१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८
मृत्युचिन्तन

म मृत्युलाई पनि प्रेम गर्छु

जीवन जिउने कला सिक्न मान्छे जीवनभरि नै भौंतारिइरहन्छ, गुरुहरूका शरणमा पुग्छ । तर, ऊ बिर्सिन्छ– उसको महान गुरु उसले आफ्नो जन्मसँगै लिएर आएको हुन्छ, त्यो हो– मृत्यु । मृत्यु–कला नसिकी जीवन–कला सिक्न सम्भवै छैन ।
सरस्वती प्रतीक्षा

‘हेर्ने कथा’ का शृंखलाहरूमा पछिल्लोपटक अत्यधिक रुचाइएको एक वृत्तचित्र हो– ‘बाघको बंगारा’ । जंगली मौरीको मह काढ्ने मह सिकारीहरूको चुनौतीपूर्ण यात्रा र संघर्षको वरपर घुम्छ वृत्तचित्र । जीवन बाँच्न जीवनलाई नै दाउमा राखेर भीरमौरीको मह काढिरहेको एक पात्र भन्छ, ‘हामी जइ दिन जन्म्या हौं, उसै दिन मर्‍या हौं ।’

म मृत्युलाई पनि प्रेम गर्छु

सरल शब्दमा कति गहिरो दर्शन बोले ती मह सिकारीले । भोगाइको एक वाक्यसामु ज्ञानको समग्र ठेली नै कहिलेकाहीँ हलुंगो महसुस हुँदोरहेछ । अचानक मलाई ओशोको ‘मैं मृत्यु सिखाता हुँ’ भन्ने किताब हलुंगो लाग्यो । जन्म भएदेखि नै मानिस मृत्युतिर ओरालो दर्गुछ भन्ने गरुड पुराण हलुंगो लाग्यो । पूर्वबाट पश्चिममा क्रमशः आफ्नो पंख फिँजाइरहेको ‘द टिबेटियन बुक अफ द डेड’ हलुंगो लाग्यो । अँ साँच्ची, मृत्युचाहिँ आफैंमा कति गह्रुंगो अनि कति हलुंगो कुरा हो ?

मृत्युको मिसकल

सुन्दा अपत्यारिलो सुनिन सक्छ, तर कतिपय आउँदा घटनाहरूको सङ्केत सपनाले दिन्छ मलाई । यसको फाइदा के भने राम्रो सपना देख्दा बिनाकारण खुसी थपिदिन्छ सपनाले । बेफाइदा के भने नराम्रो सपना देख्दा अनावश्यक तनाव र दुःख थपिदिन्छ सपनाले । सपनाको कारण ‘अतिरिक्त खुसी’ र ‘अतिरिक्त दुःख’ बारबार मिलिरहन्छ मलाई ।

विक्रमाब्द २०७६ को कुरा हो । लगातार तीनपटक गाडी दुर्घटनाग्रस्त भएको सपना देखेँ, त्यो पनि केही दिनको अन्तरमा । एकपटक साँघुरो घुम्तीमा मोड्न नमिलेर गाडी पल्टियो । अर्कोपटक कतै पार्किङमा राखेको गाडी आफैं गुड्दैगुड्दै गएर पल्टियो । फेरि अर्कोपटक बाटोमा जनावरले बाटो काट्दा अचानक सन्तुलन गुमाएर दुर्घटनाग्रस्त भयो । सपनाले बारबार गाडी दुर्घटनाको संकेत गरेपछि म निकै तनावमा थिएँ ती दिनहरूमा । गाडी नचलाई नहुने अवस्थामा बाहेक सकेसम्म स्कुटर चलाएर हिँडे केही दिन ।

ठीक त्यही समयमा पोखरामा आठौं लिटरेचर फेस्टिभल चलिरहेको थियो । पहिलो दिनको मेरो सेसन घनघोर वर्षाका कारण तेस्रो दिन सर्‍यो । फेस्टिभलमा दोस्रो दिन आयोजकले फिस्टेल लजमा डिनरको व्यवस्था गरेका थिए । फेस्टिभलकै लागि आएकी गायिका झुमा लिम्बू र मचाहिँ त्यो साँझ फिस्टेल लजतिर होइन, केवल दुई जना समय बिताउने उद्देश्यले खपौदीस्थित मरिना बिचतर्फ लाग्यौं । झुमासितको त्यो साँझ सुरु हुन नपाउँदै अचानक ठूलो भाइ सुरजको फोन आयो । केही पारिवारिक कुरा होला, पछि कुरा गर्नुपर्ला सोचेर सुरुमा त फोन उठाइनँ किनकि लामो समयपछि भेट भएकाले झुमासितको त्यो पलको स्वाद नबिथोलियोस् भन्ने चाहन्थेँ म । लगातार चार, पाँच कल आएपछि भने फोन उठाएँ । उताबाट ‘हेलो’ होइन सुरुमै प्रश्न आयो, ‘तँ कहाँ हो र ? फोन उठाउन किन यत्रो समय लागेको ?’

मैले भनें, ‘म काठमाडौंबाट आएकी एउटी साथीसित लेकसाइडमा छु ।’ केही हड्बडाएको स्वरमा उताबाट सुरजले भन्यो, ‘मेरो गाडी एक्सिडेन्ट भो भर्खरै । थानकोट नजिकै हो ।’

त्यसपछि अचानक मेरा हातखुट्टा लुलो भए । एकसाथ थुप्रै प्रश्नहरू सोधेँ, ‘के भयो ? कस्तो छ हाल तेरो ? गाडी कसले चलाइरहेको थियो ?’

‘गाडी त लाङ्घालीले (घरकै ड्राइभर) चलाइरहेको थियो । म पछाडिको सिटमा सालासँग थिएँ । ट्रकले साइडपट्टिबाट हान्यो । मेरो एउटा हात भाँच्चिएको छ, कत्ति नि चल्दैन । अरूलाई सामान्य चोट मात्र लागेको छ । एम्बुलेन्स कुरिरहेका छौं,’ उसले एक सासमा यति कुरा बतायो र एकछिनमा फोन गर्छु भनेर फोन राख्यो ।

हात मात्रै भाँच्चिएको भन्ने कुराले मनमा केही राहत दिए पनि उसले केही ढाँटिरहेको छ भन्ने कुराले मन सशंकित भइरह्यो । एकै छिनपछि फोन गर्दा उसको मोबाइल स्विच अफ थियो । ड्राइभरको पनि अफ थियो । उसको सालाको फोनचाहिँ लागिरहेको थिएन ।

त्यही रात उत्तिखेरै सानो भाइ वसन्त, ठूलो बुहारी पम्फा र अन्य केही आफन्त काठमाडौंतर्फ हान्निए । मसित छटपटाई बस्नुको अरू विकल्प थिएन । एकान्तको खोजीमा तालछेउ पुगेका झुमा र म अप्रत्याशित बेचैन बोकेर फर्किनुपर्‍यो ।

गाडी दुर्घटना भएको सपनाबाट जोगिन आफूले सकेसम्म गाडी नचलाए पनि सपनाले भाइलाई हान्यो र लगभग मृत्युको मुखमा पुर्‍यायो । आफैं सहजकर्ता भएकाले अन्तिम समयमा ‘सेसन चलाउँदिन’ भन्दा आयोजकलाई धोका हुन्छ सोचेर भोलिपल्ट जेनतेन सेसन चलाएँ । मनमा जति पीडा भए पनि ओठमा हाँसो बोकेरै सेसन चलाएँ । भोलिपल्टको आफ्नो सेसन सकेर जब म हड्बडाउँदै काठमाडौंस्थित बी एन्ड बी हस्पिटल पुगेँ, सुरजको हातको अपरेसन सकिएको थियो, तर होस आइसकेको थिएन । पूरापूर आठ घण्टाको लामो अपरेसन । डा. विवेक बाँस्कोटा र उनको टिमले बी एन्ड बी हस्पिटलको इतिहासमा हातको सबैभन्दा जटिल शल्यक्रियामध्येको एउटा हो भन्दै थिए रे ! सुरजको हात सामान्य तवरले भाँच्चिएको थिएन, हातको हड्डी नै थुप्रै टुक्रा भएको थियो । टुक्रिएका ती हड्डीहरू जोड्न एकदम कठिन भएछ । हड्डीको कति टक्रा त दुर्घटनाग्रस्त गाडीमै छोडिएको थियो, जुन पछि मात्रै भेट्यौं हामीले । पछि डाक्टरहरूले दोस्रो अपरेसनको दौरान कम्मरनेरको हड्डी निकालेर उक्त खाली भएको ठाउँमा हड्डी राखेर जोडिदिएका थिए । यसरी मैले आफ्नो ठूलो भाइलाई झन्डै–झन्डै गुमाएर फिर्ता पाएकी थिएँ । मृत्युको त्यो मिसकल बडो भयानक मिसकल थियो ।

मृत्यु हुँदैनथ्यो भने जीवनको महत्त्व हुने थिएन । जीवन रहरलाग्दो र मायालु हुने थिएन । मृत्यु भयानक राक्षस होइन, एक महागुरु हो, जसले हामीलाई सिकाउँछ— ‘जीवन सार्थकतापूर्वक बाँच्नु ।’

मृत्युको कल

गाडी दुर्घटनाको लगभग नौ, दस महिनापछि फेरि पटक–पटक सपनामा म भाइहरूलाई देखिरहेकी थिएँ । उही र उस्तै खाले सपनाहरू, तर सबै त्रासदीपूर्ण । एउटा सपनामा सानो भाइ वसन्त र मात्रै थियौं, सुरज हराइरहेको थियो । हामीहरू हस्याङफस्याङ गर्दै उसलाई खोजिरहेका थियौं । अर्को सपनामा बाटोमा हामी तीन जना हिँड्दा–हिँड्दै सुरज मात्रै अचानक् आकाशमा उड्न सुरु गर्‍यो र हेर्दाहेर्दै धेरै माथि गयो ।

सुरजको हातमा राखिएको स्टिल निकाल्नै बाँकी थियो र डाक्टरले छिट्टै अपरेसन गरेर निकाल्ने भनिरहेका थिए । यस्तोमा नराम्रो–नराम्रो सपना देख्दा मन अत्तालिइरहेको थियो । एक रात फेरि दुवै भाइहरूलाई सपनामा देखेँ । सुरजचाहिँ तालको पानीमा डुब्न–डुब्न लागिरहेको थियो । वर्षायामको उर्लंदो सेती नदीमा समेत माथि पुलबाट हाम फालेर पौडिन खप्पिस भाइ तालमा कसरी डुब्न सक्छ ? मनले मानिरहेको थिएन, तर पनि ऊ डुबिरहेको थियो । आफूलाई पौडिन नआउने हुनाले ‘वसन्त, दाइलाई बचा !’ भन्दै म बेस्कन चिच्याइरहेकी थिएँ । अचानक् झल्यास्स ब्युँझिएँ । एकदम नरमाइलो लाग्यो ।

२०७७ साल, असोज १० गते । अघिल्लो रातको नराम्रो सपनाले मन एकतमासको भइरहेको थियो । अपरेसनको दिन नजिकिँदै गर्दा म नराम्रो सपनाको कुरा सुनाएर भाइलाई हतोत्साहित गर्न चाहन्नथेँ, तर आफैंभित्रको छटपटी लुकाउन पनि सक्दिनथेँ । आत्तिएर म उसलाई भेट्न गएँ । शनिबार हुनाले ऊ अलि फुर्सदमा थियो । मेरो सपनाको विपरीत ऊ भेट्दा एकदम उत्साहित थियो र व्यापार–व्यवसायको भावी योजना सुनाइरहेको थियो । दिनभर दिदी–भाइ वर्तमानदेखि भविष्यका कतिपय योजनाबारे कुरा गर्दै बस्यौं । थुप्रै दुःख–सुखका कुरा भए । निकै लामो कुराकानी भो ।

सुरजलाई भेटेर फर्केपछि नराम्रो सपनाको ह्याङबाट अलि निस्केजस्तो भएकी थिएँ, किनकि उसलाई भेट्दा ऊ निकै उत्साहजनक मनस्थितिमा थियो । त्यसको तीन दिनपछि असोज १३ गते अचानक बिहान ९ बजेतिर आमाको फोन आयो, ‘तँ तुरुन्त मणिपाल हस्पिटल गइहाल् । सुरज ब्याडमिन्टन खेलेर फर्केपछि अचानक बेहोस भयो र बेहोस अवस्थामै मणिपाल हस्पिटल ल्याउँदै छ ।’ घाम लागिरहेकै थियो, तर यस्तो लाग्दै थियो– जताततै अँध्यारो छ, निस्पट्ट अँध्यारो ।

फोन आएको बीस, पच्चीस मिनेटमा उसलाई बोकेको गाडी आइपुग्यो । उसको कक्रकिएको चिसो शरीर र फुलेको पेट देखेर म अचानक् झस्किन पुगेँ । हतार–हतार उसलाई इमर्जेन्सीमा लगियो । फिल्ममा देखाइएको कुनै सिनजस्तो डाक्टरले उसको छातीमा डिफिब्रिलेटरले बारबार झड्का दिइरहे, तर उसको श्वास बन्द भइसकेको थियो । भित्र लगेको दस, पन्ध्र मिनेट नहुँदै डाक्टरहरूले सुरजलाई मृत घोषित गरिसकेका थिए ।

‘जसरी नि मेरो भाइलाई बचाइदिनुस्’ भन्दै म इमर्जेन्सीको डाक्टरसित मूर्च्छनामै रुँदै चिच्याइरहेकी थिएँ, तर डाक्टरले ‘अब केही हुन सक्दैन’ भनेर हात उठाइसकेका थिए । नमीठो संजोग, त्यो विश्व मुटु दिवसको दिन थियो । मुटु दिवसकै दिन मेरो ठूलो भाइको मुटु सधैंका लागि बन्द भइसकेको थियो ।

स्वास्थ्यको सन्दर्भमा यति सजग कि ऊ हरदिन बिहान डेढ, दुई घण्टा ब्याटमिन्टन खेल्थ्यो । तौल सधैं ठिक्कको । रक्सी एक, दुई महिनामा एकपटक मात्रै पिउँथ्यो । मासुको चाहिँ सोखिन थियो । भन्न त पछि उसका साथीहरूले भने– कहिलेकाहीँ छाती चस्केजस्तो भइरहेछ भन्थ्यो रे पछिल्लो चरणमा । केही समयअघि मात्रै अपरेसन गर्ने बेला सबै रिपोर्ट नर्मल आएकाले त्यस्तो गम्भीर केही होला भन्ने लागेन उसलाई पक्कै । त्यो कोरोनाकालको पिक समय हुनाले सकेसम्म अस्पताल नजाने भन्नेमै हुन्थे सबै । ‘ग्यास्ट्रिकले होला छाती पोलेको, कोरोना अलि मत्थर भएपछि हस्पिटल जाउँला,’ ऊ पनि सायद त्यही मानसिकतामा बस्यो र त्यहीँनेर धोका खायो ।

के हामी मृत्युलाई रोक्न सक्छौं ? अवश्य सक्दैनौं, तर केही समयका लागि पछाडि धकेल्नचाहिँ सक्छौं । कोरोनाकाल हुन्थेन भने सुरजको मृत्यु पनि पछाडि धकेलिन्थ्यो कि भन्नेचाहिँ लागिरहने सधैं । ३५, ३६ वर्षको भर्भराउँदो उमेर चटक्कै यो संसार छोडेर जाने उमेर पनि त थिएन । मेरी आमाको आमाको अर्थात् हजुरआमाको जुन उमेरमा अचानक बेहोस भएर मृत्यु भएको थियो, ठीक त्यसरी नै र त्यही उमेरमा मेरो भाइको मृत्यु भएको थियो ।

‘जेनेटिक कोलेस्ट्रेल खानपान र जीवनशैलीको कारणले मात्र नहुन सक्छ । कहिलेकाहीँ दस वर्षको बच्चामा पनि देखिन्छ यो रोग,’ पछि डाक्टरले यसै भने मलाई । जेनेटिक कोलेस्ट्रोलको कारण हृदयाघात भई भाइ गुमाएपछि आजकल म आफैं नियमित रूपमा कोलेस्ट्रोलको औषधि खाइरहेकी छु । मान्छेलाई असमयमै मृत्युको कल आएको कहाँ मन पर्छ र ?

कथाको अर्को मोड

अचानक्को सुरजको मृत्युपछि म त्यो म रहिनँ, जो पहिले थिएँ । मेरो दैनिकी त्यो रहेन, जो पहिले थियो । लेख्दा लेख्दैको मेरो उपन्यास अचानक रोकियो । डेढ वर्ष त हर दिन म पोखरा र तनहुँ गर्दै लगभग ५० किलोमिटर ड्राइभिङमै हुन्थेँ । बिजनेस सफ्टवेयर, इनभोइस, खरिद, बिक्री, नगद, उधारो–म सृजनाको प्लस माइनसबाट हिसाबको दुनियाँको प्लस माइनसमा पुगेकी थिएँ । उसले चलाइरहेको अटो मोबाइलको व्यवसायलाई लयमा जो ल्याउनु थियो । ऊ नहुँदा पनि उसैको सपनमा बाँच्नु जति प्रियकर थियो, उत्ति नै कठिन पनि ।

एक दिन कुरैकुरामा कोरियामा बस्ने एक जना पाठकले म्यासेन्जरमा सोध्नुभयो, ‘तपार्इंको लेखन के भइरहेको छ अचेल ?’ मैले आजकल म मेरो लागि होइन, भाइको सपना र मायाको लागि बाँचिरहेको बताएँ र लेखन स्थगित भएको सुनाएँ । साथसाथै अब लेखनमा कहिले फर्कन्छु वा फर्कन्न केही थाहा नभएको बताएँ ।

‘मानें कि तपाईं भाइलाई माया गर्नुहुन्छ र भाइका लागि बाँचिरहनुभएको छ । तर, तपार्इंलाई माया गर्ने तपाईंका थुप्रै पाठक पनि छन्, तिनको मायाको लागि चाहिँ तपाईंले केही गर्नुपर्दैन ?’, सोध्न त उनले केवल एक प्रश्न सोधे, तर उनले सोधेको प्रश्न मेरा लागि केवल प्रश्न थिएन । त्यो प्रश्न मेरो कथाको अर्को मोड जो थियो ।

तत्कालै कुनै जवाफ दिन आएन र उनको गहिरो कुरालाई हाँसेर टारिदिएँ । म्यासेन्जरमा कुरा टार्न स्माइलीको इमोजी पठाउन त सजिलो थियो, तर आफू आफैंसँग हाँस्न निकै कठिन । भाइप्रतिको माया र पारिवारिक दायित्व एक ठाउँमा, आफ्नो रहर र प्यासन अर्को ठाउँमा । मैलै ती माया गर्ने पाठकलाई त्यसपछि कहिल्यै भनिनँ कि तपाईंले सोधेको प्रश्नले मलाई अचानक कसरी बिथोलिदियो भनेर । कुनै दिन प्रत्यक्ष भेट भए अवश्य भन्नेछु ।

डेढ वर्षको अवधिमा अनेक पारिवारिक उतारचढावका बावजुद सानो भाइले आफ्नो दाइको स्थान र भूमिकामा आफूलाई खरोसँग उभ्याउन सक्छ भन्ने लागेपछि पारिवारिक रूपले ढुक्कको स्थितिमा पुगेँ । अब लेखनमा लाग्छु भनेर प्रत्यक्ष व्यापार, व्यवसाय हेर्न छोडेर बसेँ । छ महिना बित्यो, तर म मानसिक रूपमा लेख्न बस्नका लागि तयार हुनै सकिनँ । बीचमा एउटा, दुइटा लेख लेखेँ, तर ठोस लेखनमा फर्कनै सकिनँ । त्यो दौडान आफूले आफैंलाई कति सम्झाएँ, कति फकाएँ, कति ढाडस दिएँ, कति घुर्की लगाएँ, कति गाली गरेँ, कति मायाले सहलाएँ– आफैंलाई थाहा छ ।

अरूलाई फकाउनुभन्दा आफूले आफैंलाई फकाउनु कैयौं गुणा गाह्रो हुन्छ । अरूलाई ब्युँझाउनुभन्दा आफूले आफैंलाई ब्युँझाउनु एकदमै कठिन हुन्छ । आफैंभित्र निदाइरहेको लेखकलाई ब्युँझाउन आफूले गरेको अनवरत संघर्षले अन्ततः त्यो अटेरी लेखक ब्युँझन करै लाग्यो । असोज १ गते । सुरजको जन्मदिन । त्यही दिनलाई मैले आफ्नो दोस्रो उपन्यासको दोस्रो चरणको लेखनको दिनको रूपमा रोजेँ । कोरोनाकालमै पहिलो चरणमा उपन्यासको कथादेखि पात्रसम्म एकखाले गृहकार्य जो गरिसकेकी थिएँ ।

सुरज मेरो भाइ मात्रै थिएन, नजिकको साथी पनि थियो र सँगसँगै अभिभावक पनि । मेरा थुप्रै जन्मदिनहरू मलाई जन्मदिने आमाले भुल्थिन्, तर सुरज एक मात्र यस्तो भाइ थियो, जसले कहिल्यै मेरो जन्मदिन भुल्थेन र म जहाँ भए पनि जन्मदिनको शुभकामना दिन्थ्यो । सुरुमा त मलाई ऐंठन परेजस्तो भो । अक्षरहरू लेख्दा कहिले हिक्काहरू लेखिन्थे, कहिले उच्छवासहरू !

त्यही पलमा मनमनै प्रार्थना गरेँ– ‘कोही मरेपछि पितृ हुन्छ भन्छन् । तँ कहीँकतै कुनै न कुनै रूपमा छस् भने भाइ भए पनि तँ मेरो पितृ होस् अब । सुरज, मलाई त्यही पितृको आर्शीवाद दे ! मलाई तेरो प्रेरणा र साथको एकदम जरुरत छ ।’

मेरो प्रार्थना सुरजले सुन्यो कि सुनेन थाहा छैन, तर अन्तस्करणमा केहीचाहिँ अवश्य घटित भयो । मेरो लेखनले अचानक गति लियो । म आफैंले अनुमान गरेभन्दा दोब्बर गति । म पहिले सक्दिनथेँ, तर अहिले बिहानदेखि बेलुकासम्मै लगातार सोचिरहन र लेखिरहन सक्छु । लेखिरहेकी छु ।

असमयमै जब कसैले आफ्नो सबैभन्दा प्रिय मान्छे गुमाउँछ, ऊ पहिलेको जस्तो रहन सक्दैन । म पनि पहिलेजस्तो छैन ।

मृत्युको कला

जीव विज्ञान भन्छ– प्रत्येक जीवसित बाँच्ने नैसर्गिक प्रवृत्ति हुन्छ । प्रकतिले जीवहरूको बाँच्ने नैसर्गिक प्रवृत्तिको विसर्जन प्रक्रियालाई ‘मृत्यु’ को रूपमा उपस्थित गरेको छ । सिर्जन र विसर्जन प्रक्रियालाई वैज्ञानिकहरूले निरन्तर प्रक्रिया सिद्घ गरेर एउटा ब्रह्माण्डको मृत्युपछि अर्को ब्रह्माण्डको जन्म प्रक्रिया सुरु हुन्छ भन्न थालेका छन् । उच्च दार्शनिक र वैज्ञानिक प्रश्नहरूलाई थाती राखेर सामान्य मान्छेमा अनुभवमा पनि आउँछन्– जीवन र मृत्युका कुरा । एक बारको जिन्दगी, मरी जाने चोला हो, मरी लानु के छ– हामीले पाइलापाइलामा सुन्दै आएकै छौं ।

आजकल जता हेर्‍यो त्यतै आर्ट अफ लिभिङको चर्चा सुन्न पाइन्छ । आर्ट अफ लिभिङ सम्बन्धी सयौं किताब बजारमा उपलब्ध छन् । हिजोका विवेकानन्द हुन् वा परमहंस योगानन्द, अस्ति भर्खरै देहावसान भएका थिक नाट हान हुन् वा अहिलेका श्री श्री रविशंकर– सबैजसो आध्यात्मिक गुरुहरू जीवन जिउने कलाको विविध आयाममाथि बोलिरहेका हुन्छन् ।

डा. भगवान कोइरालाले ‘दिशानिर्देश’ कार्यक्रममा एउटा घतलाग्दो कुरा भनेका थिए, ‘चिकित्साको पढाइको क्रममा हामीलाई कहिल्यै मृत्युको बारेमा पढाइँदैन । एउटा अशक्त वृद्घ आएर अब म शान्तिपूर्वक मर्न चाहन्छु भनिरहेको हुन्छ । हामी डाक्टरहरूचाहिँ उसका सबै अंगप्रत्यंग खोतलखातल पारेर, दुःख दिएर भए पनि उसलाई बचाउने प्रयत्नमा भरमग्दुर प्रयास गर्छौं किनकि हामीलाई मान्छे कसरी बचाउने भनेर मात्रै सिकाइएको हुन्छ । कोही सुख र शान्तिपूर्वक मर्न चाहन्छ भने के गर्ने ? त्यो हामीलाई सिकाइएको हुँदैन ।’

हामी समस्त मान्छेहरूको बचाइ नै अधुरो छ किनकि हामी बाँच्नका लागि मात्रै तयारी गर्छौं, मर्नका लागि तयारी गर्दैनौं । त्यसो त मञ्जुलको ‘मृत्यु कविता’ होस् वा ओशोको ‘मैं मृत्यु सिखाता हुँ’ किन नहोस्, मैले धेरै पहिले पढेकी थिएँ । पढ्नु एउटा कुरा, मत्युस्मरण र मृत्युबोध गर्नु अर्को कुरा । बाँच्ने क्रममा आजकल हर दिन मृत्यु–स्मरण र मृत्यु–बोधको अभ्यास गरिरहेकी छु ।

मृत्युलाई बोधको तहमा भन्दा पनि हामी केवल सैद्घान्तिक रूपमा मात्र हेर्छौं । जन्मेपछि मर्नुपर्छ भन्ने सैद्घान्तिक ज्ञान त हामीसँग हुन्छ, तर जीवन सुन्दर बनाउन मृत्युको स्मरण कति महत्त्वपूर्ण छ भन्नेतिर हामी ध्यान नै दिँदैनौं । हामी त मृत्युलाई एक राक्षसका रूपमा हेर्छौ, जो नबोलाईकन टुप्लुक्क आउँछ र नसोधीकन क्वाप्प खान्छ । योगेश राज आफ्नो पुस्तक ‘सन्ध्या संरचना ः हिन्दू नेवारहरूको मत्युचेतना’ मा लेख्छन्, ‘जीवन–मृत्युको द्वित्वलाई सृष्टिको अनिवार्य पक्ष मान्ने कतिपय पौराणिक आख्यानमा मृत्युलाई पापमय ठानिएको छ । वैदिक साहित्यमा मृत्युलाई कुतत्त्व मानिएको छ ।’ मृत्युलाई कि त बेवास्ता गर्छौं । वास्ता गर्दा पनि पूर्वाग्रहको आँखाले हेर्न अभ्यस्त छौं हामी ।

घाटमा जाँदा जलिरहेको लास हेर्दा जीवनको क्षणभंगुरतालाई लिएर एकै छिन भावुक त जो कोही पनि हुन्छ, तर त्यो भावुकताको आयु यति छोटो हुन्छ कि फर्केर घर आउँदा नआउँदै ‘हामी पनि एक दिन मर्नुपर्छ’ भन्ने सत्य नै भुलिजान्छौं ।

‘आर्ट अफ डाइङ’ सम्बन्धी केही पुस्तकहरूमा एउटा साझा कुरा भेटेँ– ‘सेक्सजस्तै मृत्यु पनि मान्छेको जीवनका लागि एक मोटिभेटिङ फ्याक्टर हो ।’ धेरैको मनमा प्रश्न उठ्न सक्छ, सेक्सजस्तो रमाइलो, आनन्ददायक र रसपूर्ण विषयसँग मृत्युजस्तो कठोर, नीरस र रुक्खासुक्खा विषयको कसरी तुलना हुन सक्छ ?

यहाँनेर मनन गर्नुपर्ने विषय के हो भने मृत्युको स्मरणले जीवनलाई खुसियाली बनाउन ऊर्जाको काम गर्छ । जीवनमा मृत्यु हुन्थेन भने जीवनको महत्त्व हुने थिएन । जीवन बाँच्नुको कुनै अर्थ हुने थिएन । जीवन बाँचूँ–बाँचूँ लाग्ने खालको रहरलाग्दो र यति विघ्न मायालु हुने थिएन । यस्तो लाग्छ, मृत्यु क्वाप्प खान आउने भयानक राक्षस नभएर एक महागुरु हो, जसले हातमा छडी लिएर प्रत्येक क्षण हामीलाई ‘जीवन सार्थकतापूर्वक बाँच्नु’ भनी सिकाइरहेको छ ।

हाम्रै समाजमा हेर्‍यौं भने पनि जो क्यान्सर वा यस्तै प्राणघातक रोग वा कुनै दुर्घटनाबाट मृत्युको मुखमा पुगेर फर्केर आएका हुन्छन्, तिनको सोच र बाँच्ने शैली एकदमै सकारात्मक र ऊर्जामय पाउँछौं । अपवाद छोडेर तिनीहरू बाँकी जीवनको एक–एक पल स्वाद लिई लिई बाँच्छन् । कुण्ठा, अहम्, प्रतिस्पर्धाजस्ता विकारहरूलाई आफ्नो आसपास आउनै दिँदैनन् । मृत्युको चेतनाले जीवनको क्यानभास थप रंगीन हुन पुग्छ ।

डेथ क्याफेमा चिया पिउने कि ?

बुद्घले मध्यमा प्रतिपदको प्रतिपादन गरे र भने, ‘जीवनमा अतिवादी भएर होइन, मध्यममार्गी भएर बाँच्नुपर्छ ।’ मृत्युको सवालमा आममान्छे एकदमै अतिवादी देखिन्छ । कतिपय मान्छे मृत्युलाई यसरी नजरअन्दाज गरेर बाँच्छन् कि एक दिन मर्नुपर्छ भन्ने नै भुल्छन् र अनन्तः तृष्णा, महत्त्वाकांक्षा, लोभ र लालचको भुमरीमा फस्छन् । अर्काथरी मान्छेहरू मर्नुपर्छ भनेर यति भयभीत भएर बाँच्छन् कि ती बाँचिरहँदा पनि मरी नै रहेका हुन्छन् । कति नेक्रोफोबियाको सिकार हुन्छन्, कति थानाटोफोबियाको ।

मृत्युको भयले ग्रस्त बिरामीहरूलाई साइकोथेरापीको माध्यमबाट उपचार गरिन्छ । मृत्युको कारण हुने एन्जाइटी तथा डिप्रेसन हटाउन आजकल डेथ मेडिटेसन पनि प्रचलित छ । मृत्युको भय मनबाट निकाल्न मान्छेलाई ध्यानको माध्यमबाट आफू मरेको स्टेजमा पुर्‍याइन्छ र जीवनको क्षणभंगुरतासित साक्षात्कार गराइन्छ । बौद्घ परम्परामा मृत्युमाथि ध्यान उहिलेबाटै गरिँदै आएको छ । त्यसो त मृत्युको भय कति मानिसका लागि प्रेरणा बनेको छ, कतिका लागि त्रास । सिद्घार्थ गौतमको बुद्घ बन्ने यात्राको गर्तमा छ– मृत्यु । कवि, लेखकहरू किन अमर साहित्य रचना गर्न चाहन्छन् ? उत्तर खोज्दै जाँदा कतै न कतै मृत्यु–भयको गुफामा पुगिन्छ । भ्रूण अवस्थामै डीएनए सम्पादन गरेर रोगमुक्त बच्चा जन्माउने थालनी चीनमा भइसकेको छ । अहिलेका वैज्ञानिकहरू कृत्रिम मानव अंगहरू प्रत्यारोपण गरेर मानिसको आयु बढाउने र सके त अमरै बनाउने ध्याउन्नमा छन् । यो सबैका पछाडि पनि मृत्युलाई जित्ने उत्कट चाहना भेटिन्छ ।

वैज्ञानिकहरूका अनुसार, भूमध्यसागरमा पाइने एउटा जीव जेलिफिससित अमर हुन सक्ने शक्ति छ । आफ्नो शरीरका कोशिकाहरू आफ्नो इच्छाअनुसार फेरेर एउटा वृद्घावस्थाको जेलिफिस यौवन वा शैशवास्थामा जान सक्छ । जेलिफिसले जस्तै मानिसहरूले आफ्नो कोशिकामा परिवर्तन गरेर जीवनको नवीकरण गर्न सक्ने सूत्र वैज्ञानिकहरूले पत्ता नलगाउलान् भन्न सकिन्न । मृत्युमाथि शासन गर्न के साँच्चै सम्भव हुनेछ कुनै दिन ?

मृत्यु एक, तर प्रश्न हजार–हजार छन् यहाँ । ताजमहल प्रेमको स्मारक कि मृत्युको स्मारक ? इजिप्टका राजाहरूको उपत्यकामा अवस्थित समाधिहरू र गिर्जाका महान् पिरामिडहरू मृत्युका समयातीत इतिहास हुन्, तर तिनबाट हामीले ‘मत्यु’ लाई कति बोध गर्न सकेका छौं ?

नेपालमा पछिल्लोपटक धेरैको मुखबाट एउटा कुरा सुनिन्छ– भेटभाट होस्, तर भेट केवल घाटमा नहोस् । यो भनाइले मृत्युको अवसादपूर्वको उत्सवको माग गर्छ । जीवन जिउने कला सिक्न ‘आर्ट अफ लिभिङ’ को खोजमा मान्छेहरू जीवनभर भौंतारिइरहन्छन्, अनेक गुरुहरूका शरणमा जान्छन्, तर मान्छेले बिर्सन्छन् कि मान्छेको सबैभन्दा महान् गुरु उसले आफ्नो जन्मसँगै लिएर आएको हुन्छ, त्यो हो– मत्यु । मृत्युको कला नसिकी जीवनको कला सिक्न सम्भवै छैन ।

आजकल युरोप, अमेरिका, अफ्रिकातिर द्रुततर गतिमा फैलिरहेको एउटा लोकप्रिय क्याफे छ, त्यो हो– ‘डेथ क्याफे’ । यो एक खाले सामाजिक फ्रेन्चाइज हो, जहाँ मान्छेहरू कुनै क्याफेमा भेट हुन्छन्, चियासँग केक खाँदै केवल मृत्युका विषयमा कुरा गर्छन् । मृत्युका विषयमा मात्रै कुरा गर्छन्, तर ती मान्छेहरू जीवनदेखि भागेका वा आत्महत्याको मनस्थितिमा पुगेर निराशाजनक कुरा गर्न जम्मा हुनेचाहिँ होइनन् ।

डेथ क्याफे ती मान्छेका लागि हो, जो जीवनमा मृत्युलाई एक डिस्कोर्सको रूपमा स्थापित गर्न चाहन्छन् । मृत्युलाई सहजै स्विकारेर हाँसीहाँसी एकदमै सहजताका साथ मृत्युका विविध आयाममाथि बहस–विमर्श गर्छन् । एसियामा पनि क्रमशः डेथ क्याफे लोकप्रिय हुँदै गइरहेको छ । हाम्रै छिमेकी मुलुक भारतमा ८ वटा र चीनमा ३३ वटा डेथ क्याफेहरू छन् । विश्वभरका ८२ देशमा लगभग १५ हजार वटा डेथ क्याफेहरू फैलिसकेका छन् । नेपालमा भने आजसम्म डेथ क्याफे भित्रिएको कुनै औपचारिक जानकारी आएको छैन । आशा छ, कुनै न कुनै दिन कसै न कसैले नेपालमा पनि डेथ क्याफेको होस्ट गर्नेछ र सोध्नेछ– डेथ क्याफेमा चिया पिउने कि ?

त्यतिबेला तपाईंको जवाफ के हुन्छ कुन्नि ! मेरो जवाफचाहिँ ‘हुन्छ आउनेछु’ हुनेछ, किनकि म जीवनलाई जति प्रेम गर्छु, मृत्युलाई पनि उत्तिकै प्रेम गर्छु ।

प्रकाशित : वैशाख २, २०८० ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?