरुमा संयुक्तराज्य अमेरिकाको ओहिओ राज्यको डेटन भन्ने सहरमा साइकल मर्मत पसल खोलेका थिए । उनीहरूले त्यही सीप र सामग्रीकै भरमा साइकलबाटै पहिलो ‘विन्ड टनेल’ को प्रयोग गरेका थिए ।

१९ औं शताब्दीको उतरार्धमा अहिलेको स्वरूप ग्रहण गरिसकेको र लोकप्रिय भएको साइकलका अनेकन उपकथा छन् । सन् १९३० को ‘ग्रेट डिप्रेसन’ को समयमा जब अटोमोबाइलको बजार संकुचित भयो तब हलिउड स्टारहरूमाझ समेत साइकल लोकप्रिय बन्न पुग्यो । दोस्रो विश्वयुद्धताका खनिज तेलको संकट भएपछि युरोप र उत्तर अमेरिकामा दैनिक जीवनमा साइकलको महत्त्व एक्कासि बढेको थियो । साइकलका यस्ता अनेक रुचिकर प्रसंग छन् ।

नेपालमै पनि पटक–पटकको भारतीय नाकाबन्दी र लामो समयसम्म खनिज तेलको आयात ठप्प भएका बेला साइकलको माग र प्रयोग ह्वात्तै बढेकै थियो । हाल वार्षिक रूपमा करिब १० करोड साइकल उत्पादन हुन्छन् र करिब एक अर्ब साइकल विश्वका अनेक कुनामा गुडिरहेका छन् भनिन्छ । फेरि पनि ती सबै पांग्राको आविष्कारपछिका उपकथा थिए ।

सांस्कृतिक उद्विकास र आधुनिकीकरण

पांग्राको आविष्कारले सम्भव गराएका अनेकन अन्य आविष्कार र तिनले मानव संस्कृति निर्माण अनि परिवर्तनमा खेलेको भूमिका मानवशास्त्रीका लागि सदैव रुचिको विषय हो । पांग्राको आविष्कार, यसको आदिउपयोग (जस्तै ः माटाका भाँडा बनाउनु) र यातायातको विकासले मानव सभ्यता–संस्कृतिलाई खासखास आकार दिएको थियो । पांग्राको आविष्कारले मान्छे र प्रकृतिको सम्बन्धलाई पुनर्परिभाषित गरिदिएको छ ।

पांग्राको प्रयोग मूलरूपमा यातायातका लागि हो । तर, स्वतन्त्र विचरण गर्न, धागो/चर्खा कात्न, हावा र पानीबाट शक्ति उत्पादन गर्न पनि यसको उत्तिकै महत्त्व छ । पांग्रा आविष्कारकै कारण कृषिको सुरुवाती बजारीकरण, सिँचाइ, पानीघट्ट, हावाबाट चल्ने मिल, धागो कात्ने चर्खा, टेक्सटाइलको विकास सम्भव भयो । धातु उद्योग र औद्योगिकीकरणमा पनि पांग्रा अनिवार्य थियो । आधुनिक यातायातको चमत्कारी विकास त हाम्रा आँखासामुकै यथार्थ भइगए । घडीदेखि जहाजसम्मका आधुनिक यन्त्रका आधार पांग्राको परिकल्पना नै थियो । यो यथार्थ बुझ्न कुनै गहन व्याख्या आवश्यक पर्दैन । यो प्राविधिक विकासले मान्छेको जीवनयापनको तौरतरिकादेखि सामाजिक सम्बन्धसमेतमा फेरबदल ल्याइदियो ।

जब समथर ठाउँमा बिनाअवरोध र छिट्टै सामानका भारीसहित आवतजावत गर्न सहज हुने भयो त्यसले व्यापार प्रवर्द्धनमा अतुलनीय सहजीकरण गर्‍यो । टाढाटाढाका बजारमा जब खासखास सामानको माग बढ्न थाले तिनले सीपको विशिष्टीकरणमा सहयोग पुर्‍यायो । यसले टाढाटाढासम्म व्यापार मात्रै विस्तार गरेन बरु सामाजिक सम्बन्ध र अन्तर्क्रियालाई पनि विस्तारित र घनिभूत बनायो । यसरी पांग्राले वस्तु व्यापारमा मात्र सहयोग गरेन सूचना र विचार आदानप्रदानलाई पनि प्रभावकारी बनायो । गणनायकदेखि सम्राट्सम्मलाई आफ्ना धारणा र इलाका विस्तारमा सहयोगी सावित भएका थिए बग्गी र गाडाहरू ।

पांग्राले नै थुप्रै अन्य आविष्कार र नवप्रवर्द्धनलाई सम्भव गरायो । त्यसैले यो एक आधारभूत आविष्कार थियो । औद्योगिक क्रान्तिको जगमा पनि पांग्राकै भूमिका थियो भन्नु अन्यथा होइन । औद्योगिक क्रान्तिले अभूतपूर्व रूपमा श्रमको स्वरूप, उत्पादन सम्बन्ध, आर्थिक असमानता र विविधीकरणमा पुरै उलटफेर ल्याइदियो । त्यसैको घनिभूत विकास र निरन्तरता थियो पछिल्लो चार सय वर्षको इतिहास ।

पांग्रामा सवार भएरै मानव सभ्यता आज यहाँसम्मको स्वरूपमा आइपुगेको हो । सामान्य पांग्राको असामान्य योगदानका भन्नुपर्ने कथा अनेक छन् । यो फुटकर कथा पूर्वाङ्ग मात्र हो ।

प्रकाशित : असार ९, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?