कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

सन्थाल संघर्ष

सुदूरपूर्वी नेपालको सीमान्तीकृत सन्थाल जातिको सामाजिक परिवेशमाथि लेखिएको किताबले सन्थालहरूको जीवनसंघर्ष र दुःखको कहानी भन्छ ।
जानुका खतिवडा

रुँलारुँलाजस्तो घुर्मैलो छ आकाश, हामी गरामनीसम्म जाने तरखरमा छौँ । गाउँमा नापी आउने चर्चा छ ।

सन्थाल संघर्ष

दाजु बाइक निकाल्छन् । शर्मिला मुर्मु बाहिर बरन्डामा त्रिपाल ओछ्याएर चामल निफन्दै छिन् । नाङ्लोको पट्याँस–पट्याँस पनि उछिन्ने स्वर बनाएर म उनलाई झस्काउँछु, ‘तिमी घर जान्नौ, नापी आउँछ रे त आज ?’

एकछिन हात रोकेर शर्मिला मतिर पुलुक्क हेर्छिन् । चामल निफन्दा उडेको भुस टाँस्सिएर एकतमासको भएको छ उनको अनुहार, चम्किला आँखा छिपछिप बनाएर सानो स्वरमा भन्छिन्, ‘आफ्नो जमिन भा पो त !’ त्यसपछि उनले चलाएको नाङ्लोको पट्याँस–पट्याँसले विरहको कुनै गीत गुनगुनाएजस्तो लाग्छ । म खोतल्दिनँ उनलाई । मलाई थाहा छ, अब म जति बोल्छु उति नै उनको घाउ कोतरिनेछ ।

साविकको महारानी झोडामा अहिलेसम्म योसमेत धेरैपटक हुन्छ नापी आएको, तर व्यक्तिको नाममा धनीपुर्जा अझै आएको छैन । आफ्नो जग्गाको छुट्टै कित्ता नम्बर छैन । छिमेकीको जग्गासँगै संयुक्त धनीपुर्जा छ । त्यसका धेरै अप्ठ्यारा छन् । आफ्नै नामको धनीपुर्जा कुर्दाकुर्दै बुवा बित्नुभएको वर्ष दिन पुग्न लागेको छ । फेरि पनि नापी आउने कुराले कुन्नि किन दाजुको मन लोभ्याउँदैन ।

आफ्नै नामको धनीपुर्जा नहुनुको त यति धेरै सकस छ, जमिन नै नहुनुको सकस त झन् कति गहिरो हुँदो हो । मलाई शर्मिलाको अनुहारमा फेरि दोहोर्‍याएर हेर्ने हिम्मत आउँदैन ।

सोहराय पर्वको रमाइलो वर्णन गर्दा उज्यालिएको उनको अनुहार मलाई ज्यादा मन पर्छ । जब सन्थाल समुदायसँग जोडिएका मिथहरू सुनाउँछिन् शर्मिला, म उनीसँगै बहकिइरहन्छु । उनले सुनाएको यो संसार–सृष्टिको कथा सुनेदेखि मैले पनि आकाशमा गुजुल्टिएको बादलको थुप्रोमा पिल्चुबूढीको आकृति देख्न थालेकी छु । उनीसँग भेटेपछि एक दशकअघि नै लेखेर थन्क्याएको मेरो उपन्यासको पहिलो ड्राफ्ट फेरि झिकेकी छु मैले हिम्मतका साथ, अबचाहिँ लेख्न सक्छु ।

हामी निस्कने बेला रमरम जाँडको गन्ध लिएर तला मुर्मु आइपुग्छन् । तला खानाका सोखिन छन् । माछा, गँगटा, घुँगी, मुसा, गोहोरो सबैलाई कसरी समात्नेदेखि कसरी पकाउनेसम्मका सबै कुरा उनी यति मीठासपूर्वक बताउँछन् कि सुन्ने जो कोहीको पनि जिब्रो रसाएको पत्तै हुँदैन । गाउँभर सन्थाल जेठाका नामले परिचित छन् उनी ।

‘तपाईंको नाम त तला (माइला) रहेछ त, फेरि किन सप्पैले जेठा भनेका ?’

‘खोई सप्पैले जेठा नै भन्छन्,’ उनी अलि लजाउँछन् ।

‘मेरो नाम तला पो हो भन्नु हुन्न त ?’

‘आ... नाममा के राखेको छ र ?,’ उनलाई मसँग गफिनेभन्दा पनि आफ्नो काम सक्ने हतारो छ । दाजु र म बाइकमा निस्कन्छौँ ।

लक्ष्य गरामनी..।

गरामनीमा हामीलाई फूलमुनि टुडुसँग भेट्नु छ ।

केही दिनदेखि शर्मिलाको अनुहारमा मैले फूलमुनि देख्न थालेकी छु । ती फूलमुनि, जसलाई बाह्र वर्षअघि हामीले गरामनीमा भेटेका थियौँ । आफ्नो पहिचान र संस्कृति जोगाउनुपर्छ भनेर लागीपरेकी फूलमुनि त्यसबेला सन्थाल भाषाको तीन कक्षासम्म पढाइ हुने स्कुलकी शिक्षिका थिइन् । दाजु ‘झापाका आदिवासी–सन्थाल’ विषयमा थेसिस गर्दै थिए अनि म सन्थाल जातिका मेला, पर्व र संस्कृतिबारे जान्ने लालसाले उनको पछि लागेर गरामनीसम्म गएकी थिएँ ।

त्यसबेला हामीसँग भेटेर केहीबेर गफगाफ गरेपछि फूलमुनि स्कुलमा समय मिलाएर निस्किइन् र हामीलाई उनका पितासँग भेटाइदिइन् । उनका पिताले सन्थाल जातिको इतिहास र संस्कृतिबारे धेरै बताए । म फूलमुनिको जोसिलो अनुहारमा हराइरहेँ । त्यसपछिका तीनचार दिन हामी लगातार उनीहरूलाई भेट्न गएका थियौँ । मलाई एकखेप फूलमुनिसँग भेटेर आफ्नो उपन्यासको बिट मार्ने रहर छ ।

हाम्रो बाइक धोबिनियाको बाटो हुँदै दमकतिर उकालो लाग्छ । बाटोभरि म लक्खी हेमरमलाई सम्झिरहन्छु । लक्खी हेमरम असी वर्ष पुगेर पनि कसैको घरमा मजदुरी गर्नुहुन्छ । उहाँसँग सन्थाल जातिको इतिहास र संस्कृतिको खजाना नै छ । उहाँको एउटै अपेक्षा थियो, ‘नानी यसपालि त जसरी भए पनि नागरिकता दिलाइदिनुहोस् है !’ मैले त त्यो पनि पूरा गर्न सकिनँ । सम्झिँदा पनि मन च्वास्स भएर आउँछ ।

‘असी वर्ष पुगिसक्नुभएछ, यतिन्जेल त चाहिएको रहेनछ नागरिकता अब किन चाहियो त ?’ ‘नागरिकता भए नगरपालिकाले पैसा दिन्छ रे,’ मसिनो स्वरमा उहाँले भन्नुभयो । सायद उहाँलाई वृद्ध भत्ताको आस थियो । एक घण्टामा हामी बिर्तामोडबाट दक्षिणतिर लाग्यौँ । चोकैपिच्छे सन्थाल भाषाको स्कुलबारे सोधखोज गर्दै गारामनिसम्म पुग्यौँ । न स्कुलको पत्तो लाग्यो न त फूलमुनि भेटिइन् । गारामनिबाट फेरि उसैगरी सोध्दै फर्कियौँ । बाटो छेउको सानो चिया दोकानमा स्कुलबारे बताउने बल्लतल्ल दुई जना मान्छे भेटिए ।

‘त्यो स्कुल बन्दभ’को त धेरै भो नि,’ तिनको जवाफले हामीलाई झन् निराश बनायो । फूलमुनिको ठेगाना पत्तो नलागेपछि हामीले त्यहाँ वरपरको सन्थाल बस्तीबारे सोध्यौँ । मूलबाटाबाट भित्र पसेर सानो पैनीको डिलैडिल अलि अघि आएपछि सन्थालका तीन घर भेटिए । त्यहाँ पसेपछि थाहा भयो– फूलमुनिको विवाह भएछ । अहिले उनी आफ्नै गाउँमा दोकान गर्छिन् रे ! बितेका बाह्र वर्षमा परिवर्तन त स्वाभाविक नै थियो, तर यस्तो परिवर्तन ? मैले सोचेकै थिइनँ ।

सोधखोज गर्दागर्दै पानी दर्किन थाल्यो । हामी छेउतिरको घरमा ओत लिन गयौँ । आशिष मुर्मु (उनले आफ्नो नाम आशिष नै भनेजस्तो लाग्छ) घरमुली रहेछन् । केहीबेर गफिएपछि आशिष आफूले नागरिकता लिने बेला बेहोरेको झन्झट सुनाउन थाले । बोलीपिच्छे तिखा वचन लगाउने हाकिमहरूसँग कम्ती मन दुखेको छैन उनको ।

‘यसरी सोधखोज गरेर के गर्न लाग्नुभा’छ तपाईंहरू ?,’ उति टाढादेखि हामी फूलमुनिलाई खोज्दै आएका भनेपछि उनको जिज्ञासा चुलियो । मैले सन्थाल समुदायबारे लेखिरहेको सुनाएँ । मैले लेखेका नेपाली भाषाका संवादको पछाडि आशिषले कोष्ठक बनाएर सन्थाल भाषामा तिनलाई अनुवाद गरिदिए । फूलमुनि भेट्न नपाएकाले मन खल्लो भइरह्यो । सुरुङ्गा कट्ता नकट्तै मुसलधारे पानी ओइरियो । बाटो छेउको चिया दोकानमा ओत लाग्न जाउन्जेलसम्म हामी निथ्रुक्क भिजिसकेका थियौँ । आशिषले लेखिदिएका अक्षर पानीका थोपाले बगाएर लगे । भिजेर कामै नलाग्ने भएको मेरो डायरी पनि मैले त्यस दिन माईधारतिरै सेलाएर आएँ । तर, मलाई धूलोले छोपिएको यो मोतीलाई सकेजति उजिल्याउनु थियो ।

ल्यापटपमा सुरक्षित रहेका केही पानाको सहायता लिएर फेरि उभ्याएकी छु मैले सन्थालका जीवन र संघर्ष–कथा । पहिचान र अधिकारविहीन बनाइएका भुइँमान्छेको विवशताको कथा । झापाको दक्षिणी भेगमा बसोबास गर्ने लोपोन्मुख सन्थाल जातिको पृष्ठभूमिमा उभिएको छ मेरो उपन्यास ‘आतोओडा’ को कथा । अर्थात् गाऊँबस्तीका कथा ।

प्रकाशित : माघ २८, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?