कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५
किताब

भ्रम र यथार्थको चक्र

ज्ञानु अधिकारी

लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’ परम्परागत आख्यान लेखनको धारभन्दा पृथक् छ । अमित र मुना नामका दुई पात्र छन् केन्द्रमा । थोरै समयावधिभित्र सँगै जोडिएका उनीहरूको दैनिकीलाई मात्रै विषय बनाइएको उपन्यासमा कथानक, पात्र र भाषा तीनवटै पक्षमा फरक प्रयोग छ ।

भ्रम र यथार्थको चक्र

कथानक म्याजिक रियालिज्ममा आधारित छ भने असामान्य पात्रको भूमिकालाई मिहिन देखाइएको छ । आफू असामान्य मानसिकताबाट गुज्रिरहेको थाहा नपाएको र सामान्य अवस्थामै छु भन्ने विश्वास बोकेको युवक र संसारकै जटिल रोगबाट ग्रस्त युवतीको मनोविज्ञान किताबमा लेखिएको छ । उपन्यासको विषयवस्तु जटिल भए पनि भाषाशैली भने आवश्यकताभन्दा सरल छ ।

सामाजिक–ऐतिहासिक विषयमा लेखिएका आख्यानको लामो लहरमा मिसिन आइपुगेको ‘चिसो बाफ’ पृथक् विषयवस्तु र फरक शैलीमा लेखिएको प्रयोगपरक औपन्यासिक किताब बनेको छ । हालसम्म लेखिएका उपन्यासभन्दा फरक नै होस् भन्ने उद्देश्यले लेखिएको महसुस हुने यस उपन्यासमा कल्पनालाई जादुयी यथार्थका रूपमा प्रयोग गरिएको छ । विज्ञान र प्रविधिलाई मानवीय संवेदनासँग जोडिएको यस किताबमा विज्ञानका केही प्रयोग पनि गरिएको छ ।

प्रयोगधर्मी साहित्य अरुभन्दा फरक हुन्छन् नै । तर, यस्ता किताब रुचाउने पाठक पनि सीमित हुन्छन् । उपन्यासमा यथार्थलाई अतिरञ्जित गरेर भावुकता र करुणालाई उत्कर्षमा पुर्‍याइएको छैन बरु यथार्थ, अतियथार्थ, जादुयी यथार्थ र स्वैरकल्पनाको प्रयोग गरिएको छ ।

किताबमा केही यस्ता घटना र सन्दर्भ छन्, जसले पाठकलाई उत्सुक बनाउँछन् र अचम्मित पनि । जस्तै ः कुनै रेस्टुरेन्टमा देखिएको प्लास्टिकको रूखप्रति अतिसय आकर्षित हुनु र त्यो रूख देखिसकेपछि मुनाले सपनामा पनि त्यही रूख देख्नु, पार्कमा पनि त्यस्तै रूख देखिनु, मुनालाई रोग लाग्नु, अन्तिम अवस्थामा त्यस्तै प्लास्टिकको रूख किनेर ल्याउनु, प्लास्टिकको रूखबाट पसिना निस्कनु र त्यसले मुनाको यौनेच्छालाई सङ्केत गर्नुजस्ता सन्दर्भले पाठकलाई अचम्ममा पार्छन् । यसरी एउटा प्लास्टिकको रूखलाई प्रतीकात्मक अर्थ दिने मानवेतर पात्रका रूपमा प्रयोग गर्नु, विश्वमा कतै नभएको रोगको परिकल्पना गरी त्यस रोगबाट मुनाको मृत्यु हुनु, मुनाको मृत्युपछि लासलाई फ्रिजरभित्र राखी प्रेम गरिरहनु र बेलाबेला लासमाथि सम्भोग गर्नुजस्ता घटनाले उपन्यासलाई सामाजिक यथार्थबाट पर एउटा स्वैरकल्पना वा अतियथार्थको सीमासम्म पुर्‍याउँछ ।

न्यारेटर अमित अजीवको पात्र छ । परम्परागत नायकमा हुनुपर्ने गुण/विशेषता उसमा छैन । उसका खासै सपना छैनन् । योजना पनि छैनन् । ऊ कस्तो प्रकारको पात्र हो, पाठकले ठम्याउन सक्दैनन् । त्यसो त उसले पनि आफैंलाई चिन्नसकेको छैन । उपन्यासको मुख्य थिम नै म्याजिक यथार्थ हो । मुख्य पात्र मुनालाई लागेको रोग नै यस्तै प्रकारको यथार्थ हो, जसमा भनिएको छ– ‘पहिले भइरहेको रोगको क्रमअनुसार उसको टाउको दुखेको भोलिपल्ट टाउकोको चेतना हराउने पालो थियो । त्यसो हुनु भनेको उसको मुख नचल्नु थियो, जिब्रो पनि नचल्नु थियो । त्यसपछि उसले न बोल्न सक्ने थिई, न त खान नै । उसको नाकले सुँघ्न सक्दैनथ्यो, सास फेर्न पनि सक्दैनथ्यो । आँखाले देख्न र कानले सुन्न सक्दैनथ्यो । सायद त्यसपछि त्यो क्रम उसको मस्तिष्कमा सर्ने थियो । मस्तिष्कले काम गर्न छोड्ने थियो । त्यसपछि उसको जीवनको बत्ती पूरै निभ्ने थियो । उसले मलाई टुलुटुलु हेरिरहेकी थिई ।’ यसरी संसारमा कतै नभएको विचित्र किसिमको रोगको परिकल्पना गरेर त्यसलाई समसामयिक बनाउन कोरोना महामारीको प्रसङ्गसमेत जोडिएका यस्ता घटनाले पाठक भ्रम के हो र यथार्थ के हो भन्नेमा अलमल्ल पर्छ ।

प्रमुख पात्र असामान्य मानसिकताबाट गुज्रिरहेको छ । तर, आफू असामान्य हुँदै गइरहेछु भन्ने आभास छैन । आफूले गर्नुपर्ने कामहरू चुपचाप सामान्य रूपमै गरिरहेको हुन्छ, तर उसलाई लाग्दैन– उसले सोचेका, भोगेका र गरेका काम असामान्य हुन् । यस विषयमाथि उपन्यासकारको भनाइ छ– ‘न्यारेटर नै मानसिक रूपमा अस्वस्थ भएकाले उपन्यासका कुनै कुरा ‘जस्टिफाइड’ लाग्दैनन् । ऊ पूरै अस्वस्थ पनि होइन, त्यसैले उसका कुनैकुनै कुरा फेरि ‘जस्टिफाइड’ पनि लाग्छन् ।’ अमित र मुना बेलायतको कुनै युनिभर्सिटीमा भेट हुनु, एकअर्कालाई मन पराउनु, लिभिङ टुगेदरमा बस्नु र विवाह हुनु सामान्य र यथार्थ गतिविधि हुन् । यीबाहेकका अन्य गतिविधिहरू असामान्य छन्, जसले पाठकलाई भ्रम र यथार्थको चक्रमा घुमाइरहन्छन् ।

‘एक्सपेरियन्स द डेथ : नियर डेथ एक्सपिरियन्स’ अर्थात् ‘मर्नुभन्दा पहिले नै मृत्युको अनुभव’, ‘एक्सपिरियन्स द अल्टरनेटिभ लाइफ’ अर्थात् ‘नभोगेको जीवनको अनुभव’ जस्ता प्राविधिसँग जोडिएका मानवीय संवेदनाको कल्पनाले किताबलाई प्रयोगधर्मी बनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?