२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

आँसु नबगी उदासीको अन्त्य हुँदैन

रुँदै जन्मेका हौं हामी, गुनासो गर्दै बाँचिरहेका छौं । पीडाको आँधीपछिका मसिना पानीका थोपा हुन्– आँसु । मस्तिष्कले भन्न नसकेको मौनताको भाषा पनि हो– आँसु । यसको कुनै विशेष तौल छैन, तर मानवीय भावनाको भयंकर ठूलो भार बोकेकै छ ।
लेखिएका शब्दहरू हुन् आँसु, जसलाई बगाउनु आवश्यक छ । ती शब्दबिना उदासीको अन्त्य हुँदैन । – पाउलो कोएल्हो
शैलीका छेत्री

रुनु एक प्रमुख मानवीय घटना हो । मान्छेले मात्रै भावनात्मक अनुभवको प्रतिक्रियामा आँसु बगाउँछन् (कुक, सन् २०१३) । त्यसैले विकासवादी वैज्ञानिकहरू विश्वास गर्छन्– मानिसले सामाजिक कार्य पूर्ण गर्न भावनात्मक रुवाइको विकास गरेको हो । रुनुबाटै जीवन सुरुवात गरेका हौं– हामीले । सबै सामाजिक प्राणी रुन्छन् । खिन्नताका बेला आँसु सुकिउन्जेल रोएपछिको हल्कापनको तृप्त अनुभव कसलाई पो थाहा नहोला !

आँसु नबगी उदासीको अन्त्य हुँदैन

त्यसैले आँसुको गीत गाउँछन् बब डिलन–

‘धेरै आँसुका थोपाहरू एउटा मुटु रुनका लागि

धेरै आँसुका थोपाहरू एउटा मुटु जारी राख्नका लागि’

चार्ल्स डार्विनका निम्ति भावनात्मक आँसु ‘उद्देश्यहीन’ हो, तर पाउलो कोएल्हो लेख्छन्, ‘आँसु लेखिएका शब्दहरू हुन्, जसलाई बगाउनु आवश्यक छ । ती शब्दबिना आनन्दले आफ्नो सबै चमक गुमाउँछ र उदासीको अन्त्य हुँदैन ।’ फेरि, मानव सम्बन्धका निम्ति आँसु महत्त्वपूर्ण, मानवीय संकेत पनि हो । रुनु वर्जित विषय होइन, रोएर कोही कमजोर कहलाउँदैन । रुनु त विविध भावनाका परतहरूबाट ट्रिगर भइबस्ने नुनिलो संकेत हो, जसलाई सबैले पढ्न सक्छन् । सायद त्यसैले चीनको वेन्झाउ मेडिकल युनिभर्सिटीका बायोमेडिकल इन्जिनियर फेइ लिउ भन्छन्– ‘हामी रोग पत्ता लगाउन आँसुको प्रयोग गर्न चाहन्छौं । यी आँसुका थोपाहरूमार्फत भविष्यमा वैज्ञानिकहरूले सम्पूर्ण शरीरलाई हेर्ने बाटो पाउनेछन् ।’ मान्छेको आँसु बहुमूल्य छ, समुद्रमा पाइने ओइस्टरका खोलभित्रको मोतीजस्तै । मनोवैज्ञानिकहरूको बुझाइ छ, मानव रुवाइको आवाज जनावरबाट विकसित भएको हो । नवजात मानव शिशुमा ‘ल्याक्रिमल ग्रन्थि’ अर्थात् आँसु फ्याक्ट्री पूर्ण विकास भइसकेको हुँदैन । तर, शिशु रोइदिन्छ– आफ्नो हेरचाह, स्नेह, प्रेम अनि सहायताका खातिर । यसका प्रमाण हुन् रोइरहेका प्रत्येक शिशुहरू । त्यसैले बाल्यकाल र प्रारम्भिक किशोरावस्थामा केवल शारीरिक दुखाइ पर्याप्त मानिन्छ, आँसुका धारा ट्रिगर गर्न, जो उमेरसित परिवर्तित हुँदै जाँदो हो ।

तर, जतिखेर हामी वयस्क हुन्छौं, हामीमा थपिन्छ शारीरिक पीडाबाहेक सम्बन्धको, बिछोडको पीडा र सामाजिक, नैतिक भावनाका दुखाइ । यी दुखाइ र पीडाले पनि आँसु दिन्छन् । त्यसैले हामी मान्छे भावनामा रुन्छौं । त्यस क्षण हाम्रा मस्तिष्कका न्युरोनल क्षेत्रहरू सक्रिय बन्छन् । न्युरोनल क्षेत्र सक्रिय बन्ने अनुभूतिसँगै जन्मिन्छ– अर्को व्यक्तिप्रतिको सहानुभूति, प्रेम अनि करुणाजस्ता भाव । ती भाव विकसित भएको अनुभव पनि गर्छौं रुने क्रममा । हो, त्यतिखेर नै हो– विज्ञानले पनि आँसुलाई विकासवादी तौरमा महत्त्वपूर्ण विषय स्वीकार गरेको । जतिखेर हामी रुन्छौं, त्यतिखेर प्रोटिन, पानी, म्यूकस र तेलले भरिएको नुनिलो तरल पदार्थ आँखाको बाहिरी कुना अर्थात् लैक्रिमल ग्रन्थिबाट प्रवाह हुन्छ ।

वैज्ञानिक खोज भन्छ– आँसुको एक थोपामा लिपिड, कार्बोहाइड्रेट, प्रोटिन, कलेस्ट्रोलाइट्स, मेटाबोलाइट्स र हर्मोनहरू समावेश हुन्छन् । विज्ञानका अनुसार, मान्छेमा उत्पादन हुने आँसु तीन प्रकारका छन् । तीमध्ये प्रमुख मानिन्छ– आँखालाई सुक्खापनबाट जोगाउने पातलो आँसुको परत, जसलाई ‘बेसल आँसु’ भनिन्छ । आँखामा धूवाँ, प्याजको राप अनि धूलोको कठोर प्रकोपपछि बग्ने आँसु रिफ्लेक्स आँसुको धारा हो । र, धेरै दुःखी अनि खुसीको अनुभूतिमा बगेको आँसुचाहिँ भावनात्मक आँसु हो । यो आँसु मान्छेको त्यो मस्तिष्क क्षेत्रले नियन्त्रण गर्छ, जहाँ मानव भावना संग्रह हुन्छ । वैज्ञानिकहरूले आँसुमाथि एक अध्ययन गरेका थिए । तिनले रिफ्लेक्स आँसु र भावनात्मक आँसु, दुवैको संकलन गरे । उनीहरूको निष्कर्ष थियो– रिफ्लेक्स आँसुमा केवल डेढ प्रतिशत पानी हुन्छ र भावनात्मक आँसुमा थप धेरै रसायनको सम्मिश्रण । भावनात्मक आँसुमा, स्त्री स्तनमा दूध उत्पादन गराउने हार्मोन ‘प्रोल्याक्टिन’ को सामान्य मात्रा, उच्च तनावको स्तरलाई संकेत गर्ने हार्मोन ‘एड्रोनोकोर्टिकोट्रोपिक’ अनि पीडा कम गरेर मुड सुधार्ने एन्डोर्फिन, ‘ल्युसिन–एन्केफेलिन’ (प्राकृतिक पीडानाशक) पनि भेटियो । आँसु व्याख्या गर्नै नसकिने त्यो शब्द हो, जुन मुटुको बाटो हुँदै, आँखाको प्वालबाट झरिरहेको हुन्छ ।

...

आँसुमाथिको चर्चा हुँदा म किशोरकालतिर पस्छु, जतिखेर मेरो शारीरिक उँचाइ त बढेको थियो, विचारमा परिपक्वता आइसकेको थिएन । त्यसैले कसैले खरो हप्काइहाले म आक्रोशित बन्थेँ र विचलित हुँदै तपतप आँसु झारिरहेकी हुन्थेँ । आँसु मेरो वैरी बन्दै गएको थियो ती दिन । एक दिन बेलुकी दफ्तरबाट थाकेर घर फर्केका बाबाअघि रुन्चे स्वरमा सोध्न उभिएकी थिएँ– ‘आँखाबाट आँसु बगिरहने त्यो स्थितिको भावनात्मक अर्थ के हो ?’

तर, मेरो सोधाइले बाबा पक्कै पनि त्यस क्षण अन्योलमा परे होलान् । र, उनले एकाएक मतिर हेर्दै भन्न थालेका थिए– ‘निर्मिता, आँसु तिम्रो वैरी होइन, यो त भावनाको त्यो प्रतीक हो, जो लाखौं वर्षदेखि हामीलाई माया र दुःखको अनुभूति गराउन बगिरहेको छ । त्यो सुक्दैन छोरी, बहनु यसको कर्म हो । त्यसैले रुनु त हामी मान्छे हौं भन्ने प्रामाणिकता पो हो ।’ तर, कुनै बेला मलाई कमजोर बनाउँदै बगेको आँसु देखेरै हुनुपर्छ, बाबाले भनेका थिए, ‘आँसुचाहिँ समुद्रको पानीझैं नुनिलो पानी हो ।’ कार्लोस कास्टानेडाका शब्दहरूमा अल्झाउँदै उनले भनेको सम्झन्छु, ‘निर्मिता, मानिसका निम्ति उदासी आतंकजस्तै शक्तिशाली हुन्छ । तसर्थ, कार्लोस कास्टानेडाले भनेका छन्– ‘दुःखले योद्धाको आँखामा पनि रगतको आँसु बगाउँछ ।’

तर, म कार्लोस कास्टानेडा जति परिपक्व थिइनँ वा मलाई भविष्यमा कार्लोसझैं ‘द टिचिङ अफ डन जुआन’ जस्तो शिक्षा विषयको किताब लेख्नु थिएन । त्यसैले म भ्रमित अनुहार ओढेर लेखक बाबासामु ठिंग उभिइरहेँ । सायद त्यस क्षण बाबा पक्कै छोरीको अन्योल–अनुहारसित हैरान थिए । सायद त्यसैले सधैंजसो कथाको गोरेटो हुँदै आँसुको भावार्थ बुझाउन तत्पर थिए बाबा–

‘अँ... के अरे... ! उहिले नै एउटा केटाको घरमा एकदमै राम्रो मैना थियो रे । चराले बोल्न पनि निक्कै सकेको थियो । मान्छेजस्तै बोलेर त्यस मैनाले केटालाई पढ्नका लागि उठाउने गर्थ्यो रे । पढन्ते केटो पनि मैनालाई असाध्यै माया गर्थ्यो । तर, एक दिन अचानक त्यो मैना मर्‍यो । प्यारो मैनाको मृत्युपछि केटो खूब रोयो । र, त्यसको सुर्तामा केटो बिमार भयो । जति औषधि प्रयोग गरे पनि त्यो बिमारी बिसेक भएन । त्यसरी रुँदै सुर्तामै सुकेर त्यो केटो पनि एक दिन मर्‍यो । छोराको अचानक मृत्यु भएको सुर्तामा रोएर आमाले पनि त्यस दिनदेखि खाना खान छाडिन् र त्यसको महिना दिनमा चिन्तित आमा पनि मरिन् ।’

बाबाको अनुहारमा अनेक भाव नाच्थे यस्ता कथा सुनाउँदा । कथा सकिएकै थिएन, भान्साकोठाबाट आमा अचानक कराउँदै भन्न थालिन्, ‘हन, केटाकेटीलाई कस्तो, त्यस्तो रोएर मृत्यु भएको कथा भनेको हँ ?’

त्यसपछि हाँस्दै बाबाले भनेका थिए– ‘अँ... रोइरहनुचाहिँ बाँदरले घाउ कोटाइबस्नुजस्तो हो ।’

तर, सायद आमा बाबाको त्यस्तो तुलना गराइसित सहमत थिइनन् । त्यसैले बाबाको टिप्पणी विपरीत त्यस दिन भनेकी थिइन्, ‘अँ... रुने विषयचाहिँ नितान्त व्यक्तिगत हो । अनि बाँदरको घाउ आफैंले कोटयाएर होइन, तर अरू–अरू बाँदरहरूले यो के भयो भन्ने जिज्ञासामा कोट्याउनाले पो बढ्दै जान्छ । र, यही घाउ बढेपछि बाँदरको मृत्यु हुन्छ ।’

मृत्यु र आँसुको मनोवैज्ञानिक तथ्यमाथि जति सोचे पनि म गौतम बुद्ध बन्ने मार्गमा हिँडेकी थिइनँ । म त उही कमजोर छोरी थिएँ, जसले आफ्नो लेखक बाबालाई १६ वर्षको त्यो कलिलो उमेरमै गुमाएको थियो । जीवनमा मार्गदर्शक बाबा हराएको खण्डमै हुनुपर्छ मैले ‘आँसुको मोल’ बुझ्ने प्रयासमा ‘जीवन दोस्रो चीज होइन रहेछ’ भनेर बुझेकी थिएँ । तर, हामीभित्र बाँचिरहेको जीवनबारे विचार गर्दा मलाई जीवन र मृत्युसित आँसु पनि साथै हिँडिरहेजस्तो लागेको थियो । त्यसैले दिनहुँ सधैंका लागि बाबा हराएको त्यो घटना बाँदरले घाउ कोट्याएझैं कोट्टाउँदै रोइरहन्थेँ । मेरा आँखाबाट त्यसरी लगातार भाँच्चिएको मोतीका मालाझैं झरिरहेका आँसु पुछ्दै, तब आमा भन्नुहुन्थ्यो, ‘निर्मिता, योद्धालाई रुने अधिकार छैन ।’

तर, म त योद्धा थिइनँ । त्यसैले मृत्युशय्यामा छटपटाइरहेकी आमालाई देख्दा, अब विछोड हुन्छ भन्ने भयंकर शंकामा बगिरहेको आमाको आँसुबाट मैले मप्रति आइरहेको उनको त्यो निःस्वार्थ प्रेम–बाफ अनुभव गरिरहेकी थिएँ । त्यो प्रेम–बाफ अचानक आमाको अन्तिम साससित अप्रत्याशित तौरमा फुस्स कतै उडेर हरायो । आमा मेरा निम्ति पहिलो अनि असल मित्र थिइन् । उनमा मेरो विगत बुझ्ने क्षमता अनि मेरो भविष्यमा विश्वास राख्ने त्यो साँचो मुटु थियो, जसले भनिरहेको हुन्थ्यो, ‘निर्मिता, मित्रता प्रेमको अर्को शब्द हो, तर म तिम्रो आमाभन्दा बढी मित्र हुँ ।’

तर, जहिले पनि मलाई मित्रताबारे कुरा गर्दा मित्रताको वास्तविक अर्थमा सुदामा र श्रीकृष्ण जीवन्त बोलिरहेजस्तो लाग्छ । कारण श्रीकृष्णभन्दा ठूलो मित्र कोही हुन सक्दैन र सुदामा– कृष्ण मित्रताभन्दा राम्रो मित्रताको उदाहरण अरू हुनै सक्दैन । तर, फेरि जन्मदायिनी आमा पनि त असल मित्र बन्न सक्छिन् नि, होइन र ? त्यसैले त, हितोपदेशमा लेखिएको छ, ‘मीठो मित्रताले आत्मालाई ताजा बनाउँछ । र, त्यो मित्रता जोसित पनि स्थापित हुन सक्छ ।’

हुन त संसारले बिर्सेकै छैन त्यो निःस्वार्थ प्रेमको गाथा, जहाँ सुदामाको घायल खुट्टा देखेपछि खुब रोएका थिए– श्रीकृष्ण । अनि श्रीकृष्णको कमलनयनबाट बगेका आँसुका कैयौं थोपाले सुदामाको खुट्टा भिजेको थियो । त्यो भागवत र भक्तबीचको प्रेम अनि मित्रताको कथा थियो ।

तर, एकै क्षण सोच्नुस् त– हामीलाई संसारमा जीवन दिएर जन्माउने आमा पनि त ईश्वरसमान हुन्छ, होइन र ? तर, खोइ यसपटक मैले मेरो उही ईश्वरलाई अप्रत्याशित तौरमा कतै अनन्ततिर गुमाएँ । मभित्र यस्तो भयानक विछोड सहने मुटु थिएन । अहो ! त्यो कस्तो एक्लोपनको महानिशा थियो, जसले बारम्बार टिठाउँदै मलाई ‘टुहुरो’ को नाम दिइरहेको थियो । म त्यो महानिशाको अन्धकारमा, त्यस क्षण एकलै दोहोर्‍याइरहेकी थिएँ–

उफ्, कस्तो यो महानिशा हो

पाइलैपिच्छे आक्रमण मात्रै भइरहेछ

अतिक्रमण मात्रै भइरहेको छ,

विच्छिन्न भइरहेछ जीवन एकाकी टापुमा,

अनर्गल विस्फोटको पिरो धूवाँ रुमलिइरहेछ

दृश्य र दृष्टिभरि पनि

विश्वासभरि पनि,

चिन्तन र मस्तिष्कभरि पनि,

गाढा घाउ र खटिराजस्तै जथाभावी !

उफ्, यो अत्यन्त एक्लो कठोर कवचभित्र

बस्नैपर्ने कस्तो अभिशाप हो,

यो कस्तो महानिशा हो !

हुन सक्छ, मलिन थियो मेरो मस्तिष्क । र, विदीर्ण बनिसकेको थियो मेरो हृदय । त्यो विछोडमा पनि याद आइरहेको थियो– बाबाले सुनाइरहने ती लोककथा, जहाँ ‘नुनजस्तो माया गर्छु’ भन्नेले पनि बिछोडिएको दुःखान्त भोग्नुपर्ने हुन्थ्यो । तरै पनि अश्रुसित आमाले अन्तिम सास फेरेको त्यो महानिशाको दिन म बेहोसीमै दोहोर्‍याइरहेकी थिएँ– ‘आमा म तिमीलाई नुनजस्तै प्रेम गर्छु ।’

हो प्रेमझैँ बहुमूल्य छ– नुन । तपाईं आफैं सोच्नुहोस् त, हाम्रो जीवनमा नुनको आवश्यकता । त्यसैले त हामी नुनलाई संसारकै सबैभन्दा अत्यावश्यक र स्वादिलो ठान्छौं, होइन र ? यदि, नुनले आफ्नो नुनिलोपन गुमाए के होला ? पक्कै पनि नुनले परिकारलाई त्यो स्वाद नदेला, जुन स्वादमाथि हामी कायल हुन्छौं । वा नुनले मानव शरीरका स्नायु सञ्चालन गर्न नसक्ला । वा शरीरमा पानी र खनिजको उचित सन्तुलन कायम राख्न नसक्ला । वा न्युरोनहरू विद्युतीय संकेत सञ्चालनमा गडबडिएर मुटुको धड्कन, मांसपेशीको रफ्तार र दिमागलाई सञ्चार गर्ने शक्तिमा पनि विराम लाग्ने थियो होला ।

त्यसैले येशुले पनि ‘बाइबल (मत्ती, ५ः१३) मा मान्छेलाई ‘तिमीहरू पृथ्वीका नुन हौ’ भनेका छन् । हाम्रो शरीरका तरल पदार्थ (आँसु, पसिना, थुक, रगत) को परीक्षण गरे त्यसमा १ प्रतिशत वा प्रतिलिटर दुई चम्चा नुनको मात्रा पाइन्छ ।

पुरुष र आँसु

विलियम एच. फ्रेको अध्ययन, ‘क्राइड द मिस्ट्री अफ टियर्स’ मा उनले ‘ब्रायनको गीत’ प्रयोग गरे । गीत सुनेर रुनेहरूको आँसु संकलन गरेपछि पत्तो पाए– उदासी र दुःखी फिल्मका एपिसोडले मानिसलाई रुवाउने क्षमता राख्छ । त्यस अध्ययनबाट थाहा पाइएको थियो– चलचित्र हेर्दा वा किताब पढ्दा रुने मान्छे वास्तवमा संवेदनशील आत्मा हुन् । कारण यस्ता व्यक्तिहरू आफूसँग सम्बन्धित नभए पनि क्यारेक्टरलाई आफूमा अनुभूत गर्न सक्षम थिए । त्यसैले विलियम यस्ता व्यक्तिलाई बडो ‘अभिव्यक्तशील’ मान्छन् । तर, समाजले यस्ता व्यक्तिलाई ‘सफ्टी’ नाम दिएर जिस्क्याउने गर्छ ।

कला हेरेर रुनु भावुक व्यक्तिका निम्ति सामान्य विषय हो । सफल कलाले भावनासँग साक्षात्कार गर्छ । कुनै पेन्टिङले भावनालाई सबैभन्दा बढी प्रभावित पार्न सक्छ । कलाकारले व्यक्त गरेको विचारको अनुभूतिले मान्छेलाई भावनात्मक रूपमा उत्तेजित गर्दा कहिलेकाहीँ आँखा रसाउँछ । विज्ञानले यसप्रकारको व्यवहारलाई ‘स्टेन्डल सिन्ड्रोम’ नाम दिएको छ, जहाँ मान्छे उत्कृष्ट कलाकृति हेर्दा र ऐतिहासिक घटना पढ्दा मात्रै रुन्छ । स्टेन्डल सिन्ड्रोम कलाकृतिको प्रदर्शनमा सक्रिय हुन्छ । सायद ती मस्तिष्क क्षेत्रहरू विशेष रूपमा संवेदनशील हुँदा मात्रै आख्यान र चलचित्रका दृश्यले मान्छेको आँसु झर्दो हो ।

सानैदेखि पुरुषलाई ‘पुरुष बन न’, ‘रुन बन्द गर, यो केटीको कुरा हो’ भन्ने सिकाइन्छ । तर, पुरुषलाई पनि रुन दिनुपर्छ । यो स्वस्थ कुरा हो । यसलाई कमजोरीको संकेतका रूपमा हेरिनु भनेको समाजको ‘लैंगिक भूमिकाहरू’ गम्भीर रूपमा कमजोर बन्नु हो । कारण जब हामी भावनाहरू बन्द गर्छौं, हाम्रो मानसिक–स्वास्थ्य कमजोर बन्दै जान्छ । फेर, पुरुषसित पनि त भावना छन्, दुःख महसुस गर्ने मुटु उनीहरूको पनि छ । आँसु बगाउने पुरुष तिनै हुन्, जो झगडा मन पराउँदैनन् । हिंसा अन्तिम विकल्प हो, पहिलो होइन भनेर बुझेका ती पुरुष वास्तवमा विवेकशील हुन् । विश्वविजेता अलेक्ज्यान्डर द ग्रेट पनि आफ्नो साथी हे फेस्टियनको मृत्युमा खुब रोएका थिए । त्यसैले रुनु लिंगमा आधारित विषय हुँदै होइन । र, त्यो कमजोरीको संकेत पनि होइन ।

हामी सबैमा एक भावनात्मक प्रवृत्ति हुन्छ, जसलाई स्वीकार गर्नैपर्छ । त्यसैले लैंगिक स्टिरियोटाइपहरूबाट टाढा जानुको अर्थ ‘पुरुष रुन पाउने’ अधिकारभन्दा ठूलो विषय हो । आखिर, शेक्सपियरले पनि त आफ्ना नाटकहरूमा लैंगिक स्टिरियोटाइपलाई तोड्दै लेखेका छन्– ‘सेक्स, जैविक/प्राकृतिक शब्द मात्रै हो, जब कि लिंग सामाजिक र मानव निर्मित, त्यसैले रुनु नितान्त निजी विषय हो, जसले शोकको गहिराइ कम गर्छ ।’ भर्खरै मैले ओशोबारे एउटा पुस्तक पढेकी थिएँ, जहाँ ओशोको शिक्षा थियो, ‘रिस वा दुःखलाई लुकाउनु शरीरमा नकारात्मक ऊर्जा बचत गर्नु हो, त्यसैले याद राख्नु ऊर्जा शरीरमा न सृजना होस् न नष्ट होस् । कारण नकारात्मक ऊर्जा कुनै माध्यमले भावनाबाट हटेपछि मात्रै हो शरीर र दिमाग प्राकृतिक रूपमा सञ्चालित हुन सकेको । त्यसैले भावनालाई लुकाउनु हुन्न, तिमी रुन चाहन्छौ भने मनको गहिराइबाटै रुनु । चाहे तिमी पुरुष हौ या स्त्री, यसले फरक पार्दैन । अन्तमा हामी केवल मानव हौं ।’ ओशो पढेपछि हो, मलाई रुनु एक प्राकृतिक प्रक्रिया मात्रै लागेको । र, पितृसत्तात्मक समाजमा पुरुषको ‘मर्दानगी’ नाप्ने स्टिरियोटाइप सोचाइ ‘मर्दलाई दर्द हुँदैन’ भन्ने ट्यागको चाहिँ सामाजिक संसारमा मूल्य छैन भन्ने बुझेको । आखिर अर्धनारीश्वर रूपले ब्रह्माण्डका पुरुष–स्त्री शक्तिलाई एकसमान सर्वव्यापी प्रकृतिको प्रतीक मानेको छ । ‘आदम’ लाई ईश्वरले माटोबाट बनाएपश्चात् उनको भौतिक शरीरबाट इभ बनाएको हो, जसले पुरुष र स्त्रीलाई समानता दिएको छ । होइन र ?

त्यसैले के तपाईं पनि मजस्तै लिंग स्टिरियोटाइप सोच खारेज गर्नुहुन्छ ?

फेरि हामी अवगतै छौं, येशु भौतिक संसारमा तीनपटक रोएको त्यो तथ्यबाट । लाजरसको चिहानमा उपस्थित हुँदा (युहन्ना ११ः३५) रोएका थिए येशु । जेरुसेलमको विगत र भविष्यका पापहरू देखेपछि येशु आघातमा रोएका थिए (लुका १९ः४१) अनि क्रसमा टाँगिनुअघिको रात गेथसेमेनको बगैंचामा प्रार्थना गर्दा रोएका थिए (हिब्रु ५ः७) ।

महाभारत सभा पर्व, अध्याय २ः४ मा लेखिएको छ– बहिनी सुभद्रा र पाण्डवहरूसँग केही समय बिताएपछि र बिदाइका दिन श्रीकृष्णले प्रेम–आँसु बगाएका थिए (श्रीमद्भागवत १०ः८०ः१९) । सुदामा–कृष्ण भेटमा सुदामाको शरीर छुँदा कृष्णले तीव्र आनन्दमा प्रेम आँसु बगाएको लेखिएको छ । प्रसिद्ध दामोदर–लीला कसले भुल्न सक्छ, जहाँ आमाको हातमा लठ्ठी देखेर बारम्बार आँखा रगड्दै कृष्ण खूब रोएका थिए ।

शिवमाथिको भक्तिले तारकासुरका छोराहरू तादिनमाली, ताराक्ष र कमलाक्षले देवत्व प्राप्त गरे । केही समयपछि ती असुर पुत्रहरू आफ्नो मौलिक अधर्ममा फर्के । यो देखेर शंकर शोकले त्रसित भए र उनका आँखा आँसुले भरिए । ती आँसुका थोपा पृथ्वीमा खस्दा त्यहाँबाट एउटा रूख पलायो, जसलाई रूद्राक्षको रूख भनिएको छ ।

वाल्मीकि रामायणको अरण्य खण्डमा रावणले सीताको अपहरण गरेपछि विलापमा राम रोएको प्रसंग छ । रावणको शक्ति अस्त्र प्रहारले युद्ध मैदानमा बेहोस लक्ष्मणलाई देखेर रामले विलापमा भनेका थिए– ‘श्रीमती पाइन्छ र आफन्त पनि जताततै हुन सक्छन्, तर लक्ष्मणजस्तो भाइ कतै पाउन सकिँदैन ।’ लक्ष्मणप्रति रामको गहिरो प्रेममा बगेको आँसु थियो त्यो ।

हुन त त्यो आँसु नश्वर वा जीवित प्राणीको रोदन होइन, ईश्वरभक्तिमाथिको प्रेममा बगेका आँसुका थोपा हुन् । तर, जैविक चिन्तनमा एक क्षण भए पनि परमानन्दको आँसु उही आँसुजस्तो अनुभव हुन जान्छ, जो हाम्रो आँखाबाट खुसी, आनन्द वा दुःखको भाव लिएर बगिरहेको हुँदो हो ।

स्त्री र आँसु

बाल्टिमोर काउन्टीको मेरिल्यान्ड विश्वविद्यालयका मनोविज्ञान र न्युरोसाइन्सका प्रोफेसर रोबर्ट आर. प्रोगिन भन्छन्– ‘आँसु अनुहारको सन्तुलन र सूक्ष्मता थप्ने माध्यम हो ।’ सन् १९८० को दशकमा बायोकेमिस्ट विलियम एच. फ्रेले महिलाहरू महिनामा औसत ५ देखि ३ पटक रोएको र पुरुषहरू महिनामा औसत १ देखि ८ पटक रोएको प्रमाण पाए । टेस्टोस्टेरोनले रुने कामलाई रोक्छ भने महिलामा हुने प्रोल्याक्टिनले बढावा दिन्छ । महिलामा उच्चस्तरमा देखिने प्रोल्याक्टिन हार्मोनले उनीहरूलाई रुन प्रेरित गर्छ । सायद त्यसैले प्रत्येक महिना संसारका अरू स्त्रीझैं म पनि महिनावारीको रगतमा रगतिन्छु र उसैगरी रगतिन्छ मेरा भावना पनि । आखिर मेरा भावनात्मक आँसु, मेरा रगतको प्लाज्माबाट बनेको भावको डिस्चार्ज मात्रै त हो । त्यसैले हो हर्मोन, प्रोजेस्टेरोन र इस्ट्रोजनको यस्तो उतारचढावको नाटकमा हल्का उदासीसितको अवसादले स्त्रीहरू अश्रुले भिज्ने गरेका । हो तपाईंहरूझैं, कतिपय स्त्रीहरूझैं प्रिमेन्स्ट्रुअल सिन्ड्रमको यस्तो चपेटामा म पनि कार्बोहाइड्रेट खाना (चकलेट, फ्राइड खाना) इत्यादिको तिर्सना र मायाको अँगालोको खोजीमा भावुक बन्ने गर्छु । आखिर त्यतिबेलै त हो मेरो मस्तिष्कमा रासायनिक सेरोटोनिनको स्तरमा कमी आउँछ र म त्यस्तै कार्बोहाइड्रेट खाना खोजिरहेकी हुन्छु । अनि मात्रै मेरो शरीरमा सेरोटोनिन रसायन विकसित हुँदै जान्छ । र, कुनै बेला त्यो रसायन (सेरोटोनिनको कमीले ल्याएको मुड स्विङ) ले नजानिँदो चिडचिडापनमा मेरो आँखाको परेली भिजाउँछ । म रोइरहेको त्यो अवस्थालाई विज्ञान अत्यन्तै स्वाभाविक ठान्छ ।

बडो जटिल छ स्त्रीले बगाउने त्यो आँसुको वैज्ञानिक संरचना । इजरायलका बेइजम्यान इन्स्टिट्युटका वैज्ञानिकहरूले स्त्रीको आँसुमा ‘रासायनिक संकेत’ रहेको पत्तो पाए । त्यसपछि त हो, वैज्ञानिक सोबेलले सन् २०१२ को एक अध्ययनमा महिलाको आँसुमा ‘फेरोमोन’ नामक रसायन पाएका । फेरोमोन त्यो रसायन हो, जसले सामाजिक व्यवहारलाई ट्रिगर गर्छ ।

जनावरका आँखाबाट बगिरहेका आँसु

हामीमध्ये धेरै आँसुलाई केवल मानवीय घटना मान्छौं होला, हगि ? हुन पनि मान्छेको आँसु भावनाको त्यो जटिल परिकल्पना हो, जसले दुःख, सुख र पीडा व्यक्त गर्छ । तर, संसारमा मानवबाहेक अरू प्राणी (चरा, कुकुर, घोडा, ऊँट,बाँदरलगायत अन्य स्तनधारी) पनि हामीजस्तै रुन्छन् । तर, जनावरको आँसु र हाम्रो आँसुमा थोरै भिन्नता छ ।

ती आँसु रासायनिक रूपमा त समान हुन्छन्, तर तिनको भावनात्मक आधार छुट्टै हुन्छ । जस्तै पुरातन मान्यताअनुसार, गोहीले आफ्नो सिकार मारेपछि रुन्छ भनिन्छ, जसलाई हामी ‘क्रोकोडायल टियर’ भन्छौं । र, हामी यस्तो आँसुसित डराउँछौं पनि । कारण यो मान्यताअनुसार भनिन्छ– छलिया व्यक्ति मात्रै ‘क्रोकोडायल टियर’ अर्थात् झूटो आँसु निकालेर रुन सक्छ । र, त्यो व्यक्ति वास्तवमा दुःखी पनि हुँदैन अनि उसले देखाएको त्यो विशिष्ट भावना पनि झूटो हुन्छ ।

तर, चिकित्सा जगत्मा भनिन्छ– बेल्स पाल्सीबाट निको भएका रोगीहरू खाँदा–पिउँदा उनीहरूको आँखाबाट आँसु झर्छ । यसलाई विज्ञानले ‘क्रोकोडायल टियर सिन्ड्रोम’ भनेको छ । तर, आँसु सबै जीवित प्राणीमा आउँछ । मान्छेझैं कुकुरका छाउराहरू पनि आफ्नो हेरचाहको खोजीमा, आफूमाथि ध्यान केन्द्रित गर्न रुन्छन् । र, त्यो स्वाभाविक पनि हो । तर, धर्मशास्त्रले हामीलाई कुकुर रोएको आवाजमा डराउनु भन्छ । हामीलाई सानै छँदादेखि समाजले ‘कुकुर रुँदा यमराज पृथ्वीमा आउँछन् र त्यो रुवाइले कसैको मृत्यु हुन्छ’ भन्ने विश्वास गर्न सिकाउँछ । झन् कुकुर रुँदै भुइँमा लडेपछि त हामी त्यसलाई ‘अशुभ’ सम्झन्छौं, त्यो अबोध प्राणीमाथि घृणाको व्यवहार गर्छौं होला । तर, यो सोचाइलाई वैज्ञानिक खोजले खारेज गर्छ । विज्ञान भन्छ– कुकुर पीडामा छँदा मात्रै त्यसरी चिच्च्याउँदै रोएको हुन्छ । सायद त्यो चिच्याइबाट कुकुरले आफ्नो पीडा व्यक्त गरिरहेको हुँदो हो । फेरि, कुकुरलाई एक्लोपन पटक्कै मन पर्दैन । त्यसैले एक्लोपनमा पनि कुकुर कराउँदै रुँदो हो । हाम्रो जस्तो ‘विकसित भाषा’ कुकुरहरूको कहाँ छ र ? सांकेतिक भाषा बुझ्ने प्राणीका निम्ति कुकुरको रुवाइ त्यो विशेष आवाज होला, जसको माध्यमबाट उसले अन्य कुकुरसम्म आफ्नो स्थान र अवस्थाबारे सन्देश पठाउने गर्दो हो । यति मात्रै होइन मनसुनको समय, फ्री–रेन्जिङ कुकुरहरूको त्यो स्पष्ट सम्भोगको मौसममा पनि यौनले उत्तेजित भएका कुकुर अन्य जोडीको खोजीमा लगातार व्याकुलतामा रुँदा हुन् ।

प्रख्यात किंवदन्ती भन्छ– यौनसम्पर्कबिनै भालेको आँसु पिएर उर्वर बन्छे पोथी मुजुर । तर, वर्षाकालको (अप्रिलदेखि सेप्टेम्बरसम्म) मिलन–अवधिमा भाले मुजुरले सुन्दर प्वाँखहरूसहित नृत्य प्रस्तुत गर्दा पोथी मुजुरले पक्कै त्यो मिलन–विलापको रोदन बुझ्दी हो ।

वास्तवमा आँसु हाम्रो नशामा बगिरहेको रगतजस्तै महत्त्वपूर्ण छ । त्यसैले आँसु मनको पीडाको आँधीपछि उठेका भावनाका मसिना पानीका थोपा हुन् । आँसु मनले बोल्न नसकेको मौनताको त्यो भाषा हो, जहाँ आँखाहरू पीडाको गीतमा लगातार रोइरहेका हुन्छन् । हुन त आँसुको कुनै विशेष भार छैन, तर त्यसले मानवीय भावनाको भयंकर ठूलो भार पक्कै बोक्छ । यस्तै हुँदो हो प्रेम–आँसुको गाथा, जसले चैतन्य महाप्रभुलाई कृष्णको सम्झनामा घण्टौं रुवाउँथ्यो र कहिलेकाहीँ अत्यधिक रोदनमा उनी बेहोस हुन्थे । कृष्णको प्रेममा चैतन्य महाप्रभु लेख्छन्–

‘हे गोविन्द !

तिमीबिना संसार खाली छ

आँसु मेरो आँखाको पानी–बाढीजस्तै

बनिसकेको छ

र, एक पल पनि

तिमीबिना सधैंभरि झैं लामो लाग्छ

त्यो मीरा–बाईको भक्ति योग (साँचो प्रेम र भक्ति) नै थियो, जहाँ उनले कृष्ण–भजन गाउँदा आँसु झर्थ्यो । त्यो आँसुले भागवत प्रेमलाई प्रतिविम्बित गर्छ । फेरि विज्ञान पनि प्रेममा आँसु बग्नु एक स्वाभाविक प्रक्रिया मान्छ ।

रोएर कोही कमजोर बन्दैन । बरु आँसुले व्यक्तिमा भावनाले भरिएको मुटु छ भन्ने बलियो संकेत दिन्छ । ओलिभर वेन्डेल होम्स भन्छन्, ‘हाँसो र आँसु संवेदनशीलताको एउटै मेसिनका पांग्राहरू घुमाउनका लागि हुन् । एउटा हावा–ऊर्जा अनि अर्को जल–ऊर्जा ।’ रुनु वास्तवमा पजलजस्तो हो, जसलाई बुझाउँदै थोमस फुलर भन्छन्, ‘हामी रूँदै जन्मेका हौं, गुनासो गर्दै बाँचिरहेका हुन्छौं र निराश भएर मर्छौं ।’

हामीलाई थाहा छ– आँसुको मोल, जो लाखौं वर्षदेखि हामीसितै छ । हाम्रा पुर्खाझैं म पनि खुब रोइरहन्छु । तपाईंहरूलाई सोध्न मन छ– जीवनमा तपाईंचाहिँ कतिपटक रुनुभएको छ ? कतिपटक आँसुमा लतपतिनुभएको छ ?

प्रकाशित : वैशाख १६, २०८० ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?