१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

कोशी कसरी ‘अविकसित पालुवा’ ?

शब्दकोशले भनेझैं के कोशी पूर्ण विकास नभइसकेको नदी हो ? कोशीलाई बिहारको दुःख पनि भनिन्छ । यो कसरी अविकसित ?
कमल मादेन

हिन्दु धर्मशास्त्रअनुसार, ब्राह्मण मात्रै ऋषि हुन्थे । क्षत्रीचाहँ कठोर तपस्याका बलमा ऋषि कहलिन्थे । क्षत्री ऋषि भएको कथा वामन शिवराम आप्टेले सन् १८९० (पुनर्मुद्रित सन् २००९) मा लेखेको ‘संस्कृत–हिन्दी कोष’ मा उल्लेख छ ।

कोशी कसरी ‘अविकसित पालुवा’ ?

कथाअनुसार, एकताका कान्यकुब्जमा गाधि नामका प्रसिद्ध राजा थिए । तिनका छोरा विश्वामित्र थिए । विश्वामित्र रिसाहा, घमन्डी थिए । तिनी राजा भएपछि एक पटक सिकार खेल्दै जंगल चहार्दा बसिष्ठ ऋषिको आश्रम पुगेछन् । त्यहाँ अचम्मको एक गाई देखे । बसिष्ठ ऋषिबाट जे चाहना राखे पनि गाईले पूरा गरिदिन्थिन् । ऋषिले ब्राह्मणत्वबाट यस्तो गाई प्राप्त गरेका थिए । बसिष्ठ ऋषिलाई धन उपलब्ध गराएर विश्वामित्रले गाई लैजान चाहे । बसिष्ठले दिन अस्वीकार गरे । हठाट लैजान खोज्दा भएको संघर्षमा राजा विश्वामित्र परास्त भए । बसिष्ठ ऋषिले प्राप्त गरेको ब्राह्मणत्वका कारण विश्वामित्र हारेका थिए । उनी अत्यन्तै क्षुब्ध भए । र, जसरी पनि ब्राहमणत्व प्राप्त गर्नुपर्छ भन्ने अठोट गरे ।

उनले कठोर तपस्या गरे । तपस्याबाट ब्राह्मणत्व प्राप्त गरी विश्वामित्र ऋषि मात्रै ह्इोन ब्रह्मर्षि पनि भए । ऋषिमध्ये सबैभन्दा उचो कोटीको ऋषिलाई ब्रह्मर्षि भनिन्छ । विश्वामित्रको चर्चा ऋग्वेद, यजुर्वेद र अथर्ववेदमा छ । ऋग्वेदमा उनको योगदानको उल्लेख छ । यजुर्वेदमा विशेष उपलब्धि वर्णन गरिएको छ । उनले गरेको तपस्या र धर्म पालनका निम्ति समर्पित अभ्यास उल्लेख छ । अथर्ववेदमा उनको जीवनका विभिन्न पहलुको वर्णन छ । यस अतिरिक्त उनको चर्चा विष्णुको दसौं अवतार श्रीराम र कृष्णका कथामा पनि छन् । वामन शिवराम आप्टेले विश्वामित्र ऋषिको विशेषण कौशिक लेखेका छन् । आप्टेले बिहार प्रदेशमा बग्ने एक नदीको नाम कौशिकी पनि लेखेका छन् (संस्कृत–हिन्दी कोष, पृष्ठ. ३०८) । विश्वामित्रले जुन नदीको किनारमा तपस्या गरे, त्यसलाई कालान्तरमा कौशिकी नदी भनियो भन्ने कहावत छ । यस लेखमा कोशी नदी नामकरणको कथा लेखिएको छ ।

कोशी कुमारी नै छिन्, न यिनको गति अरू नदीजस्तो संयमित, मर्यादित छ, न त यिनको बाटो नै नियोजित छ : मातृकाप्रसाद कोइराला

हिमवत्खण्डमा कौशिकी

स्कन्दपुराणमा कौशिक नदीको चर्चा छ भन्ने कतै पढेको थिएँ । सबैलाई थाहा भएकै हो– पुराण जम्मा १८ वटा छन् । १८ मध्ये १३ औं स्कन्दपुराण हो । पहिले स्कन्दपुराण अन्तर्गत हिमवत्खण्ड समावेश थियो भन्ने संकेत मातृकाप्रसाद कोइरालालिखित ‘कोशीको कथा’ (२०४६) बाट पनि पाइन्छ । कोइरालाले कोशी नदीको चरित्रबारे यस्तो वृत्तान्त लेखेका छन्, ‘भन्छन कि कोशी कुमारी नै छिन् । यिनको पूजामा सिन्दूर चढाइँदैन । बलि पनि बोका होइन, पाठी दिइन्छ । यिनको व्यवहारले पनि उन्मत कौमार्य र उद्दाम यौवनकै आभास पाइन्छ । न यिनको गति अरू नदीजस्तो संयमित, मर्यादित छ । न यिनको बाटो नै नियोजित छ, न त यिनको स्रोतमा गाम्भीर्य । यताउता छचल्किँदै, छिचरिँदै कहिले पूर्व, कहिले पश्चिम हान्निदै वेगले इतरिँदै, फन्किँदै, नाच्दै दुगुर्नु नै यिनको स्वभाव छ । आफ्ना बाटामा पर्ने ढिस्का काट्दै, रूख ढाल्दै, लछार्दै, सुकाउँदै बढ्नु यिनको धर्म हो ।’

केही दशकयता प्रकाशित भएका स्कन्दपुराणमा हिमवत्खण्ड पाइँदैन । योगी नरहरिनाथले २००४ सालदेखि अथक परिश्रम गरी २०१३ मा ‘हिमवत्खण्ड’ नामक ग्रन्थ प्रकाशन गरे । ग्रन्थमा विशेषगरी हिमालय क्षेत्रमा रहेका धार्मिक तिर्थस्थलका विवरण छन् । पुराणका चर्चा गरिरहँदा के बिर्सनु हुँदैन भने पुराणमा उल्लेख भएका विषयलाई प्रमाणका रूपमा लिइँदैन । यसै सम्बन्धमा रोमिला थापर (अर्लि इन्डिया, सन् २००२, पृष्ठ ९८) लेख्छिन्, ‘पुराणहरूमा एकीकृत दृष्टिकोण त हुन्छ, तर त्यसलाई इतिहासको रूपमा स्विकार्न सकिन्न । यसो भए पनि यसले मध्य–पहिलो सहस्राब्दीमा विगतलाई कसरी देखियो भन्नेबारे केही उपयोगी परिप्रेक्ष्यहरू भने प्रदान गर्छ ।’ नरहरिनाथले भावानुवाद गरेको हिमवत्खण्डको सक्कल त पढ्न पाइएन । तर, त्यो ग्रन्थ ४६ जना ब्राह्मणको सहलेखन वा सम्पादनमा छापिएको जानकारी उनै नरहरिनाथ लिखित ‘वैदिक साम्यवाद’ (दोस्रो संस्करण २०७७) पुस्तकमा छ । त्यो पुस्तक पुनः वेणीमाधव ढकालको सम्पादन/अनुवादमा प्रकाशित छ । त्यको हिमवत्खण्ड अन्तर्गत केही अध्यायमा कौशिकी नदीबारे लेखिएका हरफ छन् ।

हिमवत्खण्ड ग्रन्थको ४० अध्यायमा एक शीर्षक छ– ‘कौशिकीनद्या आविर्भावः’ । संस्कृत भाषामा ‘नद्या’ र ‘आविर्भावः’ ले क्रमशः नदी र प्रादुर्भाव वा उद्विकास भन्ने जनाउँछ । यो अध्यायमा कौशिकी नदी उ्दविकासको चर्चा गरिएको छ । माथि भनिसकिएको छ– पुराण प्रामाणिक हुँदैन र यसलाई इतिहास मानिँदैन, ती केवल पौराणिक कथा हुन् । यो अध्ययामा देवी पार्वतीले सूर्य र अग्निबीच रहेर प्रचण्ड तपस्या गरेको चर्चा छ । यसक्रममा पार्वतीको पाउबाट निस्केको पसिनाका थोपा बग्दै बग्दै कौशिकी नदी उत्पत्ति भएको बताइएको छ । अध्याय ३४ मा कौशिकी नदी र कोका नदीको महिमाको वृत्तान्त छ । अध्याय ४२–४३ मा पनि कौशिकी नदीको महिमाको चर्चा छ । तर, उल्लिखित अध्यायमा कौशिक ऋषिबारे चर्चा छैन । तर, कुशिक नाम गरेको तपस्वीलाई गोदान दिइएको विवरण छ । वामन शिवराम आप्टेले ‘कुशिक विश्वामित्रको बुबाको नाम हो’ भनेर लेखेका छन् (संस्कृत–हिन्दी कोष, पृष्ठ २८९) । पार्वतीबाट गोदान दिइएको ठाउँलाई हेमकूट पर्वत भनिएको छ । हेमकूट पर्वत सम्भवतः पश्चिमोत्तर भारतमा छ । त्योचाहिँ उताको प्रसंग यता जोडिएको होजस्तो देखिन्छ । पार्वतीको कुशिक तपस्वीसँग कौशिकी नदीमा कुराकानी भएका विवरण पनि छन् ।

सन् १८०२ मा इस्ट इन्डिया कम्पनीको एक कारिन्दा भएर नेपाल आएका बुचनन् ह्यामिल्टनले लेखेको ‘एन एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ पुस्तकमा प्रस्तुत तत्कालीन नेपालको नक्सामा कोशी रिभर लेखिएको छ । पुस्तकको मूल पाठमा प्रशस्तै कोशी रिभर लेखिएको छ, कतै कोशी रिभर वा कौशिक रिभर पनि लेखिएको छ । कतै–कतै कौशिक रिभर मात्रै छ ।

वेद, रामायण, महाभारत, पुराणहरू दर्जनौं दर्जन पटक पुर्नलेखन भएका हुन् । योगी नरहरिनाथहरूबाट अवश्य हिमवत्खण्ड सम्पादन मात्र होइन, थपथाप गर्ने काम भयो । नेपालका प्रशंग थप्ने क्रममा पूर्वी नेपालको विषय बृहत् रूपमा मिसाइएको हुनुपर्छ । उनले पनि ह्यामिल्टनले जस्तै कतै कोशी नदी त कतै कौशिकी नदी लेखेका छन् र अरू नदीको नाममा पनि कौशिकी शब्द जोडिदिएका छन् । अर्थात् नदीको नाममा हिन्दूकरण गरेका छन् । ‘हाम्रो देश–दर्शन’ (विसं २०७७) पुस्तकमा स्वर्णकौशिकी, ताम्रकौशिकी, दुग्धकौशिकी, अरुणकौशिकी, वरुणकौशिकी, कावेरी (कावेली) कौशिकी, तमोरि (तमोर) कौशिकी लेखिएको छ (पृष्ठ ७) । यति मात्र होइन, हालै नामकरण भएको ‘कोशी प्रदेश’ लाई ‘कौशिकी प्रदेश’ लेखिएको छ । एक ठाउँमा यस्तो पनि लेखिएको छ– ‘यसै कौशिकी प्रदेशमा रुद्राक्ष प्रशस्तै छन् ।’ उनले राजर्षि र ब्रह्मर्षि कौशिक विश्वामित्रका स्मारकको रुपमा कोशी अञ्चल बनेको लेखेका छन् (पृष्ठ ४) ।

कोशी र कुर्सेला घाट

भाषाविद् तारामणि राई भन्छन्, ‘कौशिक शब्दलाई छोटकरीमा सायद कोशी लेखियो होला र यस्तो छोटो रूप दिन सकिन्छ ।’ तर, हिन्दु धर्मका एक विद्वान्ले ‘खुशी’ शब्दबाट कोशी भयो भनी लेखेका छन् । उनले अझ के भनेका छन् भने ‘खुशी’ किरात शब्द हो र यसैबाट कोशी शब्द बनेको हो । मेची, कोशी र सगरमाथा अञ्चलमा किरात अन्तर्गतका आदिवासी मूलतः लिम्बू, याक्खा, राई र सुनुवार समुदाय बसोबास गर्छन् । उनीहरूले बोल्ने किरात अन्तर्गतको भिन्नाभिन्नै भाषा छन् । लिम्बूले बोल्ने भाषालाई याक्थुङ पान भनिन्छ । राईले बोल्ने करिब २ दर्जन भाषा राष्ट्रिय भाषाका रूपमा सूचीकृत भइसकेको छ । याक्खाले बोल्ने भाषा लिम्बू भाषासँग आधाभन्दा बढी मिल्छ । सुनुवारले बोल्ने भाषा अलग्गै छ ।

भाषा तथा मुन्धुम अध्येता ‘याक्थुङ साम्जिक मुन्धुम’ किताबका सम्पादक डीबी आङबुङ भन्छन्, ‘खुशी’ बाट ‘कोशी’ शब्द बन्न सक्दैन । आङबुङका अनुसार, किरात भाषा परिवारमा खोला, नदीको नामको अन्तमा ‘वा’ लागेको हुन्छ । जस्तै, याङधाङवा (तमोर नदी), कोइक्वा (अरुण नदी) । अनि किरात समुदायको भाषा–व्याकरणमा ‘खुशी’ अपभ्रंश वा परिवर्तन भएर ‘कोशी’ हुँदैन । वास्तवमा कोशी शब्द संस्कृत शब्दबाट व्युत्पत्ति भएको हो । साझा प्रकाशनले २०७८ सालमा छापेको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ मा कोशीको अर्थ ‘अविकसित पालुवा’ लेखिएको छ । शब्दकोशमा कोशीको अर्थ लेखिएअनुसार, नदीको नामअघि कोशी शब्द रहँदा कसरी बुझ्ने ? के कोशी पूर्ण विकास नभइसकेको नदी हो ? कोशी अर्थात् सप्तकोशीको एक नदी अरुण पनि हो । अरुण नदी तिब्बतबाट बहँदै आएको हो । तिब्बतबाट बहँदै आएको अरुण नदी सुनसरीमा आइपुग्दा त्यहाँ अन्य ६ वटा नदी मिसिन्छ । सुनसरीमा सप्तकोशीको लम्बाइ करिब ५० किलोमिटर छ । कोशी विहार प्रान्तको कुर्सेला घाटमा गंगासँग मिसिन्छ । कोशीको लम्बाइ भारतमा मात्रै करिब २२५ किलोमिटर या नेपालभन्दा करिब ५ गुणा बढी छ । यो नदीलाई बिहारको दुःख पनि भनिन्छ । कोशीको अर्थअनुसार, कोशी नदीलाई कसरी अविकसित नदी भन्न मिल्छ ?

प्रकाशित : चैत्र २५, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?