१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सिमसिमे पानीमा : ३ दशकको लोक–यात्रा

सिमसिमे पानीजस्तै रैछ जिन्दगानी, सिमसिम–सिमसिम भएर बिस्तारै अघि बढ्दोरहेछ । मेरो गीत ‘सिमसिमे पानी’ को ३० वर्षे लामो कला–यात्रा अझै जारी छ ।
रेखा शाह

मुम्बईको प्रसिद्ध यशराज स्टुडियोमा छु । गुणस्तरीय रेकर्डिङ र सिनेमाको प्राविधिक कामका लागि यो स्टुडियो दक्षिण एसियामै उत्कृष्ट मानिन्छ । सुविधासम्पन्न रेकर्डिङ र सिद्धहस्त प्राविधिकका कारण यसले यो उचाइ लिएको हो । एक गायिकाका रूपमा मेरा लागि यो ठाउँ एक मन्दिर हो । र, यहाँ आएर स्वर–पुष्पले यो स्टुडियो पुज्ने रहर थियो । माता सरस्वतीको कृपा होला, म अहिले मेरो ३ दशकअघिको गीत ‘सिमसिमे पानीमा’ पूर्ण एकोस्टिक बाजागाजाका साथ फेरि रेकर्ड गर्दै छु ।

सिमसिमे पानीमा : ३ दशकको लोक–यात्रा

संयोग पनि कस्तो ! उता छेवैको अर्को स्टुडियोमा शाहरूख खानको नयाँ फिल्म ‘पठान’ को डबिङ भइरहेको छ । यता प्रसिद्ध साउन्ड इन्जिनियर विजय दयाल र शिखर सन्तोष मेरो भोकल टेक लिइरहेका छन्, म ३० वर्षअघिका ती दिन सम्झिरहेको छु ।

स्वर्ण दिन, स्वर्ण पदक

२०४९ साल, फागुन महिना पहिलो साता । ‘रेडियो नेपाल’ सिंहदरबारको आँगनमा एक विशेष मञ्च निर्माण गरिएको थियो । प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको ‘राष्ट्रव्यापी लोकगीत सम्मलेन’ मा प्रतिभा प्रस्तुत गर्न देशैभरिबाट नयाँ–पुराना कलाकार ओइरिएका थिए । पाका उमेरका झन् बढी थिए । कोही प्रतियोगितामा भाग लिन आउने थिए, कोही रमाइलो हेर्न । रेडियो नेपालले नेपाली संगीत र सूचनाको जिम्मेवारी बहन गर्थ्यो । आजजस्तो अनगिन्ती रेडियो, टीभी र पत्रपत्रिका थिएनन्, न त सामाजिक सञ्जालै थिए । विभिन्न देशी–विदेशी रियालिटी शो थिएनन् । मनोरञ्जनका लागि अद्भुत र भव्य उत्सव नै त्यस्तै प्रतियोगिता मात्रै हुन्थे ।

उपस्थितमध्ये सबैभन्दा सानी उमेरकी थिएँ म । पहिलोपल्ट त्यस्तो मञ्चमा उक्लेर गीत गाएकी थिएँ, रमाएकी थिएँ र जीवनलाई अञ्जानमै अर्कै मोडमा लैजान सक्रिय भएकी थिएँ । त्यो समय सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छु । गौरव महसुस हुन्छ ।

म सानैदेखि गीत भनेपछि हुरुक्कै हुन्थेँ । स्कुलको कक्षाकोठामा त गाउँथेँ नै, कार्यक्रमहरूमा पनि गाउँथेँ । कसैले ‘गीत गाऊ त नानी’ भन्नेबित्तिकै गाइदिन्थेँ । आमा त भन्नुहुन्थ्यो, ‘बोली फुटेदेखि नै गीत गाउँथिस् तँ ।’ सानै उमेरमा वल्लोपल्लो गाउँसम्म गायिका भन्ने ख्याति फैलिएकै थियो । म पढाइमा त्यति अब्बल त होइन, तर राम्रै विद्यार्थीमा पर्थें । त्योभन्दा बढी गीतप्रतिको मेरो रुचि, अरूसँग मिल्ने बानी र आज्ञाकारी छात्राका हिसाबले सर, मिस र गाउँघरका मान्छेको आँखामै परेकी थिएँ । सबै उमेरकाको मप्रतिको माया बराबरी थियो ।

सबै भन्थे– ‘रेडियो नेपालमा गएर स्वर परीक्षा देऊ, गीत गाऊ । तिमी ठूलो कलाकार बन्छ्यौ ।’ त्यो प्रेरणा पनि थियो मेरा लागि र आशीर्वाद पनि । २०४९ सालमा माध्यामिक तहको पढाइ सकेर काठमाडौं लागेँ । त्यतिखेर मेरा दुई सपना थिए– पहिलो गायिका बन्ने र दोस्रो उच्च शिक्षा हासिल गर्ने ।

यशराज स्टुडियोमा गीत रेकर्डिङ गर्दै रेखा ।

धादिङको तत्कालीन धुवाँकोट गाविस–४, रातमाटेमा जन्मेकी म बुवा गणेशविक्रम शाह र आमा रत्नकुमारी शाहभन्दा पनि हजुरबुवा गङ्गाजङ्ग शाह र हजुरमुवा गङ्गादेवी शाहको काखमा बढी खाईखेली हुर्केकी हुँ । घरमै अक्षर आरम्भ गरेदेखि मेरो पहिलो गुरु नै हजुरबुवा हुनुभयो । उहाँकै काखमा बसेर पढ्न सिकें । आज जे छु, उहाँकै प्रेरणाले छु । त्यतिबेलाको समाजमा छोरीलाई घरबाट पढ्न वा अन्य कामका लागि बाहिर पठाउनु कठिन थियो । मेरा हजुरबुवाको बुझकीपनले मैले मेरो सपना पूरा गर्न काठमाडौंसम्मको यात्रा गर्ने अनुमति पाएँ । यति अवसर पाउनु पनि निकै ठूलो उपलब्धि थियो ।

म काठमाडौं आएँ र जीवनको रेखा खोज्दै सङ्घर्षमा होमिएँ ।

मेरा मामा सुरेन्द्रप्रताप शाह तत्कालीन भक्तपुर जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो । उहाँले गायक बुद्धिकृष्ण लामिछाने दाइलाई बोलाएर भन्नुभयो, ‘ए बुद्धि, मेरी भान्जीलाई रेडियो नेपाल पुर्‍याइदेऊ

त !’ बुद्धि दाइ त्यतिबेला नाम चलेको गायक ! उहाँले मलाई रेडियो नेपालसम्म पुर्‍याइदिनु मात्रै भएन, संगीतकार गणेश परियार दाइसँग पनि भेटाइदिनुभयो । म स्वरपरीक्षा दिन रेडियो नेपाल पुगेँ । स्वरपरीक्षाको फाराम भर्ने समय सकिइसकेको रहेछ । लाग्यो, अब मैले अर्को वर्षसम्म कुर्नुपर्ने भयो । एउटा कुरा गुमे अर्को ढोका खुल्छ भनेजस्तै त्यतिबेलै थाहा भयो, रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगिताको आवेदन खुलेको रहेछ । आवेदनसँगै गीत पनि बुझाउनुपर्ने रहेछ । गीत त थिएन मसँग । त्यतिखेर सम्झेँ, गाउँतिरै गाइने र मैले दर्जनौं पटक गुन्गुनाएको एउटा गीत ।

हाम्रै गाउँको विद्यालयका एक जना कार्यालय सहयोगी दाइको बिहेमा एउटा गीत खूब गाएका थिए मान्छेहरूले । मलाई त्यो लय मन परेको थियो र सजिलो पनि लाग्थ्यो, सङ्गीतको स्वर, सुर र आरोह–अवरोह, श्रुति, नाद आदि बुझेर होइन । आजजस्तो राग, थाट र अलङ्कार जानेर पनि होइन । सुर, बेसुर बुझेर पनि होइन । त्यो गीत राग भूपालीमा आधारित छ भनेर पनि होइन । लोकगीत हुनुको मूर्च्छना वा भाव बुझेर पनि होइन । केवल कान र मनले छानेको थियो त्यो गीत । गीतका शब्दहरू केही फरक खालका थिए । बिहेमा गाइएका गीतका शब्द त अलि हल्का र उत्ताउलो खालका थिए । रेडियोमै गाउनेखालका जस्ता राम्रा लागेनन् । मैले थेगो उही राखेर शब्द परिवर्तन गरेँ–

न हौ पर आऊ वर वर

तिम्रो म छु मेरो पो को छ र ?

सिमसिमे पानीमा

ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा ।

जसरी सिमसिमे पानीले बिस्तारैबिस्तारै शरीर भिज्दै–भिजाउँदै लैजान्छ, ठीक त्यसै गरी बेमाइनीले पनि जीवनमा बिस्तारै बिस्तारै बेइमान गर्दैगर्दै जान्छ । पानीले थाहै नदिई शरीर चीसो पार्दै लगेजस्तो बेइमानीको जाल पनि बिस्तारै कसिँदै कसिँदै जान्छ । त्यतिखेर त के बुझेँ, कति बुझेँ थाहा छैन, तर आज सम्झँदा यो गीतको गहिराइ कति गम्भीर रहेछ भन्ने लाग्छ । त्यो गीत मनैबाट फुटेको थियो । त्यो उमेरमा यी शब्द कसरी आए मनमा ? अहिले अचम्म लाग्छ । मैले प्रतियोगिताका लागि गीत लेखें, लय बनाएँ र गीतसहित निवेदन बुझाएँ । मेरो गीत छनोटमा पर्‍यो । मनमा केही उत्साह, केही डर, केही चञ्चलता र केही रमाइलो लिएर म प्रतियोगितामा सामेल भएँ ।

यशराज स्टुडियोमा राजु सरदार र उनको समूहले तबलालगायतका रिदम बजाइरहेका छन् भने सोमु सोलले गितार र विजय ताम्बेले बाँसुरी । यो दृश्यसँगै यतिखेर म रेडियो नेपालको त्यो रौनक सम्झिरहेछु ।

सारी र चौबन्दी चोली लगाएर गएकी थिएँ । कसैले भन्यो, ‘सारी होइन, गुन्यु, चोली लगाएर पटुकी बाँध्नुपर्छ ।’ परेन फसाद ! बलदेव शाह अंकल साथमा हुनुहुन्थ्यो । हामी कुद्दै भृकुटीमण्डपको हङकङ बजार गयौं । अंकलले एउटा गुन्यु र पटुकी किनिदिनुभयो । मञ्चको पछाडिपट्टि छेल पारेर गुन्यु, चोली लगाएँ, पटुकी बाँधेँ । भर्खर १६ टेकेकी मात्र थिएँ । गुन्यु मलाई सुहाएजस्तै लाग्यो, म चिटिक्क परेँ । सँगै हुनुभएकी माया निराशी दिदी भन्दै हुनुहुन्थ्यो, ‘आहा ! कति राम्री !’ म हाँसेँ मात्रै । मेरो जीवनकै पहिलो स्टेज । पहिलोपटक मञ्चमा उक्लँदा मुटु नै फुत्त बाहिर निस्केलाजस्तो भयो । नाम उच्चारण हुनासाथ कता तिर्मिराएजस्तो, ओठ तालु सुकेजस्तो भो, शून्यजस्ती भएँ । छेउमै बसेर गणेश परियार दाइले हार्मोनियम बजाइरहनुभएको थियो । मेरो पालो आएपछि मैले दिल खोलेर गाएँ, ‘...सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा... !’ गाउन थालेपछि लय र गीतका हरफ बाहेक केही याद भएन ।

गीत गाउन सुरु गरेदेखि नै हुटिङको वर्षा भयो । बाफ् रे बाफ् ! हुटिङ र साइँसाइँ सुइँसुइँ ! सिठ्ठी फुकेर, हल्ला गरेर सबै उफ्रे ! मान्छेले खचाखच भरिएको रेडियो नेपालको आँगनी तात्यो । सिंहदरबारभित्रका सबैजसो कर्मचारी, आर्मी, प्रहरी, अरू कलाकारको घुइँचो थियो । त्यतिबेला अहिलेजस्तो सिंहदरबार छिर्न समस्या थिएन । सर्वसाधारणसमेतको विशेष घुइँचो थियो । तल दर्शकदीर्घाबाट वान्स मोर, वान्स मोर, रेखा, रेखा भनेको सुनेँ । पहिलोपटक त्यस्तो भीड देख्दा म नर्भस पनि भएँ । गाइसकेपछि भने आनन्द महसुस गरेँ ।

अब नतिजाको प्रतीक्षा थियो । पहिले त ‘गाउन पाए भैगो नि’ जस्तो लागेको थियो । पुरस्कारकै त अपेक्षा थिएन, तर त्यो हुटिङ र हल्लाखल्ला भएपछि र धेरैले मन पराएपछि चाहिँ पुरस्कृत हुन्छु कि भन्ने आस पनि लाग्यो । प्रतियोगिता रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । क–कसले उद्घोषण गर्नुभएको हो, अहिले सम्झना त छैन, तर ती उद्घोषकले समेत मेरो गीत र मेराबारे धेरै कुरा बोलिरहेका थिए । त्यति रमाइलोमा पनि मैले गाउँ र हजुरबुवा–हजुरआमा–बुवा–आमालाई बिर्सन सकिनँ । भन्न मन लागेको थियो, ‘कति कोसिस गरेर काठमाडौं आएकी म । लौ हेर्नुस् त, कस्तो मजाले गीत गाएँ !’ तर, त्यो सम्भव थिएन ।

मेरी आमाका ४ सन्तानमध्ये एक जना भाइ ८ वर्षमै बितेर गए । अरू दुई भाइहरू सञ्जय र राहुल सानै थिए । हाम्रो ठूलो परिवार । आज यी हरफ लेख्दा त मेरा बुवा, हजुरबुवा दुवै जना हुनुहुन्न । हजुरबुवा महाभारत खूब पढ्नुहुन्थ्यो, लय हालेर, भाका हालेर । पाण्डव र कौरवका कथा । अभिमन्युका कथा । कृष्ण, अर्जुन र धृतराष्ट्रका कथा । धर्मयुद्ध, सत्यको जित आदिआदि । मेरो लयतिरको आकर्षणको कारण पनि त्यही हो सायद । हजुरआमा पनि लय हालेर गाउनुहुन्थ्यो । हजुरबुवा, हजुरआमाका तिनै काखमा बसेर तिनैतिनै पुराना लय सुनेर हुर्कें म । स्कुल गएपछि पनि स्कुलकै प्यारी भएँ । सर, मिसले माया गर्नुभयो । साथीभाइले माया गरे ।

धादिङ एउटा उर्वर माटो । त्यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका धेरै कवि, कलाकार छन् । धेरै भाका छन् । लोकगीतको संसारै छ । माथि हिमाल, हिमाली बस्ती, पहाड कन्दरा र तल समथर फाँट र टार । देवीदेउराली, जात्रा र उत्सवको संगम र ती सबैको प्रभावले नेपाली लोकगीतलाई धेरै योगदान दिएको छ ।

प्रतियोगिता सकियो । अब पालो निर्णय सुनाउने । तेस्रोबाट सुरु भयो । दोस्रोमा आइपुग्यो । मेरो नाम आएन । प्रथमै हुन्छु पनि भन्न सकिनँ र आस मार्न पनि सकिनँ । अनेक भूमिका बाँधेर अन्त्यमा मेरो नाम उद्घोषण हुँदा म अवाक् थिएँ । आफैंलाई अचम्म लाग्यो । रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा म प्रथम भएँ । यो खबर सबैतिर पुग्यो । धादिङमा पनि पुग्यो । मेरो गाँवैमा पुग्यो । पक्कै पनि मेरो घरको रेडियोले पनि मेरै नाम भन्यो । हजुरबुवा, हजुरआमा र बुवाआमाकहाँ पुग्यो । सबै खुसी हुनुभयो । सबैले झन् माया र आशीर्वाद दिनुभयो । तत्कालीन सूचना तथा सञ्चारमन्त्रीबाट नगद ५ हजार र ताम्रपत्र ग्रहण गरेँ । यसरी ‘सिमसिमे पानी’ ले प्रथम स्थान हासिल गरेको र मेरो जीवनको रेखा परिवर्तन गरेको ३० वर्ष भयो ।

सिमसिमे पानीमामाथि बेइमानी

यसबीच धेरै किसिमका गीत गाएँ । लोकगीत, आधुनिक गीत र पपशैलीका गीत । नेपाल र भारतका विभिन्न स्टुडियोमा पुगेर गाएँ । भिडियोहरू बनाएँ, तर ‘सिमसिमे पानी’ लाई उछिनेर कुनै गीत अघि गएनन् । कहिलेकाहीँ लाग्छ, किन होला यस्तो ? यसका आ–आफ्नै भाष्य होलान्, परिभाषा होलान् । तर, यो गीत गीतै भएर कालजयी भएजस्तो लाग्छ । न यसको शब्दमा बनावटीपन छ, न लयमा केही नक्कलीपन । यो हृदय फुटेर निस्केको मूल हो । कलाकार हुने र कलाको नामबाट चर्चित हुने मोह नभईकन, यो त गायिका हुने रहरको धागोमा उनिएर आएको गीत हो । त्यसैले यो हिट भयो भन्ने लाग्छ । र, आज यो गीत मेरो मात्रै नभई स्वदेश, विदेशका सबै नेपालीको साझा गीत बन्नपुग्यो ।

म रेडियो नेपालमा प्रथम भएपछि म्युजिक नेपालले एउटा एल्बम रेकर्डिङका लागि प्रस्ताव गर्‍यो । खासमा उसले रेडियोमा प्रथम हुनेलाई बोलाएर एल्बम निकाल्दोरहेछ । मैले सहर्ष स्विकारेँ । त्यतिबेला चर्चित भएका गायक प्रेमराजा महतले युगल गाउने प्रस्ताव गरे । मैले अग्रजलाई सम्मान गर्दै त्यो पनि सहर्ष स्विकार गरेँ । मलाई त गाउनु थियो, एल्बम निकाल्नु थियो । कानुनी कुरा मलाई थाहा भएन । एल्बम प्रकाशन हुँदा मेरो नभएर प्रेमराजाकै नाममा प्रकाशन भएछ । प्रतिलिपि अधिकारको कानुन बनिसकेको थिएन र मैले गीतमाथिको मेरो अधिकारबारे बुझेकै थिइनँ । रोयल्टीजति उनैले बुझे । यो गीत र ममाथिको अन्याय मैले ३० वर्ष चुपचाप सहें र लामो सङ्घर्षपछि यही वर्ष मात्रै मेरो सृजनाको पूर्ण अधिकार लिएरै छाडेँ ।

अहिले ३० वर्षपछि यसलाई फेरि नयाँ रूप र साजबाजमा प्रस्तुत गरेकी छु । वाद्यवादक र एरेन्जरका रूपमा गीतकार गणेश परियार, गायक–वाद्यवादक आइसिङ लामालगायतले यस गीतलाई आजसम्म जीवन्त बनाइदिन अहम् भूमिका खेल्नुभयो । यसलाई अर्को पुस्तासम्म पुर्‍याउन र यसमा अझै कसी लगाउन यसपालि थप कोसिस गरेकी छु । प्रविधिले दिएको नयाँ शिल्प, नयाँ ढङ्गको रेकर्डिङ, साजबाज र संगीत संयोजनसहित मुम्बईको एशराज स्टुडियोमा पुनः रेकर्ड गरेकी छु । रूपेश थापाको निर्देशनमा उच्च सिनेम्याटिक शैलीको म्युजिक भिडियो बनेको छ । र, यसले फेरि एक पटक पक्कै सबैको मन जित्छ भन्ने विश्वास छ ।

गीतको भाग्य

कुनै पनि गीतको भाग्य र भविष्य कसरी निर्धारण हुन्छ ? के हो कारण र कसरी बाँचिरहन सक्छ एउटा सिर्जना ? यो बहसको विषय हो, तर आज म यही गीतसँगै हजुरबुवालाई सम्झिरहेकी छु, जसको प्रेरणाले यहाँसम्म आइपुगेँ । मेरा दुई सपना लैङ्गिक शिक्षामा स्नातकोत्तर सकेँ र गायनलाई रहर मात्रै नबनाएर जीवन्त बनाएँ ।

‘सिमसिमे पानी’ जस्तै रैछ जिन्दगी । जिन्दगी पनि सिमसिमसिमसिम भएर बिस्तारै अघि बढ्दोरहेछ । ३० वर्ष लामो यो कला–यात्रा आजसम्मै जारी छ । धेरै आए जीवनमा बाङ्गा घुम्ती, तर हारिनँ, हार्दै हारिनँ । म कलामा जति कोमल छु, निजी जीवनमा उति नै आँटी र कठोर छु । समस्यालाई कुल्चेर जीवनलाई सजिलो तरिकाले अघि बढाऊँ भन्ने लाग्छ ।

धुवाँकोट, रातमाटेबाट देखिने उत्तरतिरका हिमाल र त्यहीँ माथिको ढुङ्गे देउरालीमा पनि फूल फुलेको देखेकै हुँ । ती पाखा र रनवनको पर सुनिने मधुर लयको सङ्गीतको व्याकरण मैले बुझुँला, नबुझुँला तर ती भाकाप्रतिको माया अथाह छ । आँखु, आँसी, थोपल, त्रिशूलीजस्ता खोला र तामाङदेखि चेपाङसम्मको संस्कृतिमा यही सिमसिमे पानी गुन्जिन्छ । धादिङका मेला–महोत्सव र कार्यक्रममा यो गीतले ठाउँ पाएकै छ ।

कलाकार हुँ, त्यससँगै नारी हुँ, छोरी हुँ, आमा हुँ र सामाजिक सम्बन्धका यी सबैलाई झेलेर जीवनको यो चरणसम्म आएकी छु । तर, तपाईंहरूको मायाका कारण गीतमै जस्तो भन्नुपरेको छैन :

न हौ पर आऊ वर वर

तिम्रो म छु मेरो पो को छ र ?

प्रकाशित : वैशाख २३, २०८० १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?